NP EN

हाम्रो नारा–समृद्ध नेपाल, सुखी नेपाल

सम्माननीय राष्ट्रपति महोदय, आदरणीय नेताज्यूहरू, मदन भण्डारी फाउन्डेशनका पदाधिकारी साथीहरू, आज सम्मानित हुनुहुने विशिष्ट व्यक्तित्वहरू र यस कार्यक्रममा उपस्थित हुनुभएका महानुभावहरू, 

आज शताब्दी नायक जननेता मदन भण्डारीको ६५ औँ जन्मजयन्ती । आज यसै अवसरमा मदन भण्डारी फाउन्डेशनद्वारा छानिएका स्रष्टाहरूलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ । यतिवेला म सर्वप्रथम जननेता मदन भण्डारीलाई स्मरण गर्न चाहन्छु । उहाँप्रति हार्दिक श्रद्धान्जलि व्यक्त गर्न चाहन्छु । आज मदन भण्डारी फाउन्डेशनले राष्ट्रिय पुरस्कारद्वारा भिन्नभिन्न क्षेत्रका सुपरिचित व्यक्तित्वहरूलाई सम्मानित गर्दैछ । व्यक्तित्व छनोटको लागि म छनोट समितिलाई धन्यवाद भन्न चाहन्छु । यति धेरै मान्छे भएको ठाउँमा राम्रो मान्छे छनोट गर्न सजिलो थिएन । छनोटकर्ता फाउन्डेशन धन्यवादको पात्र छ । 

डा. भगवान कोइराला र महावीर पुन ! उहाँहरू दुबै जनालाई धेरैधेरै बधाइ र  शुभकामना भन्न चाहन्छु । दुबै जना सम्मानयोग्य व्यक्तित्व । उहाँहरूले ठूलठूला काम गर्नुभएको छ । हामी सबै समयको चेपमा छौँ भने यहाँहरूले थाहा पाइसक्नु भएको छ ।  वास्तवमा डा. भगवान कोइरालाको सम्बन्धमा हामी सबै स्पष्ट छौँ भन्ने लाग्छ । उहाँका योगदानबारेमा के भन्ने ? भगावनजस्ता भगवान । महावीर भन्न लायकको काम, महावीर ।  

जननेता मदन भण्डारीको सम्बन्धमा हामी सबैलाई थाहै छ । नदेखेको भए बेग्लै, उहाँलाई देख्नु भएको छ, सुन्नु भएको छ भने केही न केही त थाहा पाउनु भएकै छ । उहाँको विचारको खास के त्यस्तो प्रभाव छ नेपालमा, नेपाली  समाजमा र  नेपालको राजनीतिमा ? वास्तवमा नेपालको राजनीतिमा, सामाजिक जागरणमा र नेपालको परिवर्तनमा हामीले अनुभव गरेका छौँ – जननेता मदन भण्डारीको सबभन्दा ठूलो योगदान भनेको उहाँको अगुवाइमा जनताको बहुदलीय जनवाद भन्ने सिद्धान्त र चिन्तनको प्रतिपादन । यो सबभन्दा ठूलो र महत्वपूर्ण कुरा हो । जनताको बहुदलीय जनवाद जडसूत्रवाद होइन । 

जनताको बहुदलीय जनवाद माक्र्सवादी दर्शनको सिर्जनात्मक विकासको अत्यन्तै सफल सिद्धान्त हो । नेपाली समाजको राजनीतिक–वैचारिक नेतृत्वका लागि यो जति सफल सिद्धान्त अरू छैन । 

आमरूपमा जनताको जीवनमा सकारात्मक, न्यायपूर्ण, समानतापूर्ण समाजको स्थापना गर्न र समृद्ध समाजको निर्माण गर्ने सिद्धान्त हो, जनताको बहुदलीय जनवाद । कसैले मानोस् या नमानोस् समृद्ध र सुखी नेपालको निर्माण गर्ने एकमात्र चिन्तन हो – जनताको बहुदलीय जनवाद । यसलाई विस्थापित गर्ने, यससँग मुकाबिला गर्ने, सामाजिक परिवर्तन र रूपान्तरणसम्बन्धी कुनै अर्को विचार नेपालमा छैन । असमानताको अन्त, समतामूलक समाज, समृद्ध समाज र सम्पन्न राष्ट्रको निर्माणका निम्ति जनताको बहुदलीय जनवादसँग प्रतिस्पर्धा गर्ने र यसलाई चुनौती दिने व्यवस्था र विचार अरूसँग छैन । कहीँकतै आंशिक पक्षका कुराहरू केही होलान्, तर जनताको बहुदलीय जनवादजस्तो समृद्ध विचार कसैसँग छैन । यो विचारले नै नेपालमा एउटा परिपूर्ण सामाजिक रूपान्तरणको सन्देश दिन्छ ।  व्यवस्थापनको क्षेत्रमा यसले समग्रतामा काम गर्ने क्षमता बोकेकोे छ । समग्र क्षेत्रमा यसको दृष्टिकोण बिस्तारित छ । हरेक क्षेत्रका लागि यसले बाटो तय गरेको छ । यसकारण जनताको बहुदलीय जनवाद मदन भण्डारीले नेपाली समाजलाई लगाएको सबभन्दा ठूलो गुनको रूपमा रहेको छ । 

सरकारको तर्फवाट म भन्न चाहन्छु – जनता पीडामा छन् । असासाधारण झट्का महसुस गर्नु परेको छ देशले । ८ लाख घर भत्किएका छन् । विद्यालय भत्किएका छन् । अस्पताल भत्किएका छन् । अनेक संरचना, धार्मिक स्थल, पुरातात्विक संरचना भत्किएका छन् । यो पीडालाई अहिलेको सरकारको नेतृत्व गरिरहेको हिसाबले मैले सरकारको तर्फबाट भन्न चाहन्छु – यो राजनीति गर्ने विषय होइन । हामी यसमा राजनीति नगरौँ । पुनर्निर्माणको पक्षमा सबै लागौँ, सबैले सहयोग पुरयाऔँ । 

संविधान कार्यान्वयन गर्नु छ । २०७४ साल माघ ७ गतेभित्र रूपान्तरित संसदको समय सकिन्छ । हामीले समयमै स्थानीय निकायको निर्वाचन, प्रादेशिक निर्वाचन, तिनका सीमाहरूको निचोडदेखि लिएर प्रतिनिधिसभाको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्ने हुन्छ । कमसेकम माघ ७ गतेभित्र हामीले प्रतिनिधिसभासम्मको निर्वाचन गरिसक्नुपर्ने हुन्छ । त्यसमा हामी सहमत छौँ । थोत्रो राजनीति, झूट र बेइमानीमा आधारित राजनीति र निरर्थक गतिविधिमा अल्मलिने समय अब छैन । हामी दृढताकासाथ अगाडि बढ्नु,  तीव्रताका  साथ अगाडि बढ्नु जरुरी छ । संविधानको कार्यान्वयन गर्दै देशलाई तीव्रतर आर्थिक उन्नतिको दिशामा अगाडि बढाउनु छ ।  समृद्ध नेपाल र सुखी नेपाली हाम्रो नारा हो । हामी त्यसका निम्ति तीव्रताका साथ अगाडि बढ्नुपर्छ, हामी बढ्छौँ । 

जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादले हामीलाई मार्गदर्शन गरेको छ । अर्थतन्त्र, सामाजिक व्यवस्था र समृद्धिका सबै पक्षहरूमा यसले निर्देश गरेको छ । हामी तदनुसार अगाडि बढ्नेछौँ । कार्यक्रमको आयोजनाका लागि मदन भण्डारी फाउन्डेसनप्रति आभार व्यक्त गर्दछु । आज सम्मानित हुने व्यक्तित्वहरूलाई पुनः बधाइ दिन चाहन्छु । 

(२०७३ असार १४ गते जननेता मदन भण्डारीको ६५औँ जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण समारोेहमा प्रस्तुत मन्तव्य)