NP EN

बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पा बिँड

आदरणीय नुवाकोट निवासी दाजुभाइ तथा दिदीबहिनीहरू, सबैमा हार्दिक अभिवादन ! यस कार्यक्रमका अध्यक्ष महोदय, पार्टीका नेताज्यूहरू, अतिथि महानुभावहरू र यस सम्मेलनमा उपस्थित हुनुभएका सम्पूर्ण प्रतिनिधि साथीहरू, 

आज नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीको छैटौँ अधिवेशनको उद्घाटन भइरहेको छ । यस सम्मेलनको भव्य सफलताको निम्ति म पार्टी केन्द्रको तर्फबाट र मेरो आङ्खनो तर्फबाट समेत हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । 

आज २१ फागुन । यस सन्दर्भमा आज हामीले केही कार्यक्रमहरू काठमाडौँमा पनि गरयौँ । ४५ वर्ष अगाडि, २०२९ साल फागुन २१ गते  झापा आन्दोलनमा जेल सार्ने नाममा झापा जेलबाट निकालेर झापा जिल्ला र इलाम जिल्लाको सिमानामा पर्ने सुखानी भन्ने ठाँउमा लगेर नेपाली जनताका पाँच जना सपूतको हत्या गरिएको थियो । त्यति बेलाको निरङ्कुश राजतन्त्रात्मक परिपाटी टिकाउनका लागि ती क्रान्तिकारीको हत्या गरिएको थियो । त्यस सन्दर्भमा कलाकारहरूले निर्माण गरेको एउटा फिल्म आज हामीले हेरयौँ । 

फागुन २१ कै सन्दर्भमा हामीले काठमाडौँमा एउटा अर्को कार्यक्रम पनि गरयौँ । अहिले त्यस कार्यक्रमबाट नै हामी यहाँ आएका छौँ । आज म, तानाशाही पञ्चायती व्यवस्था टिकाउन, निरङ्कुश राजतन्त्र टिकाउन हत्या गरिनु भएका हाम्रा आदरणीय र श्रद्धेय सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, नारायण राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति विशेष सम्मान र आदरकासाथ श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु । सँगसँगै अरू तमाम ज्ञात–अज्ञात सहिदहरूलाई पनि यस विशेष दिनमा म अत्यन्त श्रद्धाका साथ स्मरण गर्न र श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।

यहाँहरूलाई थाहा छ – वि.सं.१९९७ सालमा राणा शासनको विरुद्ध सङ्घर्ष गर्ने चार जनालाई राणा शासनले मारेको थियो । त्यसको १० वर्षपछि सात सालमा आन्दोलनको सफलतापछि उहाँहरूलाई सहिद घोषणा गरिएको थियो । त्यसपछि निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाहीका विरुद्ध, लोकतन्त्रका निम्ति, गणतन्त्रका निम्ति, सामाजिक न्यायका निम्ति, समानताका निम्ति, राष्ट्रिय हक–हितका निम्ति, राष्ट्रको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितका निम्ति, स्वाभिमानका निम्ति, सामाजिक न्यायका निम्ति र उन्नति–प्रगतिको चाहनाका साथ बलिदान दिने सहिदहरूलाई आधिकारिकरूपमा सहिद हुन् भनेर सरकारले स्पष्टरूपमा भन्न सकेको थिएन । राजनीतिक दलहरूले आआफ्ना पार्टीका कार्यकर्ताहरूलाई सहिद भन्ने, अरूलाई नभन्ने खालको परिपाटी पनि थियो, तर यहाँहरूलाई थाहा छ, अस्तिको दिन मन्त्रिपरिषदको बैठकले आठ सालमा सहादत प्राप्त गर्नु भएका सुदूरपश्चिमका भीमदत्त पन्तदेखि २१ सालमा राजा महेन्द्रले आफ्ना विरुद्ध गतिविधि गरेकोमा फाँसी दिएका दुर्गानन्द झा, त्यसैगरी झापा जेलबाट निकालेर २९ साल फागुन २१ गते हत्या गरिएका ५ जना, झापामा गोली हानी हत्या गरिएका चन्द्र दाहाल, संखुवासभामा हत्या गरिएका हरि नेपाल, सिरहामा हत्या गरिएका सूर्यनाथ यादव,  सिन्धुलीमा २०३७ साल फागुन १२ गते हत्या गरिएका ऋषि देवकोटा, टिम्बुरबोटे काण्डमा २०३१ सालमा हत्या गरिएका राम लक्ष्मण, लीला दाहाल, ठगी दाहाल, गोलघरबाट निकालेर २०३५ साल माघ २६ गते फाँसी दिएर हत्या गरिएका यज्ञबहादुर थापा, भीमबहादुर श्रेष्ठ लगायत २०३५ साल चैत २७ गते इलामको इवान भन्ने गाउँमा हत्या गरिएका लोकप्रिय नेता रत्नकुमार वान्तवासमेत गरी २२ जनालाई सहिद घोषणा गरेका छौँ, जसका बारेमा कुनै विवाद छैन । 

सात सालभन्दा पछिको सन्दर्भमा र अन्य सन्दर्भमा सहिदका बारेमा राम्ररी अध्ययन हुनु जरुरी छ र सहिदहरूलाई सहिदको दर्जा दिनु जरुरी छ । सहिदहरूलाई राज्यले सहिदको रूपमा मान्न जरुरी छ भनेर हामीले एउटा समिति निर्माण गरेका छौँ । तीन महिनाभित्र त्यसले अध्ययन गरेर आङ्खनो प्रतिवेदन पेस गर्नेछ र हामीले सही ढङ्गले टुङ्गो लगाउनेछाैँ । मानिसहरूले देशका लागि, जनताका लागि, लोकतन्त्रका लागि आफ्नो ज्यान बलिदान दिएका छन् तर त्यसरी बलिदान दिनेहरूलाई सहिद भन्न नसक्नु र त्यससम्बन्धमा छानबिन हुन नसक्नु राम्रो कुरा होइन । त्यसैकारण अस्तिका दिन मैले विवाद नभएका व्यक्तित्वहरूलाई सहिद घोषणा गरेको छु, जसका बारेमा छलफल आवश्यक छ या जसका बारेमा तथ्यहरूको राम्ररी जानकारी हामीसँग छैन, तिनको छानबिन र अध्ययन गर्न हामीले समिति बनाएका हौँ ।

तपाईंहरूलाई थाहा छ, नेकपा (एमाले) कस्तो पार्टी हो भन्नेबारेमा । यो पार्टी विगत ६६ वर्षदेखि नेपालमा सामाजिक चेतना, देशभक्तिको भावना, लोकतन्त्रको भावना, जनता अधिकार सम्पन्न हुनुपर्छ भन्ने भावना, जनताको शासन हुनुपर्छ भन्ने भावना बोकेर जन्मसिद्ध श्रेष्ठताको सामन्ती सिद्धान्त, राजतन्त्रात्मक सामन्ती प्रणाली उपयुक्त छैन, हामीलाई गणतन्त्र चाहिन्छ भन्दै अनेक प्रकारका सामाजिक भेदभावको परिपाटी उपयुक्त होइन, हामीलाई सामाजिक न्याय र समानता चाहिन्छ भन्दै र जनताले प्राप्त गर्नुपर्ने मानव अधिकारदेखि लिएर स्वतन्त्रताको हकदेखि लिएर, तमाम हक – अधिकारहरू प्राप्त गर्नुपर्छ भनेर सङ्घर्ष गर्दै आएको पार्टी हो । हामीले दस्तावेजहरू हेरयौँ भने कम्युनिस्ट पार्टीको स्थापना २००६ साल वैशाखमा जतिबेला भयो, त्यसैबेलादेखि नेपालमा एउटा नयाँ चेतना आएको देखिन्छ र कम्युनिस्ट पार्टीले यी ६६ वर्षमा नेपाली समाजलाई सचेत गराउने, सङ्गठित गर्ने, आन्दोलित गर्ने र नेपाली समाजमा परिवर्तन ल्याउन असाधारण योगदान गर्ने काम गरेको छ,  अद्वितीय योगदान गरेको छ । अरू कसैले राणाशाहीका विरुद्ध आन्दोलन गरेका हुन् या नहुन्, राणा शासनको विरुद्ध गरेका पनि होलान्, तर सामन्तवादको अन्त्य हुनैपर्छ, राजतन्त्रको अन्त्य हुनैपर्छ, गणतन्त्रको स्थापना हुनैपर्छ भनेर कम्युनिस्ट पार्टीबाहेक अरू कसैले आन्दोलन गरेको थिएन । सामाजिक न्याय र समानता हुनुपर्छ भनेर अरू कसैले भन्न सकेको थिएन । राष्ट्रिय एकता हुनुपर्छ भन्ने कम्युनिस्ट पार्टीे नै हो, जसले लोकतन्त्र, गणतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय एकताजस्ता कुराहरूमा जोड दिँदै आयो । शोषणकारी व्यवस्थालाई हटाएर समृद्ध र समतामूलक व्यवस्थाको निर्माण गर्नुपर्छ भन्ने विचार, दृष्टिकोण र लक्ष्य पनि कम्युनिस्ट पार्टीले नै अगाडि सारेको हो ।  

यसबीचमा बलिदानका धेरै शृङ्खलाहरू भए । समस्याका धेरै  गाताहरू भए । हामीले यहाँ अहिले भर्खरै साथीहरूलाई सम्मानित गरयौँ । जनतामा चेतना फैलाउनका लागि काम गर्ने युवराज कार्की जो झापाबाट आउनुभएको छ, उहाँलाई सम्मानित गरयौँ । सुरेश कार्की, जसलाई सम्मानित गरयौँ उहाँ उदयपुरबाट आउनु भएको छ । नरनाथ लुइँटेल पहिला झापामा हुनुहुन्थ्यो, अब धादिङतिर हुनुहुन्छ, उहाँलाई पनि सम्मानित गरयौँ । यस्ता धेरै साथीहरूले विभिन्न ठाउँमा देशभरि बत्ती बाले, अनि अरूहरूले त्यसलाई सल्काउदै गयौँ । त्यसैगरी कम्युनिस्ट पार्टीले कार्यकर्ताहरूमार्फत जनतामा चेतनाको बत्ती सल्काउँदै गयो । नेपालमा राणा शासनको विरुद्ध सङ्घर्ष भयो । कम्युनिस्ट पार्टीले मात्रै लोकतान्त्रिक गणतन्त्र र सामाजिक न्यायको कुरा उठाएको थियो । पहिलो पल्ट झापा आन्दोलनमा गणतन्त्रका निम्ति राजतन्त्रको विरुद्ध, निर‌ङ्कुशतन्त्रका विरुद्ध आमनेसामने लडाइँ भयो । त्यसक्रममा ४४ वर्षअघि आजकै दिन हाम्रा पाँच जना क्रान्तिकारी योद्धालाई हत्या गरेका थिए, तानाशाही पञ्चायती व्यवस्थाका शासकले । 

त्यो राजतन्त्र विरोधी आन्दोलन थियो । हुनत आजकल केही आफूलाई गणतन्त्रका पिता ठान्छन् । संविधान बनाउन नमानेर हैरान पारेको बेला तिनलाई कठालोमा समातेर, लतारेर ल्याएर संविधान बनाइयो । अहिले त तिनीहरू नै गणतन्त्रका पिता भएका छन्, अङ्कल पनि भएका छन्, संविधानका हजुरबा अनेक भएका छन् । नेपाली जनतालाई थाहा छ, कहाँकहाँ कतिकति बेला घिसारेर ल्याउनु परेको थियो तिनलाई । यसमा मैले धेरै भनिरहनु पर्दैन – नेपालका कम्युनिस्ट पार्टीहरू विभाजित भएर टुक्राटुक्रा भएको अवस्थामा झापा आन्दोलनले लोकतान्त्रिक गणतन्त्रको एउटा राजनीतिक अभियान सुरु गरयो, सँगसँगै विभाजित भएर टुक्रामा बाँडिएका कम्युनिस्टहरू क्रान्तिकारी विचारका साथ, जनपक्षीय विचारका साथ, व्यावहारिक र अग्रगामी विचारका साथ अगाडि जानुपर्छ र एकताबद्ध भएर लड्नुपर्छ भन्ने विचार अगाडि सारयो । त्यसअगाडि देशमा राष्ट्रव्यापीरूपमा एकताबद्ध पार्टी थिएन । त्यस आन्दोलनबाट हामीले नयाँ एकता र एकीकरणको अभियान सुरु गरयौँ । त्यस अभियानले जनताको व्यापक समर्थन प्राप्त गर्दै गयो र आज यस ठाँउमा आइपुगेको छ । यो पार्टीले अहिले जुन सरकारको नेतृत्व गरिरहेको छ, यो कुनै भवितव्यमा परेर खडा भएको होइन, यो कुनै गाई कि त्रिशूल खेलेजस्तो खेल्या होइन । यो लामो सङ्घर्षको परिणाम हो ।  

नेपालको संविधान निर्माण गर्ने प्रश्नमा, गणतन्त्र स्थापना गर्ने प्रश्नमा, जनतालाई सार्वभौम बनाउने सन्दर्भमा, राष्ट्रको स्वाभिमानलाई उठाउने सन्दर्भमा र विकास निर्माणलाई अगाडि बढाउने सन्दर्भमा आज नेकपा (एमाले) एउटा खास हैसियतका साथ अगाडि बढेको छ । हिजो एउटा पार्टीको महाधिवेशनको उद्घाटनमा एक जनाले भन्नुभयो – संविधान हामीले बनाएकोले हामीले यसको कार्यान्वयनको नेतृव गर्नुपर्छ भनेर । त्यसमा मैले केही भनिरहने आवश्यकता ठानिनँ किनभने खास कुरा जनतालाई थाहा छ, कसरी बन्यो संविधान ? संविधान बनाउने बेला कोको केके बोल्दै थिए ? केके आदेश दिँदै थिए ? ती कुराहरू संसदलाई थाहा छ । नेपाली काङ्ग्रेसभित्रका संविधान बनाउनुपर्छ भन्ने केही नेताहरू, जसलाई हामीले धेरै जोड गरयौँ – संविधान बनाउनुपर्छ, गलत बाटो जानु हुँदैन भनेर । नेकपा (एमाले) को त्यस अभियानलाई उहाँहरूले साथ दिनुभयो । उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु । संविधान निर्माणका क्रममा अनेक प्रकारका दबाबहरू चारैतिरबाट आए । कहिले भेटेर त कहिले तारबाट, कहिले अनेक प्रकारका कुराहरू आए । नेकपा (एमाले) ले त नेपाल र नेपालीहरूको हित सर्वोपरि राखेर सोच्छ । संविधान बनाउने काममा नेकपा (एमाले) ले गोल गरयो र संविधान बनाउने काममा जसरी होस् सबैलाई सहमत गराएर दुनियाको इतिहासमा यति जटिल संविधानसभाबाट ९२. ५ प्रतिशतभन्दा बढीले संविधान जारी गर्नु, हस्ताक्षर गर्नु सानो कुरा होइन । भारतको संविधान कति प्रतिशतले बनाएका थिए ? ६५.५  प्रतिशतले । त्यसमा ३५.५ प्रतिशतको विरोध थियो । अमेरिकाको संविधान ५२.५ प्रतिशतले बनाएका थिए । ४८.५ प्रतिशतको विरोध थियो । नेपालको संविधान ९२.५ प्रतिशतले बनाए, बाँकी पनि सबैको विरोध होइन । जसले संविधानमा सही गर्न पाएनन् उनीहरूले हामीसँग भने – पार्टीको निर्णयको कारणले संविधान बनाउने यस्तो ऐतिहासिक काममा, कलम त भिरेर आएको थिएँ, तर सही गर्न पाइन । यत्रो वर्ष संविधानसभामा बसेर पनि मैले हस्ताक्षर गर्न पाइन, दुःख लागेको छ । साँच्चै आँसु बगाउँदै भने – जनताले मलाई संविधान बनाउन पठायो तर म संविधान बनाउन छोडेर बाहिर बस्नु परयो, दुःख लाग्या छ । 

आज नेकपा एमालेले सरकारको नेतृत्व गरिरहेको छ । कसैकसैले त भन्ने गरेको तपाईहरूले फाट्टफुट्ट सुन्नु भएको होला, अब काङ्ग्रेसको महाधिवेशनपछि सरकार परिवर्तन हुन्छ भनेर । त्यस भाषाले अलिकति अन्योल सिर्जना गरेको छ, त्यो भाषा त्यसरी भन्न खोजिएको होइन, तर पनि अलिकति भ्रम परेको छ । त्यसलाई बुझिने भाषामा भन्नुपर्छ । काङ्ग्रेसको महाधिवेशनपछि सरकार बिस्तार हुन्छ, परिवर्तन होइन । काङ्ग्रेस पनि सरकारमा आउँछ, अरू पनि सरकारमा आउनेछन् । सरकार बिस्तार हुन्छ । यो सरकार फेर्ने भन्नेहरू संविधान बनाउने बेलामा बाहिर सडकमा जाने र एमालेलाई भोट नदिनका लागि संसदमा आउनेहरू हुन् ।

अहिले यतिबेला भुइँचालोले यस्तो थिल्थिलो बनाएको छ देशलाई, त्यतिधेरै घरहरू भत्किएका छन्, वर्षा अगाडि कसरी बनाइसक्ने ? यति धेरै घरहरू बनाउन हामीसँग जनशक्ति खोइ ? हामीलाई चिन्ता परेको छ । हामी रातदिन एकएक गरेर काम गरिरहेका छौँ । यस्तो अवस्थामा विगत केही महिनाको नाकाबन्दीले ग्याँस नपाउने, तेल नपाउने, डिजल, पेट्रोल नपाउने कुराले नेपाल आर्थिकरूपमा र अरू धेरै अवसरहरूमा अप्ठ्यारो अवस्थामा पुगेको छ । त्यसको धेरै दूरगामी र नकारात्मक असर परेको छ । अब हामीले त्यसलाई पूरा गर्ने गरी आर्थिक समृद्धिको बाटोमा लाग्नु पर्दछ । 

हामीले एउटा राजनीतिक आन्दोलन, एउटा अभियान, एउटा परिवर्तनको काम सम्पन्न गरेका छौँ संविधान निर्माण गरेर ।  जनताका हक अधिकारहरू संविधानमा संस्थागत गरिएका छन्, सुरक्षित गरिएका छन् तर पनि कसैकसैले हल्ला चलाउने गरेका छन्, भ्रम फिँजाउने गरेका छन् कि संविधानबाट केही पाइएन भनेर । मैले सुनेको छु, गाउँतिर जान्छन् र तिनीहरू भन्छन्– संविधान आयो, केही पायौँ ? संविधानले दाल चामल दिने होइन नि, संविधानले अधिकार दिने हो । संविधानबाट जनताले हकअधिकार पाएका छन् । संविधानमा कहीँकतै पनि भेदभाव र पक्षपात छैन । सबैलाई समान अवसरको व्यवस्था संविधानले गरेको छ । 

एउटा कुरा निश्चित हो कि केही मान्छेका उद्देश्य गलत छन् । नेपालको अहित हुने गरी सीमाका प्रश्नहरू उठाउँछन् भने, साम्प्रदायिकता वा क्षेत्रीय विद्वेषका कुरा हुन्छन् भने त्यो कुरा नेपाल र नेपालीका लागि मान्य हुन सक्दैन । नेपाल हिमाल, पहाड तराईको देश, १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी भएको देश हो । हाम्रोमा जातीय विविधता, भाषिक र सांस्कृतिक विविधता छ । ती हाम्रा सम्पत्ति हुन, हाम्रो सम्पूर्णता हो, त्यस सम्पूर्णतालाई हामीले सदृढ गरेर अगाडि लिएर जानुपर्छ । हाम्रा जुनसुकै जातका जनता हुन्, जुनसुकै भाषाभाषी हुन्, जुनसुकै ठाउँमा बस्ने हुन्, जुनसुकै पेसा अपनाउने हुन्, ती सबैको उत्थान नभईकन, तिनको विकास नभईकन, तिनको गरिबी नहटीकन, ती सबैका छोराछोरीले नपढीकन, तिनको उपचारको प्रबन्ध नगरीकन नेपाल सुखी हुन सक्दैन । अहिलेको संविधानअन्तर्गत बनेको योे सरकार यस कुरामा केन्द्रित छ । यो नेकपा (एमाले) को एकल सरकार होइन, नेकपा (एमाले) को नेतृत्वको सरकार हो । 

संविधान बनाउने जस्तो एउटा ऐतिहासिक सफलता प्राप्त गरेर, पटक–पटक खोसिने गरेका अधिकार अब खोस्न नपाउने प्रबन्ध गरिएको छ । बुझ्नेका लागि एउटा ठूलो श्रीखण्ड प्राप्त भएको छ, नबुझ्नेहरूका लागि के भन्ने ? केही त खुर्पाको बिँड भन्दै उफ्रिएर कराउँदै हिँडेका पनि छन् । त्यसले वातावरण बिगार्ने काम गरेको छ, तर अब हामी नेपाललाई नयाँ ढङ्गले निर्माण गर्ने र अगाडि बढाउने पक्षमा छौँ । 

आज नेकपा (एमाले) राज्यका महत्वपूर्ण ठाउँहरूमा छ । राष्ट्रपति त कुनै पार्टीको हँुदैन, तर राष्ट्रपति हुनुभन्दा अगाडि उहाँ एमालेमै हुनुहुन्थ्यो । एमालेले प्रस्ताव गरेर, एमालेले भोट दिएर राष्ट्रपति बनाइसकेपछि अब उहाँ एमाले हुनुहुन्न । अब नेपालमा जसलाई एमालेले उपराष्ट्रपति बनाउने भन्छ, त्यही उपराष्ट्रपति हुन्छ । एमालेले जसलाई सभामुख बनाउने भन्छ, त्यही सभामुख हुन्छ । एमालेले जस्तो भन्छ, त्यस्तै सरकार बन्छ । कसैले मानेनन् भने एकैछिन बाहिर बसेर कोसिस गर्छन्  । लोकतन्त्रमा त्यो स्थितिले केही बिग्रिहाल्दैन । 

भरखरै मैले भारतको भ्रमण गरेँ । धेरै मान्छेलाई लाग्या थियो, हल्ला गरेका थिए, प्रधानमन्त्रीको भारत भ्रमण सफल हुँदैन, यस्तो हुन्छ, उस्तो हुन्छ भनेर । कतिलाई लाग्या थियो, अब सम्बन्ध सुध्रिँदै सुध्रिँदैन । मेरो भारत भ्रमण देखेपछि सबै छक्क परे । भारतले पूरै पञ्चेबाजा बजाएर स्वागत गरयो । चीन जाँदैछु, चीनले पनि ड्रम बजाएर स्वागत गर्छ । हामीले भारतमा एउटा अर्को बन्दरगाह प्राप्त गरेका छौँ, बिशाखापटनम् बन्दरगाह । बंगबन्धुको बाटो प्राप्त गरेका छौँ । हामीले ट्रान्समिसन लाइनको उद्घाटन गरेका छौँ । भारतबाट थप ८० मेगावाट बिजुलीे प्राप्त गरेका छौँ । तपार्ईंहरूलाई लाग्ला ८० मेगावाट बिजुली किन काठमाडौँ आएन ? यसभन्दा अगाडिका सरकारले बिजुली जहाँ निकालेका छन्, त्यहाँ आगो बालेजस्तो मात्रै भो, बिजुली ल्याउने तारचाहिँ तानेको छैन । ल्यायौँ भनेको उतैपट्टि वितरण गरेको छ्र तर अब हामी बिजुली उत्पादन, बाटोको निर्माण धेरै कुराहरू गर्छौँ ।

यो नुवाकोटमा कस्तोकस्तो भएको छ भने आमाबाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि भनेजस्तो । एमालेको मन नुवाकोटमाथि, नुवाकोटको मन अन्तअन्तै । भोटचाहिँ अरू पार्टीलाई । तर केही छैन, जे भए पनि एमालेले नुवाकोटको विकासमा ध्यान दिएको छ, ध्यान दिन्छ । नुवाकोटका तमाम दाजुभाइ तथा  दिदीबहिनीहरूलाई म आग्रह गर्न चाहन्छु तपाईहरू ढुक्क हुनोस्, एमालेको नेतृत्वमा सरकार बन्या छ, यो सरकार जनताको सरकार हो । यो तपार्ईंहरूको सरकार हो । यो सङ्घर्षबाट आएको सरकार हो । त्यसो भएर ढुक्क हुनोस् । यसले देशको विकास गर्छ । म आज तपाईंहरूको अगाडि एमाले अध्यक्षमात्रै होइन, देशको प्रधानमन्त्रीको रूपमा बोल्दै छु, यो नुवाकोटभन्दा धेरै दुर्गम मेरो जिल्ला छ । म त्यो दुर्गम जिल्लामा गाईभैँसी, बाख्रा चर‌ाएर, घाँस काटेर त्यस ठाँउबाट आएर प्रधानमन्त्री भएको हुँ । त्यस कारण मेरो जिन्दगीमा मैले देशका निम्ति इमानदारिताका साथ काम गर्ने, जनताको समृद्धि र सुखका निम्ति काम गर्ने, तिनको विकासका निम्ति काम गर्नेबाहेक मेरो अरू कुनै उद्देश्य छैन । नेपालका सम्पूर्ण केटाकेटीले पढ्न पाउनुपर्छ, बच्चाबच्चीको पढ्ने व्यवस्था कहीँकतै भएको छैन भने त्यो काम यो सरकारले गर्छ ।

आज यहाँ नेकपा (एमाले) को जिल्ला अधिवेशन भइरहेको छ ।  म यस जिल्ला अधिवेशनका हाम्रा प्रतिनिधिहरूलाई भन्न चाहन्छु – यो पक्ष कि त्यो पक्ष, यो गुट कि त्यो गुट भन्न छोडिदिनोस् । ती अब इतिहासका कुरा भए । एमाले जनताको पार्टी हो, एमाले जनताको निम्ति हो, देशका निम्ति हो । पक्ष–विपक्ष भन्ने कुरा एमाले कार्यकर्तालाई सुहाउँदैन । एमाले एउटा माध्यम हो देशको सेवा गर्ने । त्यसैले पक्ष–विपक्षको निम्ति लडार्इँ छोडिदिनोेस् । पदका निम्तिको लडाइँ छोडिदिनोस् । एमाले जस्तो पार्टीले नुवाकोटमा किन हार्छ ? अहिले पनि मान्छेहरू अरू अरू पार्टीलाई किन भोट दिन्छन्, के भएर हो जनता एमाले जस्तो पार्टी हुँदाहुँदै अरू पार्टीलाई भोट दिएर जिताइरहेका छन् ? हामी एमाले कार्यकर्ताहरूले अधिवेशनमा विचार गर्नुपर्ने कुरा हो यो । 

एमाले सोझो  र इमानदार पार्टी हो । त्याग, तपस्या र बलिदान एमालेले गर्छ । यहाँ मञ्चमा बस्ने कतिले २०–२५ वर्र्ष भूमिगत भएर काम गरया छौँ । कति वर्ष जेल र भूमिगत बसेका साथीहरू छन् यहाँ । म पनि त्याग–तपस्या गरेरै आएको हुँ । कोही यदि सङ्घर्षका गफ नै गर्छन् भने भन्न चाहन्छु – म चौध वर्ष जेल बस्या छु । अरू पार्टीमा कोही चौध वर्ष पूरा जेल बस्या कोही छ भने आउनोस् ।  ६ वर्ष मैले भूमिगत काम गरया छु । हामीले आन्दोलन सुरु गरेको ४४ वर्ष अगाडि मेरा साथीहरू मारिएका थिए । त्यसबेला हामीले खाटमा वरिपरि बसेर पप्लु खेलेर समय बिताएको होइन, हामीले हाम्रो जिन्दगी सङ्घर्षमा, आन्दोलनमा बिताएका हौँ । एमाले त्यो खालको पार्टी हो । म एमालेका यहाँका साथीहरूलाई भन्न चाहन्छु – जनतालाई गएर बताउनोस् र भन्नोस् – एमाले नै हो देश बनाउने पार्टी, भ्रममा नपर्नोस् ।

मैले एक ठाउँमा भनेको थिएँ – एउटा बच्चाको कुरा । २०४८ सालमा राष्ट्रिय सभामा एक जना महिला पनि मनोनित भएर आउनुभएको थियो । उहाँको एउटा बालक छोरो थियो । छोरो पनि उहाँ सँगसँगै आउँथ्यो । बच्चा खूब रमाउँथ्यो । मैले बच्चालाई प्रायः सोधिरहने गर्थेँ – ए बाबु कुन पार्टी मन पर्छ ? उसलाई कति राम्ररी सिकाइएको रहेछ भने उसले फटाफट जवाफ दिन्थ्यो – काङ्ग्रेस मन पर्छ, रुख मनपर्छ । मलाई त्यो कुरा राम्रो लाग्याथ्यो । 

तसर्थ, यहाँ हाम्रो पार्टीले जनतामा गएर सम्झाउनु परयो, कुराहरू बुझाउनु परयो ।  नेकपा (एमाले) का उद्देश्य र नीतिहरूबारे जनतालाई जानकारी दिनु परयो । आजको आवश्यकता हो यो । विगतका कामहरूको समीक्षा गर्नोस् । नेकपा (एमाले) ले देश हाँक्न अनिवार्य छ । एमालेले हाँक्नुपर्छ । एमालेले हाँकेन भने देश हाँकिदैन । अहिले यो देशमा एमाले हुँदैन थियो भने छाला जाने गरी घुँडा टेकिसक्या हुन्थ्यो । एमाले नै हो जसले देशलाई घुँडा टेक्न लगाएन । यो कुरा जनताका बीचमा पुरयाउनोस् ।  म यहाँका सबै साथीहरूलाई, कमरेडहरूलाई भन्न चाहन्छु, कसलाई अध्यक्ष छान्ने, कसलाई उपाध्यक्ष छान्ने भन्ने कुरा ठूलो होइन, त्यसमा विवाद नगर्नोस् । पार्टीको नीति र उद्देश्यलाई अगाडि बढाउनोस्, सबै ठिक हुन्छ । 

नुवाकोट जिल्लालाई मेरो शुभकामना छ । यहाँ २ वर्षभित्र २ लेनको बाटो बन्छ । यहाँ ग्याँस, पेट्रोलियमको भण्डारण गर्ने काम हुन्छ । व्यापारिक केन्द्र जस्तो हुन्छ यो ठाउँ । त्यसपछिको अर्को योजना केरुङ, काठमाडौँ, पोखरा, लुम्बिनी रेल मार्ग बनाउने मेरो योजना छ । तपाईहरू केही वर्षको प्रतीक्षा गर्नोस् । गर्नेलाई पछाडि धकेल्ने, नगर्नेलाई अगाडि सार्ने ? सरकारमा एमालेले त्यस ढङ्गले अगाडि जान नपाउने, अरूले पाउने कहाँबाट हुन्छ ? अहिले एमालेको नेतृत्वमा सरकार बनेपछि आलोचना गराैँ, विरोध गरौँ, समर्थन गरौँ अथवा जे गराैँ तर विकास निर्माणका कुराहरूमा विरोध नगरौँ । विकास के हो, कसरी गर्नुपर्छ, यो सरकार बनेपछि जसरी तपाईहरूले सुन्नुभयो, कहिल्यै सुन्नु भएको थियो यस्ता विकासका कुरा ? कसैको सोचमा थिएन । नेकपा (एमाले) खानका लागि बनेको र जन्मिएको पार्टी होइन । यो जनताका लागि केही काम गर्न भनेर जन्मिएको पार्टी हो । यसले देश विकासको अभियान चलाएको छ । यस काममा सहयोग पुरयाउन म सबै दाजुभाइ, दिदीबहिनीहरूलाई आग्रह गर्न चाहन्छु । त्यसका निम्ति एमालेका साथीहरूले जनताका बीचमा गएर काम गर्नुपर्छ । यस अधिवेशनले समीक्षा गरेर आउने दिनका निम्ति आङ्खना नीति, योजनाहरूसहित अगाडि बढ्ने निर्णय लिनेछ । यस अधिवेशनले यस जिल्लामा महत्वपूर्ण भूमिका खेल्ने निर्णय लिनेछ भन्ने विश्वास मैले लिएको छु ।  

(नेकपा (एमाले), नुवाकोट जिल्ला कमिटीको छैटौँ अधिवेशनको सम्बोधन)

--> --> -->