NP EN

राष्ट्रिय हितअनुकूल अन्तर्राष्ट्रिय सम्बन्ध

सम्पूर्ण उपस्थित नेताज्यूहरू, माननीयज्यूहरू, दलको बैठक गर्न र परिस्थितिको बारेमा माननीयज्यूहरूलाई जानकारी गराउन पनि अलिक समय भ्याइराखेको स्थिति थिएन । परिस्थिति जटिल त छँदैछ, समय अगाडि बढिरहेकै छ फेरि । समयको नियम नै यही हो । हामी यस जटिल परिस्थितिमा पनि अगाडि बढिरहेका छौँ । यस जटिल परिस्थितिमा हामी अत्यन्तै ऐतिहासिक र महत्वपूर्ण अभिभारा बहन गर्ने दिशामा दृढताका साथ अगाडि बढिरहेका छौँ । 

अहिले विपक्षीहरूको र विपक्षी जस्तो नलाग्ने विपक्षीहरूको तीव्र आक्रमण हामीमाथि भएको छ । आक्रमण त्यत्तिकै भएको होइन । राम्रो काम गर्न खोज्दा लखन थापालाई पनि त मारिहालेका थिए नि होइन ? योगमायालाई हामफालेर मर्नुपर्नेमा पुरयाएका थिए । परिवर्तनका अग्रगामी कुरा गर्दा १९९७ सालमा चार जनालाई झुण्ड्याएकै थिए । आज झुण्ड्याउन सक्दैनन्, छेउमा बसेर गाली गर्छन्, सराप्छन्, धारे हात लगाउने काम गर्छन् । समय परिवर्तन भयो, इच्छा, आकाङ्क्षा, मनोवृत्ति, बानी, परिवर्तन भएको छैन । सामथ्र्य भिन्नै भयो, अब ती १९९७ सालमा जस्तो झुण्ड्याउन सक्ने अवस्थामा छैनन् तर मतिचाहिँ उस्तै छ । हमला गर्छन् । किन हमला गर्छन् भन्दा नेपालमा केही नयाँ हुँदैछ, परिवर्तन हुँदैछ, त्यसकारण हमला गर्छन् । 

टोलमा मान्छेले आगो ताप्छन्, जहाँ तापेको भए पनि फोटो छापिहाल्छन् । अझ यसपल्ट त भूकम्पले बर्बाद गरेको छ । उत्तरी भेगमा, हिमाली भेगमा जनतालाई साह्रै कष्ट भएको छ । अघिल्लो सरकारले ६ महिनासम्म केही पनि गरिदिएन । हामी आइसकेपछि पनि प्राधिकरण विधेयक पास हुन दिइएन । अहिले हामीले अनेक हिसाबले लिगमा ल्याउँदैछौँ सबै कुरालाई । माघ २ गतेबाट हामी पुनर्निर्माणको महाअभियान सुरु गर्दैछौँ । १९९० साल माघ २ गते भूकम्प गएको थियो । त्यसै दिनबाट हामी पुनर्निर्माणको महाअभियान सुरु गर्छौँ । 

अब हामीसँग कानुन छ, हामीसँग प्राधिकरण छ, त्यस प्राधिकरणलाई हामी पूर्णता दिएर सम्पूर्णरूपमा गतिशील बनाउँछौँ । हामीले सकेसम्म सहमतिका साथ अगाडि बढ्ने प्रयास गरेका छौँ । कति कुरामा विलम्ब भइरहँदा पनि, नराम्रो लाग्दालाग्दै पनि प्रतीक्षा गरेर, पर्खेर हामी सबैलाई अगाडि बढाउन खोजिरहेका छौँ । कतिपय कानुनी प्रावधान, प्रक्रियागत जटिलता, सामान्य अवस्थाबाहेक विशेष अवस्थाको कानुन पनि छैन, तत्काल गर्नुपर्ने कानुन पनि छैन, त्यस्तो अवस्थामा हामी छौँ, त्यसलाई परिवर्तन गरेर हामी तीव्रताका साथ अगाडि लान्छौँ ।

आपूर्ति व्यवस्था सहज बनाउने दिशामा हामी काम गर्दैछौँ । नेपाल भूपरिवेष्ठित हो तर एउटैमात्र देशवेष्ठित होइन । भूपरिवेष्ठित हो, हाम्रा दुईतिर छिमेकी छन् । एकातिर ट्रान्जिट ट्रिटी छ, अर्कोतिर ट्रिटीको कसैले वास्ता पनि गरेका छैनन् । यी सबै कुरामा नेपालमा हामी नयाँ ढङ्गले, साँँच्चै सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा, सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्रको हैसियतले यसले आफ्ना गतिविधि गर्ने अभ्यासको प्रारम्भ गरेको छ । कतिलाई मन पर्छ, कतिलाई मन पर्दैन, त्यो बेग्लै कुरा हो, तर हाम्रो देशको आवश्यकता यही हो । हाम्रो देशको आवश्यकताअनुसार, हाम्रो देशको हक हो त्यो । यो कसैको विरुद्धको कुरा होइन, हाम्रो देशको पक्षको कुरा हो ।  

काठमाडौँमा इलेक्ट्रिक रेल अथवा मेट्रो रेल चलाउने कुरा हामीले अगाडि सारेका छौँ । त्यस्तो भन्न पाइन्छ ? भन्नेहरू पनि छन् । भन्न पाइने मात्र होइन, हामी त गर्न अगाडि बढिसकेका छौँ । अब यसको तयारी हुँदैछ । काठमाडौँका जनता रेल चढेर हिँड्छन् अब । अलिकति समय लाग्छ तयार हुन । हामी सार्वजनिक यातायातका साधन खासगरी बस, इलेक्ट्रिक बस सञ्चालन गर्ने, इलेक्ट्रिक कार सञ्चालन गर्ने व्यवस्थाका लागि तयारीमा लागेका छौँ । यहाँ फोहरमैलाको डुङ्गुर हुन्छ । नाक थुनेर हिँड्नुपर्ने अवस्था हुन्छ ।  त्यसबाट ग्याँस निकाल्ने, अरू वैकल्पिक ऊर्जा निकालेर त्यसलाई सम्पत्तिको रूपमा परिणत गर्ने काममा पनि हामी लागेका छौँ । त्यो काममा हामी लामो समय लगाउँदैनौँ, अब छिट्टै गर्छौँ । तातोपानीबाट बिजुली निकाल्छौँ । हाम्रो कुरा सुनेर कोहीकोही छक्क पर्छन् । लुतो फाल्ने भनेको अँध्यारो फाल्ने पनि रहेछ भनेर छक्क पर्छन् मान्छेहरू । हामीसँग म्याग्दीमा तातोपानी छ । यहाँ सिन्धुपाल्चोकमा तातोपानी छ, अरू विभिन्न ठाउँमा छ । ग्याँसहरूको हामी अध्ययन गर्दैछौँ, पेट्रोलियमको अध्ययन गर्दैछौँ । हामी उत्खनन गरेर आफ्नै देशमा पेट्रोलियम उत्पादन गर्छौँ । कतिलाई यो कुरा पनि राम्रो लाग्दैन । नेकपा (एमाले) ले ९ महिनामा राम्रो काम गरयो । त्यसबेला जालझेल, षड्यन्त्र गरेर एमालेलाई धारे हात लगाएर हटाउनुपरेको नराम्रो काम गरेर होइन, राम्रै काम गरेकाले हटाइएको थियो । अहिले पनि त्यही एउटै धुन छ, एमालेको नेतृत्वको सरकार हटाउने । 

अहिलेको सबभन्दा ठूलो मुद्दा के छ भने ६ जना उप–प्रधानमन्त्री भए । टोपी निकालिदिएर उपप्रधानमन्त्रीको पगरी लगाइदिएको त हो । उप–प्रधानमन्त्रीले के नै खाने हुन् र ? दुई–दुई मानाको भात खान्छन् ? हेर्दाखेरि पगरी लगाइदिएका ६ जना उप–प्रधानमन्त्री । के गर्न लागेको छ देशमा, त्यतापट्टि ध्यान छैन । यो पाराले त सरकार ढल्दैन कि क्या हो भन्ने पिरमात्र छ । मुख्य कुरा देश बनाउने  हो । बनेपादेखि नागढुङ्गासम्म रेल चल्छ । उता केरुङबाट गल्छी र पोखरा फस्र्ट लटमा हामी केही वर्षभित्र रेल चलाउँछौँ । यता हामी उत्तरतिरका पासहरूलाई सिगात्सेबाट नजिकै पर्ने, हरेक मौसममा चल्ने किमाथान्काको पासलाई सुचारू गर्छौँ । दुई वर्षभित्र केरुङ–गल्छी सडकलाई दुई लेनको पक्की बनाउँछौँ । पेट्रोलियम पदार्थको स्टोरेज विकास गर्छौँ । भुइँचालो गयो राहत, उद्धार पुरयाउने ठाउँमा न बाटो छ, न हेलिप्याड छ । अब एक छिनपछि सुरु हुने क्याबिनेटमा हामी निर्णय गर्दैछौँ, नेपालको हरेक गाविसमा एउटा हेलिप्याड हुनेछ भनेर । धेरै ठूलो खर्चको कुरा होइन । त्यो दृष्टिकोणको कुरा हो । अभर परयो भने अभर पर्दाको निम्ति विदेशका हेलिकप्टर आए कि आएनन् भनेर कताबाट आउँछ भनेर हेर्नुपर्ने, हामी आफ्नै हेलिकप्टरको बन्दोबस्त किन नगर्ने ?

दुई चारजना राज्यमन्त्री थप्नुपरयो भनेर माननीयहरूको लिस्ट हेरेँ । राज्यमन्त्री हुन नसक्ने कोही छैन, सबै राज्यमन्त्री हुन लायकै लायक छन् । कस्तो आपत् π दुई जना थप्दा कोको हुन्छ, धेरै थप्न पनि मिलेन, सबै योग्य साथीहरू छन्, कसलाई बनाउने, कसलाई नबनाउने ? एमालेमा योग्य मान्छेहरूको त पल्टन नै छ, थोरै भइदिएको भए पो । यो एक जनाको पार्टी, एक जना दलको नेता, एक जना सचेतक, एक जना मन्त्री भएजस्तो त होइन । यसमा त बहुमतमा पुग्न अलिकति पाएको छैन, चुनावसम्म पर्खनु परेको छ तर पनि यो एउटा हैसियतमा भएको पार्टी हो । यसमा धेरै साथीहरू हुनुहुन्छ । मिलाएर हामी अगाडि लान्छौँ । म हाम्रा कमरेडहरूलाई, माननीयहरूलाई आग्रह गर्न चाहन्छु – हामी डिमोरलाइज हुनुपर्ने कारण छैन, हामी अगाडि बढ्छौँ । अस्ति एक ठाउँमा तुइनले हात चेपिएर औँलाहरू बिग्रिएकी एउटी बच्ची भेटिइन् । मैले त्यहीँ भनेँ अब उप्रान्त तुइनले हात बिगार्ने, हात चेप्ने स्थिति हुनुहुन्न । त्यसलाई विस्थापित गरियो । अरू तुइनलाई हामी गर्दैछौँ । मैले भनेको छु, एकैचोटि सयौँ झोलुङ्गे पुलहरूको निर्माण सुरु गर्ने र तुइन हटाइहाल्ने कुरा । अब सोलार इनर्जी हामी सुरु गर्छौँ, जियोथर्मल हामी सुरु गर्छौँ, क्लिन इनर्जी हामी सुरु गर्छौँ र हाइड्रोपावरको सेक्टरमा लज्जाजनक कुरा होइन, मैले धेरै ठाउँमा भन्ने गरेको छु, नेपाल जस्तो ८३ हजार मेगावाट क्षमता भएको देशमा, दक्षिण एसियामै सबभन्दा अगाडि हाइड्रोपावर सुरु गरेको देशले १ सय ५ वर्षमा यथार्थमा तीन सय, सवा तीन सय, बाढीमा साढे तीन सय मेगावाट विद्युत उत्पादन गरेको छ । बाढी आएको बेला वर्षामा ७ सय ५० मेगावाटसम्म उपलब्ध छ । १ सय ५ वर्षदेखि जलस्रोतका गोष्ठी, सेमिनार यति भए, जलस्रोतकाबारे अध्ययन गर्न बाहिर कति गए, कति एक्स्पर्ट आए, कति के भए सबै हिसाबकिताब गर्ने हो भने कतिवटा आयोजना बन्नुपथ्र्यो ? हामी मुलुकलाई यस्तो अवस्थामा रहन दिँदैनौ । हाम्रो हावा, हाम्रो देशमा लागेको घाम, हाम्रो बारीपाखामा लागेको घाम, हाम्रो ठाउँमा आएको भूगर्भीय, भूतापीय क्षमता आदिलाई प्रयोग गरेर हामी एक वर्षभित्रमा एक हजार मेगावाट उत्पादन गर्न सक्छौँ, लोडसेडिङ हटाउन सकिन्छ, विद्युत्मा आत्मनिर्भर हुन अब ढिलो हुनुहुँदैन । 

हामीले विद्युतमा पूराका पूरा फेरबदल गर्नुपर्छ र जमानाअनुसार चल्नुपर्छ । एउटा क्षेत्रमा मात्र होइन, सम्पूर्ण क्षेत्रमा आजको विज्ञान प्रविधिको प्रयोग गर्नुपर्छ, आइटीको जमानामा हामी प्रवेश गर्नुपर्छ । इ–गभर्नेन्समा प्रवेश गर्नुपर्छ । हामी अत्यन्त ठूला, ज्यादै महत्वपूर्ण, अग्रगामी र तीव्रताका साथ अगाडि बढ्ने खालका सोचहरू, मैत्री योजनाहरू लिएर अगाडि बढ्न खोजिरहेका छौँ । 

हाम्रो काँधमा विशेष अभिभारा छ । त्यो अभिभारा हिजो पनि हामीले सजिलैसँग पूरा गरेका थिएनौँ । राणाशासन ढल्दा वा ढाल्दा सजिलोसँग ढालिएको थियो र ? ढाल्ने अभिभारा त थियो, तर ढाल्न सजिलो थिएन । राजाको निरङ्कुशता फाल्न जरुरी थियो, फाल्न सजिलो थियो त ? हाम्रो शक्तिलाई अगाडि बढाउन अत्यन्तै जरुरी थियो तर अगाडि बढाउन सजिलो थिएन तर हामीले अगाडि बढायौँ । 

जेन्टलमेन एग्रिमेन्टहरू भङ्ग भए । किन भए होलान् विचार गर्नोस् त? हामीले साथ दियौँ अरूलाई, अरूले हामीलाई साथदिने भनेका ठाउँमा साथ दिन्न भन्छ भने त्यो के को जेन्टलमेन एग्रिमेन्ट ? संविधान बनाउन संविधान सभामा नबसेका शक्तिहरू हामीलाई हराउनका निम्ति मखुण्डोसकुण्डो फुत्त फालेर कुद्दै हामीलाई हराउन उपस्थित भए । संविधान बनाउन नआउने, संविधान बनाउने बहसमा नउत्रिने, छोडेर हिँड्यौँ भन्ने, कसैले राजिनामा लेखेर पठाउने, ती नै मान्छे मखुण्डो फ्याँकेर हाम्रो विरुद्ध, हाम्रो सरकार बन्न नदिन,  हाम्रो नेतृत्वमा सरकार बन्न नदिन अनेक गतिविधि गर्ने ? धेरै तमासा भयो, तपाईं हामीलाई थाहै छ । ती तमासाका बाबजुद, दुनियालाई थाहा छ, जगजाहेर छ, हामीले भनेको राष्ट्रपति, हामीले भनेको उप–राष्ट्रपति, हामीले भनेको सभामुख, हामीले भनेको उपसभामुख, हामीले भनेको प्रधानमन्त्री हामीले बनाएकै हो । यो कुनै लुकेको कुरा छ र ?  नेकपा (एमाले) ले त्यसरी बनायो भनेपछि मान्छेहरूलाई पिर त पर्ने नै भयो । प्रचारको शैली देख्नुभयो । म एउटा पुल उद्घाटन गर्न गएँ अस्तिको दिन । १५ मिनेट उडाएपछि हेलिकप्टर खराब भयो, बिग्रियो । अर्को हेलिकप्टरले लिएर आयो । एउटा कार्यक्रममा दुई वटा हेलिकप्टर भनेर उधुम मच्चाइयो । जसरी हुन्छ विरोध गर्ने । हामीले सङ्कटमा के गरयौँ, कसरी अगाडि बढयौँ, कसरी सामना गरयौँ, त्यो नहेर्ने । त्यस विपरीत प्रचार गर्ने । यी कुराहरूसँग हामीले हरेस खानुपर्ने छैन, हामी दृढताका साथ अगाडि बढ्छौँ र दृढताका साथ अगाडि बढेर नै आगामी दिनमा जुन कुराहरू हामीले घोषणा गरेका छौँ, ती कामहरू हामी गर्दै जान्छौँ । 

अहिले खूब प्रचार छ, के.पी. ओलीले एक वर्षभित्र लोडसेडिङ हटाउँछु भनेको हेर्नोस् त ! बत्ती नै आउँदैन, लोडसेडिङ हटाउँछु रे !

त्यही भएर त लोडसेडिङ हटाउँछु भनेको, कस्तो थाहा नपाएको ? यही बत्ती नआउने भएको हुनाले, यही विद्युत् पर्याप्त उत्पादन नहुने भएकोले, लोडसेडिङ हुने भएको हुनाले एक वर्षभित्र हटाउँछु भनेको । केपी ओलीले लोडसेडिङ हुने बनाइदिएको त होइन नि ! 

नाकाबन्दी छँदैथियो हामी आउँदा । बीस दिन अगाडिदेखि नाकाबन्दी थियो । मधेसको आन्दोलन छँदै थियो । वार्ता सम्वाद हामीले जारी राखेका छौँ, कोसिस गरेका छौँ, मिलाउने कोसिस गरेका छौँ । म यहाँहरूलाई भन्न चाहन्छु, सबै कुराको आधार, निर्णयको आधार, अघि बढ्ने आधार, एकताको आधार, मिलनको आधार कानुनी राजको सिद्धान्त हो, संविधानको कार्यान्वयन हो । फेरि एकपल्ट म साथीहरूलाई भन्न चाहन्छु – वार्ता, सम्वाद जहाँ जे गरे पनि सबै चीजको आधारचाहिँ संविधानको कार्यान्वयन हो, त्यसको परिपालना हो, त्यसको सम्मान हो । कानुनी प्रक्रिया, विधिको शासनजस्ता कुराचाहिँ मुख्य कुरा हुन् ।  ९२ प्रतिशतले पास गरेको संविधान नहुने रे ! चार जनाले मान्दिन भनेपछि नमानिने ? क–कसका केके भूमिका थिए त्यो त अहिले बोल्दै हिँडेका कुराहरूबाट पनि सबैलाई थाहा भएको छ । 

हामी सबैलाई थाहा छ, नेकपा (एमाले) यस देशमा छ, त्यसै कारणले संविधान बन्यो । संविधानसभाको निर्वाचनभन्दापछि मैले संसदमा बोल्दाखेरि भनेको थिएँ – अहिलेको संविधानसभा संविधान नबनाइकन असफल भएर टुङ्गिन सक्दैन । एमाले थियो, सबल एमाले थियो, होसियार एमाले थियो र संविधान बनाएरै छोड्यो । संविधानसभाको दोस्रो निर्वाचनबाट संविधान बनाउने बाटोमा हामी लाग्यौँ, हामीले शासन होइन, संविधान बनाउने भूमिकातर्फ, संविधान प्राप्त गर्ने ऐतिहासिक उपलब्धितर्फ बढ्ता ध्यान दिएर काम गरयौँ । त्यसपछि अर्को चरण सुरु भएको छ । हामी दृढताका साथ अगाडि बढ्छौँ । साथीहरूलाई ढुक्क रहन म आग्रह गर्न चाहन्छु । 

अन्तर्राष्ट्रिय सम्बन्धहरू हामी बिस्तारै सन्तुलित बनाउँदै लान्छौँ । सबै अन्तर्राष्ट्रिय सम्बन्धहरू सन्तुलित हुनेछन् । नेपालको हित अनुकूल नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, यसको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानलाई तलमाथि पर्न नदिइकन राष्ट्रिय हितलाई अगाडि बढाएर अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडि लगिन्छ । बहुतै जिम्मेवार, बहुतै कूटनीतिक, मर्यादित अन्तर्राष्ट्रिय सम्बन्ध कायम हुनेछ । भाइचारापूर्ण, पारस्परिक लाभ, एकअर्काको अस्तित्वलाई स्वीकार गर्ने सम्बन्धको विकास हुनेछ । यसमा ढुक्क रहन म साथीहरूलाई आग्रह गर्न चाहन्छु । 

बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली हामीले नै मागेको हो । बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा विरोधी भएन भने त राजनीति नै हुँदैन । एमालेजस्तै भलादमी पाराले सबैले प्रतिस्पर्धा गर्ने  भए यस्तो किन हुन्थ्यो ? हामीले अरूलाई सिकाउनुपर्छ । मैले उहिलेदेखि भन्दै आएको छु – नेकपा (एमाले) भनेको त गुरू पार्टी हो । चेतनाको गुरू, समानताको गुरू, लोकतन्त्रको गुरू, लोकतान्त्रिक अभ्यासको गुरू । यसको काम भनेको अरूलाई सिकाउँदै लाने हो । हामी सिकाउँदै लान्छौँ, त्यसैले त यो देश लोकतान्त्रिक हुनेछ, प्रगतिशील हुनेछ, जनपक्षीय रहनेछ । जसले जति रिस गरे पनि अब यो देश एमालेमय हुनेछ । एमालेले यस देशलाई अगुवाइ गर्छ । हामीले भनिआएका छौँ र गरिआएका छौँ – हाम्रो पार्टीसँग जनताको बहुदलीय जनवाद छ । हाम्रो पार्टीसँग त्यस विचारलाई कार्यान्वयन गर्ने सङ्गठन छ । त्यस सङ्गठनलाई संसदमा प्रतिनिधित्व गर्ने सशक्त अनुभवी संसदीय दल छ । हामीसँग जनताको असाधारण साथ, सहयोग र समर्थन छ । हामी दृढताका साथ अगाडि बढ्छौँ । 

(२०७२ पुस २१ गते संसदीय दलको बैठकमा सम्बोधन)