NP EN

हामीले ठूलो फड्को मारेका छौँ

पुस्तकका लेखक, प्रकाशक, सम्पूर्ण चिकित्सक साथीहरू र दाजुभाइ दिदीबहिनीहरू, म डा. अरुण सायमि र उहाँका सहलेखक साथीहरूलाई हार्दिक बधाइ ज्ञापन गर्न चाहन्छु । धेरैधेरै शुभकामना पनि भन्न चाहन्छु । उहाँहरूसँग अरू धेरै अपेक्षा पनि राख्न चाहन्छु । उहाँहरूले आफूले प्राप्त गरेका ज्ञान र अनुभवहरूलाई आफूसँगमात्र सीमित राख्नुभएन, अरूलाई पनि दिनुभयो । यो पुस्तक, जसले चिकित्सा शिक्षा र सेवाको क्षेत्रमा उल्लेख्य योगदान गर्नेछ । आगामी दिनमा आफ्ना अनुभवहरूसमेतलाई लिएर अझ महत्वपूर्ण पुस्तकहरू प्रकाशित गर्न सक्नुहोस्, शुभकामना छ । 

उपचार हरेकलाई चाहिन्छ । कुनकुन कुरा शरीरलाई उपयोगी हुन्छ, के गर्नुहुन्छ, के गर्न हुँदैन, कुन रोगको रोकथामका विधिहरू केके हुन्, के गर्दा मान्छे निरोगी हुनक्छ भन्ने कुरामा सबैले सोचिरहेकै हुन्छन, जानकारी लिन खोजिरहेकै हुन्छन् । जान्दाजान्दै पनि कहिलेकाहीँ केही भइहाल्यो भने उपचार आफैँले गर्ने त होइन, डाक्टरकहाँ जानै परयो । हामी डाक्टरी उपचारमा लाग्छौँ । त्यही उपचार नै हो जसले हामीलाई फेरि स्वस्थ बनाउँछ । 

उपचार धेरै महत्वपूर्ण कुरा हो । उपचार नहुँदा यदि अहिलेको स्वास्थ्य विज्ञानको वा चिकित्सा विज्ञानको यति उन्नति हुँदैनथ्यो भने मेरो पनि धेरै वर्ष भइसकेको हुन्थ्यो पुुण्य तिथिको । किड्नी फेल भएको छ, किड्नी अर्को लिएको छ, त्यसलाई राखेको छ, औषधिहरू गरेको छ, तलमाथि पारेको छ । पोहर साल त मेनिन्जाइटिसले अट्याक गरयो । उपचार व्यवस्था नभएको भए गइहालिन्थ्यो । त्यो पनि  डेढ वर्ष भइसक्थ्यो । त्यसभन्दा अगाडि निमोनिया भएको थियो, उपचार नपाएको भए सायद दोस्रो  पुण्यतिथि भेट्थ्यो । 

६१ वर्ष अगाडि मेरी आमा बित्नुभयो विफरबाट । ६० वर्ष अगाडि मेरी आमाको मितेनी, मेरी मीत आमा बित्नुभयो, उहाँलाई सायद क्यान्सर भएको हुनुपर्छ । पेटमा डल्लोडल्लो थियो, निकै साह्रो भएको थियो अनि कब्जियत पनि । क्यान्सर भएको जस्तो लाग्छ मलाई तर त्यसबेला गानो तान्ने काम खूब गरियो । बिरामीको गानो तान्ने काम भएपछि कस्तो भयो होला । गानो तानेर निको भएन, उहाँ बित्नुभयो । गानो तानेर क्यान्सर निको हुने कुरा पनि थिएन तर अहिले हामीसँग चेतना छ, प्रविधि छ र तत्सम्बन्धमा औषधि पनि छ, हामीलाई उपचार गर्ने चिकित्सकहरू हुनुहुन्छ र त हामी जीवनलाई लम्ब्याउन सक्ने भएका छौँ । 

हाम्रो समाजले असाधारण कष्ट सहेको छ, स्वास्थ्यको क्षेत्रमा । हामी आफैँ जान्नसक्छौँ, हाम्रो समाजमा उहिले उहिले हर्ट अट्याक हुँदैनथ्यो । ब्रेन हेमरेज हुँदैनथ्यो । शिकारी लाग्थ्यो । मैले गाउँघरमा हर्टअट्याक भएको कहिल्यै थाहा पाइन, सानो हुँदा । हर्टअट्याक नहुने, शिकारी लाग्ने, शिकारीको वाण लाग्ने र फुत्रुक्क मान्छे मर्ने । कहिले कहिले कुनै रोगमा चाहिँ बोक्सीले हान्थ्यो । कहिले कहिले मसान लाग्थ्यो । त्यसबाट हामी कति अगाडि बढ्यौँ ? मलाई लाग्छ – स्वास्थ्य उपचारको क्षेत्र अगाडि बढेको छ । अहिले हामीलाई हर्टअट्यााक भए उपचार गर्ने व्यवस्था छ । ब्रेन हेमरेज भएपनि उपचारको प्रबन्ध छ । अरूअरू उपचार पनि हुन्छन् । यस प्रसङ्गमा हामीले ठूलो फड्को मारेका छौँ । 

जब नेपाल आधुनिक युगमा प्रवेश गरयो, जब नेपालले शिक्षा, स्वास्थ्यका क्षेत्रमा प्रवेश गरयो, प्रारम्भिक दिनहरूमा आमरूपमा हाम्रा शिक्षा, खालि लेखपढमै र साक्षरता बढाउने कुराकै सेरोफेरोमा रह्यो । त्यो स्थितिबाट हामी बिस्तारै जीवनका लागि आवश्यक जीवनोपयोगी शिक्षा, स्वास्थ्यको सम्बन्धमा स्वास्थ्य शिक्षा, निर्माणका सम्बन्धमा इञ्जिनियरिङका शिक्षा, सञ्चालन र व्यवस्थापनका लागि म्यानेजमेन्ट शिक्षा जस्ता व्यावहारिक शिक्षा, समाज सञ्चालन गर्न चाहिने शिक्षा, परिवार सञ्चालन गर्न चाहिने शिक्षा, समाजका निम्ति चाहिने शिक्षा, मानवजातिका निम्ति उपयोगी हुने शिक्षा, आफ्ना निम्ति र अरूका निम्ति पनि उपयोगी हुने शिक्षातिर हामी अगाडि बढेका छौँ । प्रगति पनि काफी भएको छ । विकृति पनि सँगसँगै आएका छन् । विकृति हामीले हटाउनुछ र  राम्रा कामहरू र पक्षहरूलाई सुरक्षित  गर्नुपर्नेछ । ती प्रयासमा हामी लागिरहेका छौँ । समग्रतामा भन्ने हो भने नेपालको शिक्षा क्षेत्रलाई जो विकासको सबभन्दा पूर्व सर्त हो, दक्ष जनशक्तिको निर्माण सबभन्दा ठूलो चुनौती पनि हो, विकासका निम्ति, अग्रगतिका निम्ति, परिवर्तनका निम्ति सबभन्दा ठूलो आधार पनि यही हो । यसको एउटा पाटो चिकित्सा शिक्षा हो जुन शिक्षाको अर्थ स्वाभाविकरूपमा जनतालाई स्वस्थ राख्ने हो र बिरामी परे उपचार गराउने हो । 

हामी सबैलाई थाहा छ – एउटा बिन्दु यस्तो आउँछ जहाँ संसारको कुनै चिकित्सकको पनि केही लाग्दैन, अस्पतालको पनि केही लाग्दैन, कुनै औषधिको पनि केही लाग्दैन । त्यो बिन्दुमा नपुगेर धरै छैन, प्रकृतिको नियम हो । कुनै डाक्टरले केही पनि गर्न सक्दैन । एउटा बिन्दु हुन्छ, त्यहाँ पुगेपछि औषधिले पनि केही गर्दैन । मैले पनि त्यस बिन्दुमा पुग्नुपर्छ तर त्यस अगाडि धेरै सिलसिलाहरू हुन्छन् । यसभन्दा अगाडि म धेरै टर्निङ प्वाइन्टमा उपचारको माध्यमबाट अगाडि बढेको छु । यस्तो सबैलाई पर्छ । बिरामी हुन्छ, उपचार गर्छ, फेरि चुस्त दुरुस्त हुन्छ, ठीक हुन्छ । त्यसमा यस पुस्तकले अवश्य नै महत्वपूर्ण योगदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु । 

खासगरी कार्डियोलोजीको क्षेत्रमा, क्रिटिकल केयरको क्षेत्रमा, भास्कुलर ट्रिटमेन्टको क्षेत्रमा, लिभर ट्रिटमेन्टको क्षेत्रमा, लङ्स्को ट्रिटमेन्टको क्षेत्रमा तपाईंहरूले जुन काम गर्नुभएको छ, त्यससम्बन्धमा पनि यसले मद्दत पुरयाउँछ । कार्डियोलोजीको सम्बन्धमा र त्यससम्बन्धीे क्रिटिकल केयरको सम्बन्धमा त यस पुस्तकले विशेष भूमिका नै खेल्नेछ । यो मेरो विश्वास हो । मेरो मेडिकल फिल्ड होइन, त्यसमा म जानकारी राख्दिनँ । मैले विश्वास गर्ने कुरामात्र हो । विश्वास गरिनँ भने त अस्पताल जानु नै बेकार कुरा हुन्छ फेरि । हाम्रो त झन् डाक्टरहरूलाई जति ज्ञान हुन्छ, त्यस्तो पनि होइन । डाक्टरले बचाइहाल्छ नि भन्ने विश्वास हुन्थ्यो अनि बाँचिहालियो । कहिले त डाक्टरले पनि त सक्दैन नि बचाउन । साँच्चै उस्तै परिदियो भने त बच्दैन तर पनि आफूलाई कस्तो लाग्ने भने – डाक्टर हुँदाहुुँदै के को चिन्ता ? ल्याब छँदैछन् । डायलोेसिस गर्ने छँदैछ । औषधि छँदैछ । डाक्टरले दिइहाल्छन् । हेरविचार गरिहाल्छन् । हामी, जसको यो पेसा होइन तिनले यही विश्वासमा चल्नुपर्छ । 

इतिहासदेखि नै यो चेतनाको अग्रणी स्थान हो, ज्ञानको अग्रणी स्थान हो, अग्रणी भूभाग हो । यो कुरा मैले धेरै ठाउँमा भन्ने गरेको छु । जुनबेला दुनियाँ अन्धकारमा थियो, त्यसबेला धर्तीको यो भूभागचाहिँ इनलाइटेन्ड थियो, एजुकेटेड थियो । यस्ता इनोभेटिभ थिए हाम्रा पुर्खाहरू जसले चिकित्सा विज्ञान, चिकित्साशास्त्र यहीं त पत्ता लगाए । यहीं पत्ता लागेको हो जडीबुटी, हर्बल्स, कुन औषधिमा के तत्व छ भन्ने कुरा । त्यसबेला ल्याब थिएन, आफैँलाई ल्याब बनाएर हाम्रा पुर्खाले यति ठूलो अध्ययन अनुसन्धान गरे, यसले गर्दा कुन झारपात, कुन बोक्रा, कुन जरा, कुन मुन्टाले कुन बिरामीलाई राम्रो गर्छ, कुनलाई राम्रो गर्दैन भन्ने कुरा पत्ता लगाए । आयुर्वेद विकास भयो, धेरै उपचार विधिहरू, उपचारका पद्धतिहरू विकसित भए यही ठाउँमा । केही शताब्दीयता दुर्भाग्यवस हामी अलि पछाडि परयौँ, अरूचाहिँ अगाडि बढे । अब हामीले हाम्रो जुन बौद्धिक परम्परा हो, त्यसमा आधुनिकता मिसाउनुछ, आधुुनिक विज्ञान प्रविधिका खोज अनुसन्धानहरूलाई मिसाउनुछ, उपलब्धिहरूलाई मिसाउनुछ र अगाडि बढाउनुछ । एउटा राम्रो के छ भने हामीसँग जेनेटिक मेमोरी अर्थात् हाम्रा पुर्खाहरू जो विद्वान् थिए, तिनको जिन हामीसँग छ र त्यो जेनेटिक मेमोरीले हामीलाई छिट्टै सिक्न दिनेछ । 

डा. अरुण सायमि विविध चित्रमा देखिनुहुन्छ । चित्रकारहरूले एउटै चित्रमा विविधताको झल्को दिने चित्र बनाउँछन् नि, त्यस्तै । त्यो चित्र जसलाई अगाडिबाट हेर्दा एउटा चित्र देखिन्छ, पछाडिबाट हेर्दा अर्कै देखिन्छ । दाहिनेपट्टिबाट हेर्दा एउटा देखिन्छ, देब्रेपट्टिबाट हेरयो भने अर्कै देखिन्छ । डा. अरुण सायमि लाई हेर्दा त्यस्तै लाग्छ । अस्पतालमा हेरयो डाक्टर देखिनुहुन्छ । साहित्यिक गोष्ठीहरूमा हेरयो भने साहित्यकार देखिनुहुन्छ । कहिले कहिले बोल्दै जाँदा राजनीतिक विश्लेषकजस्तो पनि देखिनुहुन्छ । विभिन्न पाटाहरू, विभिन्न आयामहरू छन् उहाँका । अलिकति ध्यान दियो भने र लागिपरयो भने यी सबै कुरा मान्छेले नै गर्न सक्दो रहेछ । 

बहुआयामिक प्रतिभाका धनी हुनुहुन्छ डा. अरुण सायमि । कविता पनि लेख्ने, कथा पनि लेख्ने, उपन्यास पनि लेख्ने, सबै कुरा लेख्ने । त्यतिमात्र नभएर उहाँले चिकित्साशास्त्रको किताब पनि लेख्नुभयो । उहाँले कार्डियोलोजी एन्ड क्रिटिकल केयर भनेर गम्भीर विषयमा लेख्नुभएको छ । विद्यार्थीहरूलाई पढाइ पनि रहनुभएको छ । कहिले विद्यार्थीको मास्टर, कहिले उपचार गर्ने डाक्टर, कहिले साहित्यकार, कहिले लेखक, यी विभिन्न आयामहरू डा. सायमिमा देखिन्छन् । कहिलेकाहीँ डा. सायमिको खास विधा कुन हो भन्नेजस्तो पनि लाग्छ । सर्टिफिकेट हेर्दा डिएम, काम हेर्दा डिन, कलेजतिर हेरयो पढाइराखेको गुरूजीको रूप देखिन्छ, अस्पतालमा हेरयो उपचार गराइराखेको डाक्टरको रूप देखिन्छ । कहिले बत्ती बालेर लेखिराखेको देखिन्छ, कहिले लोडसेडिङ नो केयर भन्छ । उहाँको यो मल्टिडाइमेन्सनल ट्यालेन्ट जुन छ, त्यो असाधारण छ, म प्रशंसा गर्न चाहन्छु । 

मैले डा. सायमिलाई २०५१ सालमा म गृहमन्त्री भएपछि नै राम्रोसँग चिनेको हो । त्यसयता उहाँसँग राम्रो सम्बन्ध छ । उहाँले मेरो उपचारमा पनि धेरै मेहनत गर्नुभएको छ । व्यक्तिगत तवरमा पनि धन्यवाद भन्न चाहन्छु म । 

आज माघे सङ्क्रान्तिको दिन । डा. अरुण सायमिले त तिलको लड्डु, घिउचाकुभन्दा मीठो कुरा नै हामीलाई उपहार दिनुभएको छ । धेरै खुसीको कुरा हो । तरुल खनेर ल्याएभन्दा ठूलो स्वास्थ्य विज्ञानका क्षेत्रका नयाँ–नयाँ कुराहरू उत्खनन खरेर यति महत्वपूर्ण पुस्तक ल्याउनुभएको छ । धन्यवाद भन्न चाहन्छु । आज उहाँकी आदरणीय माता वसुन्धराजीको पुण्यतिथि पनि रहेछ । म उहाँप्रति श्रद्धा सुमन अर्पण गर्न चाहन्छु । फेरि एकपल्ट यस पुस्तकका प्रमुख लेखक र सहलेखकहरूलाई धेरैधेरै धन्यवाद । 

(२०७२ माघ १ गते डा. अरुण सायमिद्वारा लिखित ‘कार्डियोलोजी एन्ड क्रिटिकल केयर’ नामक पुस्तक विमोचन कार्यक्रममा व्यक्त विचारहरू)