NP EN

​प्रधानमन्त्री ओलीद्वारा ईन्द्रजात्राको शुभकामना

काठमाडौं ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले ईन्द्रजात्राका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्राचीन कालमा खास कुनै घटना विशेषको स्मरणका लागि मनाउन थालिएको यो पर्व अहिलेसम्म पनि चलनचल्तीमा छ । "पौराणिककालका खास घटनामा आधारित भएर सुरु भएका यस्ता चाडपर्वहरु कालान्तरसम्म जीवितै हुनु खुशीको कुरा हो," प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, "नेपाल १२५ जाति र १२३ भाषा बोलिने देश हो । यहाँ सबै जातिका आफ्नै प्रकारका संस्कृति र चाडपर्व छन् । ती सबै देशमा साँस्कृतिक सम्पत्ति हुन् । वर्तमान सरकार यस्ता साँस्कृति चाडपर्वहरुको संरक्षण र सम्बर्द्धनमा सकारात्मक छ ।"

प्रधानमन्त्रीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीहरुले मनाउने चाडपर्वहरुले नेपालीहरुलाई एकताको सुत्रमा बाँधेको उल्लेख गर्नुभएको छ । "नेपालको यो एकतालाई धुमिल्याउन विभिन्न तत्वहरुले विगतमा गरेका प्रयासलाई नेपाली जनताले परास्त गरेका छन्," प्रधानमन्त्रीले भन्नुभएको छ, "नेपालीहरु जाति, धार्मिक, साँस्कृतिक रुपमा एकताबद्ध छौं भन्ने सन्देश नेपालीहरुले दिएका छन् । यो हाम्रा लागि गौरवको कुरा हो ।"

वर्तमान सरकार आर्थिक विकास र सृमद्ध नेपाल निर्माणमा प्रतिवद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारको यो अभियानसँग यस प्रकारका साँस्कृतिक महत्व भएका चाडपर्वहरु पनि जोडिन सक्ने बताउनुभयो । "किन कि मौलिक विशेषता भएका यस्ता पर्वहरु विदेशी   पर्यटक आकर्षणका लागि महत्वपूर्ण सावित हुनसक्छन्," उहाँले भन्नुभएको छ, "त्यस कारण हामीले यस प्रकारका चाडपर्वहरुलाई पर्यटनसँग जोडेर पनि हेर्नु उपयुक्त हुन्छ भन्ने मलाइ लाग्दछ ।"