NP EN

देश निर्माणका लागि इन्जिनियरको भूमिका महत्वपूर्ण : प्रम ओली


काठमाडौं,२२ मंसिर,प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
 नेपाल प्रगतिशिल इन्जिनियर एशोसिएसनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
 प्रधानमन्त्री ओलीले इन्जिनियर पेशलाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनु पर्नेमा जोड दिनुभएको छ । सरकार इन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “तपाईंहरुको पोगत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ” प्रधानमन्त्री ओलीले भन्नुभयो । 
राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ छ । “समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो सर्त हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसमा सरकार प्रतिवद्ध छ । सरकारको यस अभियानमा इन्जिनियरहरुको साथ सहयोग जरुरी छ ।”

 वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “केही मानिसहरुले विरोध गरेका छन् । त्यसलाई हामी कामबाट जवाफ दिन्छौं । ”
 प्रधानमन्त्रीलाई भेट्न एशोसिएसनका अध्यक्ष शम्भू बहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागहरु सहितको ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्री ओलीले इन्जिनियरका जायज माग पुरा गर्न आफू सकारात्मक भएको बताउनुभएको छ ।