NP EN

सरकारलाई कर्मचारीको पूर्ण सहयोग : प्रम ओली

काठमाडौं,२४ मंसिर, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कर्मचारीको पूर्ण सहयोग रहेको बताउनुभएको छ ।अन्तर प्रदेश परिषदको बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“कर्मचारीहरु पनि संघीयतामा पोख्त होइनन् । उनीहरुले पनि संघीयताको प्रयोग सिक्दैछन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसैले संघीयता सफलपार्न कर्मचारीले असहयोग गरे, सरकारलाई सहयोग गरेनन् भन्ने कुरा सत्य होइन । हामी राजनीतिज्ञ जस्तै कर्मचारी पनि यस प्रणालीमा नयाँ नै छन् । उनीहरुले जाने बुझे अनुसार सहयोग नै गरेका छन् । ”आवश्यकता अनुसारका कर्मचारी नहुँदाप्र देशहरुमा कर्मचारीको अभाव भएको हुनसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

लोकतन्त्र विरोधी केही तत्वहरुले विभिन्न विषय उछालेर देशलाई अस्थिरता निम्त्याउने प्रयास गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “सरकारलाई कहाँबाट बदनाम गर्न सकिन्छ । संघीयतालाई कहाँबाट कमजोर पार्न सकिन्छ भन्ने गौंडाहरु कुरेर बसेका छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस्ताहरुलाई मौका दिनु हुदैन ।” देशमा अनेक नाममा द्वन्द्व मच्चाउने र विखण्डनकोे प्रयास गर्नेका विरुद्ध सरकारले कडा कदम चाल्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । “देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । अब चाहिएको कुन व्यवस्था हो ? यही व्यवस्था भित्रबाट जे चाहिएको हो त्यही कुरा पाउन सकिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस कारण अनेक नाममा बखेडा किन झिक्ने ? यो  त केवल चन्दा उठाउने र जनतालाई त्रसित पार्ने काम मात्र हो ।”



आजको बैठकमा प्रदेश ५ का मूख्यमन्त्री शंकर पोख्रेल, कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्र बहादुर शाही र सुदुरपश्चिम प्रदेशका मख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना प्रदेशका समस्याका बारेमा प्रतिवेदन पेश गर्नुभएको छ ।

आजको बैठकले प्रदेश र संघका काममा तालमेल मिलाउन, आवश्यक कानुनहरुको परिर्माजन गर्न र प्रदेशहरुलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्नकालागि गृह मन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, अर्थमन्त्री डा.यूवराज खतिवडा, प्रदेश नं २ का मूख्यमन्त्री लालबाबु राउत, प्रदेश ५ का मूख्यमन्त्री शंकर पोख्रेल र मूख्य सचिब लोकदर्शन रेग्मी रहेको एक समिति गठन गरेको छ । समितिलाई आगामी पुष ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेतन बुझाउने जिम्मा दिइएको छ ।