NP EN

सरकारसँगै समृद्धिको मार्गमा अघि बढ्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं, ६ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी  बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ । 

फागु पूर्णिमाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

प्रधानमन्त्री  ओलीले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत रुपमा अघि बढेको उल्लेख गर्नुभएको छ । “देशलाई द्रूत गतिमा आर्थिक सामाजिक रुपान्तरणको दिशामा अग्रसर गराइँदै गरिएको आजको परिप्रेक्ष्यमा हामी सम्पूर्ण नेपाली अझ बढी एकतावद्ध हुन जरुरी छ” प्रधानमन्त्री ओलीको सन्देसमा उल्लेख छ । 

प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय संकल्प ‘समृद्ध नेपाल,सुखी नेपाली’भएको सबैलाई स्मरण गराउनुभएको छ । “नेपालभरी र बाहिर पनि खुसीयाली प्रकट गर्दै होली अर्थात पानी र रंग खेलेर मनाइने यस पर्वका अवसरमा म फेरी एक पटक हाम्रो राष्ट्रिय संकल्प समृद्ध नेपाल, सुखी नेपालीको स्मरण गर्न चाहन्छु” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।

भाषिक,सांस्कृतिक र जातीय विविधतामा एकता सारा विश्वले थाहा पाएको नेपाली विशेषता भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ “ फागु पूर्णिमाले विभिन्न  मातृभाषाका विविध संस्कृति अंगीकार गर्ने सबै जातजातिका सम्पूर्ण नेपालीहरुबीचको सद्भाव र सुसम्बन्ध अझ मजवूत बनाउन प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु  ।”