NP EN

प्रधानमन्त्रीले १० चैत, २०७५ मा प्रतिनिधि सभालाई गर्नुभएको सम्बोधन

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूले १० चैत, २०७५ मा प्रतिनिधि सभालाई गर्नुभएको सम्बोधनको पूर्णपाठः

सम्माननीय सभामुख महोदय,

आज यस पहिलो संसदको तेस्रो अधिवेशनको समापनको अवस्थामा म केही कुराहरु संक्षिप्तमा राख्ने हिसाबले यहाँ उपस्थित भएको छु । समय दिनुभएकोमा म सभामुख महोदयलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।

सबै भन्दा पहिले त यस संसदका सदस्य, नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी यस बीचमा बित्नु भयो, हेलिकप्टर दुर्घटनामा, म उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु र अरु विभिन्न समयमा विभिन्न ढंगले दिवंगत हुनुभएका विभिन्न तहका जनप्रतिनिधि साथीहरुलाई स्मरण गर्न चाहन्छु, उहाँहरुप्रति सम्मान व्यक्त गर्न चाहन्छु । र, हाम्रा अग्रजहरुलाई अत्यन्त सम्मानका साथ स्मरण गर्न चाहन्छु । जसले नेपाललाई एउटा अन्धकारयुगबाट सामन्ती, निरङ्कुश र तानाशाही युगबाट आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युग र त्यसको पनि सफल व्यवस्थापनबाट अब सुशासन र विकासको बाटोमा तीव्र गतिले अगाडि बढ्दै ‘समृद्ध नेपाल सुखी नेपाली’को आकांक्षा साकार पार्न क्रियाशील रहन सक्ने, मिल्ने, पाउने अवस्थामा हामीलाई पुर्‍याउनु भएको छ, उहाँहरुप्रति म अत्यन्तै आदर र सम्मामन व्यक्त गर्न चाहन्छु । 

सभामुख महोदय,

हामी एउटा अत्यन्तै गौरवपूर्ण स्थितिमा छौँ । गहन अभिभारा बोकेको अवस्थामा छौँ । केही चुनौतीहरु रहेको अवस्थामा पनि छौँ । जिम्मेवारीहरु ठूला छन्, केही चुनौतीहरु पनि छन् । तर हामी ति चुनौतीहरुको सामना गर्न सक्ने र जिम्मेवारीहरु पूरा गर्न सक्ने अवस्थामा छौँ । आज हामीसँग संविधानसभाले बनाएको संविधान, त्यस संविधान अनुसार तीनै तहका निर्वाचन भइसकेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रका संरचनागत पक्षहरु स्थापित र सुदृढ भइसकेको अवस्थामा हामी छौँ । हामीले के होला ? कसो होला ? नयाँ अभ्यास, धेरै उतार चढावहरुबाट प्राप्त उपलब्धिहरु, उपलब्धि प्राप्त गर्ने तर जोगाउन नसक्ने तिता अनुभवहरुको अवस्थामा तिनीहरुमाथि उभिएर उपलब्धि जोगाउन सकिन्छ कि सकिँदैन, ति उपलब्धिहरुलाई संस्थागत गर्न सकिन्छ कि सकिँदैनको एउटा अवस्थाबाट हामीले आज जवाफ प्राप्त गरिसकेका छौँ र हामी उपलब्धि जोगाउन सक्छौँ, त्यसलाई संस्थागत गर्न सक्छौँ, तिनलाई सुदृढ गर्न सक्छौँ र विगतका जस्ता तिता अनुभव दोहोरिन दिदैनौँ । त्यसलाई फेरि प्रतिगमन तर्फ फर्कन दिदैनौँ, त्यसलाई फेरि पछाडि फर्कन दिदैनौँ, अन्योलमा फस्न दिदैनौँ । सही बाटोमा अगाडि लिएर जान सक्छौँ भन्ने कुरा स्पष्ट भएको छ । 

हामीले निर्वाचन गरिसकेका छौँ र गत वर्ष फागुन २१ गते पहिलो संसदको पहिलो अधिवेशन सुरु भएको थियो । यो तेस्रो अधिवेशनको समाप्तिसम्म आइपुग्दा सफलताको एकवर्ष, सफलताका तीन ओटा अधिवेशन, उपलब्धिका अधिवेशनहरु हामीले पार गरेका छौँ र सफलताको वर्ष बनाएका छौँ । हाम्रो अगाािड यस वर्ष निकै धेरै अप्ठ्याराहरु थिए, आशंकाहरु थिए, दुविधाहरु थिए, यो ठिकै ढङ्गले अगाडि जान सक्छ कि सक्दैन ? हामीले सङ्घीय संरचना सुरु गर्‍यौँ तर सङ्घीयताको विल्कुलै नयाँ अनुभव, ति अनुभवहरु तीन तहका सरकार, ७६१ तहका सरकारका अनुभव, कानून निर्माणका अनुभव, स्थानीय तहहरुले न्यायीक अधिकारहरुको प्रयोग गर्नेसम्म अवस्था, साधन, शक्ति र स्रोतको वाँडफाँड, काम कर्तव्यहरुको वाँडफाँड । यी सबै कुराहरु कत्तिको सफलताका साथ हुन सक्छ ? यिनीहरुको सम्बन्धमा कुनै तनाव हुने हो कि ? विभिन्न तहहरुको सम्बन्धमा तनाव हुने हो कि ? यस्ता प्रश्नहरु थिए । तर ति प्रश्नहरुको बहुतै सफलतापूर्वक हामीले समाधान गर्‍यौं । र, पहिलो संसदको यो एक वर्ष तीन वटा सफल अधिवेशनहरु पार गरेर सफलतापूर्वक अगाडि बढेको छ । 

यो पहिलो वर्ष वास्तवमा आधार वर्षको रुपमा रह्यो । संविधान कार्यान्वयनको संरचनाहरु वास्तवमा संरचनाहरुको निर्माण, ति संरचनाहरुको व्यवस्थापन, तिनको शुसंचालन, तिनका बीचमा कुनै प्रकारको द्वन्द्व नहोस्., शुसम्बन्ध र शुसंचालन, यो सहज कुरा थिएन, हाम्रो जस्तो नयाँ परिवेशमा । तर ति कुराहरु हामीले सहज ढंगले पार गर्‍यौं ।

यो पहिलो संसद हो, यस पहिलो संसदका अगाडि संविधानको भावी कार्यान्वयनका निम्ति, आजको कार्यान्वयनको मात्रै कुरा होइन । संविधानको भावी कार्यान्वयनको निम्ति बाटो बनाउने अभ्यासहरु, नजीरहरु, दृष्टान्तहरु– ति स्थापित गर्ने । त्यो मात्रै होइन कानूनहरु निर्माण गर्ने । कानूनहरु निर्माण गरेर मौलिक हक सम्बन्धी संविधान प्रद्धत्त जनताका मौलिक हकहरु कसरी कार्यान्वयन गर्ने ? तत् सम्बन्धमा, त्यसै गरेर अरु विभिन्न हक अधिकारहरु, व्यक्ति वा संस्थाका हक अधिकारहरु कार्यान्वयन कसरी गर्ने ? त्यस सम्बन्धमा कानूनहरु निर्माण गर्ने । त्यसै गरेर संरचनाहरु तयार गर्ने, समायोजन गर्ने । यी सबै कुराहरुका एउटा थितिहरु प्रारम्भ गर्नु थियो र थिति बसाउनु थियो । नीतिहरुको निर्माण प्रारम्भ गर्नु थियो र तिनलाई परिमार्जित ढंगले अगाडि बढाउनु थियो । यी सबै काम अत्यन्तै सहज ढंगले यस पहिलो संसदले गर्नु पर्छ र पहिलो संसदको पहिलो वर्षले गर्नुपर्छ । 

पहिलो संसदले संसदको अधिवेशन सुरु भएपछि विभिन्न निर्वाचनहरु, संरचना निर्माण गर्नेदेखि यावत कामहरु सबै कुराहरु गर्‍यो र अहिले कानून निर्माणसँग सम्बन्धित कामहरु पूरा गर्‍यो । अहिले हामीलाई थाहा छ, पहिलो अधिवेशनले महत्त्वपूर्ण पहिलो अधिवेशनले गर्नु पर्ने कामहरु गर्‍यो । दोस्रो अधिवेशनले मौलिक हक सम्बन्धी ऐनहरुको निर्माण लगायतका सरकारको नीति कार्याक्रम, बजेट लगायतका काम अब कसरी अगाडि जान्छ भन्ने कुराहरुका निम्ति एउटा बाटो निर्माणका ति सबै कामहरु गर्नु पर्दथ्यो गर्‍यो । 

यो तेस्रो अधिवेशनले जो विधेयक अधिवेशनको रुपमा चिनिन्छ । तद्नुसार नै आफ्नो कामहरु गर्‍यो र यो तेस्रो अधिवेशन पनि अत्यन्तै सफल अधिवेशनका रुपमा रह्यो । हामीले यस बीचमा १२६ वटा जसो ऐनहरु निर्माण गर्‍यौँ । कुनै संसदले सायद १ वर्षमा १२६ वटा ऐन पारित गरेको हुँदैन । जुन यस संसदले पारित गरेको छ । ऐतिहासिक रेकर्ड हो यो । १३ वटा ऐनहरु संशोधन भए । ४७ वटा नियमावलीहरु खारेज भए । केही नेपाल ऐन संशोधन गर्ने विधेयकबाट १९३ वटा ऐनहरु संशोधन भयो । 

आज समेत १२६/१२७ वटा पारित भए । यसै अधिवेशनमा मात्रै पनि ३० वटा अधिवेशनहरु संसदमा आए । छोटो समयमा अत्यन्त जरुरी ऐनहरुलाई, विधेयकहरुलाई प्राथमिकता दिएर पारित गरियो । १३/१४ वटा विधेयक पारित भए । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७५ बाट ५४ वटा ऐन यस अधिवेशनले संशोधन गर्‍यो । एउटा ऐन खारेज गर्‍यो । 

संविधान अनुकूल बनाउनका लागि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ ले १०४ वटा ऐन संशोधन गर्‍यो र ५ वटा ऐन खारेज गर्‍यो । यो सानो कुरा होइन । २६ वटा विधेयकहरु संसदमा विचाराधीन छन् । कानून मन्त्रालयले थप २४ वटा मस्यौदाहरुमा सहमति प्रदान गरिसकेको छ । अहिले विचाराधीन रहेका कानून मन्त्रालयमा २० वटा विधेयकहरु छन् ।

यसरी विधेयक निर्माण, कानून निर्माणको हिसाबले हेर्ने हो भने हामीले कानूनको राजको हिसाबले अगाडि बढ्न कानूनहरु निर्माण गर्ने, संविधान अनुकूल गर्ने, समयानुकूल बनाउने यी कुराहरुको सन्दर्भमा अत्यन्त महत्त्वपूर्ण कामहरु भएको छ र म खुसी व्यक्त गर्न चाहन्छु, यति धेरै ऐनहरु निर्माण हुँदा कहीँ पनि यो ऐनहरुको सम्बन्धमा मतभेद वा मतविभाजन जस्तो भन्दा समितिहरुको कामकार्वाहीको अत्यन्त सौहाद्र्रपूर्ण रहे । समितिहरुले सहमतिका साथ ऐनहरु निर्माण गरे । यो असाधारण कुरा हो, सहमतिका साथ ऐनहरुको निर्माण हुनु ।
 


सभामुख महोदय,

यो वर्ष नेपालका लागि, नेपालका संसदका लागि अत्यन्त गतिशील वर्ष रह्यो । यो अधिवेशन गतिशील अधिवेशन रह्यो । संसदका लागि मात्र होइन, यस संसदबाट बनेको यस संसदप्रति उत्तरदायी सरकारले अत्यन्तै सक्रियताका साथ र गतिशीलताका साथ अरु थुप्रै कामहरु गरेको छ । हामीले यस अवधिमा हामी कुन बाटोमा जादैछौँ ? कसरी जादैछौँ ? कता जादैछौँ ? यसलाई हामीले हेर्‍यौँ भने अत्यन्तै सकारात्मक ढंगले हामी राजनीतिक हिसाबले, आर्थिक हिसाबले, सामाजिक, सांस्कृतिक हरेक हिसाबले तिव्र गतिका साथ सकारात्मक बाटोमा अगाडि बढिरहेका छौँ । 

सभामुख महोदय,

राजनीतिक हिसाबले मैले धेरै भन्नु पर्ला जस्तो लाग्दैन । हामीले बहुतै ठूल ठूला उपलब्धिहरु हासिल गरेर अगाडि बढेका छौँ । उपलब्धिहरुलाई संस्थागत गरेका छौँ र तिनलाई संविधान कार्यान्वयनका बाटाहरुमा लगेका छौँ । समाजमा व्याप्त अपराध, भ्रष्टाचार र त्यस्ता कुराहरुलाई रोक्ने सन्दर्भमा त्यस्ता कुराहरुलाई समाप्त पार्ने सन्दर्भमा ठूल ठूला उपलब्धिहरु भएका छन् । 

हुनत म कहिले कहिले सुन्छु यस सम्बन्धमा के भयो ? त्यस सम्बन्धमा के भयो ? भनेको सुन्छु म । कहिले ३३ किलो सुनकाण्ड के भयो ? कता हरायो ? सरकारले के गर्‍यो ? भनेको पनि सुनिन्छ । भ्रष्टाचार नियन्त्रणको सम्बन्धमा के गर्‍यो ? भ्रष्टाचार भइराखेको रहेछ नि यति मान्छेहरु पक्राउ परिराख्या छ । अख्तियारका आयुक्त समेत कारवाहीको डरले भागेर राजिनामा दिन पुगे । यो त भ्रष्टाचार व्याप्त रहेछ । 

समाजमा भ्रष्टाचार छ । त्यसै कारण मैले भनेको थिएँ, म पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न । र, त्यस अनुसार नै सरकार बन्ने बित्तिकै सुन तस्करीको कारोवारीहरुलाई गिरफ्तार गरियो र ७६ जना माथि मुद्दा चले, ४१ जना जेलमा छन् । भारतमा समेत ३३ किलो सुन सहित गिरफ्तार भएको भन्ने सुन्नु भएको होला । कञ्चनपुरमा पनि जमिन मुनिबाट सुन निकालेको सुन्नु भएको होला । अगाडि अगाडिका समेत अपराधहरु छानविन भएको सुन्नु भएको होला ।  अपराधीहरु जेलमा छन्, कारवाही भएको सुन्नु भएको होला । 

अपराधीमाथि कारवाही उपयुक्त भएन कि भन्ने सन्दर्भमा आजको अदालत पनि कति सजक छ भन्ने त्यस सम्बन्धमा न्यायाधीशहरुको बारेमा अदालतले प्रश्न उठाएर आफूले चनाखोपन देखाएको छ । जनताको विश्वास जित्ने वातावरण पनि अदालतले बनाएको छ । तिसामाचारमा पनि बाहिर आएका छन् । विभिन्न अपराधहरु, भ्रष्टाचारका काण्डहरु । 

अहिले विभिन्न ओहोदाका व्यक्तिहरु गिरफ्तार भएको छ र कुनै पनि घटना जहाँ भ्रष्टाचार छ त्यहाँ छानविन हुन्छ, त्यसमा कारवाही हुन्छ । जो सुकै परोस् त्यसमा कुनै ढाकछोप हुँदैन, कुनै सुविधा त्यसमा पाउँदैन । भ्रष्टाचार नियन्त्रण र उन्मूलन सरकारको एकदमै प्राथमिकताको विषय हो । किनभने सरकार देशमा सुशासन चाहन्छ र विकास चाहन्छ । सुशासन र विकासका लागि अनियमितता र भ्रष्टाचार, ढिलासुस्ती जस्ता कुराहरु उचित हुँदैन । त्यस कारण ति कुराहरुलाई सरकारले सहँदैन र त्यस्ता कुराहरुमा कारवाही गर्छ । 

यस बीचमा हामीले नेपालको परराष्ट्र नीति के हो ? नेपालको छिमेक सम्बन्ध के हो ? छिमेक सम्बन्धमा नेपालका नीतिहरु के हुन् ? अन्तर्राष्ट्रिय मामिलामा नेपालको दृष्टि के हो ? र नेपाल कसरी प्रस्तुत हुन्छ भन्ने कुरा ? नीतिगत रुपमा पनि स्पस्ट देखाएको छ र व्यवहारिक रुपमा पनि नेपालको प्रस्तुती तद्अनुसार नै भएको छ । स्वभाविक रुपमा नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न, स्वाधीन, स्वतन्त्र, भौगोलिक रुपले अविभाज्य, स्वाधीनताको गौरवपूर्ण इतिहास रहेको राष्ट्र हो भन्ने कुरा स्पस्ट छ । त्यसको रक्षा, सम्वद्र्धन र यथार्थ प्रयोग र राष्ट्रिय हितहरुको रक्षा अहिलेको सरकारको आधारभूत नीति हो, दृष्टिकोण र आचरण हो । त्यस अनुसार सरकार अगाडि बढ्छ ।

लोकतन्त्रको सम्बन्धमा यस संसदले जसरी सरकारलाई जिम्मेवारी दिएको छ, संसदको निर्देश अनुसार नै लोकतन्त्रका आधारभूत मूल्य–मान्यता, लोकतन्त्रका शक्ति सन्तुलनका सिद्धान्त, शक्ति पृथकीकरणका सिद्धान्त, लोकतान्त्रिक आचरण र अभ्यास, पारदर्शितका कुराहरु, यी तमाम् कुराहरुमा सरकार सजग छ र त्यही कुरा सरकारले अवलम्बन गरेको छ । 

हामीले, मैले यस सदन समक्ष भन्न भ्याएको थिएन, डावोसमा गएर मैले नेपालका नीतिहरुको सम्बन्धमा, नेपालको आर्थिक नीति, नेपालको लोकतन्त्र र नेपालका लोकतान्त्रिक वा स्वाधीनताका हकहरु सम्बन्धी मूल्य मान्यताहरु आदिको बारेमा स्पष्ट ढंगले विचारहरु राखेको छु । त्यसबाट नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय र दृष्टिकोणहरु सहितको जानकारी कि नेपाल यसरी अगाडि बड्न चाहन्छ । हाम्रा उपलब्धिहरुको बारेमा, हाम्रा आकांक्षाहरुको बारेमा र हाम्रा प्रयासहरुका बारेमा मैले डावोसमा पनि बताएको छु । त्यसै गरेर सम्माननीय राष्ट्रपतिज्यू पोल्याण्डमा वातावरणसम्बन्धी नीतिहरु उहाँले भाग लिनु भयो र उहाँले नेपालका वातावरणसम्बन्धी नीतिहरु, प्रकृति संरक्षणसम्बन्धी नीतिहरु र आजका जल्दाबल्दा दृष्टिकोणहरुमा नेपालको दृष्टिकोण र अडान के छ ? त्यस सम्बन्धमा स्पष्ट पार्नु भएको छ । त्यसै गरेर राष्ट्रपतिज्यूले संयुक्त राष्ट्र संघको ७३औं महासभाका अध्यक्षको निमन्त्रणामा संयुक्त राष्ट्र संघमा गएर नेपालको सामाजिक जागरणको अवस्था र महिला सहभागिताको अवस्थाको बारेमा बताउनु भएको छ । र, एउटा महिला सहभागिताको बारेमा हामी वास्तवमा खुसी हुन सक्दछौँ । हामी पर्याप्त सन्तुष्ट हुने होइन, हामी समानताका लागि सङ्घर्ष गरिरहेका छौँ, प्रयास गरिरहेका छौँ र त्यस दिशामा अगाािड बढिरहेका छौँ । तर छोटो अवधिमा हामीले लोकतान्त्रिक अभ्यास जे गरेका छौँ, त्यसको असर हाम्रो ३४ प्रतिशतको संख्या छ–सङ्घीय संसदमा । प्रादेशिक एसेम्बली सभाहरुमा ३६ प्रतिशतको संख्या छ महिलाको र स्थानीय तहहरुमा ४१ प्रतिशतको संख्या छ । यो छोटो अवधिमा हामीले हासिल गरेको उपलब्धि हो । थुप्रै देशहरु भन्दा, विकसित देशहरु भन्दा, शताब्दीऔं अगाडि विकसित भएका देशहरु भन्दा हामी अगाडि छौँ । ठूलाठूला देश भन्दा, यूएस भन्दा, महिला सहभागिताको मामलामा हामी यूएस भन्दा अगाडि छौँ, चीन भन्दा अगाडि छौँ, फ्रान्स भन्दा अगाडि छौँ, स्वीट्जरल्याण्ड भन्दा अगाडि छौँ, यस्ता थुप्रै विकसित देश भन्दा अगाडि छौँ– महिला सहभागिताको सम्बन्धमा । र, यो सहभागितालाई अझ सुदृढ सक्रिय बनाउनु पर्छ र शिक्षा, स्वास्थ्य, सामाजिकीकरण र सम्पत्तिमा हक मात्रै होइन, सम्पत्तिमा सहभागिता, त्यसको परिचालनमा सहभागिता, परिचालनमा भूमिका एन्टरप्रेनरसीप, त्यो बढाउनु पर्छ । त्यसमा हामी सजग छौँ । शिक्षाको क्षेत्रमा हामीले त्यसै गरी ठूला उपलब्धिहरु हासिल गर्ने उद्देश्य राखेका छौँ र स्कुल भर्ना अभियान, बालबालिकालाई स्कुल भर्ना अभियान गत वर्ष चलायौँ, यस वर्ष पनि चलाउछौँ । र, लगभग हामी विद्यालय बाहिर कुनै विद्यार्थी छ भन्ने स्थितिको अन्त्य गर्छौँ । यो अलि ठूलै देश, अलि बलियोले पनि गर्न सकेको छैन– जो हामी गर्दैछौँ । 

निरक्षरता अन्त्यको निम्ति विशेष अभियान, विशेष कार्यक्रम संचालन गरेका छौँ र दुई वर्ष भित्र देशबाट निरक्षरता उन्मूलन गर्ने त्यो उद्देश्यका साथ हामी अगाडि बढेका छौँ । त्यसका ठोस योजनाका साथ हामी काम गरिरहेका छौँ । बालबालिकाहरुलाई स्कुल पुर्‍याउने र स्कुलमा टिकाउने, त्यसका निम्ति विशेष नीतिका साथ, स्थानीय तहहरुमा प्राविधिक शिक्षा पुर्‍याउने, त्यस नीतिका साथ र एउटा खुसीको कुरा गत वर्ष यस संसदबाट सरकार बनेपछि अत्यन्तै तीव्रताका साथ काम गरियो र पहिलो पल्ट समयमै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइयो, पहिलो पल्ट । यस पल्ट म भन्न चाहन्छु, अहिले पाठ्यपुस्तकहरु पुगिसकेको छ, र समयमा विद्यार्थीले पाठ्यपुस्तक पाइँन भन्ने अवस्था हुँदैन, त्यो हामी पूरा गर्छौँ । 

खाद्यान्नको अभाव कहीँ हुन दिएको छैन । कहीँ खाद्यान्नको अभाव हुन्छ भने हामी त्यहाँ खाद्यान्न पुर्‍याउने व्यवस्था गरेका छौँ । त्यसका निम्ति चीन तिरको बाटो पनि हामीले प्रयोग गरेका छौँ । 

महिलाहरु कहीँ प्रजनन पीडामा परे, अप्ठ्यारोमा परे भन्ने जानकारी भयो भने हेलिकप्टर पठाएर, ल्याएर सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर उपचारको व्यवस्था गरेका छौँ– मातृ शिशुको ज्यान बचाउनेसम्बन्धी । मैले यो सरकारले यसरी काम गरिराखेको छ भनेको छु । खाली मैले यो झलक मात्रै प्रस्तुत गरेको हो, काम कसरी भइराखेको छ भन्ने कुराको, केही भएन, केही भएन भन्ने सुनिन्छ, त्यसको जवाफका लागि । यस वर्ष लगभग ८ सय किलोमिटर सडक कालोपत्रे भएको छ । नेपालको इतिहासमा कहिले पनि यति भएको थिएन– लगभग ८ सय किलोमिटर । यस्तै अरु विभिन्न विधामा, विभिन्न फाँटमा, विभिन्न क्षेत्रमा त्यसै गरी कामहरु भएका छन् र अर्को वर्ष, यो त आधार वर्ष भनेका छौँ हामीले । यो त आधार तयार गर्ने वर्ष हो । अर्को वर्षबाट हाम्रो कामको गतिको वर्ष, त्यस आधारमा उभिएर अगाडि बढ्ने वर्ष सुरु हुन्छ, सुरु भएको छ अब । त्यसकारण हामी निराश हुनुपर्ने स्थिति होइन अब ।

कृषिमा हामी आधुनिकीकरण तर्फका प्रयासहरु अगाािड बढाएका छौँ । त्यस कारण यस वर्ष ९ प्रतिशत धान उत्पादनमा वृद्धि भयो, ६ प्रतिशत मकैमा उत्पादनमा वृद्धि भयो, अरु त्यसै गरी वृद्धि भएको छ । कतिपयले भनेको सुनियो, पानी परेको हुनाले वृद्धि भयो भनेर । ठिकै हो, हाम्रोमा मनसुन आउँछ, पानी पर्छ, धानलाई पानी चाहिन्छ, मकैलाई पानी चाहिन्छ, कृषिलाई पानी चाहिन्छ, पानी परेरै फलेको हो । सँधै पानी पर्दथ्यो तर यस पल्ट चाहिँ ९ प्रतिशत पानी परेरै बढी फलेको हो । पानी सँधै पनि पर्दथ्यो । अब आउँदो वर्ष पनि पानी पर्छ, फेरि ९ प्रतिशत भन्दा बढी बढ्छ । यो हाम्रा उत्पादनका प्रयासमा, विकासका प्रयासमा प्रविधिको प्रयोगको हामीले नारा दिएका छौँ । हाम्रा उत्पादनका, विकासका प्रयासहरुमा प्रविधिको प्रयोग त्यसले । पानी त पर्छ पर्छ फेरि पनि त्यसले नेपाल मनसुन आउने देश हो पानी पर्छ । ढुक्कै छ, यस वर्ष, आउँदो वर्षामा पनि पानी पर्छ । सिंचाइका प्रबन्धहरु साथीहरुलाई आश्चर्य लाग्ला, कछुवाका चालमा भेरी–बबई डाइभर्सन कछुवाको चालमा हुँदै थियो । यस वर्ष, कति वर्ष भयो त्यो सुरु भएको ? यस वर्ष एकै वर्षमा पूरा हुन्छ । त्यो एकै वर्षमा पूरा हुन्छ होइन, हामी संभवत वैशाख १ गतेतिर ब्रेक थू्र गर्छौँ होला ।

त्यसै गरेर कमला–मरीन वा सुनकोशी–मरीन डाइभर्सन लगायतका सिंचाईका आयोजनाहरु कसरी अगाडि बढाउने त्यस सम्बन्धमा हामी गर्दैछौँ । विकास निर्माणका कामहरु अगाडि बढेका छन् तीव्र गतिमा । सँगँंगै वन विनाश भएको छैन । कतिपयले वन विनाशको कुरा उठाएका छन् । वन अहिले ४५ प्रतिशतको स्थितिमा छ र त्यो प्रतिशत हामी अलिकति अगाडि बढाउन सक्छौँ, ४५ प्रतिशतबाट । तर सबै वनैवन मात्र बनाएर फेरि हुँदैन । त्यसकारण हामी वनलाई कृषि वनतिर परिवर्तन गर्ने त्यस दिशामा जादैछौँ । 

भूकम्प भन्दा पछाडिका पुनःनिर्माणका सम्बन्धमा मैले भनिरहनु पर्दैन कति प्रगति भएको छ, यस एक वर्षमा ।  पुनःनिर्माणका सम्बन्धमा होस् वा अरु । 

एउटा व्यापार असन्तुलन बढेको छ, आयात बढेको छ, विदेशी मुद्रा बाहिरिएको छ, औधोगिकरणतर्फ, आधुनिकीकरणतर्फ मुलुक अगाािड बढ्दाखेरि हामीकहाँ त्यस्ता उत्पादन नहुने र बाहिरबाट ल्याउन पर्दाखेरि डलर तिर्नु पर्‍यो नेपाली रुपैयाँ विदेशमा चल्दैन । डलर तिर्न परेको छ, अलिक । आयात अलिकति बढेको छ, किनभने उत्पादन बढाउनको लागि र आत्मनिर्भरता बढाएर निर्यात बढाउनको लागि । यस बीचमा आर्थिक हिसाबले भन्ने हो भने कृषिको आधुनिकीकरणमा असाधारण काम भएको छ, यसमा म डिटेलमा जान चाहन्न । खालि मैले भनेको यो वर्ष उपलब्धिको वर्ष भएको छ । केही केही अलि निराशाका कुरा गर्नेहरु निराशाका कुरा केही भएन भन्नेहरु, त्यस्ता कुराहरु सुन्छु म । तर यथार्थमा हिसाब–किताब, तथ्य–तथ्याङ्कहरुले बताउँछन् कि केमा कति प्रगति भएको छ भन्ने कुरा ।  दूरगामी महत्त्वका थुप्रै कामहरु हामीले गरेका छौँ । आगामी वर्ष अरु दुरगामी महत्त्वका थुप्रै कामहरु जसले नेपाललाई आधुनिक नेपाल, विकसित नेपाल, समृद्ध नेपाल बनाउन भोलिका लागि आधार तयार गरेका छन्, भूमिका खेलेका छन् । म यता धेरै समय लिन चाहन्न, खालि मैले यो वर्ष सफल वर्ष रहेको छ भन्न मात्र खोजेको हुँ । 

यस बीचमा ऐतिहासिक उपलब्धि राष्ट्रका निम्ति साह्रै ठूलो र अत्यन्तै महत्त्वपूर्ण उपलब्धि प्राप्त भएको छ– राजनीतिक हिसाबले । देशमा रेहेको पृथकतावादी विचार, विखण्डनवादी विचार, त्यस्तो विचार बोक्ने संगठन, त्यसका गतिविधहरु ती अन्त्य भएका छन् र देशमा अब विखण्डनवाद, विखण्डनवादी संगठन छैनन् । र, हामीले जो हिजो राष्ट्रिय गान, आफ्नै राष्ट्रिय झण्डा, आफ्नै अनेक चिज बनाएर हिँड्थ्यो । त्यो समूह आज आफ्नो कार्यक्रम राष्ट्रिय गानबाट सुरु गर्छ । सयौँ थुंगा फुलका हामी एउटै माला नेपालीबाट सुरु गर्छ । यो खुसी मनाउनु पर्ने कुरा होइन नेपालीहरुले ? विखण्डनवाद भनेको एउटा गम्भीर समस्या हो देशको । त्यो कुनै पनि समय गएर विकृत रुपमा प्रकट हुन सक्थ्यो । त्यसको अन्त्य भएको छ र आज सिंगो राष्ट्र विखण्डनको पक्षमा छैन, एकताको पक्षमा छ । त्यस समूहसँग गरिएको सहमतिको पहिलो बुँदामै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एउटा सार्वभौम सत्ता सम्पन्न, स्वतन्त्र र भौगोलिक हिसाबले अविभाज्य राष्ट्र हो । यस राष्ट्रको, यस देशको सार्वभौम सत्ताको, स्वाधीनताको र भौगोलिक अखण्डताको रक्षा गर्नु हरेक नेपालीको, हरेक नागरिकको कर्तव्य हो, भनेर भनिएको छ । अब आफ्ना आग्रहमा होइन जनताको आदेश, अभिमत अनुसार चल्छु भनिएको छ । के हो यो जनताको अभिमत अनुसार चल्छु भनेको ? जनताको अभिमत अनुसार चल्न पाइन्छ ? भन्ने भनाइहरु पनि सुनिए । जनताको अभिमत अनुसार नचलेर कसको अभिमत अनुसार, कसको आदेश अनुसार चल्छ लोकतन्त्र ? जनमत सङ्ग्रह कहीँ भनेको छैन, कसैले अनौठो एउटा सिर्जना गर्‍यो–शब्दावलीमा, जनमत सङ्ग्रह भनेको हो । जनमत सङ्ग्रह भनेको भयावह कुरा हो भनेर । जनमत संग्रह लोकतान्त्रिक मूल्य मान्यताको विषय हो, जनमत संग्रह कुनै भयावह कुरा होइन । जनमत संग्रह जनताको अधिकारको कुरा हो । सार्वभौम सत्ता जनताको अधिकारको कुरा हो । लोकतन्त्रमा जनमत संग्रह त्याज्य हुँदैन्, ग्राह्य हुन्छ । तर जनमत संग्रह के विषयमा ? कति बेला ? के का लागि ? भन्ने कुरा हुँदैन र सार्वभौम सत्ताको प्रश्नमा, राष्ट्रिय स्वाधीनताको प्रश्नमा, भौगोलिक खण्डताको प्रश्नमा कुनै राष्ट्रले जनमत संग्रहको कल्पना पनि गर्न सक्दैन । देशको सार्वभौम सत्ताको सम्बन्धमा, भौगोलिक खण्डताको सम्बन्धमा, स्वाधीनताको सम्बन्धमा हुन्छ जनमत संग्रह ? जनमत संग्रह त्यस्ता विषयहरुमा किमार्थ संभव छ्रैन । र, त्यो सहमतिमा जनमत संग्रह भनिएको पनि छैन । जनमत संग्रह पहिले उहाँहरुको माग थियो । उहाँहरुले बोल्दा पनि भन्नु भयो, पहिले हाम्रो जनमत संग्रहको माग थियो । अहिले जनताको अभिमत अनुसार चल्ने कुरा हामीले भनेका छौँ । जनताको जहिले जे अभिमत हुन्छ, त्यस अनुसार चल्छौँ । कमसेकम लोकतान्त्रिक आन्दोलनका, अभियानका नेताहरुलाई थाहा हुनुपर्दछ, अहिलेको संरचना भनेको जनमतको अभिव्यक्ति हो । यो संसद जनमतको सिर्जना हो । यो संविधान, जुन संविधान अन्तर्गत हामी छौँ, त्यो संविधान जनमतको सिर्जना हो, जनमतको अभिव्यक्ति हो, जनमतको आकांक्षा हो । यो सरकार जनमतको आकांक्षा हो । जनमत भनेको के हो ? ७६१ वटा सरकार जनमत हुन् । जनमतका अभिव्यक्ति हुन् । जनमत भनेको त्यही हो । जनमत भनेको संविधान सभा थियो । संविधान सभाले बनाएको संविधान हो । संविधान बमोजिम गरिएको चुनाव हो । चुनावबाट आएको सरकार हो । त्यही हो जनमत । यस संसदले बनाएका कानुनहरु तिनै हुन् जनमत भनेको । अहिलेको प्रणाली त्यही हो जनमत । मलाई अचम्म लाग्छ, खुसी हुनु पर्ने ठाउँमा केही मान्छेहरु आत्तिएर यो त राष्ट्र घात भयो भनेर उल्टो कुरा गर्छन् । राष्ट्र घातका संभावना समाप्त भए । राष्ट्र घातको विषय नै समाप्त भयो । विखण्डन एजेण्डा नै समाप्त भयो । विचार नै समाप्त भयो र राष्ट्रिय मूलधारमा राष्ट्रिय राजनीति आयो । यो ठूलो उपलब्धि हो । म यस गरिमामय सदनलाई आश्वस्त पार्न चाहन्छु, त्यो पढ्नु भए हुन्छ फेरि पनि र भन्न चाहन्छु कुनै आग्रहको आँखाले नहेरेर खुसीयाली मनाऔं । अस्ति भ्याइएन भने बेलुका दिपावली गरे हुन्छ । यो राष्ट्रका निम्ति खुसीको कुरा हो, यस खुसीयालीमा । 

मलाई छक्क लाग्छ फेरि, जनमत संग्रहको एकातिरको कुरा चल्दै थियो, अर्कातिर केही आफूलाई लोकतान्त्रिक भन्ने मित्रहरुबाटै जनमत संग्रहका कुरा सुनिए । अचम्म लाग्छ मलाई कोही अहिले पनि फालिएको राजतन्त्र, त्यसको पक्षमा जनमत संग्रह, यस्ता यस्ता कुरा गरेर हिँडेका छन् । कोही आफूलाई लोकतान्त्रिक व्यक्तिहरु भन्नेले पनि अचम्म लाग्छ मलाई त्यसको पक्षमा जोगीले धुनी जनाउँछ नि के भन्छ त्यो फुक्ने, फेरिलगाउने हो । फेरिलगाएर हिँडेका छन् । अढाई सय वर्ष अगाडि कुनै विश्वविद्यालय पढेका थिएनन् होला । विश्व विद्यालय नै स्थापना भएको थिएन तर पनि अढाई सय वर्ष भन्दा पहिले गोर्खाका घलेहरुले बुझेका थिए कुदेर प्रथम हुनु पर्छ, जन्मसिद्ध कोही पनि हुँदैन । आज सचेत, विश्वविद्यालय पढेका मान्छेहरु, नागरिक भएकामा गर्व गर्न नसक्ने । रैतान हुन पाउँ हजुर भनेर दरखास्त हाल्ने । नागरिक भएकोमा गर्व छैन, रैतान हुने इच्छा छ, रैतान हुन पाउँ । 

जन्मसिद्ध श्रेस्ताका पाखण्डी, सिद्धान्तका पछाडि म भन्न चाहन्छु प्रतिगमनका कुनै सम्भावना नेपालमा छैन । नेपाली जनताले प्रतिगमनका सम्भावना हुन दिँदैन । त्यो सुन्न पनि तयार छैन नेपाली जनता र एउटा कुरा म भन्न चाहन्छु, यो लोकतन्त्र, यो गणतन्त्र रगत बगाएर ल्याएको गणतन्त्र हो । भिक्षामा पाएको होइन । यो चित कि पट खेल्दा पाएको होइन । फेरि अर्को पल्ट चित्त कि पट खेलौना जस्तो कुरा होइन यो । गाई कि त्रिशुल खेल्या होइन । बलिदानपूर्ण सङ्घर्ष गरेर ल्याएको यो गणतन्त्र, यसको रक्षा जनताले गर्छ । राजतन्त्र, राजतन्त्र भनेर धेरै फट्याक फुटुक नगर्न म जनताको तर्फबाट सचेत गराउन चाहन्छु सबैलाई । यो स्वीकार्य हुँदैन र यस्ता गतिविधिहरु हामी सुशासन र विकासको यात्रामा हिँडिरहेको बेला त्यसलाई भाँड्ने, त्यसलाई हुन नदिने यस प्रकारका गतिविधिहरु वाञ्छनीय हुँदैन । 

हुन त कतिपयलाई लाग्ला फेरि यो त अधिनायकतर्फ, अधिनायकवादतिर जान लाग्यो । लोकतन्त्रको रक्षा गर्छु भन्दा खेरी अधिनायकवाद तर्फ आरोप आउन सक्छ । तर अब नेपाल पछाडि फर्किँदैन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास हामीले थालेका छौँ । यसलाई सम्पूर्ण इमानका साथ, सम्पूर्ण तागतका साथ रक्षा गर्छौँ, प्रयोग गर्छौँ, सफल बनाउछौँ र अगाडि बढ्छौँ । नेपालको गन्तव्य, नेपालको बाटो यही हो । 

अर्को विप्लव समूह भनेर चिनिने एउटा समूह, धेरै पल्ट, धेरै पल्ट हामीले आग्रह गर्‍यौँ । सरकारले धेरै पल्ट गर्‍यो । मैले पनि धेरै पल्ट आग्रह गरेँ । तर लोकतान्त्रिक अभ्यासको उच्चमत अभ्यास, निर्वाचन त्यो पनि हुन दिन्न भन्ने, त्यसमा बम पड्काउने, निर्दोष मान्छे मार्ने, बेसरोकारका मान्छे मार्ने, कहीँ महिला अंगभंग छन्, कहीँ बालबालिका अंगभंग छ, कहीँ निर्दोष मान्छे मारिएको छ, कहीँ उम्मेदवारको खुट्टा काटिएको छ, कहीँ मार्ने प्रयासहरु भका छन् र चन्दाका नाममा चन्दा होइन, चन्दाका नाममा लुटपाट गरिएको छ । धम्काएर, तर्साएर यस्तो नगर्नका लागि धेरै पल्ट भनियो तर भएन । त्यसपछि त्यो समूह जो कतै दर्ता छैन, जसको ठेगाना छैन, ठेगाना छैन, त्यसको केही पनि छैन । त्यस समूहका अपराधिक क्रियाकलाप मात्रै छन् । नीति अपराधिक छन् र क्रियाकलाप अपराधिक छन्, त्यसलाई यो विध्वंसकारी नीतिहरु छोड र विध्वंस बन्द गर भनेर सरकारले विध्वंस माथि निषेध गर्‍यो । विध्वंस मच्चाउन पाइँदैन, विध्वंस निषेध । 

कतिलाई हनहनी ज्वरो आयो । यो त लोकतान्त्रिक भएन भन्ने । अनि बम पड्काउन पाउने हुन्छ  लोकतन्त्रमा ? लुट्न पाउने हुन्छ लोकतन्त्रमा ? उम्मेदरवार मार्न पाउने हुन्छ ? सभामा सुन्न आएका बुढा बुढी, महिला, निर्दोष जसको सरोकारै छैन तिनलाई उदाउने, जन्तीका बस जलाइदिने, त्यही हुन्छ लोकतन्त्रमा ? चन्दाका नाममा पैसा उठाउने, लुट्ने हुन्छ लोकतन्त्रमा ? त्यो गर्न पाइँदैन भन्दा लोकतन्त्र खतरामा पर्‍यो, धरापमा पर्‍यो । सम्झाउनु पर्दथ्यो । 

सबैलाई थाहा हुनु पर्ने श्रीकृष्णलाई सम्झाउन साह्रै आउथियो । द्वापर युगमा, अर्जुनलाई एकछिन सम्झाउँदाखेरी गीता बन्यो । तर त्यति सम्झाउन आउने, त्यति ज्ञानको भण्डार कृष्णले देखिने गरी औँलामा चक्र लिएर हिँड्थ्यो । सम्झाउँदा भएन भने चक्र, सम्झाउँदा मात्रै पार लाग्ने भए चक्र किन बोक्थे कृष्णले ? रामसँग सम्झाउने असाधारण सामथ्र्य थियो । तर धनु र वाण देखिने गरी बोक्थ्यो । 

सम्झाउँदा हुँदैन भने राज्यले कानून बमोजिम नियन्त्रण गर्छ । थाहा पाउनु पर्छ । राज्य नियन्त्रण गर्न लाग्यो, व्याक गियर छैन । नियन्त्रण गर्छ, गर्छ । यो आतंक, यो विध्वंस, यो असंवैधानिक र गैर कानूनी क्रियाकलाप, विद्युत उत्पादन गर्न नपाइने ? विद्युत गृहमा पड्काउने, नेपालीले टेलिफोन चलाउन नपाउने ? टेलिफोनका टावरमा पड्काउने, गाडि चढेर हिँड्न नपाउने ? गाडि पड्काइदिने, बाटो बनाउन नपाउने ? केही गर्न नपाउने ? कसैले धन कमाउन नपाउने ? किन भने लुटिहाल्ने । यस्तो चल्दैन । 

कतिलाई चिन्ता लाग्या होला । फर्किने ठाउँ नदिने हो कि भनेर हतियार बुझाउन समय दिइएको छ । हतियार बुझाउन समय दिएको छ । त्यो समयभित्र लुरु लुरु बोकेर आए हुन्छ, म बुझाउन आएको भनेर बुझाए हुन्छ । बुझाउँदैन भने कसरी हतियार लिनु पर्छ सरकारलाई थाहा छ । सरकारले लिन्छ । 

मान्छेहरुले भन्ने गरेका छन् दुई तिहाईको, दुई तिहाईको, दुई तिहाईको सरकार हो । यसले जथाभावी हुन दिँदैन । संविधान अनुसार, कानून अनुसार सबै चल्नु पर्छ । यस सम्बन्धमा कुनै भ्रम राख्न आवश्यक छैन । लोकतान्त्रिक विधि, अभ्यास, आचरण अनुसार सबै चल्नु पर्छ । लोकतान्त्रिक मूल्य मान्यतामा देश चल्नु पर्छ । त्यही कुरा हो । त्यसमा सरकार एकदमै दृढ छ र अब देशमा यस्तै प्रकारको अशान्तिको श्रृङ्खला जारी रहन्छ कि भन्ने कुरा, त्यो कल्पना नगरे पनि हुन्छ । त्यो राख्न सकिन्छ कि भन्ने कसैको कल्पना छ भने त्यो पनि नगरे हुन्छ । किन भने हामी विकास निर्माणतर्फ अगाडि बढ्यौँ, अब विकासका काममा वाधा पुर्‍याउन हामी दिँदैनौँ र त्यसका निम्ति हामीले ५ दिनपछि अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्दैछौँ । खुसीको कुरा हो ४० देशभन्दा बढीबाट ६ सयभन्दा बढी विदेशी प्रतिनिधिहरुको सहभागिता हुँदैछ र लगानीको धेरै चिन्ता गर्नु पर्ने स्थिति छैन । 

कसैले विदेशी लगानी (एफडिआइ) आएन, यस्तो उस्तो भन्या छ नि एफडिआइ आउँछ । फेरि हामीले अहिले हेर्‍यौँ अस्ति ७ गते हामीले नेपालको पानी जनताको लगानी भन्ने एउटा अभियान सुरु गर्‍यौँ । ३७ लाखको अपेक्षा भोलि सम्ममा ३७ लाख कित्ता शेयरको अपेक्षा हामीले गरेका थियौँ । त्यति भनेको कति करोड अहिले पुगिसक्यो । ३७ लाखको अपेक्षा गर्‍या ठाउँमा भोलि १ दिन बाँकि नै छ, ३ करोड भन्दा बढी कित्ता शेयर गइसक्यो । 
मैले ऊर्जा मन्त्रालयलाई भनेको छु, पुगेन भनेर, एक त हामीले जति पनि शेयर लिन दिएका छैनौँ । सीमित मात्रै शेयर लिन दिएका छौँ । त्यसमा पुगेन भनेर कसैलाई नरोक्ने । अर्को आयोजनामा हामी लगाउन सक्छौँ । जनताको यो उत्साहलाई यो सहभागितालाई अगाडि बढाउने । 

लगानी सम्मेलनका प्रतिवद्धता मात्रै होइन । यो नेपाली जनताको उत्साह, यस प्रकारका अभ्यासहरुमा पनि अगाडि बढेको छ । त्यसकारण म भन्न चाहन्छु, निरासा छोडौँ, आशावादीताका साथ अगाडि बढौँ । 

म प्रश्न गरिरहन चाहन्न, किन मेरो प्रश्न गर्ने बानी होइन, उत्तर दिने बानी छ, समस्या खडा गर्ने होइन, समस्याको समाधान दिने बानी छ । हामीले ठूलो उपलब्धि हासिल गर्‍या छौँ । 

किन पार्टी एकता हुँदैन भन्छन् । प्रश्न होइन एकता गरेर देखाउने, हामीले गरेर देखाएका छौँ । किन नेपालमा बहुमतको सरकार बन्दैन भनेर प्रश्न उठिरहन्थ्यो, हामीले प्रश्न होइन बहुमतको सरकार बनाएर देखाएका छौँ । अब अहिले प्रश्न उठिराख्या छ, नेपाल किन विकास भैराख्या छैन, प्रश्नको उत्तर विकास गरेर देखाउने, त्यो हाम्रो प्रतिवद्धता हो । हामी विकास गरेर देखाउँछौँ । 

त्यस कारण म साथीहरुलाई अब माननीयज्यूहरु प्रदेश प्रदेशमा जानुहुनेछ, जिल्ला जिल्लामा जानुहुनेछ । त्यस बेला आगामी वर्षको नीति कार्यक्रमका लागि,  आगामी वर्षको बजेटका लागि के के गर्न जरुरी छ ? के के गर्नु पर्छ ? के के गर्न सम्भव छ ? आदि कुराहरु छिट्टै लिएर फर्कन म आग्रह गर्न चाहन्छु । 

जनतामा निराशा फिजाउन खोजिएको छ, जनतामा निराशा छैन, हुँदैन र हुन दिनु हुँदैन । निराश जनता खतरनाक कुरा हो । हामी समस्याबाट मुक्त र एउटा विखण्डनको नाराको समस्या थियो, त्यो समाधान भयो । केही छिटपुट हिंसाको समस्या थियो, त्यो पनि अब समाधान हुँदै गएका छन् । 

आजको समयमा अब भूमिगत बसेर अनि यस्तो मच्चाउँछु, उस्तो मच्चाउँछु भन्ने कुरा नसोचे पनि हुन्छ, नसोचे हुन्छ त्यो कुरा । त्यस कारण शान्ति अब स्थापना भएको छ भने हुन्छ । कुनै प्रकारको केही गर्न दिँदैनौँ । हामी एउटा ऐतिहासिक गौरव कायम राखेर अगाडि बढ्छौँ । केही साथीहरुले गिरिशचन्द्र लालको प्रतिवेदन सार्वजनिक गरिनु पर्‍यो भन्नु भएको छ । गिरिशचन्द्र लालको प्रतिवेदन सार्वजनिक गर्न नसकिने भन्ने कुरा होइन । त्यो अध्ययन गर्ने र समयक्रममा त्यसलाई उपयुक्त समयमा विलम्ब गरिरहन पर्ने कारण पनि छैन । त्यो प्रतिवेदन हो । प्रतिवेदन सिफारिश हो । त्यो सही नै हुन्छ भन्ने पनि छैन । त्यो अध्ययन गर्दाखेरी मान्छेले कति अध्ययन गर्न भ्यायो सीमित सयममा, कति ठिकै नतिजा प्राप्त गर्‍यो । त्यो आफ्नो ठाउँमा होला तर त्यो प्रतिवेदन अलिकति सरकारले अध्ययन गर्ने र सार्वजनिक गर्न कुनै समस्या हुने छैन । त्यसलाई सार्वजनिक गर्न सकिन्छ र साथीहरुले सार्वजनिक गरियोस् भन्ने माग गर्नु भएको छ, सार्वजनिक नगर्नु पर्ने कारण नै छैन । सार्वजनिक हुन्छ समयक्रमा, म साथीहरुलाई आश्वस्त पनि पार्न चाहन्छु । 

सभामुख महोदय, 

सबै माननीय सांसदज्यूहरु सत्तापक्ष, प्रतिपक्ष र सबै माननीयज्यूहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, सदनमा सक्रिय सहभागिताका लागि । धन्यवाद भन्न चाहन्छु, रचनात्मक भूमिकाका लागि, हामी सबैको प्रयासले सदन सफल भएको छ । हामी सबैको प्रयासले यस सदनमा उठेका आवाजहरुलाई सरकारले एकदमै सजक गराएको छ र हरेक पटकका टिप्पणीहरुले माथिल्लो गियरमा सरकारलाई चढाउँदै लगे जसरी गियरअफ गराएको छ । 

म सबै साथीहरुलाई हार्दिक धन्यवाद भन्न चाहन्छु र समय दिनु भएकोमा सभामुख महोदयलाई धन्यवाद भन्दै आफ्नो भनाई टुङ्ग्याउँछु । धन्यवाद !                           

१० चैत, २०७५, प्रतिनिधि सभा

--> --> -->