NP EN

राष्ट्रिय विकास परिषद्को बैठकमा प्रधानमन्त्रीले गर्नुभएको सम्बोधन

राष्ट्रिय विकास परिषद्को बैठकमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूले गर्नुभएको सम्बोधनको पूर्णपाठः

आदरणीय मित्रहरू मेरो अलिकति खुट्टाको समस्या भएको हुनाले यहीँ बसेरै बोल्ने विचार गरेँ । त्यसलाई साथीहरूले अन्यथा रूपमा लिनुहुने छैन भन्ने मैले ठानेको छु ।

नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालज्यू, माननीय उपप्रधानमन्त्रीज्यू, लगायत मन्त्रीज्यूहरू, नेपाली कांग्रसेका उपाध्यक्ष विजयकुमार गच्छदारज्यू, प्रदेशका मुख्य मन्त्रीज्यूहरू, संवैधानिक निकायका प्रमुख र पदाधिकारी साथीहरू, योजना आयोगका माननीय उपाध्यक्ष, सदस्य साथीहरू, माननीय सांसदज्यूहरू र तमाम् यस विकास परिषदको बैठकमा उपस्थित हुनुभएका विद्वानवर्ग, विज्ञ, विशेषज्ञ लगायतका सबै महानुभावहरू, दाजुभाइ दिदीबहिनीहरू ।

हामी यतिबेला १५औँ पञ्चवर्षीय योजनाको तयारीमा छौँ र त्यसका निम्ति आधार पत्र, त्यसका निम्तिको मस्यौदामा छलफल गरिरहेका छौँ । 

यसका केही खास अवस्थाहरू र परिस्थितिहरू छन् । यो १५औँ आयोजना एक्लै १५औँ वार्षिक पञ्चवर्षीय योजनाका रूपमा मात्रै छैन । यसले विक्रम सम्वत् २०९९ लाई कभर गरेर २१ सयलाई छुने २५ वर्षको दीर्घकालिन सोच र योजनालाई पनि ध्यानमा राखेर त्यसको तयारीको रूपमा पनि आफूलाई प्रस्तुत गर्ने । 

यसले सँगसँगै अर्थ मन्त्रीजीले भन्नुभए जस्तै आगामी आर्थिक वर्षको वार्षिक कार्ययोजना, बजेटलाई पनि निर्देशित गर्ने वा प्रभावित गर्ने हिसाबले यो अधारपत्र आएको छ । यस आधारपत्रको यस ढङ्गको विस्तृत तयारीका लागि म यसमा खट्ने, योगदान पु¥याउने साथीहरूलाई धन्यवाद भन्न चाहन्छु । र, उपाध्यक्षजीले सविस्तार, हुनत यो संक्षिप्तमा हो । तर पनि विभिन्न विषयहरूमा नै उहाँले प्रकाश पारिसक्नु भएको छ, प्रस्तुत गरिसक्नु भएको छ । 

यसमाथि विभिन्न कोणबाट टिप्पणी भएका छन् । अर्थ मन्त्रीजीले अर्थतन्त्रका, आर्थिक उद्देश्यका, आर्थिक अवस्थाका, आर्थिक समस्याका विविध पक्ष र मर्महरूलाई प्रस्ट पारिसक्नु भएको छ ।

अरु नेता साथीहरूले यस अवधिका हाम्रा कामहरूको गन्तव्य, लक्ष्य वा तरिकाको सम्बन्धमा स्पष्ट गरिसक्नु भएको छ, आफ्ना विचारहरू राखिसक्नु भएको छ ।
मैले विश्वास लिएको छु, परिषद्को यस बैठकमा जुन गरिमामय उपस्थिति छ, यस उपस्थितिले अत्यन्तै गम्भिरतापूर्वक सघन ढंगले यस आधारपत्र माथि छलफल गर्ने छ, टिकाटिप्पणीहरू गर्ने छ, सुझावहरू प्रस्तुत गर्ने छ र यसलाई व्यवहारिक, अझ खँदिलो र प्रभावकारी बनाउन भूमिका खेल्ने छ भन्ने मैले विश्वास लिएको छु ।

हामी एउटा खास अवस्थामा छौँ । हामी एउटा ठूलो सफल परिवर्तनपछि अब आर्थिक उन्नतिको बाटोमा, विकासको बाटोमा लाग्नु पर्ने, बेहिचक लाग्नु पर्ने, अल्मलिने, झस्किने, तर्सिने नगरिकन लाग्नु पर्ने अवस्थामा छौँ । 

कताकति प्रश्न उठ्छ– नेपालको इतिहास कस्तो छ भने ००७ सालमा आन्दोलन भयो, ००७ सालका आन्दोलनका उपलब्धी टिकाउन सकिएन । ०४६ सालमा आन्दोलन सफल भयो, उपलब्धी टिकाउन सकिएन । अहिले पनि त्यस्तै सकिँदैन कि, अघि भर्खर पनि एक जना साथीले बोल्दै गर्दा विजयजीले भन्नुभयो, हाम्रा सन्ततीले फेरि हामीले जस्तै दुःख पाउन नपरोस् । अब विगतका अनुभवहरूलाई लिएर, विगतका कमी–कमजोरीलाई सच्याएर, विगतमा के रह्यो– विरोधीसँग मिल्ने तर सहयात्रीसँग नमिल्ने । समस्या त्यो हो जसले गर्दा आन्दोलनलाई, उपलब्धिलाई जोगाउन सकिएन, आज त्यो स्थिति होइन । ति अनुभवलाई लिएर हामी सहयात्रीसँग सहकार्य गर्न तयार छौँ र प्रतिक्रियावादी, प्रतिगामी शक्तिहरूले शीर उठाउने पनि समभावना छैन । त्यसकारण यी प्रश्नहरूबाट हामी स्पष्ट हुनुपर्दछ । 



अब देश अगाडि बढ्यो । अब हामी एउटा नयाँ युगमा प्रवेश गरेका छौँ । यो कसैले भत्काउन, खोस्न सक्ने खालको कमजोर डेमोक्रेसी होइन । 

अहिले विगतका अनुभवबाट आएको, ति शिक्षाहरूबाट सिकेको दह्रो लोकतन्त्र । जहाँ जनता अत्यन्तै सजग छ, सतर्क छ र जनतालाई फेरि अधिकारसम्पन्न, सार्वभौमसत्तासम्पन्न जनतालाई रैती बनाउँछु भन्ने कसैले सपना देख्छ भने त्यो दुषसपना हुनेछ । त्यस्ता सपना नदेख्न मैले विभिन्न समयमा त्यस्ता तत्वहरूलाई सुझाव पनि दिएको छु । 

अहिले एउटा अनुकूल स्थिति बनेको छ, राजनीतिक परिवर्तनको कारणले अनुकूल स्थिति बनेको छ । हामीसँग अब जनताले बनाएको, जनता सार्वभौमसत्ता सम्पन्न भएको संविधान छ । त्यस्ता संविधानले परिकल्पना गरेका सङ्घीय संरचनाहरू हामीसँग छन् । सबै तहका निर्वाचन भएर, सबै तहका सरकारहरू क्रियाशील छन् । यी सबै तहका सरकारहरू जनताको विश्वास जितेर बनेका सरकारहरू हुन् । यी जनताप्रति उत्तरदायी छन् । त्यसकारण आज हामीलाई अनुकूलता छ ।

अर्कोतिर कसैको पनि बहुमत नहुने हङ्ग पार्लियामेन्ट भन्छ नि त्यस्तो । कसैको पनि बहुमत नभएको, थोरै थोरै सिट भएको अनि योसँग मिलाउने, उसँग मिलाउने, उसलाई मिलाउने, उसलाई ढाल्ने, उसलाई उचाल्ने, उसलाई पछार्ने । यो कुराको खेतीबाट पनि जनता वाक्क भएर बहुमतको सरकार बनाएका हुन् ।

यो सब कुराको खेतीबाट पनि जनता वाक्क भएर वहुमतको सरकार बनाएका छन् । यो अनुकूलता छ र यसले राजनीतिक स्थायित्व प्रदान गरेको छ । त्यसमाथि अब हिजोका असहमतीहरू, असहमतीका स्वरहरू, संविधानसँग असहमतीका स्वरहरू ति समाप्त भएका छन् । संविधान नमान्ने खालका, पृथकतावाद जस्ता कुराहरू जो अत्यन्त भयावह विचार र प्रवृत्ति हो राष्ट्रका लागि, त्यस्ता कुराहरू समाप्त भएका छन् र राष्ट्र अब एउटा संविधान अन्तर्गत, संवैधानिक र शान्तिपूर्ण राजनैतिक मूल धारमा, राष्ट्रिय एकताको भाव धारामा, मूल धारको राजनीति जसलाई संक्षिप्तमा भनिन्छ । त्यसमा सिङ्गै देश समाहित भएको छ ।

अब हामीले द्वन्द्व पनि व्यवस्थापन गरेका छौँ । प्रतिक्रियावादी शक्तिहरूलाई पराजित गरेका छौँ । शान्ति प्रक्रियालाई टुङ्ग्याएका छौँ । अरु बाँकी होलान् तर टुङ्ग्याएका छौँ र समस्याहरू समाधान गरेका छौँ । विगतका फाटोका प्रवृत्तिहरूलाई अस्वीकार गरेर, एकताका प्रवृत्तिहरू, समझदारीका प्रवृत्तिहरू र जिम्मेवार प्रवृृत्तिहरूतर्फ देश अगाडि बढेको छ । 

आजको राष्ट्रिय राजनीतिको टे«ण्ड यद्यपि मान्छेहरूले यसलाई असन्तुष्टीको ट्रेण्ड बनाउन प्रयास नगरेका होइनन् । तर आजको ट्रेण्ड सामाजिक असन्तुष्टीको ट्रेण्ड भन्दा अब निर्माणतर्फ केन्द्रित हुने ट्रेण्ड हो । अबको ट्रेण्ड भनेको राष्ट्रिय एकताको ट्रेण्ड हो । अबको ट्रेण्ड भनेको जाति जातिमा विभाजित हुने, गर्न खोज्ने प्रयासहरू जो थिए, ति असफल भइसके । विभिन्न ढङ्गले जहाँ जहाँ भिन्नता छ त्यहाँ त्यहाँ अन्तरविरोध पैदा गर्न खोज्ने प्रयासहरू थिए, ति असफल भइसके । 

अब राष्ट्रिय एकता आजको हाम्रो नेपाली समाजको चरित्र बनेको छ । नेपाली समाजको प्रवृत्ति बनेको छ आज । द्वन्द्व होइन – शान्ति, फाटो होइन – एकता, असन्तुष्टी होइन – क्रियाशीलता, यो आजको सामाजिक टे«ण्ड बनेको छ । यो धेरै अनुकूल परिस्थिति हो । यस अनुकूल परिस्थिति हामीले भर्खरै पनि हेर्‍यौँ । हाम्रा विकासका प्रयासहरूलाई साथ सहयोग दिन अन्तर्राष्ट्रिय समुदाय इच्छुक छ, उत्सुक छ र तत्पर छ । त्यो कुरा भर्खर केही दिन अगाडि मात्रै सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलनले स्पष्ट पारेको छ र दुनियाँ हामीसँग सहकार्य गर्न र हामीलाई सहयोग पु¥याउन तयार छ ।

हामी आफ्ना सम्पूर्ण प्रयासहरू अब सुशासन र विकासमा केन्द्रित गर्न र हाम्रो स्रोत, साधन, क्षमता सबै कुरा केन्द्रित गर्न हामीसँग भएको पूँजी प्रयोग गर्न, हामीसँग उपलब्ध भएको प्रविधिको प्रयोग गर्न हामी पछाडि पर्दैनौँ । सँगसँगै हाम्रा मात्रै प्रयास, पूँजी वा प्रविधि प्रर्याप्त नहुन सक्दछन् । त्यस कारण हाम्रा प्रयासमा हामी हाम्रो प्रविधि मात्रै होइन, हाम्रो पूँजी मात्रै होइन, वाह्य मित्रहरूका पूँजी र प्रविधिलाई समेत उपयुक्त ढङ्गले हाम्रो विकासको प्रयोजनका लागि आमन्त्रण गर्दछौँ, प्रयोग गर्दछौँ र त्यसका निम्ति अनुकूल वातावरण बनाउछौँ ।

यहाँनेरी मैले हाम्रो देश भित्रको आन्तरिक सम्पूर्ण साधन, स्रोत, पूँजी भनिरहँदा यहाँ सार्वजनिक पूँजीको, सार्वजनिक क्षेत्रको मात्र विषय होइन । हामीले सार्वजनिक मात्रै होइन कि निजी क्षेत्र, सहकारी क्षेत्र, सार्वजनिक क्षेत्र, जहाँ जहाँबाट हुन सक्दछ, हामी ति सम्पूर्ण कुराहरूलाई परिचालन गर्दछौँ । त्यसकाराण हामीले तत् सम्बन्धी संयन्त्रहरू पनि बनाएका छौँ । सार्वजनिक क्षेत्रका संयन्त्रहरू पनि बनाएका छौँ र निजी क्षेत्रसँग सहकार्यका संयन्त्रहरू पनि बनाएका छौँ । 

खाली आज सरकार मात्रै क्रियाशील छैन । निजी क्षेत्र पनि सँग सँगै क्रियाशील छ, सहकारी क्षेत्र पनि सँग सँगै क्रियाशील छ र अब यस परिवर्तनलाई हामीले संस्थागत गरिसकेका छौँ । यसलाई खँदिलो बनाउने, यस परिवर्तनलाई सुदृढ गर्ने र यस परिवर्तनलाई जनताको निम्ति, देशको विकासको निम्ति, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति प्रयास गर्ने । ति कुराहरूमा केन्द्रित गरेर यसलाई जनताको अझ बढी विश्वास र भरोसाको परिस्थित निर्माण गर्ने । त्यस कुरामा आज हामी लागिरहेका छौँ ।

हाम्रो परिषदको यस बैठकले यिनै कुराहरूमा केन्द्रित भएर आफ्ना दृष्टिकोणहरू प्रस्तुत गर्नु पर्छ । यस सम्बन्धमा मैले, हाम्रा विकासका अवधारणका सम्बन्धमा केही दुई चार वटा कुरा अरु पनि राख्नु छ । 

पहिलो कुरा त हामी मानव जातिको सुरक्षित, सुखद भविष्य– त्यो चाहन्छौँ धर्तीमै । नेपालमा नेपालीहरूको सुरक्षा, सुरक्षित भविष्य र उनीहरूको सुख, हामी त्यो चाहन्छौँ । 

त्यसै गरेर यसो गरिरहँदा मानव जातिलाई समृद्ध बनाउने सुखी बनाउने प्रयासहरूमा धर्तीको सुरक्षित, सुखद भविष्य त्यसको पनि हामी ख्याल राख्छौँ । अर्थात हाम्रा विकासका प्रयासहरूमा दीगो विकासका लक्ष्यहरू, अहिले तोकिएका दीगो विकासका लक्ष्य सन् २०३० लक्ष्य मात्रै होइन । हाम्रा विकासका लक्ष्यहरू दीगो विकासका लक्ष्यहरू – पृथ्वीको भविष्यसँग, सुरक्षासँग, वातावरणसँग, वातावरणीय सन्तुलनसँग, इको सिष्टमलाई ठिक ढंगले अगाडि बढाउने कुरासँग र धर्तीलाई बस्न योग्य, सुन्दर र सुखी प्लानेट मानव जातिका लागि बनाउने कुरासँग सम्बन्धित भएर नै हामी अगाडि बढ्छौँ । 

त्यस कारण हाम्रो विकासका स्तम्भहरू, हाम्रो नीति तय गर्दाका स्तम्भहरू धर्ती र मानव जाती दुईटा मूल पिलरहरू हुन् अथवा आधार हो । जसको आधारमा हामी विकासको प्रयासलाई अगाडि बढाउछौँ– धर्ती र मानव जाति ।

हाम्रो देशको प्रसङ्गमा हामीले यो अन्तर्राष्ट्रिय तवरमै हाम्रो दृष्टिकोणको कुरा गरेका हौँ । हाम्रो देशको सन्दर्भमा, हाम्रो देशको सुरक्षा र विकास, हाम्रा देशका जनताको अधिकार, अवसर, सुरक्षा, सम्मान, समृद्धि र त्यो समृद्धि न्यायोचित वितरण सहितको समाजवाद उन्मुख, लोककल्याणकारी राज्यका अवधारणा अनुसार जनताप्रति उत्तरदायी सरकारको अवधारणा अनुसार कोही पनि जनता पछाडि पर्नु हुँदैन । पर्नु उचित हुँदैन । 

आजको समयमा पनि मानव जाति भोकमरीबाट पीडित छ, त यति उर्वर धर्तीमा, माछा पानीमा बस्छ र पनि खान पाएको छ । उसका लागि खानेकुरा बनाएको छ । चराका लागि प्रकृतिले खानेकुरा बनाएको छ । किरा फट्याङ्ग्राका लागि खानेकुरा बनाएको छ र धर्तीले मानव जातिका लागि खानेकुरा दिन नसक्ने होइन । तर अनुचित व्यवहार अथवा समूचित प्रबन्धको कमी त्यसले गर्दा मानव जाति गरिब छ । त्यस प्रबन्धलाई हामी सुल्ट्याउनु पर्दछ, सही ढङ्गले अगाडि बढाउनु पर्दछ । 



त्यसपछि हाम्रा अरु विकासका लक्ष्यहरू हुन्छन् । यसलाई हामीले यो राष्ट्रिय, मूल राष्ट्रिय आंकाक्षालाई ‘समृद्ध नेपाल सुखी नेपाली’ । यी शब्दहरूबाट यसलाई समेटेका छौँ । यो हाम्रो राष्ट्रिय आकांक्षा हो । यो हाम्रो प्रयासहरूको केन्द्रविन्दु हो । यो हाम्रो गन्तव्यको, खास गन्तव्यको टुङ्गो हो र यो गन्तव्य प्राप्त गर्नका लागि हामी राष्ट्रिय संकल्प हामीले गरेका छौँ । हाम्रो राष्ट्रिय संकल्प यस गन्तव्यमा पुग्नका लागि, त्यो संकल्प राष्ट्रिय संकल्प, त्यसलाई साकार पार्नका लागि हामी विभन्न क्षेत्रका विभिन्न नीतिहरू तय गर्दछौँ । 

ति नीतिहरू कार्यान्वयन गर्नका निम्ति कार्यक्रम तय गर्दछौँ । कार्यक्रमहरू कार्यान्वयन गर्नका लागि कार्ययोजनाहरू बनाउँछौँ । त्यसकारण हाम्रो कहीँ कतै कुनै विषयमा पनि अलमल छैन । 

हामीले धर्तीभित्र रहेको असाधारण पोटेनसियल । त्यसलाई पहिचान गर्ने, चिन्ने, त्यसको विकास गर्ने, त्यसको पहिचान गर्ने, त्यसलाई उपयोग गर्ने तहमा मानवीय स्रोतलाई, मानवको क्षमतालाई विकास गर्ने । 

वास्तवमा विकास भनेको मानव भित्र असाधारण क्षमता, मानवीय मस्तिष्क प्रकृतिले सृजना गरेका सबै कुरा भन्दा श्रेष्ठ कुरा हो । त्यसले प्रकृतिमा रहेका अनेक समभावनाहरू पोटेनसियल, त्यसलाई चिन्न र उपयोग गर्न सक्ने त्यस स्थितिमा हामी मानवीय मस्तिष्कलाई विकास गर्दछौँ, यही हो विकास भनेको । त्यसका निम्ति मजबुत आधार तयार भइसकेको छ । राजनीतिक आधार– स्थिरता, नीतिगत स्पष्टता सबै कुरा, अब तिनलाई व्यवस्थित ढंगले हाम्रा कार्यक्रम र कार्ययोजनाहरूमा राखेर अगाडि बढाउन पर्ने आवश्यकता छ । 

हाम्रा नीतिहरू कहीँ कतै पनि किन्चित अलमलमा छैनन् । हामीले बनाएको संविधान, संविधानले यसो भनेको छ होइन । हामीले संविधानमा यसो भनेका छौँ, यो व्यवस्था गरेका छौँ । म संविधानको सम्बन्धमा भन्न चाहन्छु, संविधानले भनेको छ, कानुनले भनेको छ मात्र होइन त्यो त हामीले बनाएका छौँ कि संविधानमा के भनेको छ ? संविधानले हामीलाई मौलिक हकहरू संविधानले भनेको छ । भनेको छ हामीले त्यहाँ राखेका छौँ । संविधानमा मौलिक हक जनताका र ति पूरा गर्नलाई हामीले राखेका हौँ । वाध्यताले भुलचुकमा संविधानमा मौलिक हक परेका होइनन् र हाम्रो वाध्यताले करकापले त्यो मान्नु पर्ने होइन । यो समाज परिवर्तन गर्ने हाम्रो जिम्मेवारी हो । हामी परिवर्तन गर्छौँ । त्यसका निम्ति हामीले ति कुराहरू राख्नै पर्दथ्यो संविधानमा, यस कारण राखियो । हाम्रा संविधानका कतिपय मौलिक हक हुन् वा अरु प्रश्नहरू हुन्, ति महत्वकांक्षी देखिन्छ । हामीले महत्वकांक्षी नै कुरा गरेको हो । महत्वकांक्षी हुनु पर्दछ । हामीले हाम्रो जनशक्तिलाई कसरी तयार गर्छौँ ? हाम्रो शिक्षा कस्तो हुन्छ ? हामीले भनेको छौँ, अब यो पञ्चवर्षीय योजनाले, १५ औँ पञ्चवर्षीय योजनाले, यसले के के तोकेर भन्नु पर्छ भन्दा यस पञ्चवर्षीय योजना पञ्च वर्षीय योजनाको अवधिभित्र कुन समयमा पछि गरौँला । तर यस अवधिभित्र, पञ्चवर्षीय योजनाको अवधिभित्र स्कुल बाहिर, स्कुल जाने उमेरका कोही पनि बालबालिका हुने छैनन् । सम्पूर्ण बालबालिका स्कुल गएका हुनेछन् । देशमा निरक्षरता उन्मूलन भएको हुनेछ । यो निरक्षरताको गीत गाइरहने होइन यस आगामी १५औँ पञ्चवर्षीय योजनाको अवधिभित्र निरक्षरता उन्मूलन भएको हुनेछ । त्यो भन्दा अगाडि नै गरौँला हामी । एक वर्ष, दुई वर्षमा गरौँला तर यसै अवधिभित्र हुन्छ । त्यसकारण यसलाई हामी तोकेरै भन्न सक्छौँ । यस अवधिभित्र निरक्षरता उन्मूलन भएको हुन्छ । निरक्षरता उन्मूलन भनेको एउटा नयाँ युगमा, फेरि पनि नेपाललाई नयाँ युगमा, निरक्षर कोही नभएको, अनपढ कोही नभएको युगमा प्रवेश गराउने हो । बालबालिका पढ्न नपाउने नभएको नयाँ युगमा प्रवेश गराउने हो । आजसम्म नेपालको इतिहासमा पढ्ने उमेरका बालबालिका स्कुल बाहिर नभएको त रहेन, गत वर्षबाट हामीले थालेका छौँ अभियान । यस वर्ष लगभग बालबालिका स्कुल बाहिर नरहने त्यो प्रबन्ध मिलाउँछौँ । यस वर्ष त्यो अभियान चलाउँछौँ, ठोस रुपमा ।

कहिले कहिले भन्ने गरेको सुनिन्छ, कुरा गरेर हुँदैन, काम गर्नुपर्छ भनेर । मैले हिजो एक ठाउँमा बोल्दा भने महाकालीबाट पारीपट्टि बाटो छ, एक ठाउँबाट अर्को ठाउँ जानु प¥यो भने मुख्य मन्त्री यहाँ अगाडि बस्नु भएको छ । कञ्चनपुरमा वारीबाट पारी जानु प¥यो भने कि त ट्युवबाट तर्नुपर्ने कि त तुइनबाट तर्नुपर्ने र खसेर मर्नु पर्ने । त्यस्तो अवस्था थियो । अहिले यो एक वर्षका बीचमा झोलुङ्गे पुलहरू बनेका छन्, तुइनहरू फालिएका छन्, मान्छे आरामले तरेका छन्, अनि कुरा मात्रै भयो र ?

हाम्रो यो सरकार गफ गर्न बनेको सरकार होइन । यो काम गर्न बनेको सरकार हो । देशमा परिवर्तन ल्याउन बनेको सरकार हो । गरिबी हटाउन बनेको सरकार हो । नेपालमा भोकमरीको अन्त्यको हामी घोषणा गर्छौँ । नेपालजस्तो देशमा भोकमरी हुन सक्दैन । यस देशमा जनताका भोकमरीको समस्या हेर्ने जनताको सरकार छ । त्यसकारण यहाँ भोकमरी हुन सक्दैन । त्यो कुरा हामी भन्छौँ ।

गरिबी न्यूनिकरण कसरी हुन्छ, हो त्यसकारण ठोस कदमहरू, रोजगारीका अवसरहरू सिर्जना गर्ने, सबैभन्दा ठूलो जनसंख्या कृषिमा आधारित रहिरहेको छ । अनावश्यक ढङ्गले कसरी कृषिमा निर्भर छ ? त्यसलाई कसरी बाहिर लाने ? जबरजस्ती हामी गर्न सक्दैनौँ । कृषिको आधुनिकीकरण नै त्यसको खास उपाय हो ।

एउटा मान्छेहरूमा भ्रम छ– यान्त्रिकीकरणले रोजगारी खोस्छ भन्ने । त्यही प्रकारको रोजगारी खोस्छ । हो, भरियाले भारी बोकिरहेको हुन्छ, भारी बोकिरहेका ठाउँमा बाटो बनेर गाडी चलेपछि, ट्रक चलेपछि ट्रकले बोक्छ भरियाको काम हराउँछ । भरियाको काम त हराउला तर त्यहाँ छेउमा चिया पसलदेखि अनेक चिजका कामका नयाँ रोजगारीका अवसरहरू खुल्छन् । त्यसकारण रोजगारीका अवसरहरू रुपान्तरित हुने हुन् । परिर्वतित हुने हुन् । फरक पर्ने हुन् । तर यान्त्रिकीकरणले रोजगारीका अवसर समाप्त पार्ने होइन, बढाउँछ । विकास ल्याउँछ, विकासले रोजगारीका अवसर समाप्त पार्ने होइन । रोजगारीका अवसरहरूको तरिकामा भिन्नता ल्याउँछ । एउटा भन्ने गरेका छन् मान्छेहरूले । यो मान्छेहरूको केही वैचारिक पूर्वाग्रह, त्यो पूर्वाग्रह यथार्थसम्मत होस्, कि नहोस् । 
कुनै एकजना नेताले आग्रहवस् हो कि अज्ञानतावस् हो– परापूर्व कालमा यो कम्युनिष्टहरूको समानता भनेको गरिबी वितरणको कुरा हो । यिनीहरू समृद्धि हासिल गर्न सक्दैनन् । समृद्धि त यिनीहरूबाट समभव नै छ्र्रैन । यिनीहरूले गरिबी वितरण गर्ने हुन् भन्ने बोले । त्यो भाषा ‘माने पेमे हुँ’ जस्तो घुमाएको छ, घुमाएको छ । केही साथीहरू अहिलेसम्म पनि त्यही भाषा घुमाउँछन् । अहिलेसम्म त चीन हेरेर थाहा पाउनु पर्ने, भियतनाम हेरेर थाहा पाउनु पर्ने, हाम्रा संकल्प हेरेर दुनियाँको कतै केही दृष्टान्त उदाहरण कतै केही नभए पनि हाम्रो संकल्प, हाम्रो ड्राइभ, हाम्रो गति हेरेर थाहा पाउनु पर्ने । परिणाम हेरेर थाहा पाउनु पर्ने । म परिणाममा कुरा गर्न चाहन्छु । इतिहासमा यस वर्ष जति पक्की बाटो बन्यो, पिच बाटो बन्यो, त्यति कहिल्यै नेपालमा बनेको थियो ? यस वर्ष जति विद्यार्थीहरूलाई, बालबालिकाहरूलाई विद्यालय भर्नाका लागि पुर्‍याउने त्यो क्याम्पेन कहिले भएको थियो ? अहिलेको जस्तो सामाजिक सुरक्षाको प्रबन्ध भएको थियो ? अहिले जस्तो रोजगारीका अवसरहरू, रोजगारीको प्रत्याभूति गरेको छ सरकारले, त्यो थियो ? यस सरकारले जसरी युवाहरूलाई सहुलियत, सुविधा दिने काम कहिल्यै भएको थियो ? यस्ता धेरै थुप्रै कुराहरू छन् । यति तीव्रताका साथ कहिले कामहरू भएका थिए ? त्यसकारण म त्यसमा धेरै बहसको विषय बनाउन चाहन्न । तर यथार्थमा हामी जानु पर्छ र हामीले देशमा परिवर्तन ल्याउनु छ । 



हामी अब के के गर्दै छौं, उद्योगको क्षेत्रमा के गर्छौँ भन्दा पेट्रोलियमको उत्खनन् गर्छौँ । फलाम खानी, हाम्रो नवलपरासीमा फलाम खानी छ । पर्वतमा फलाम खानी छ । तनहुँमा फलाम खानी छ । ति खानीहरू उत्खनन् गर्छौँ र प्रशोधन गर्छौँ । जाजरकोटमा पत्थरका खानी छन्, तामाका खानी छन्, तिनीहरूको उत्खनन् गर्छौँ । हामीले ठूलाठूला सिमेन्ट उद्योगहरू स्थापना गरिरहेका छौँ । अब सिमेन्ट आयात होइन हामी निर्यात गर्ने विन्दुमा जाँदै छौँ । हामी तीव्रताका साथ ऊर्जा उत्पादनको क्षेत्रमा लागेका छौँ । त्यस क्षेत्रबाट काम अगाडि बढाउँछौँ । हामीले एउटा मात्र उदाहरण हेरे हुन्छ, के फरक पर्छ मानसिकताले भन्ने कुरा, कोशी नदी त्यहीँ बगिराखेको थियो । पोहोरबाट कोशी नदी बगेको होइन नि । उहिलेदेखि बगेको थियो । स्टिमर बनेको कति सय वर्ष भयो ? कोशी नदी त्यहाँ छँदै थियो, स्टिमर बनेको कति समय भयो ? स्टिमर त चलेको थिएन कोशी नदीमा । स्टिमर अहिले कोशी नदीमा किन चल्यो ? त्यो मानसिक परिवर्तन भयो । त्यो दृष्टिकोणमा भिन्नता आएको हो । अब डुङ्गा चलाउने ठाउँमा स्टिमर चलाएर एकछिनमा भोजपुर प्रदेश १ का मुख्यमन्त्रीज्यू आफ्नो सदरमुकामबाट आफ्नो गृह जिल्ला घरको छेउमा एकछिनमा पुग्नु हुन्छ, जो दिनभरी गाडीमा जाँदा दिनभरी प्लेनमा जाँदा ४÷५ घण्टा किन ? २ घण्टा यता पर्खिन पर्‍यो, २ घण्टा उता पर्खिन पर्‍यो फेरि जानु पर्दा । अहिले स्टिमरमा त पर्खिन पर्ने, नपर्ने । सजिलोसँग पुगियो । किन भयो त्यो ? पानी जहाजको कार्यालय खुल्यो कि स्टिमर चल्यो । त्यो त सरकारले चलाएको त होइन । तर मान्छेलाई प्रेरित गर्ने, आत्मविश्वास गर्ने, उत्प्रेरणा दिने ति कामहरूले परिवर्तन ल्याउँछ । 

किसानहरू आज, हिजोको जस्तो होइन नवप्रवद्र्धन गरिराखेका छन् । इनोभेसन आफै गरिराखेका छन् । नयाँ ढङ्गले खेतीपाती आफै गरिराखेका छन् । त्यो किन भने परिवर्तन, परिवर्तित भइराखेको छ ।

हामी रेमिट्यान्सको सम्बन्धमा सजग छौँ । हाम्रा युवाहरूलाई हामी क्रमशः हामी देश बाहिर पठाउने होइन देशभित्रै राख्ने काम गर्छौँ । रेमिट्यान्सको धेरै आश र लोभ अहिलेको सरकारलाई छैन । यहाँ बसेर उनीहरूले देशको सेवा गरुन् । रोजगारीका अवसरहरू अहिले केही समयको लागि हामीले बाहिर पठाउनै पर्ने, जान दिनै पर्ने । पठाउने होइन जान दिन पर्ने अवस्था छ । हामी अहिले पनि बाहिर पठाउँदैनौँ । तर जान चाहन्छन्, जान दिनु पर्ने अवस्था छ अहिले । अलि पछिदेखि जान चाहँदैनन् । किनभने हामी यहाँ राम्रा अवसरहरू, आकर्षक अवसरहरू उपलब्ध गराउँछौँ । त्यसको तयारीमा हामी लागेका छौँ । त्यसकारण अहिलेको  सरकार दाउपेचमा विश्वास गर्दैैन । अहिलेको सरकार वादविवाद प्रतियोगितामा भाग लिइरहेको छैन । अहिलेको सरकार काममा विश्वास गर्छ । र, हामी शिक्षालाई औपचारिक शिक्षा, औपचारिक शिक्षामा ड्रपआउट नहोस् विद्यार्थीको । हरेक विद्यार्थी स्कुल पुगोस्, विद्यालय पुगोस्, ड्रप आउट नहोस् । त्यसको प्रबन्ध हामी गर्छौँ । उच्च शिक्षामा कसरी, कति विद्यार्थी पु¥याउन सकिन्छ, त्यसमा ध्यान दिन्छौँ । शिक्षालाई  ट्यालेन्सी हेरेर, रुचि हेरेर, त्यसरी विद्यार्थीको रुचि अनुसारको शिक्षा । त्यसो ग¥यो भने कोही पनि विद्यार्थी रुचि अनुसारको विद्या र अवसर उपलब्ध भयो भने कुनै पनि विद्यार्थी कमजोर हुँदैनन् । लद्दु हुँदैन, कोही फेल हुँदैन । हाम्रो विद्वान पुर्खाका सन्तान, विद्धान पुर्खाको जेनेटिक मेमोरी बोकेका सन्तान, ति कोही पनि लद्दु छैनन् । तर सबै विषयमा सबैको उत्तिकै प्रतिभा हुँदैन । कसैको प्रतिभा केमा हुन्छ, कसैको प्रतिभा केमा हुन्छ । समाजलाई सबै प्रकारका प्रतिभा चाहिन्छ । र, समग्रतामा भन्ने हो भने विभिन्न प्रकारका प्रतिभा हुन्छन् जो समाजका लागि उपयोगी हुन्छन् । त्यो प्रतिभा अनुसारको विद्या र अवसरका पढाइ हामीले विद्यार्थीहरूलाई उपलब्ध गराउनु पर्दछ । त्यसो भयो भने विद्यार्थी ट्यालेन्ट हुन्छन् र हामीले प्रतिभा हण्ट गर्न जानु पर्दैन । सबै नेपाली बालबालिका प्रतिभाशाली छन्, केको हण्ट ? पहिचान गर्नु प¥यो कुन विषय पढ्न जान्दछ, कुन विषयमा उसको रुचि छ, त्यो पढाउने अवसर दिने । हण्ट गर्नु पर्दैन । त्यो ट्यालेन्ट हण्ट, अयोग्य व्यापारिक काम हो । ट्यालेन्ट हण्ट होइन । त्यो धर्तीमा रहेको पोटेनसियल । सबै धर्तीमा सबै उस्तै प्रकारको पोटेनसियल हुँदैन । त्यस्तै मानवमा पनि उस्तै, सबैको, हरेक विद्यामा, हरेक विषयमा उत्तिकै प्रतिभा हुँदैन । त्यसकारण हामीले प्रतिभाको छनोट गरेर पढाउने व्यवस्था गर्न सक्नु पर्छ र त्यो अवसर विद्यार्थीलाई दिन सक्नु पर्दछ । त्यो भयो भने उनीहरू उत्कृष्ट विद्यार्थी हुन्छन् । दुनियाँका उत्कृष्ट । यो जेनेटिक मेमोरीका कारणले पनि नेपाली विद्यार्थीहरू दुनियाँका उत्कृष्ट बालबालिका, उत्कृष्ट विद्धान भएर निस्किन्छन् । त्यसकारण एउटा पाटो यो ।

अर्को हामीले आज सीप विकास र व्यावसायिक तालिमका कक्षाहरू सञ्चालन गर्ने र किसान र व्यवसायीहरू भएकै ठाउँमा गएर उनीहरूलाई उत्प्रेरित गर्ने, उनीहरूलाई व्यवसायिक तालिम दिने, उनीहरूलाई नयाँ प्रविधि दिने, नयाँ ज्ञान दिने काम हामीले गर्न सक्नु पर्दछ । बोलाएर हुन्छ कि, गएर हुन्छ । जसरी भएपनि उनीहरूलाई नयाँ प्रविधि, नयाँ ज्ञान, नयाँ सीपबाट हामीले सूसज्जित गर्नुपर्दछ । हाम्रो नीति त्यो हुनु पर्छ । र, हामीले शिक्षाभित्र खाली टेक्निकल वा जीवन यापनका लागि मात्रै होइन । समाजका लागि उपयोगी, गुणवान, आचरणयुक्त, देशभक्त सामाजिक प्राणीको रुपमा मर्यादित – त्यस्तो नागरिक उत्पादन गर्ने कुरा पनि शिक्षासँग जोड्नु पर्दछ । हामीले इन्जिनियर बनाउँछौँ, इन्जिनियर जन्माउँछौँ, तर इन्जिनियर सामाजिक नहुने, देशभक्त नहुने, अथवा एउटा मर्यादित व्यवहार गर्न नजान्ने वा आचरणयुक्त, सदाचारयुक्त हुन नसक्ने – त्यस्ता कुराहरू हुन सक्छन् । त्यसकारण सानैदेखि, बालबालिकाको सानो उमेरदेखि, त्यसमा पनि ध्यान दिन सक्नु पर्दछ । हामी दक्ष, सक्षम, स्वस्थ, योग्य, सुयोग्य, अत्यन्तै आचरणयुक्त, सभ्य, समाजका लागि उपयोगी – त्यस्तो नागरिक तयार गर्न चाहन्छौँ । हाम्रो शिक्षाले त्यो गर्दछ । यसो गर्दा हामीले प्राविधिक शिक्षातर्फ जोड भनेका छौँ किनभने जीवन उपयोगी होस् भनेर । प्राविधिक शिक्षाले मात्रै हुन्छ भन्ने त होइन हामीले । त्यसैकारण प्राविधिक शिक्षा ७० प्रतिशत भनेको । त्यो हाम्रो लक्ष्य हो । अन्तिममा हामी त्यहाँ पुर्‍याउँछौँ भन्ने हो । अहिले हामी प्राविधिक शिक्षाको मात्रा बढाउँदै लान्छौँ र सम्भव भएसम्म जीवन उपयोगी शिक्षा, त्यसमा जोड दिँदै जान्छौँ ।

स्वास्थ्य क्षेत्रमा हामीले जीवन बीमा लगायतका कामहरू गरेका छौँ । त्यसै गरेर पहिलो कुरा त मानिस निरोगी रहुन् । हाम्रो कृषि उपज स्वस्थ्व रहोस् । हामी विष फलाउने, भान्छामा विष ल्याउने, विष सेवन गर्ने, भोजनमा विष सेवन गर्ने, अनि औषधि भनेर ट्याब्लेट खाने कुराले हाम्रो स्वास्थ्य ठिक हुँदैन । त्यसकारण हामीले हाम्रो कृषि उपजलाई अर्गानिक बनाउने कुरा, यथार्थ बनाउने कुरा गर्नुपर्दछ । 

मैले हिजो एक ठाउँमा बोल्दाखेरि भनेँ कि हाम्रो उत्पादनलाई हामी यस्तो बनाइदिन्छौँ जो उसले आफ्नो जात बिर्सिन्छ । आफ्नो उमेर पनि बिर्सिन्छ । आफ्नो आकार पनि बिर्सिन्छ । किनभने त्यसमा जीन फरक पारिदिएको हुन्छ र कल्चर गरिदिएको हुन्छ । त्यसो गरेपछि उसले आफ्नो जात बिर्सिन्छ । लौका थियो भने उसले लौका हुँ भन्ने बिर्सिन्छ । आँप थियो भने आँप हुँ भन्ने बिर्सिन्छ । अनि काँक्रो थियो भने काँक्रो, उसले उमेर पनि बिर्सिन्छ । एउटा इन्जेक्सन लगाएपछि पागल भएर तेस्रो दिन चाहिँ एक महिनाको भन्दा ठूलो भइदिन्छ, उमेर बिर्सिन्छ । अनि त्यो पागल खानेकुरा खाएर मान्छे सद्दे हुन्छ ? अल्पअल्प । त्यस कारण यस कुराहरूसँग त्यसको मनोवैज्ञानिक, त्यसको वास्तविक, त्यसको जैविक तथ्यसँग परिचित हुनुपर्दछ । मान्छेको साइज सरदर हुन्छ नि, त्यस्तै कुनै पनि चिजको साइज हुन्छ । त्यसलाई पागल बनाएर यति ठूलो बनाइदिएपछि त्यसले आफ्नो आकार के हो ? कत्रो हो ? कुन वंशको हो ? कुन जातको हो ? कुन उमेरको भयो ? केही थाहा पाउँदैन । त्यस्तो खाना हामी खान्छौँ जसभित्र पोइजनस् हुन्छ । त्यसमा त्यो प्राकृतिक गुण हुँदैन, त्यो खाने कुराको तत्त्व हुँदैन । त्यसकारण हामीले त्यस्तो खानेकुरा उत्पादन गर्ने होइन । अर्गानिक खानेकुरा । त्यसकारण पेट भर्नका लागि होइन, स्वस्थ रहनका लागि खाने । र, जीवनलाई खाना वास्तवमा आधारभूत औषधि जीवनका लागि खाने कुरा हो, खाना । त्यो चाहिँ आधाारभूत औषधि हो । त्यो चाहिँ विषाक्त खाने अनि औषधिका लागि अरु उपाय खोजेर सबै भन्दा हाम्रो डिफल्ट त्यहाँनिर छ । त्यसकारण खानाबाटै हामीले आहार, विहार, आराम जस्ता कुराहरूबाटै हामीले उचित, सन्तुलित, यथार्थ र स्वस्थ तरिका अवलम्बन गर्नुपर्दछ । त्यसकारण हामी हाइजेनिक खाना आफ्ना नागरिकहरूलाई खुवाउन उत्पादकहरूलाई नै प्रेरित गर्नुप¥यो नि । किसानहरूलाई नै प्रेरित गर्नुप¥यो । त्यसकारण हाम्रो कृषिको जोड उत्पादन र उत्पादकत्व वृद्धि तर साँचैको खानेकुरा उत्पादन र उत्पादकत्व वृद्धि, उत्पादकत्व वृद्धि खाने कुराको हुनु प¥यो । त्यो पागल बनाएर होइन । त्यो अखाद्य बनाएर होइन । पछि गएर हानिकारक बनाएर होइन । त्यसकारण हामीले त्यसलाई खानै लायकका रूपमा उत्पादन, उत्पादकत्व वृद्धि गर्नुपर्छ त्यसको र त्यसको स्वभाविक रुपमा उत्पादकत्व वृद्धि गरेपछि उत्पादन पनि वृद्धि हुन्छ ।

हामीले जमिन खेर नफाल्ने नीति लिएका छौँ । तर जमिन अहिले पनि  खेर फालेका छौँ । खेर नफाल्ने भनेका ठाउँमा पनि हामीले गरामा धान रोपेका छौँ भने काल्नामा केही पनि लगाएका छैनौँ, त्यहाँ पनि हुन्छ । बाटाका छेउहरू हाम्रा सबै खाली छन्, फोहोर छ । त्यसलाई सुन्दर फुलवारी बनाउन सकिन्छ, त्यसलाई फलफुल वारी बनाउन सकिन्छ । त्यसलाई त्यहाँ किम्मु रोपेर बाटाका छेउछेउमा, हाम्रा पहाडका बाटाका छेउ छेउमा किम्मु रोप्ने हो भने रेशम उद्योग बेस्सरी चल्न सक्छ, ति काम गर्न सकिन्छ । फुलवारी लगाउन सकिन्छ र फुल पुष्प व्यवसाय त्यहाँबाट हुन सक्दछ । यस्ता थुप्रै कुराहरूमा हामीले ध्यान दिन जरुरी छ । र, कृषिको सम्बन्धमा हामी सिंचाई, कृषिको प्रविधिको विकास, आधुनिकताको, त्यसै गरेर अर्गानिक बनाउने कुरा, पशुपालन, मत्स्यपालन यी सबै क्षेत्रहरूदेखि लिएर मौरी पालनदेखि लिएर, पंक्षिपालनदेखि लिएर यी सबै कुराहरूमा हामी आधुनिकता र स्वस्थ र अर्गानिक आधुनिकता त्यस कुरामा जान्छौँ । हामी मोडर्न नेपाल, आधुनिक नेपाल बनाउन चाहन्छौँ, पुरानो नेपाल होइन । आधुनिक नेपाल तर आधुनिक नेपाल स्वस्थ नेपाल । आधुनिक नेपालका नाममा हामी जस्तो पायो त्यस्तो नेपाल होइन । स्वस्थ नेपाल बनाउन चाहन्छौँ । 

हामी भकारीमा धान मात्रै भर्ने होइन । साँच्चैको धान, स्वस्थ धान, खान हुने धान भर्न चाहन्छौँ । हाम्रा मकै, मकैको चाङ्गमा त्यसको कुन्यूमा मकै मात्रै होइन खान हुने मकै त्यस्तो बनाउन चाहन्छौँ । सबै कुरामा हामी त्यस ढंगले जान चाहन्छौँ र हामी ठूलो मात्रामा आज हामीले ध्यान दिनु पर्ने सहकारीलाई प्रयोग गर्नु पर्ने र ठूलो परिमाणमा एउटै वस्तु उत्पादन गर्ने त्यस विधिमा जानु पर्छ नत्र भने हाम्रो निर्यात पनि हुन सक्दैन र कुनै नमूनायोग्य विकास पनि गर्न सकिँदैन । 

हाम्रो टुक्रियको जमिन वाधा छ । त्यस कारण हामीले सहकारीको बाटो लिनु पर्छ, कृषिको क्षेत्रमा सबभन्दा बढी सहकारी आवश्यक छ । अब हामीले यस प्रसङ्गमा सरकारका प्रयासहरू, किसानका प्रयास आफै निजी क्षेत्रकै प्रयास हो । ति सरकारका प्रयास होइनन् ति निजी क्षेत्र कै प्रयास हुन् । त्यसमा पनि निजी उद्यमी व्यवसायीहरूको समेत संलग्नता र प्रयोग उद्योगमा मात्रै होइन । 

कृषिको आधुनिकीकरण र कृषिजन्य औद्योकिकरण, स्टोरमा कृषि सामाग्रीहरू राख्ने, चिस्यान केन्द्रहरू, कृषि सुरक्षा गर्ने–सुरक्षित भण्डारण गर्ने स्थलहरू, अथवा कृषि प्रशोधन गर्ने थलोहरू यस्तोमा बनाउन सकिन्छ । जहाँ एउटै प्रकारको ठूलो परिमाणमा एउटै प्रकारको कृषि  प्रतिफल लिन्छौँ अथवा त्यो वाली उत्पन्न गर्छौँ । त्यो चिज भएपछि मात्रै हामी त्यसको प्रशोधन कारखाना बनाउन सक्छौँ । सानो स्केलमा, एउटा आँपको रुख छ भनेदेखि दुईओटा आँपको रुख छ भने प्रशोधन कारखाना कसरी खोल्न सकिन्छ ? त्यस कारण त्यहाँ ठूलो बगैचा भयो भने प्रशोधन कारखाना हुन्छ । 

त्यस कारण प्रशोधन कारखानाको लागि एकै प्रकारको वाली उत्पादन गर्न जरुरी छ एक ठाउँमा, यसलाई हामीले योजना किन चाहियो भन्दा योजनावद्ध विकास कसरी गर्ने ? हाम्रो योजनाले हाम्रा आकांक्षाहरूलाई कसरी पछ्याउने ? यस योजनामा त्यही आकांक्षाहरू पछ्याउने प्रयास गरिएको छ । र, पर्यटन व्यवसायको  क्षेत्रमा त्यसै गरी कसरी हामी पर्यटन व्यवसाय या पूर्वाधारका क्षेत्रमा हामी कसरी जान सक्छौँ ? बाटाहरूको सन्दर्भमा कति बाटा, कति वर्षमा हामीले कसरी बनाउने हो ? अहिलेका, मलाई लाग्छ अझ बढी एम्बिसियस बनाउनु पर्छ । 

अझ बढी एम्बिसियस बनाउनु पर्छ र केही वुट, त्यो वुटको तरिकाले, केही तार्किक हिसाबले, केही अरु हिसाबले, विभिन्न हिसाबले दिने त्यस प्रकारका कामहरू हामीले गर्नुपर्छ । त्यसो भएर विकासमा कुनै दुविधा छैन । विकास सम्भव छ, यसमा कुनै दुविधा छैन । गर्न सक्छौँ कि सक्दैनौँ, कसो होला भन्ने त्यो दुविधा छैन । हाम्रो विधि के हुन्छ भन्दा हाम्रो संविधानले तीन तहको सरकार बनाएको छ । 

त्यो तीन तहका सरकारका बीचमा तालमेल, समन्वय उचित ढंगले हुन जरुरी छ । कामको, जिम्मेवारीको, स्रोतको, साधनको, बाँडफाँडको– यो लडाईको विषय होइन । मैले पहिले पनि भन्ने गरेको छु, राष्ट्रको विकासको प्रश्न छ, यो लडाईको विषय होइन । यो लडाई, यसमा तानातानको विषय होइन । यसमा सहजताका साथ र हामीले सहजताका साथ १ वर्ष सम्पन्न गरेका पनि छौँ । 

अब स्थानीय तहका सरकारहरू, प्रदेश सरकार र संघीय सरकार, यिनका बीचका समन्वयात्मक तालमेल, यी सबै गर्न जरुरी छ । राजनीतिक दलहरूभित्र राम्रो समझेदारी र एकता हुन जरुरी छ । अब कुनै दलले फेद न टुप्पोको विरोध बोकेर, उछालेर हिँडेर कहीँ गन्तव्यमा पुग्छु भन्ने ठान्छ भने त्यो भूल हुनेछ । त्यो बेकार हो । त्यस कारण हामी स्वस्थ प्रतिस्पर्धा, लोकतान्त्रिक मूल्य मान्यता भित्रका प्रतिस्पर्धा, सत्यमा आधारित गुण र दोषमा आधारित समर्थन र विरोध, समर्थन, टिप्पणी यी अभ्यासहरूमा हामी जानु पर्छ । त्यसो भयो भने जनताले विश्वास गर्ने वातावरण बन्छ । 

उहिले पनि अनेक थरिका हल्ला चलेकै हो । हल्ला त धेरै प्रकारका चले, ६० वर्ष भन्दा माथिकालाई गोली हान्छ, मार्छन् भनेपछि हामी त बाँकी नै रहँदैनथ्यौैँ । कम्युनिष्टको सरकार बनाएपछि पेस्तोल आफैतिर फर्कायो, किन त ६० वर्ष माथिकालाई मार्नु पर्‍यो । ड्यामड्याम्ती पहिला आफूलाई दियो, गर्नु प¥यो । यस्ता हल्ला पनि हामीले सुनेर आयौँ । मैले मात्र सुनेको होइन होला, अरुले पनि सुन्नु भएकै होला । यस्तो राजनीति चाहिँ गर्नु हुँदैन । 

आज पनि अब अधिनायकवादको हौवा देखाउने र अधिनायकवादतिर गयो भनेर बेकार जनतामा त्रास फैलाउने, अनुचित प्रकारका आशङ्का बढाउने यो कुनै जरुरी छैन र त्यस्तो अवस्था हुन पनि होइन र त्यो हुन पनि सक्दैन । हामी, म त्यही कारण चुनौतीका साथ भन्छु, अहिले हामीले कसैले ल्याइदिएको डेमोक्रेसी किस्तीमा हालेर दिएको होइन । हामीले लडेर लिएका हौँ, हामीले जिन्दगी समर्पित गरेर लिएका हौँ– डेमोक्रेसी । गणतन्त्र हामीले ल्याएका हौँ । 

त्यस कारण यो व्यवस्था हामीले बलिदान दिएर, साह्रै चर्को मूल्यमा, यति महङ्गो मूल्य कहीँ कतै केहीलाई पनि पर्दैन जो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई परेको छ र हामीले तिरेका छौँ यसकालागि । त्यस कारण यसको रक्षा हामी गर्छौँ । त्यो कुरा थाहा नभएर होइन । थाहा भइ भइकन फेरि पनि अधिनायकवाद तर्फ जाँदैछ भनेर जनतालाई तर्साउने । यस्तो झुटो खेती राम्रो होइन । किनभने हामी राष्ट्र निर्माणको अभियानमा, एक जनाको विषय होइन । यो राष्ट्र निर्माणको अभियान हो, विकासको अभियान हो, समृद्धिको यात्रा हो यो । यस महाअभियानमा सबै सरिक हौँ । कहाँनेरी मिल्दैन त्यहाँ भनौँ न । नमिल्या ठाउँमा अनि जनताले पनि पत्याउछन् नि । यहाँ चाहिँ मिलेन है भन्दा । अँ यहाँ मिलेन भनेर, तर अधिनायकवादतिर गयो जस्ता कुराहरूको केही अर्थ छैन । आज अधिनायकवादतिर होइन समाजवादतिर अगाडि बढ्दैछ देश, अझ लोकतन्त्र बढी तर्फ अगाडि बढ्दै छ देश, राजनीतिक स्वतन्त्रता मात्रै होइन, आर्थिक, सामाजिक, साँस्कृतिक, समृद्धि सहितको समातामूलक, त्यस्तो समाजको निर्माणतर्फ तीव्र गतिका साथ अगाडि बढ्दैछ मुलुक । त्यस कारण यस्तो बेलामा यस अवसरलाई हामी कसैले पनि तल माथि गर्नु हुँदैन । 

अब मलाई लाग्छ साथीहरूले सघन ढंगले छलफल गरेर, विचार विमर्शहरू गरेर टिप्पणीहरू प्रस्तुत गर्नुहुनेछ र ति टिप्पणीहरूलाई फेरि टिप्पणीहरूको अन्तमा तिनीहरूलाई समअप गरेर राखिने छ । त्यसपछि फेरि योजना आयोगले पूर्ण बैठकबाट ति सुझावहरूमाथि व्यापक छलफल गरेर त्यसलाई अन्तिम रूप दिन्छ र त्यो मन्त्रिपरिषद्मा जान्छ र मन्त्रिपरिषद्ले त्यसलाई योजनाको रूपमा अगाडि बढाउँछ । 

त्यस कारण हामीसँग छलफल, सुधारका सम्भावनाहरू छन् । अव्यवस्थितलाई व्यवस्थित बनाउने ठाउँ छन् । अपुगलाई पूरा गर्ने ठाउँ छ । छुटलाई थप्ने ठाउँ छ । अनावश्यकलाई हटाउने ठाउँ छ । अहिले पर्याप्त ठाउँ छ । त्यस कारण हामी सबैले सविस्तार यसमा गहिरो गरी जाउँ र यसलाई एकदमै परिस्कृत, समयानुकूल, वैज्ञानिक, उपयुक्त दस्तावेजको रूपमा अगाडि बढाऔँ । जसले आगामी १ वर्षका लागि, आगामी ५ वर्षका लागि, आगामी २५ वर्षका लागि हामीलाई मार्गदर्शन गरोस् । एक वर्षमा हामीले आधार वर्षको रूपमा तयार गरिसक्यौँ । 

अब आउँदो वर्ष हामी विकासको रफ्तारलाई अगाडि बढाउँछौँ, गति दिन्छौँ बढी । बढी व्यवस्थित ढंगले अगाडि बढाउँछौँ विकासको गतिलाई र ५ वर्ष भित्र, यस पञ्चवर्षीय योजनाभित्र देशमा तथ्य–तथ्याङ्क आजका मान्छेले सम्झिन पनि चाहँदैन । त्यस विन्दुमा देश पुग्नेछ ।

मैले अघि नै भनेँ, कोही पनि, मैले डिक्लियर गरेको छु, कोही पनि भोकै पर्दैन यस देशमा, कोही भोकले मर्दैन । भोकमरी कहाँबाट आयो ? अब भोकमरी समाप्त, कोही भोकले मर्दैन । गरिबी छ, त्यसलाई केही वर्षभित्र हामी समाप्त पार्छौँ । अशिक्षा छ त्यसलाई केही वर्षभित्र समाप्त पार्छौँ । 

अघि प्रचण्डज्यूले भने जस्तै एकै छिनमा हुने कुरा होइन, कुनै जादूले हुने कुरा होइन । त्यसको लागि अलिकति  समय लाग्छ । तर त्यो समय अनावश्यक समय हामी लिइराखेका छौँ कि ? या लिन्छौँ कि ? लाग्ने समय अनिवार्य रूपमा लाग्ने समय हामी खर्च गरिराखेका छौँ । त्यो कुरा हामीले हेर्नु पर्छ । हामी अनिवार्य रूपमा कुनै पनि हिसाबले तर्किन नसकिने गरी लाग्ने समय नै लिन्छौँ । त्यस भन्दा बढी सयम लिएर हामी समय बर्बाद गर्ने, समय खेर फाल्ने गर्दैनौँ । विकासको गतिलाई तीव्र ढंगले अगाडि बढाउँछौँ । 

अहिलेको समीक्षाहरू गर्दा यति बेर आधार वर्षको रूपमा, कानुन निर्माणको रूपमा, संरचना तयार गर्ने रूपमा वर्ष बिताए पनि हामीले प्राप्त गरेका उपलब्धिहरूले बोल्ने छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धहरूले बोल्ने छन् । हाम्रा मित्रहरूले बोलिरहेका छन् । अरूले इभ्यालुयसन गरिरहेका छन् । नेपाल के गर्दै छ ? कता जाँदैछ ? विश्वको मूल्याङ्कन के छ ? हाम्रा प्रतिको । त्यो साथीभाइले भनिराखेका छन् । 

त्यस कारण हामी यस देश भित्रका जनताका विश्वास, बाहिरका हाम्रा मित्रहरूको विश्वास तलमाथि पर्न नदिएर विकासका प्रयासहरूलाई अगाडि बढाउनु पर्दछ र यस १५औँ योजनाको आधारपत्रले यसको आधारहरू प्रस्तुत गरेको छ । यसमा छलफल गरौँ र निश्कर्षहरू निकालौँ । हाम्रा सुझाव टिप्पणीहरूले मद्दत पुर्‍याउने छन् । 

म सबै साथीहरूलाई सुझाव टिप्पणीका लागि हार्दिक आग्रह, अनुरोध गर्न चाहन्छु र फेरि एकपल्ट सबै साथीहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु, यस उद्घाटन सत्रमा यो अत्यन्तै राम्रो सहभागिताको लागि, नेताज्यूहरूलाई धन्यवाद भन्न चाहन्छु, अत्यन्त सुन्दर टिप्पणीहरूका लागि, सुझावहरूका लागि, मन्तव्यका लागि, निर्देशनका लागि र यसको तयारीमा जुटेका योजना आयोगका उपाध्यक्ष र सदस्य साथीहरूलाई र विज्ञहरूलाई जो यसमा योगदान गर्नुभएको छ, उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु र आफ्नो भनाई पनि टुङ्ग्याउँछु । यस सभालाई पनि यहीँ अन्त्य भएको घोषणा गर्दछु । धन्यवाद !

२०७५ चैत २० गते

--> --> -->