NP EN

नेपालाई निरक्षरहरुको होइन,विद्वानहरुको देश बनाउनु पर्दछ : प्रम ओली

काठमाडौं, बैशाख ४, प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाललाई निरक्षरहरुको होइन विद्वानहरुको देश बनाउनु पर्ने बताउनुभएको छ ।

विद्यालय भर्ना अभियानका सन्दर्भमा आज बालुवाटारमा नेकपा निकट यूवा र विद्यार्र्थीहरुसँग आज अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

“नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपायोग हामीले गर्नु पर्दछ । विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।” 

प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । “शिक्षाको महत्व अभिभावकलाई बुझाउनु पर्दछ ” प्रम ओलीले भन्नुभयो “त्यसपछि मात्र उनीहरुलाई छोराछोरी पढ्न पठाउछन् ।”


 
प्रधानमन्त्री ओलीले युवा र विद्यार्थीहरुले अब सृजनशिल र समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको  स्वरुप फेरिएको स्पष्ट पार्नुभएको छ । “अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन् ” प्रम ओलीले भन्नुभयो “अब युवाहरुले समाज सुधारका लागि शिक्षा,स्वास्थ्य,श्रम,सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनु पर्दछ ।”

गतबर्ष देखि बिशेष रुपले सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गर्नुभएको छ । “विकास र समृद्धिको महत्वपूर्ण माध्यम शिक्षा हो । हामीले समृद्धि हासिल गर्नका लागि शिक्षाको स्तर उठाउनु पर्दछ । यसका लागि तपाईंहरुको भूमिका महत्वपूर्ण हुन्छ । यसबर्ष देखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुनुहुदैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

अन्तरक्रियालाई शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गीरीराजमणी पोख्रेलले सहजिकरण गर्नुभएको थियो ।