NP EN

गौतम बुद्ध गौरवका सत्पात्र : प्रम ओली

काठमाडौं,४ जेठ,प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताउनुभएको छ ।

२५६३ औं बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

सन्देशमा प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याणको निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित गरेको उल्लेख गर्नुभएको छ । “संसारमा दुःख छ र दुःख हटाउने सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञानका प्रवर्तक गौतम बुद्धले मैत्री, करुणा र अहिंसाको शिक्षा दिए ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “ जातीय भेदभाव र छुवाछुत प्रथाको विरोध गरे । समनताको सिद्धान्तको प्रतिपादन गरे । त्यसैले गौतम बुद्धको शिक्षा, सिद्धान्त र दर्शनलाई सर्वत्र अनुशरण र प्रशंसा गरिन्छ ।”

प्रधानमन्त्री ओलीले बुद्धका विचारहरू जीवन दर्शन र मानव कल्याणसँग सम्बन्धित भएकोले नै विश्वभर प्रसिद्ध र लोकप्रिय बन्न सकेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघले समेत गौतम बुद्धबाट प्रतिपादित ज्ञानलाई मुख्य सिद्धान्तको रुपमा अवलम्बन गरी संसारलाई त्यसै अनुरूप शान्तिको बाटोमा डोहो¥याउन खोजेको छ उल्लेख गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्बिनीलाई विशेष धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गर्न सरकार सधैं सकारात्मक रहेको सन्देशमा उल्लेख गर्नुभएको छ । बुद्ध जयन्तीको  महत्वपूर्ण दिनमा  सबैलाई बुद्ध प्रदत्त ज्ञानलाई शिरोधार्य गरी विश्व शान्ति र भाइचाराको बाटोमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।