NP EN

नेपालमा ‘सगरमाथा डाइलग’ आयोजना गरिने - प्रधानमन्त्री ओली

पेरिस, ३१ जेठ: युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार फ्रान्सको प्रसिद्ध सहर शामोनी–मो–ब्लाँ पुगेका छन्। पर्वतारोहण गतिविधिका लागि प्रसिद्ध शामोनी–मो–ब्लाँ सहरमा आयोजित एक समारोहलाई उनले सम्बोधन गरेका छन्।

सम्बोधनका क्रममा प्रम ओलीले फ्रान्सेली नागरिक मोरिस हर्जोको प्रशंसा गरेका थिए । हर्जो शामोनी–मो–ब्लाँका पूर्वमेयर थिए ।

‘मोरिश हर्जो यो सहरका मेयर थिए। उनले अन्नपूर्ण १को सफलतापूर्वक आरोहण गरेर संसारलाई सन्देश दिएका थिए– ८ हजार मिटरभन्दा अग्ला पर्वत पनि चढ्न सकिन्छ,’ - प्रधानमन्त्री ओली ।

शामोनीका वर्तमान मेयरले प्रधानमन्त्री ओलीलाई आइस एक्स उपहार प्रदान गरेका थिए। त्यसपछि ओलीले यही वर्ष नेपालमा ‘सगरमाथा डाइलग’ आयोजना गर्ने र पहिलो बैठक पर्यावरणीय मुद्दामा केन्द्रित रहने बताउनु भयो।

उक्त कार्यक्रममा मिस नेपाल २०१८ र नेपाल र फ्रान्सेलीबीच दौत्य सम्बन्ध स्थापना भएकाे ७० औँ वर्ष उत्सवका सद्भावना दूत  श्री शृँखला खतिवडाले नेपालको जीवन्त संस्कृति र मनोरम दृश्यको आनन्द लिन नेपाल घुम्न आउन फ्रान्सेली साथीहरूलाई निम्तो गर्नुभएको थियो ।







प्रधानमन्त्री ओली र फ्रान्सेली समकक्षी एडवार्ड फिलिपबीच बिहीबार द्विपक्षीय हितबारे छलफल भएको थियो। भेटमा फ्रान्सका प्रधानमन्त्रीले नेपालले विश्वका विभिन्न भू–भागमा शान्ति कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो।

युरोपको साता लामो भ्रमण क्रममा प्रधानमन्त्री ओली गत शनिबार त्यसतर्फ प्रस्थान गरेका थिए। प्रधानमन्त्री ओली स्वीजरल्यान्ड, बेलायत हुँदै फ्रान्स पुगेका हुन्। उनी शनिबार स्वदेश फर्कने कार्यक्रम छ।