NP EN

प्रधानमन्त्री ओलीसँग विभिन्न देशका महावाणिज्य दुतहरुद्वारा भेटघाट

काठमाडौं, १२ असार,  प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न देशमा रहेका नेपालका लागि अवैतनिक महावाणिज्य दुतहरुले भेटघाट गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटघाट तथा छलफलमा  नेपालका राष्ट्रिय प्राथमिकताहरुलाई सम्बन्धित देशहरुमा कसरी  प्रवद्र्धन गर्र्ने भन्ने बिषयमा छलफल भएको छ ।  खासगरी नेपाल  भ्रमण बर्ष सन् २०२०को अवसरमा धेरै मुलुकका नागरिकलाई नेपालमा भित्र्याउने सन्दर्भमा पनि व्यापक छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो । “हामी अहिले जुन  परिवर्तित अवस्थामा आईपुगेका छौँ । हाम्रा राष्ट्रिय प्राथमिकताहरु जुन फरक भैरहेका छन् । ति फरक राष्ट्रिय प्राथमिकतालाई तत् तत् देशहरुमा प्रवद्र्धन  कसरी गर्न सकिन्छ ” डा. भट्टराईले भन्नुभयो “ त्यस भित्र पहिलो र महत्वपूर्ण कुरा भनेको यो २०२० मा  हामीले  भ्रमण बर्षको रुपमा मनाउन गईरहेका छौँ । त्यो भ्रमण बर्षलाई  धेरै भन्दा धेरै मुलुकहरुलाई   समावेश गराउन सकिन्छ भन्ने बिषयमा छलफल भएको छ ।”
 
प्रधानमन्त्री ओलीले नेपालमा बैदेशिक लगानी भित्र्याउनका लागि पहल गर्न पनि महावाणिजयदुतहरुलाई आग्रह गर्नुभएको छ । “हामीले लगानी भित्र्याउन चाहिरहेका छौँ । दुई पक्षीय व्यापार बढाउन चाहिरहेका छौँ र प्रविधि र पुँजी हामीले देश भित्र्याउन खोजिरहेका छौँ । यो कामका लागि वहाँहरुका तर्फबाट कसरी सम्भव हुन्छ भन्ने बिषयमा पनि छलफल भएको छ ” डा.भट्टराईले भन्नुभयो ।



 
भेटमा विभिन्न कामको सिलसिलामा विदेशमा पुगेका नेपालीहरुको सुरक्षाका मामलामा, त्यहाँ भएका अफ्ठ्यारा स्थितीको बारेमा नेपालका तर्फबाट पूर्ण रुपमा सहयोग हुनुपर्ने प्रधानमन्त्री ओलीको धारणा थियो ।  “कतिपय स्थितीमा उनीहरुलाई नेपालको तर्फबाट त्यहाँ गर्नु पर्ने सहयोग र त्यहाँको सरकारबाट दिलाउनु पर्ने सहयोग, सुरक्षाको बिषय, कही कुनै कुनै बेलामा उनीहरुको भ्रमणको बारेमा समस्याहरु उत्पन्न हुन्छन् । त्यस्तो सहयोगलाई कसरी प्रभावकारी बनाउनु पर्दछ भन्ने प्रधानमन्त्रीको धारणा छ ” डा. भट्टराईले भन्नुभयो । 
 
प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय आकांक्षा सुखी नेपाली,समृद्ध नेपालको लक्ष्य हासिल गर्नका लागि छिमेकी देशहरुबाट भइरहेको सहयोगलाई धन्यवाद दिनुभएको छ ।