NP EN

छानविन समितीको कार्यशैली उपयुक्त भएन : प्रम ओली

काठमाडौं, ७ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानविन सम्बन्धमा गठन भएको समितीको कार्यशैली उपयुक्त नभएको बताउनुभएको छ । प्रतिष्ठानको तेस्रो सभा बैठकलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रतिष्ठानमा अनियमितता भएको बिषयमा सरकारले जेठ ३० गते एक समिती गठन गरेको थियो । समितीको हवाला दिंदै  प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा.संगीता भण्डारीलाई कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन  विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेका थिए ।

प्रधानमन्त्री ओलीले समितिले कुलपतिलाई बुझाउनु पर्ने प्रतिवेदन विभिन्न सञ्चार माध्यममा देखिनु उचित नभएको बताउनुभयो । “समितीले प्रतिवेदन सबभन्दा पहिला कुलपतिलाई बुझाउनु पर्ने हो तर यो सामाजिक सञ्जाल र सञ्चार माध्यममा बुझाए जस्तो छ ” प्रतिष्ठानका कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले भन्नुभयो “यो प्रतिवेदन हो कि राजनीति हो ?समितिमा हुने सदस्यहरु छानविन गर्न कि राजनीति गर्न जानु भएको ? जिम्मेवारी लिनेहरुले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले प्रतिवेदनको विश्वसनियतामा प्रश्न उठेको बताउनुभएको छ । “प्रतिवेदन कुलपतिलाई बुझाउनु भन्दा पहिला अन्यत्र बुझाएर दबाब सृजना गर्न खोजिएको छ तर त्यस्तो दबाबमा म पर्दिन । सत्यतथ्य बुझेर मात्र अघि बढ्छु ।” प्रधानमन्त्री ओलीले भन्नुभयो ।