NP EN

साँस्कृतिक रुपमा नेपाल समृद्ध देश : प्रम ओली

काठमाडौं,२९ असोज, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साँस्कृतिक रुपमा समृद्ध देश भएको बताउनुभएको छ ।

२०७६ सालको बडादशैं,तिहार,नेपाल सम्बत् ११४०,छठ लगायत समस्त नेपाली चाडपर्वको उपलक्ष्यमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालको साँस्कृतिक सम्पदा विश्व मै अनुपम रहेको बताउदै  नेपालीहरु एकजातीको पर्वमा अर्को जाति पनि रम्ने रमाउने मौलिक परम्परा भएको उल्लेख गर्नुभएको छ । नेपालको यो विविधतायुक्त मौलिक परम्परालाई खल्बल्याउन विगतमा केही प्रयास भए पनि त्यो सफल नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । “हाम्रो साँस्कृतिक सहिष्णुतालाई खल्बल्याउन धेरै प्रयास भयो तर यसलाई कसैले हल्लाउन सकेनन् र सक्दैन पनि ” प्रधानमन्त्री ओलीले भन्नुभयो “विगतमा नेपालमा कानुन बलियो नभएका बेला यस्तै चाडपर्वका थिती बिधीहरुले समाजलाई सुसञ्चालन गरेका थिए ।”

सरकारले केही काम गरेन भन्नेहरुलाई आँखा खोलेर हेर्न प्रधानमन्त्री ओलीले सुझाव दिनुभएको छ । “दुवै आँखा बन्द गर्ने अनि केही भएन भन्नेहरुले आँखा खोलेर हेर्नु प¥यो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “केही केहीले सरकारले गरेको केही देखेनन् होला तर बुढाबुढी र आम सर्वसाधारणलाई सोध्नुहोस उनीहरुले भन्नेछन् सरकारले केही गरेको छ ।”



प्रधानमन्त्री ओलीले यो सरकार बनेपछि बैदेशिक लगानी ४२ अर्बबाट ७६ अर्ब पुगेको,नेपालको पानी जनताको लगानी कार्यक्रमबाट धेरै नेपाली जलविद्युतको शेयरधनी भएको ,खौलौं बैंक खाता कार्यक्रमबाट पनि जनता लाभान्दित भएको उल्लेख गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले सबैले एकतावद्ध भएर राष्ट्रलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताउनुभएको छ । “नेपालीको साझा आकांक्षा सुखी नेपाली समृद्ध नेपालको सपना पुरा गर्न सबै एकताबद्ध भएर लागौं । अनेक हल्लाका पछि नलागौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “नेपाल कुनै बेला हल्लै हल्लाको देश थियो । तर अब त्यसलाई परिवर्तन गरेर हल्लाको होइन कामको देश बनाउनु पर्दछ ।”