NP EN

सिमा विवाद समाधानमा अभूतपूर्व राष्ट्रिय एकता ः प्रम ओली

काठमाडौं, २३ कात्तिक, प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा सहित कालापानी क्षेत्र नेपालको भूभागको हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता कामय भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज कालापानी क्षेत्रको सिमाविवादको  बिषयमा आयोजना गर्नुभएको सर्वपक्षीय बैठकमा सो कुरा बताउनुभएको हो ।  बैठकमा सहभागी दलका शिर्ष नेता, पूर्व प्रधानमन्त्री ,पूर्व परराष्ट मन्त्रीहरुले कालापानी क्षेत्रको समस्या समाधानका लागि सरकारले कुटनीति पहलबाट समाधान गर्नेमा आफूहरुको ऐक्यवद्धता रहने जनाउनुभएको छ ।

“सरकार  यही राष्ट्रिय भावनालाई दृढता र स्पष्टताकासाथ कुटनीतिक  रुपमा सिमाका समस्या समाधान गर्न  अग्रसर रहेको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ सिमाका विवादका समस्या समाधान गर्न   राष्ट्र नै एकजुट हुनुपर्दछ । ”

प्रधानमन्त्री ओलीले  भन्नुभयो “भारतको व्यवहारमा परिवर्तन आएको छ । हिजो सिमानामा बाटो र बाँध बन्थे आज खोल्ने क्रम छ । त्यसैले समस्या समाधान हुनेमा म आशावादी छु । ”



“हामी समग्र दक्षिण एशियामा समृद्धि,विकास र रुपान्तरण देख्न चाहन्छौं । त्यसैले यस क्षेत्रका मुलुकहरुले  यस्ता विवादहरुमा अल्झिनु हुदैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो  “त्यसैले नेपालले पर्याप्त तथ्य र प्रमाणहरुसहित कालापानी क्षेत्र  नेपालको हो भनिसकेपछि विवादलाई समाधान हाम्रा लागि मात्र हैन भारतका लागि पनि आवश्यक छ । ”

प्रधानमन्त्री ओलीले २१ औं शताब्दीमा हिजोका शैली  लागु नहुने बताउनुभएको छ । “हिजोका भाषा र शैली  स्विकार्य छैनन् र आज सहनु पर्ने आवश्यकता पनि  छैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ अब समग्र पक्षको छलफल गरिन्छ । यस बिषयमा सरकार संवदेनशिल छ । ”

प्रधानमन्त्री ओलीले हालको सिमा विवादको बिषयमा कसैलाई उत्ताउला पनि   अभिव्यक्ति नदिन निर्देशन दिनुभएको छ । “उत्ताउला अभिव्यक्तिले  वातावरण बिगार्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ भारतलाई हामी मैत्रीपूर्ण ढंगले तथ्य,तथ्यांक राखेर सम्झाउने र आफ्नो भूभाग फिर्ता लिन्छौं । ”