NP EN

उच्च मनोबल र आपसी एकताले भाइरसको महामारी रोकौँ: प्रधानमन्त्री (राष्ट्रका नाममा सम्बोधन)

काठमाडौँ, ७ चैत: प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न आह्वान गर्नुभएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा सङ्क्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र सङ्क्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको पनि जानकारी गराउनुभयो ।

सम्बोधनको पूर्ण पाठ-------

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईंहरुसामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिङ्गो विश्व, इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेको छ । विश्वका अधिकांश मुलुकहरू यस महामारीको सङ्क्रमणबाट आक्रान्त भएका छन् । सुखद पक्ष, अहिलेसम्म यस सङ्क्रमणको प्रत्यक्ष प्रभाव हाम्रो देश नेपालमा देखिएको छैन । तर हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा भने छैनौँ ।

नागरिकको स्वास्थ्य र सुरक्षालाई मैले सधैँ उच्च प्राथमिकतामा राखेको छु । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावका बारेमा चिन्तित रहेकाले प्रारम्भदेखि नै स्पष्ट कार्ययोजना बनाई काम गर्न मैले निर्देशन दिँदै आएको छु । देशमा सङ्क्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र सङ्क्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले शुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आएको छ । यस क्रममा मेरै नेतृत्वमा पाँचवटा तयारी बैठकहरु सम्पन्न गरी छिमेकी चीनको उहान शहरबाट विद्यार्थीहरुको उद्धार र क्वारेन्टाइनको व्यवस्था गरिएको सबैलाई जानकारी नै छ ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल जानुअघि मैले, मेरो अनुपस्थितिमा कार्य गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाई समस्या समाधानको नीतिगत नेतृत्व गर्ने व्यवस्था मिलाएको थिएँ । साथै, मुख्यसचिवको नेतृत्वमा रहेको कार्यान्वयन समितिमार्फत गरिएका निर्णयहरु कार्यान्वयन गर्ने व्यवस्था पनि मिलाएको थिएँ । यिनै संयन्त्रमार्फत सरकारले प्रदेश सरकार र स्थानीय तहसँग समेत समन्वय गरी आफ्ना प्रयासहरू एकीकृत ढङ्गबाट अगाडि बढाउँदै आएको छ ।

 



दिदीबहिनी तथा दाजुभाइहरु,

महामारीसँग जुध्न सजिलो छैन । हामीले केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरुरी भएको छ । यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ । तर सम्भावित सङ्क्रमणलाई परास्त गर्न हामीसँग यसबाहेक अर्को विकल्प पनि छैन । तसर्थः तपाईँहरुले भरोसा गर्नुभएको प्रधानमन्त्रीको हैसियतले म आग्रह गर्दछु–

  • सरसफाइमा उचित ध्यान दिनुहोस् साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस् ।
  • भीडभाडबाट टाढै रहनु होस् ।
  • सकेसम्म घरमै बस्नुहोस् ।
  • अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस् ।
  • हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस् ।
  • चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस् ।
  • धैर्यवान् हुनुहोस् र संयमता अपनाउनुहोस् र
  • सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् ।


सङ्क्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न, आफ्नो परिवारलाई बचाउन र समुदायलाई सङ्क्रमणबाट जोगाउन कम्तीमा १४ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्छ । सबै दिदीबहिनी तथा दाजुभाइहरुले यस अप्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी राख्ने छैन । यसका लागि देशभरका अस्पतालबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । यस कार्यमा प्रत्यक्षरूपमा संलग्न रहने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायलगायत जनशक्तिलाई उचित प्रोत्साहनसहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

विद्युतीय माध्यमबाट प्रवाह गर्न सम्भव हुने निजी क्षेत्रका सेवाहरू सम्बन्धित कर्मचारी र सेवा प्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिनेछ । तर सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आ–आफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्नुहुनेछ ।

सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने निजीसहित सबै प्रकारका सवारीसाधनहरू आवश्यकताअनुसार सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

निजी क्षेत्र समेतको सहयोगमा खाद्यान्नलगायत अत्यावश्यक उपभोग्य सामग्रीको नियमित आपूर्ति हुने व्यवस्था मिलाइएको छ । तर अप्ठ्यारो समयको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी तथा कालोबजारी गर्ने, खाद्यवस्तुमा मिसावट गर्ने जस्ता आपराधिक काममा कोही संलग्न भएको पाइएमा प्रचलित कानूनबमोजिम कडाभन्दा कडा कारवाहीसमेत गरिने स्पष्ट पार्दछु, ।

विश्वव्यापी यो महामारीले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको छ । अर्थव्यवस्थामा परेको र पर्नसक्ने प्रभावको विश्लेषण गरी अर्थतन्त्रमा सङ्कुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त कार्यक्रमहरू ल्याउने नै छ । उद्यमी तथा श्रमजीवी– श्रमको संसारका सबै सहयात्रीहरुमा यस महामारीले सिर्जना गर्नसक्ने प्रतिकूलताप्रति सरकार संवेदनशील छ र त्यसलाई संबोधन गर्ने नै छ ।

दिदीबहिनी तथा दाजुभाइहरु,

तपाईँ हाम्रै स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी केही क्षेत्रमा निम्नानुसारका उपायहरु लागू गर्नपर्ने बाध्यकारी अवस्था पनि आएको छ ।

  • नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ देखि १८ गतेसम्मका लागि स्थगित गरिएको छ ।
  • सीमा नाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी सङ्क्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिनेछ ।
  • देशैभर सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिएअनुसारका अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।
  • आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारीसाधनहरू सञ्चालनमा रोक लगाइएको छ ।
  • मानिसहरुको भीडभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ ।
  • विद्यालय तथा विश्वविद्यालयका पठनपाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।
  • महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ ।


यी व्यवस्थाहरूबाट देशभित्र र बाहिर रहेका नेपाली दिदीबहिनी दाजुभाइहरू र अन्य यात्रुहरूलाई यथाशक्य कम असुविधा होस् भन्नेतर्फ नेपाल सरकार सचेत र संवेदनशील छ । म विश्वास दिलाउन चाहन्छु, यस असहज परिस्थितिलाई छिटोभन्दा छिटो अन्त्य गरी जनजीवनलाई सामान्य बनाउन सरकार प्रयत्नशील रहने छ ।

संसद्मा प्रस्तुत एवं एकमतले पारित गरिएको सङ्कल्प प्रस्ताव र सर्वदलीय बैठकमा अभिव्यक्त विचारहरुले यस समस्याको समाधानमा सिङ्गो राष्ट्र एकजुट रहेको भावना प्रकट भएको छ, जुन खुशीको कुरा हो । यस अभियानमा सरकारका सबै अङ्गहरु, नागरिक समाजका सबै सङ्घ÷संस्थाहरु र आमसञ्चारजगत्समेत सबैलाई पारस्परिक सहयोगका साथ नेपाली राष्ट्रिय भावना प्रकट गर्न म हार्दिक आह्वान गर्दछु ।

मुलुक बाहिर ठूलो सङ्ख्यामा नेपाली दिदीबहिनी तथा दाजुभाइहरु रहँदै आउनुभएको छ । कोरोना भाइरसको महामारीका कारण तपाईंहरुलाई मुलुक फर्किन केही असुविधा परेको मेरो जानकारीमा छ । यस घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवश्यक पर्दा आपूm रहेको देशको कूटनीतिक नियोगमा सम्पर्क राख्नु हुन आग्रह गर्दछु । हाम्रा नियोगहरुले तपाईंहरुका समस्या हल गर्न सक्दो सहयोग गर्ने जानकारी गराउँदछु ।

म अस्पतालबाट ‘डिस्चार्ज’ भएलगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीको पहलमा आयोजित दक्षिण एशियाली राष्ट्रहरुका सरकार तथा राष्ट्र प्रमुखहरुको भिडियो कन्फरेन्समा मैले पनि सम्बोधन गरेको थिएँ । कोरोना भाइरस महामारीका विरुद्ध खर्च गरिने भारतीय प्रधानमन्त्रीले आह्वान गर्नुभएको संयुक्त कोषमा नेपालले पनि योगदान गर्ने प्रतिबद्धता जनाएको थिएँ । सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले यस कोषमा १० करोड रुपियाँ योगदान गर्नेेसमेत जानकारी गराउँदछु । यस महामारीसँग जुध्न हाम्रा छिमेकीहरु, क्षेत्रीय मित्रहरु र अन्तरराष्ट्रिय समुदायसँग पारस्परिक सद्भाव र सहयोगका साथ अघि बढ्न हामी प्रतिबद्ध छौँ ।

तपाईँहरूकै सहयोगमा विश्वव्यापी महामारीका रूपमा रहेको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट आम जनसमुदायलाई सुरक्षित राख्न हामी सफल हुनेछौँ । यस उद्देश्य प्राप्तिका लागि निजी क्षेत्र, सङ्घसंस्था, दुवै छिमेकी तथा अन्य मित्रराष्ट्रहरूलगायत अन्तरराष्ट्रिय समुदायहरुबाट हालसम्म प्राप्त सबै प्रकारका सद्भाव तथा सहयोगका लागि धन्यवाद भन्न चाहन्छु । आगामी दिनमा समेत छिमेकी तथा अन्य मित्रराष्ट्रहरु र शुभेच्छुक संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुनेमा मैले विश्वास लिएको छु ।

मिर्गौला प्रत्यारोपण र उपचारपछिको शीघ्र स्वास्थ्यलाभमा यहाँहरुले मेरो इच्छाशक्ति र उच्च मनोबल प्रमुख कारक रहेको चर्चा गर्दै आउनुभएको मैले सुनेको छु । यस घडीमा मुलुकले हामी सबैको दृढ इच्छाशक्ति र उच्च मनोबलको माग गरेको छ । हाम्रो इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु ।

विसं २०७२ को विनाशकारी भूकम्प र त्यसपछि सिर्जित प्रतिकूलतालाई हामीले दृढताका साथ सामना ग¥यौँ । यस अप्ठ्यारो घडीमा पनि त्यस्तै दृढतासहित, सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइले पूर्ण सहयोग र साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

धन्यवाद ।