NP EN

संयुक्त राष्ट्र संघको ७५औं वार्षिकोत्सवको उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले दिनुभएको वक्तव्

संयुक्त राष्ट्र संघको ७५औं वार्षिकोत्सव मनाउन आयोजित उच्चस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलका नेता
सम्माननीय प्रधानमन्त्री श्री के  पी  शर्मा ओलीले
दिनुभएको वक्तव्य

न्यूयोर्क, २१ सेप्टेम्बर २०२०

विषयः हामीले चाहेको भविष्य, हामीलार्इ आवश्यक संयुक्त राष्ट्र संघः बहुपक्षीयताप्रतिको हाम्रो सामुहिक प्रतिवद्धताको पुनर्पुष्टि ।


अध्यक्ष महोदय,
संयुक्त राष्ट्र संघका महासचिवज्यू,
प्रतिनिधिमण्डलका विशिष्ट सदस्यज्यूहरू,


संयुक्त राष्ट्र संघको ७५औं वार्षिकोत्सव मनाउन आयोजित यस ऐतिहासिक अवसरमा सहभागी हुन पाउँदा आफूलाई भाग्यशाली ठानेको छु ।

हामी एक अभूतपूर्व क्षणमा भेला भैरहेका छौं ।

कोभिड-१९ को प्रभावले जीवन, अर्थतन्त्र र समाजलाई नै धक्का पुर्‍याएको छ; त्यसमा पनि सबैभन्दा कमजोर र जोखिममा रहेका मानिस तथा मुलुकहरूलाई यसको सबैभन्दा कठोर चोट परेको छ ।

आज शान्ति, समृद्धि र न्यायप्रतिको प्रतिवद्धता पुनर्पुष्टि गर्ने अवसर पनि हो ।

मानवजातिका रूपमा संयुक्त राष्ट्र संघलाई अझ मजबुत तुल्याउँदै विश्वले सामना गरिरहेका जटिल चुनौतिहरू समाधान गर्नका लागि बहुपक्षीयताको केन्द्रको रूपमा यसलाई थप सशक्त पार्नु हाम्रो जिम्मेवारी रहेको छ ।

संयुक्त राष्ट्र संघको तीनवटै स्तम्भमा नेपालको साझेदारी अझ बढ्दै गइरहेको छ ।

विगत ६ दशक भन्दा बढी अवधि देखि संयुक्त राष्ट्र संघीय शान्ति कार्यमा हामीले उच्च कटिवद्धता र व्यबसायिकताका साथ सेवा पुर्‍याउँदै आइरहेका छौं ।

हाम्रो विकास प्रक्रियामा संयुक्त राष्ट्र संघ एक प्रमुख साझेदार रही आएको छ ।

हामीले मानव अधिकारको प्रवर्द्धन र संरक्षणमा निरन्तर रचनात्मक योगदान पुर्‍याउँदै आएका छौ । सबै मानव अधिकारहरू बराबर हुन् र तिनीहरूलाई समग्रतामा हेरिनुपर्छ भन्ने कुरामा हामी विश्वास गर्दछौ । 

अध्यक्ष महोदय,

संयुक्त राष्ट्र संघ परिवर्तन र निरन्तरताको पुस्तागत दोसाँधमा उभिएको छ । अनवरत रुपमा बढ्दो अपेक्षाहरूलाई परिपूर्ति गरेर देखाउने परीक्षाको सामना यसले गर्नु परेको छ :- 

  • यसको सहयोग सबैभन्दा बढी चाहिने मुलुक तथा जनताहरूको संरक्षण गर्न,
  • सबैको सार्वभौमिक समानता र सम्मानको प्रवर्द्धन गर्न, 
  • महाव्याधी, जलवायु संकट  तथा आतंकवादजस्ता खतराहरूको मुकाविला गर्न, र
  • पारमाणविक, रासायनिक, जैविक र रेडियोधर्मी तथा अन्य सबै प्रकारका आम विनाशकारी हातहतियारहरूको पूर्ण निर्मूल सुनिश्चित गर्न ।

हालसम्म भएका उपलब्धीहरूको जगमा यो विश्व संस्थालाई उद्देश्य अनुकुल अझ चुस्त बनाउनु हाम्रो सामुहिक जिम्मेवारी हो । त्यसो गर्ने समय अहिले नै हो ।

पहिलो, एकता, ऐक्यवद्धता र सहयोगको विकल्प छैन । हामीले यी मुल्यहरूको पुनर्पुष्टि गर्दै नारा भन्दा पनि कार्यान्वयनमा प्रतिवद्ध हुनुपर्दछ ।

दोस्रो, आज ग्रहण गरिएको घोषणापत्रमा जोड दिइएका बाह्रवटा कार्यान्वयन बुँदाहरू तथा कोही पनि पछि नपर्ने गरी दिगो विकासका सबै लक्ष्यहरूको कार्यान्वयनमा संयुक्त राष्ट्र संघ केन्द्रित हुनु महत्वपूर्ण हुन्छ ।

तेस्रो, समयानुकुल सुधार गदै न्यायपूर्ण, निष्पक्ष र विधिमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न संयुक्त राष्ट्र संघलाई सबल बनाउनु पर्दछ ।

अन्त्यमा,  अस्तित्व माथि नै आइपर्ने खतरा तथा संकटहरूलाई सामना गर्न सबल र तम्तयार संस्थाको रूपमा संयुक्त राष्ट्र संघलाई सुदृढ बनाइनु पर्दछ ।

अध्यक्ष महोदय, निष्कर्षमा, ७५ औं वार्षिकोत्सवको यस अवसरमा पूर्ण लोकतान्त्रिक वातावरणमा अझ समुन्नत र सुखी विश्व समुदायको निमार्णका लागि सामुहिक रूपमा दृढ प्रतिवद्धता व्यक्त गरौं ।संयुक्त राष्ट्र संघलाई यस उद्देश्यका  लागि सुयोग्य बनाऔं ।

धन्यवाद !