NP EN

प्रधानमन्त्रीद्वारा सन्थाल एकीकृत बस्तीको शिलान्यास

दमक, १८ फागुन (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले आज मोरङको उर्लाबारीमा निर्माण हुन लागेको सन्थाल एकीकृत बस्तीको शिलान्यास गर्नुभएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृढताका साथ लागेको बताउनुभएको छ ।

मोरङको उर्लाबारी नगरपालिका–९ रातेहोली किनारमा सरकारले निर्माण गर्न लागेको सन्थाल एकीकृत बस्तीको आज शिलान्यास समारोहलाई सम्बोधन गर्दै उहाँले देशैभरि विकास र समृद्धिको प्रचुर काम भइरहेको जिकिर गर्नुभयो । सरकार विकास र समृद्धिको महान लक्ष्यमा प्रतिबद्ध भएको जनाउँदै उहाँले विकास र समृद्धि नचाहने देशी/विदेशी शक्तिले सरकारविरुद्ध लागेको आरोप लगाउनुभयो ।

देशको समस्या भनेको विकास र गरिबी भएको उहाँको भनाइ थियो । तीन वर्ष अघिको नभएका धेरै काम यस सरकारले गर्न सकेको बताउँदै उहाँले भन्नुभयो, “अब सरकारले देशभरि यहाँका भूमि तथा घरवारविहीन भएकालाई आधारभूत संरचना तयार गरी बसोबासको व्यवस्था गर्नेछौँ ।” यहाँका अल्पसङ्ख्यक सन्थाल जाति राज्यको मूल प्रवाहबाट वञ्चित भएको जनाउँदै उहाँले यस्ता जातिलाई सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा सवल बनाउन सके मात्र समृद्धिको लक्ष्य पूरा हुने धारणा राख्नुभयो ।



समारोहमा शहरी विकासमन्त्री मन्त्री प्रभु शाह, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, मन्त्री डा शिवमाया तुम्बाहाम्फे, पूर्वसभामुख सुवास नेम्बाङ, प्रदेश–१ प्रमुख सोमनाथ प्यासी, मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेश प्रमुख डोरमणि पौडेललगायतको उपस्थिति थियो ।

शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ मोरङमार्फत रु ३० करोडको लागतमा बन्ने सो बस्तीमा १३२ घर हुनेछन् । भूमि तथा घरबारविहीन अतिविपन्न सन्थाल र उराँव समुदायलाई बसोबास दिन उक्त परियोजना शुरु गरिएको हो । उर्लाबारी–९ स्थित रातोहोली खोल्सी किनारको जग्गालाई नगरबाट सन्थाल एकीकृत बस्ती विकास गर्ने निर्णयअनुसार परियोजना शुरु गरिएको नगरप्रमुख खडक फागोले बताउनुभयो । उहाँका अनुसार ३१ हजार ७६८ वर्गमिटर जग्गामा निर्माण हुने बस्तीमा १०६ सन्थाल र २६ उराँव समुदायलाई घर दिइने छ । बस्तीमा एक परिवार बसोबासको लागि चाहिने न्यूनतम २०० कोठा, एक भान्साघर, एक शौचालयसहित सडक, खानेपानी, मनोरञ्जनस्थल, खोल्सी संरक्षण, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतका संरचना निर्माण हुने छन् ।