NP EN

​सामग्री उत्पादनमा आत्मनिर्भर हुन नेपाली सेनालाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २४ चैत: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई आवश्यक पर्ने सामग्री र वस्तुहरूको उत्पादन गरेर आत्मनिर्भर हुन निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०७७/७८ मा रक्षा मन्त्रालयबाट सञ्चालित विकास तथा आयोजनाको दोस्रो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरको विकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड १९ को सङ्क्रमण नियन्त्रण र रोकथामदेखि प्रकृति संरक्षण, विपद् व्यवस्थापन र पूर्वाधारहरूको निर्माण एवं राष्ट्रिय र ऐतिहासिक महत्वका गढी र किल्लाहरूको संरक्षणमा सेनाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । 

उहाँले नेपाली सेनालाई सैनिक कल्याणकारी कोषको थप उपयोग गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री ओली हाल मुलुकमा आगलागी नियन्त्रणमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको र विश्वभर शान्ति स्थापनामा महत्वपूर्ण योगदान गरी मुलुकको प्रतिष्ठा र छवि उँचो बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभयो । रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री ओलीले मुलुकका लागि अनुशासित र कर्तव्यनिष्ठ नागरिक उत्पादन गर्न राष्ट्रिय सेवा दललाई सुदृढीकरण गर्न, बङ्करदेखि व्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले दोस्रो चौमासिकमा सेनाबाट सञ्चालित अधिकांश कार्यक्रमको भौतिक प्रगति उत्साहजनक रहेको बताउनुभयो । मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले मन्त्रालय राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रमको प्रगति सन्तोषजनक रहेको जनाउनुभयो । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीका अनुसार राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले आयोजनासँग सम्बन्धित समस्या समाधानका लागि आपसी समन्वयमा जोड दिनुभयो । मन्त्रालयको चालू आर्थिक वर्षमा भौतिकतर्फ ६४ दशमलव ८९ र पूँजीगततर्फ ३९ दशमलव ४ देखिएको छ ।



प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीले  हाल देशमा उच्च वायु प्रदुषणको कारक बनेको आगलागी नियन्त्रण गर्न हवाईजहाज र हेलीकप्टरको प्रयोगबारे गृहकार्य गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले ठूलो मात्रामा र विकट जंगलका डडेलोमा हालका दमकल र जनशक्ति पर्याप्त नहुने बताउनुभयो । ‘अहिलेका जस्ता आगलागीमा प्रयोग गर्न सकिने र अरु बेला तिनलाई अन्य काममा पनि लगाउन सकिने बहुृउपयोगी हेलिकप्टर वा हवाइजहाज ल्याउनेतर्फ गृहकार्य थालिनु पर्छ’, प्रधानमन्त्रीको भनाई थियो । यसका साथै हाल देशमा भएकै हवाईजहाज वा हेलिकप्टरमा अग्नी नियन्त्रक यन्त्र जडान गरेर तत्कालको समस्या समाधान गर्न सकिने भए सो का लागि समेत कार्य प्रारम्भ गर्न पनि उहाँले निर्देशन दिनुभयो । यसकार्यमा नेपाली सेनाले अग्रसरता लिनु उपयोगी हुने धारणा पनि प्रधानमन्त्रीको थियो ।  

अहिलको आगलागीलाई गम्भिरता पुर्वक लिँदै  आगामी वर्षहरुका लागि समेत तयारी गरिनुपर्ने बताउनुभयो । अहिले देशभित्र ७ सय ठाउँमा आगलागी भएको उहाँले यो स्वाभाविक नदेखिने समेत बताउनुभयो । ‘पहिले पनि सुख्खा मौसममा डढेलो लाग्थ्यो, यस्तो हुन्थ्यो र ?’, प्रधानमन्त्रीको प्रश्न थियो ।  

आगलागीको परिणाम स्वरुप उत्पन वायु प्रदुषणले स्वास्थ्य समस्या देखिनेतर्फ सचेत गराउँदै प्रधानमन्त्रीले केही दिन यता आफूले समेत असहज महशुस गरेको बताउनुभयो । ‘मभन्दा बुढाबुढी र रोगीलाई त झन् के भएको हुँदो हो ?’, प्रधानमन्त्रीले भन्नुभयो ।

रक्षा मन्त्रालय अन्तर्गत सञ्चालित विकास आयोजनाहरुमा सामान्यबाहेकका कुनै उल्लेखनीय समस्य नदेखिनु सुखद पक्ष रहेको बताउँदै प्रधानमन्त्रीले नेपाली सेनाले अब आफ्ना लागि चाहिने पोशाक, विस्कुट खाद्य पदार्थ आफै उत्पादन गर्ने अग्रसरता लिनु सह्रानीय भएको धारणा समेत राख्नुभयो । आफै उत्पादन गर्दा सबै सुरक्षा निकाय, सरकारी कार्यालयमा प्रयोग हुने पोशाक र विद्यालयका पोशाक समेतमा आयातित कपडाको साटो प्रयोग गर्न सकिने स्थिति बन्ने धारणा उहाँको थियो । तर त्यसरी तयार हुने पोशाक सितै होइन, परल मुल्य लिएर गुणस्तरसमेत सुनिश्चित गराएर उपलब्ध गराइने हुनेपर्ने धारणा पनि प्रधानमन्त्रीको थियो ।