NP EN

​७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीको सम्बोधन

सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
सम्माननीय सभामुखज्यू,
सम्माननीय राष्ट्रिय सभाका अध्यक्षज्यू,
माननीय मन्त्रीगण, राष्ट्रिय सभाका माननीय सदस्यहरू,
विदेशी कुटनीतिक नियोगका प्रमुखज्यूहरू,
राष्ट्रसेवक कर्मचारीहरू,
विशिष्ट अतिथिहरू र सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू । 

सर्वप्रथम, आज ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको यस अवसरमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरुमा हार्दिक शुभकामना भन्न चाहन्छु । 

नेपालको इतिहासमा २००७ साल फागुन ७ गते आजकै दिन अँध्यारोबाट उज्यालो युगको आरम्भ भएको गौरवपूर्ण दिनका रूपमा स्थापित भएको विदितै छ । नेपाली जनताको साहस र बलिदानपूर्ण संघर्षबाट निरङ्कुुश जहानियाँ राणा शासनको अन्त्य भएको गौरवमय दिनको स्मरण गर्दै सम्मान स्मरण गर्दै गर्वकासाथ हामी आज यहाँ उपस्थित भएका छौँ । हरेक वर्ष फागुन ७ गतेलाई हामीले प्रजातन्त्र दिवसका रुपमा मनाउँदै आएका छौं र यस वर्ष पनि भव्यताका साथ मनाइरहेका छौँ । 

इतिहासको गतिशील यात्राको विगत सात दशकमा हामी राष्ट्रियताको जगेर्ना गर्दै जनताको स्वतन्त्रता र राष्ट्रको समृद्धिका खातिर लामो बलिदानपूर्ण संघर्षमा आफूलाई आहूति दिनुहुने ज्ञात÷अज्ञात सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।

जहानियाँ निरङ्कुशता एवं तानाशाही बर्बरताबाट उन्मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको विन्दुका रुपमा हामी यस दिनलाई स्मरण गर्दछौँ । आजको दिन, नेपालको लोकतान्त्रिक आन्दोलनको गौरवमय इतिहासका पानामा विशेष दिन हो । यस दिनलाई समाजको आधुनिक रूपान्तरणको पहिलो खुट्किलो मान्न सकिन्छ । नेपाली जनताले शिक्षा, स्वास्थ्य, विकास र समृद्धिको अधिकार प्राप्तिका लागि पहिलो कानूनी, नीतिगत र व्यवहारिक जग बसाउने कार्य यसपश्चात नै गर्न पाएको तथ्य पनि अवगत नै छ । 

राष्ट्रको विकास र समृद्धिको खातिर फागुन ७ गतेकै दिन प्रजातन्त्रको बिजारोपण गरिएको थियो । सोही अभियानलाई अनुप्राणित गर्दै आज हामीले मुलुकलाई विपन्नबाट सम्पन्नतातिर, विकासोन्मुखबाट विकास तिर, फितलो शासन व्यवस्थाबाट कानूनी र नागरिकमैत्री शासन व्यवस्थाको गन्तव्यतिर अघि बढाइरहेका छौँ । त्यसैले, आजको दिनमा परम्परागत औपचारिक जिम्मेवारी निर्वाह गर्ने भन्दा माथि उठेर यसको गरिमा र महत्वलाई आत्मसात् गर्दै रचनात्मक र हर्षोल्लासपूर्ण दिनका रूपमा मनाउन म सम्पूर्ण दिदीबहिनी दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु । भावी पुस्ताले यस दिनको गरिमा र महत्वको आँकलन गर्दै आधुनिक र समृद्ध राष्ट्र निर्माणको गौरवपूर्ण ऐतिहासिक दिनका रूपमा सम्झिनका लागि इतिहासको यस तथ्यलाई पुस्तान्तरण गर्दै लैजानसमेत आह्वान गर्दछु । आजको पुस्ता तथा सम्पूर्ण नेपालीहरूलाई यस इतिहासप्रति गौरव गर्न, वर्तमानप्रतिको क्रियाशील जिम्मेवारी निर्वाह गर्न र भविष्यप्रतिको उत्तरदायित्वलाई सामाजिक सम्पत्तिका रुपमा पूँजीकृत गर्न यस दिनले अभिप्रेरित गरिरहने छ । 

आजको दिन, नेपाल र नेपाली जनताको प्रजातान्त्रिक हक–अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत् संघर्षमा आफूलाई समाहित गर्ने वीर÷वीरङ्गनाहरुको स्मरण गर्ने दिन हो । यस्तै, प्रजातन्त्र स्थापनाको हाम्रो संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्षमार्फत् जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिको आकांक्षा साकार पार्न संकल्प गर्ने दिन पनि हो ।

संविधान जारी भएपछि सम्पन्न आम निर्वाचनबाट बनेको यस सरकारले आफ्नो कार्यकालको तीनवर्ष पूरा गरेको छ । मैले शुरूको वर्षलाई विकासको आधार वर्षका रुपमा चर्चा गरेको थिएँ । गतवर्ष पहिलो वर्ष हासिल उपलब्धिहरुको आधारभूमिमा टेकेर समृद्धिको आरम्भ वर्ष उल्लेख गर्दै हामी मुलुकलाई विकास र समृद्धिको दिशामा अघि बढाउन अग्रसर भयौँ । विगत तीन वर्षको यस अवधिमा उल्लेख्य शासकीय सुधार भएको छ भने पूर्वाधार विकास देखिने गरी अघि बढेको छ । सुशासन कायम हुनेगरी विकास निर्माणका काममा समेत नतिजा हासिल भइरहेका छन् । हामीले शुरू गरेका धेरैजसो विकासको व्यवस्थापन तथा पुनःनिर्माणका कार्य अन्तिम चरणमा रहेका छन् र केही अगाडि बढ्दैछन् । राष्ट्रको समृद्धि प्रत्यक्षतः जनताको सुख, सन्तुष्टि र खुशीसँग जोडिएको हुन्छ । सम्पन्नताको यात्रा अनवरत चलिरहन्छ, हामी त्यसतर्फ नै यात्रारत छौँ ।

हामी मौलिक विधिसहित द्वन्द्व व्यवस्थापन गरी आर्थिक तथा सामाजिक रूपान्तरणको दिशातर्फ हिँडिरहेका छौँ । यसबाट हामीले लोकतान्त्रिक मूल्य मान्यतालाई सुदृढ गर्दै अन्तर्राष्ट्रिय जगतमा आफ्नो, पहिचान, प्रतिष्ठा र गरिमा बढाउँदै लगेका छौँ ।

दशकौँ लामो संघर्षपूर्ण अभ्यासमा अनेकौं आरोह–अवरोह पार गर्दै सुशासन, विकास र समृद्धिको यात्रामा नवीन शासकीय प्रणालीमा अभ्यस्त भई संविधानको कार्यान्वयनलाई संस्थागत गर्नुपर्ने हाम्रो स्पष्ट कार्यदिशा रहेको छ । यसका लागि बढ्दो जनआकांक्षा र चुनौतीहरूबीच तालमेल मिलाई देखिएका कतिपय असन्तुष्टिहरूमा बलियो प्रणालीगत बदलाव, चिरन्तनदेखिको जनआकाङ्क्षा र राज्यको संस्थागत सामथ्र्यको आयामलाई मिलाउँदै र केलाउँदै ठोस परिणाम हासिल गर्न हामी प्रयत्नशील छौं । 

दशकौं समय लगाएर लोकतान्त्रिक प्रणालीलाई सुदृढ गरेका तथा बहुआयामिक विकासका लागि हजारौँ वर्ष लगानी गरेका समृद्ध मुलुकहरुसँग तुलना गर्ने प्रगति त हामीले अझै हासिल गर्न सकेका छैनौँ । तर, त्यसतर्फका हाम्रा पाइला तीव्र गतिमा अघि बढेका छन् र परिणामहरु क्रमशः हासिल भइरहेका छन् । निरङ्कुश जहानियाँ शासनबाट प्रजातन्त्रको उज्यालो युगमा प्रवेश गरेको २००७ सालको परिवर्तन विन्दुजस्तै हामीले शुरू गरेको नवीन शासन प्रणाली निकट भविष्यमा प्राप्त हुने जनसन्तुष्टि, विकास र समृद्धिको प्रवेश विन्दु हो । यस अर्थमा आजको समय नवीनतम् युगको आशालाग्दो अभिलाषा हो ।

मेरो नेतृत्वमा सरकार गठन भएको भर्खरै तीन वर्ष पूरा भएको छ । हामी यतिखेर प्रतिनिधि सभा विघटन भएर नयाँ निर्वाचनको मिति समेत तोकिएको विशेष परिस्थितिमा छौँ । यस बीचमा एकातिर जनताका उच्च आकाङ्क्षा सम्बोधन गर्नुपर्ने, अर्कोतिर जनतामा राज्यको वास्तविक उपस्थिति रहेको आभास दिई सन्तुष्ट बनाउनु पर्ने जिम्मेवारी हाम्रो काँधमा रहेको छ । जनताले सुम्पेको यस जिम्मेवारीलाई पूरा गर्न विभिन्न पक्षबाट खडा गरिएका अवरोध हटाउने अभिभारा पनि सचेत जनताको नै हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताले त्यही सर्वाेपरी अधिकार प्रयोग गरेर मुलुकको समृद्धिका अनेकन् अवरोध हटाउने चरणमा भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।    

यतिबेला मुलुक निर्वाचनको सम्मुखमा छ । संविधान बमोजिम मन्त्रिपरिषदद्वारा प्रतिनिधिसभाको विघटन गर्न सिफारिस भएको र सम्माननीय राष्ट्रपतिज्यूले २०७७ पुस ५ गते विघटनको निर्णय गर्नुभएको स्पष्टै छ । देशलाई सत्ता समीकरणको नयाँ खेल र अस्थिरताको दुश्चक्रमा फस्नबाट जोगाउन यो निर्णय लिनुपरेको हो । यस बारेमा सम्मानित सर्वोच्च अदालतमा परेका रिटहरु माथि सुनुवाईको क्रम जारी छ । मलाई विश्वास छ, विघटित प्रतिनिधिसभाको पुनःस्थापना हुँदैन । र, पुनःस्थापनाबाट अस्थिरता, अन्योल, अवरोध र घेराबन्दीका समस्याहरूको समाधान पनि हुँदैन । बरु त्यस्ता समस्याहरू अझै बढ्न जान्छन् । तसर्थः ताजा जनादेशबाट नै सबैखाले समस्याको समाधान खोजेर अघि बढ्नुपर्ने आजको राष्ट्रिय आवश्यकतामा म पुनः जोड दिन चाहन्छु ।  

मेरो नेतृत्वको वर्तमान सरकार आर्थिक एवं सामाजिक रुपान्तरणको कार्यभार सम्पन्न गर्न केन्द्रित छ । समृद्धि प्राप्तिको यस सहयात्रामा हाम्रा मित्रराष्ट्रहरुको समेत साथ रहिरहेको छ । र, आगामी दिनमा पनि रहनेछ भन्ने मैले अपेक्षा गरेको छु । 

सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दीगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा हामी छौँ । यस लक्ष्य प्राप्तिका लागि हामी हाम्रा हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेका छौँ । यस यात्राबाटै हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्दै अघि बढ्न सफल हुनेछौँ । 

हाम्रो राष्ट्रको पहिचान, हाम्रो राष्ट्र निर्माण, हाम्रो लोकतन्त्र, लोकतन्त्रका लागि हामीले लामो समय गरेको संघर्षको जिउँदो इतिहासका अमर घटना परिघटना, राष्ट्र र राष्ट्रियताका लागि पूर्खाले गरेको बलिदानका गाथालाई हाम्रो भावी पुस्ताले अध्ययन र मनन् गर्नु पर्दछ । आफ्नो सभ्यता, संस्कृति र इतिहासको श्रेष्ठता, अनि त्यसका लागि पूर्खाले गरेको योगदानलाई आजको पुस्ताले गहिरोसँग आत्मसात् गर्नु आवश्यक छ । त्यसैले आजको यस दिनलाई एउटा औपचारिक दिवस मात्रै होइन, यसलाई इतिहास र पूर्खाको गौरवशाली संघर्षको त्यही विरासतसँग जोडेर जनस्तरबाट समेत मनाउन सरकारले आह्वान गरेको छ ।

अन्त्यमा, निरङ्कुश शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको यस ऐतिहासिक दिनको स्मरणमा आयोजित यस विशेष समारोहमा म पुनः एकपटक नेपालको लामो प्रजातान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने अमर सहिदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । मुलुकको सुशासन, विकास, समृद्धि र जनताको सुखको सुनिश्चितताको लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजूट भई योगदान गर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक आह्वान गर्दछु । 

धन्यवाद ।