NP EN

आगामी बजेटमा बृद्धभत्ता बढ्छ : प्रम ओली

काठमाडौं, १ बैसाख, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी बजेटमा  बृद्धभत्ता बढाउने घोषणा गर्नुभएको छ ।

ज्येष्ठ नागरिक स्वास्थ्य विमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभएको हो ।

“यो  बुढाबुढीको भलो चिताउने सरकार हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसपालीको बजेटमा बृद्धभत्ता बढ्छ । ढुक्क भए हुन्छ ।” प्रधानमन्त्री ओलीले २०५१ सालमा तत्कालिन एमालेको सरकारले वृद्ध भत्ता वितरण सुरु गरेपछि नेपालीहरुमा बाँच्ने मनोविज्ञान बढेको बताउनुभयो । “पहिला पहिला बुढाबुढीहरु कति बर्ष पुग्नुभयो भन्दा ६८ बर्ष पुगियो । अब कति बाचिएला र भन्थे ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यतिबेला बृद्धभत्ता पाउन अब दुई बर्ष बाँकी छ भन्छन् । बृद्धबृद्धाहरुमा जीवनप्रतिको आशा बढेको छ ।”


 
प्रधानमन्त्री ओलीले  सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले कसैले भोकै नांगै बस्नु नपर्ने,मागेर खानु नपर्ने बताउनुभएको छ । त्यस्तो अवस्थाका असाहयको साहारा सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य विमा कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य  उपचारमा ठुलो भरथेग गर्ने बताउनुभएको छ । “हामी नेपाललाई केही बर्ष भित्रै निरोगी नेपाल,स्वास्थ्य नेपाल बनाउदैछौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसका लागि हाम्रो खानपानलाई विषादी रहित बनाउनु पर्दछ । ”

प्रधानमन्त्री ओलीले केही ज्येष्ठ नागरिकहरुलाई कार्यक्रममा स्वास्थ्य विमा कार्ड वितरण गर्नुभएको छ । यसैगरी कार्यक्रममा प्रधानमन्त्रीका पिता मोहन प्रसाद ओली र सासु धनमाया शाक्यले बैंक खाता खोल्नु भएको छ । वहाँहरुलाई प्रधानमन्त्ती ओलीले राष्ट्रिय वाणिज्य बैंकको चेक हस्तान्तरण गर्नुभएको छ ।