NP EN

लुम्बिनीको बिकाससँगै यहाँको समृद्धिमा महत्वपूर्ण योगदान हुन्छ : प्रम ओली

लुम्बिनी, ४ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्विनीको विकाससँगै यस क्षेत्रका बासिन्दाको समृद्धिमा पनि महत्वपूर्ण योगदान हुने बताउनु भएको छ । 

आज लुम्विनीमा २५६३ औं बुद्ध जयन्तीका अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

लुम्बिनीको विकासको गुरु योजना चाँडै सम्पन्न हुने चरणमा रहेकोले अब यहाँको विकासका लागि लामो समय प्रतिक्षा गर्नु नपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । 

प्रधानमन्त्री ओलीले तिलौराकोट लगायत बुद्धको जीवनीसँग जोडिएका सबै स्थलहरुको विकास गरेर लाखौं धामिर्क पर्यटकहरु नेपाल भित्र्याइने बताउनुभएको छ ।



संयुक्त राष्ट्र संघले बुद्धकै सम्मानमा हरेक वर्ष वैशाख दिवस मनाउने गरेको  स्मरण गर्दै प्रधानमन्त्री ओलीले आफू भर्खरै भियतनाममा वैशाख दिवस समारोहमा भाग लिएर आएको जानकारी गराउनुभएको छ । पछिल्लो दिनमा  विश्वले नै बुद्ध दर्शनको महत्व बुझेको प्रधानमन्त्री ओलीको भनाइ छ ।  

प्रधानमन्त्री ओलीले बुद्ध जन्मिएको देश नेपालले आफ्नो भूमिमा भएको अशान्तिलाई मौलिक ढंगले शान्तिमा परिणत गर्दै शान्ति प्रकृयालाई टुँग्याएर विकासको बाटो पक्रिएको बताउनुभएको छ । 

प्रधानमन्त्री ओलीले आज लुम्बिनी परिषरमा फलफूलका विरुवा रोप्नु भएको छ । यसैगरी प्रधानमन्त्री ओलीले हिजो साँझ बुद्धको बाल्यकाल बितेको कपिलवश्तु स्थित तिलौराकोट क्षेत्रको पनि अवलोकन गर्नुभएको छ ।