NP EN

भूमी व्यवस्थालाई प्रविधि मैत्री बनाउन सुरु गरियो : प्रम ओली

काठमाडौं, ४ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले भूमी व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन सुरु गरिएको बताउनुभएको छ ।

कलंकीमा आज  नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताउनुभएको छ । “अब मालापोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो,छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले अबको दुई बर्ष भित्रमा देशका सबै मालपोत कार्यलयका ढड्डाहरु ,पुराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने,उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुने बताउनुभएको छ । “नेपाललाई आधुनिक दिशातर्फ अघि बढाउनका लागि प्रविधिको ठुलो भूमिका छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रो नयाँ राष्ट्रिय गन्तव्य समृद्ध नेपाल,सुखी नेपालीको प्राप्तीका लागि प्रविधि मैत्री भएर काम गर्नुपर्दछ । ”