NP EN

मैले सपना किन देखेँ ?

प्रधानमन्त्री ओलीको बिदाइ अन्तर्वार्ता

(केपी शर्मा ओली प्रधानमन्त्री भएका बखत देखेका सपनाहरूलाई लिएर हाम्रो कथा डट कमका लागि मनोज पाण्डेले यो अन्तर्वार्ता लिएका हुन् । २०७३ साउन १५ गते प्रधानमन्त्रीको सरकारी निवासमा गरिएको यसै कुराकानीमा आधारित रहेर हाम्रो कथा डट कमले– ‘मैले किन सपना देखाएँ ?’ ‘आदेश तामेली हुन्न’ ‘उडाइएका सपना’, ‘म बनाउँछु मेरो देश’ शीर्षकमा ‘सपना शृङ्‌खला’ शुरुमा प्रसारित गरयो । एउटा प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीले देखेका सपनालाई आमनागरिकले समेत निगरानी गर्न सकून् ताकी सपना फेरि मूर्छित हुनबाट जोगियोस् भन्ने उद्देश्यले हाम्रो कथा डटकममा प्रसारित भिडियो अन्तर्वार्तालाई सकेसम्म कम सम्पादन गरी यहाँ प्रस्तुत गरिएको छ । हप्ता दिन भित्रै हजारौं दर्शकले युट्युवमा हेरेको यो अन्तर्वार्ता नयाँ प्रधानमन्त्रीको नियुक्ति हुनुभन्दा एकदिन अगाडि हाम्रो कथा डट कमले प्रसारण गरेको थियो । यसलाई तलको लिङ्कमा गएर हेर्न पनि सकिन्छ ।)


कति बजे उठ्नुहुन्छ ?
जति बजे सुत्यो, त्यसको आधारमा हुन्छ । कति समय सुत्ने भन्ने हिसाब हुन्छ मेरो ।

सुत्नचाहिँ कति बजे सुत्नुहुन्छ ?
राति १ बजे, २ बजे । १२ बजे छिटोमा ।

के गर्नुहुन्छ ? त्यतिबेलासम्म ? 
समय त चाहियो । 

राति पत्रपत्रिका पढ्नुहुन्छ ?
पत्रपत्रिका, किताब, लेख । 

राति सधैं पढ्नुहुन्छ ?
सकेसम्म राति पढ्ने । जानकारी लिनुपरयो नि, के कसो भइरा छ । पुराना शास्त्र के रहेछ, नयाँ विचार के आउँदैछ, हेर्नुपरयो नि ।

साधारणतया कति घन्टा सुत्नुहुन्छ ? 
केपी ओलीः ६ घन्टा ।

सपना चाहिँ के देख्नुहुन्छ ? 
दुइटा कुरालाई सपना भन्ने गर्छन्, एउटा निदाएको बेला देखिने सपना । अर्को ब्युँझिएको बेला देख्ने सपना । निदाएको बेला देखिने सपना खास अर्थका हुँदैनन् । त्यसकारण म सम्झिने झन्झट पनि गर्दिन । 

प्रधानमन्त्री हुँदा राति देखिने सपना र प्रधानमन्त्रीबाट राजिनामा दिएपछि देखिने सपनामा केही परिवर्तन भएको छ ? 
तपाइँले सोध्नुभएको कुरा मानसिक अवस्थासँग सम्बन्धित छ । अथवा कुनै कुराले मानिसमा खुशी अथवा दुःख हुन्छ । संस्कृतमा एउटा श्लोक छ, उदय सवितारक्त रक्ताश्चाष्टोमयस्तथा । जसको अर्थ हुन्छ, घाम झुल्किने अवस्थामा पनि रातै भएर झुल्किने गर्छ, अस्ताउने दुःखमा पनि रातै भएर अस्ताउने गर्छ । सूर्यमा चेत छैन । त्यो एउटा भौतिक पिण्ड हो । अथवा त्यो एउटा विशाल अग्निकुण्ड हो । चेतबिनाको भौतिक तत्वमा आफ्ना जड धर्म हुन्छन्, जड नियम हुन्छन् । म त्यस्तो जड त होइन, तर  म खुशी, उन्माद अथवा धेरै हर्ष, विस्मातजस्ता कुराहरूबाट पीडित हुन्न । प्रधानमन्त्री हुँदा खुशी हुने, प्रधानमन्त्रीबाट हट्नुपर्दा दुःखी हुने, त्यो म गर्दिन । अघिपछि पनि मलाई धेरै पीर, चिन्ताजस्तो कुराले सताउँदैन । म सोचेर, विचार गरेर काम गर्छु, काम गरिसकेपछि सिद्धियो । मलाई धेरै चिन्ता हुँदैन । त्यसकारण प्रसन्नता र अप्रसन्नताको प्रभाव तपाइँले सोधेजस्तो सपनामा प्रतिबिम्बित  हुँदैन ।  एकनास हुन्छ । 

तर मानवीय संवेदना भन्ने त हुन्छ नि ? 
केपी ओलीः मैले अघि भने म जड होइन, त्यसकारण जडधर्म होइन, जीवधर्म स्वाभाविक हो । तर त्यसलाई मानसिकता, परिवेश, परिस्थिति र मान्छेका इतिहासलगायतको धेरै कुराहरूले प्रभावित गरेका हुन्छन् । म त्यस्ता कुराहरूमा धेरै लतारिन्न । खुशीहरूमा लतारिने, या मानसिक दुःखहरूमा भौतिक परिस्थिति आफ्नो ठाउँमा छन्, तर त्यसले मानसिकतामा पार्ने प्रभाव, त्यसमा लतारिने त्यति बानी छैन मेरो । 

तर तपाइँको राजिनामा पछि त देशभित्र मात्र हैन, विदेशमा पनि खुशीयाली छायो भन्छन्, खुसीयाली मनाए भन्छन् ।  
हिन्दीमा भन्छन्,  कहीँ खुशी, कहीँ गम  । खुशी हुनेहरू पनि हुन्छन्, दुःख मान्नेहरू पनि हुन्छन् । ती विचारहरूका, उद्देश्यहरूका, हितहरूका प्रतिबिम्ब हुन्  । कतै खुशी, कतै गम, कतै आनन्द, कतै हर्ष, कतै विस्मात, कतै दुःख ।  खुशी नै खुशी छायो होइन, केही खुशी भए, किन खुशी भए ? उनीहरू जान्दछन् । 

तपाइँलाई थाहा छैन ?  
थाहा छ, तर त्यसमा मैले समय खर्च गरिरहनु आवश्यक छैन । खुशी प्रकट हुन्छ कतै कतै, त्यसभित्र तीनै पक्ष छन् । एउटा खुशीको पक्ष, अर्को दुःखको पक्ष, दुःखी हुने पनि छन्,। सबै हाँस्ने र रुने नै गर्छ भन्न सकिँदैन, सरोकार नभएको पनि ठूलो समुदाय छ नि । कति मान्छेहरू जसलाई स्वार्थ, अहंकार, जिद्दी होला, खुशी होला, जो अलिकति मानवजातिका प्रगति र उन्नतिका निम्ति, समृद्धि र सुखका निम्ति सोच्ने होलान्, तिनलाई दुःख पनि होला । 

प्रधानमन्त्री छोड्नुपरेकोमा भन्दा पनि प्रधानमन्त्री भएर केही गर्न सक्थेँ तर गर्न पाइन भन्ने कुराले दुःखी बनाउँदैन ? 
म त्यसलाई दुःख भन्दिनँ, मैले प्रधानमन्त्री किन स्वीकार गरेँ, किन भएँ, भन्दा तपाइँले भन्नुभएजस्तै केही गर्न सकिन्छ, देशका लागि जनताका लागि, अर्को शताब्दीमा मैले केही गर्न सक्दिन । यति बेला म गर्न सक्छु, त्यसैकारण मैले त्यो स्वीकारेको थिएँ । मलाई थाहा थियो, दुनियाँ निष्कण्टक छैन । दुनियाँ कण्टक छैन । कण्टकै कण्टक अथवा काँडैकाँडाले भरिएको । मैले हाम्रो समयलाई नदेखेको छैन, नबुझेको छैन । हाम्रो भूगोल, हाम्रो घर–परिवार जहानहरू, परिवारका सदस्यहरू नजान्या छैन, हाम्रा छिमेकीहरू पनि नजान्या छैन । हाम्रो गाउँ, ठाउँ पनि नचिनेको छैन । त्यसो भएपछि यस्तो केही हुनु, धेरै अनौठो पनि छैन । 

तपाई जति समय प्रधानमन्त्री हुनुभयो नि, तपाइँले गरेका भाषणहरू सुन्दा, तपाइँले बेला बेलामा दिने वक्तव्यहरू हेर्दाखेरि  कति धेरै सपना बाँडे जस्तो लाग्छ । कति धेरै सपना बाँडेको जनतालाई ? 
अस्ति राजिनामा दिंदै गर्दा, यही साउन ९ गतेको संसदको मेरो मन्तव्यमा पनि मैले भनेको थिएँ, यस्ता परिस्थितिहरूमा खास गरी द्वन्द्वोत्तर अथवा लडाइ, झगडाबाट एउटा सिलसिलाबाट थिलथिलो भएको देश तानाशाही मुकाबिलाबाट थिलथिलिएको, अतिवादका गतिविधिबाट थिलथिलिएको अवस्थामा मान्छेहरूमा प्रायः सपनाहरू खजमजिन्छन्, मान्छेहरूका आकाङ्क्षहरू पनि त्यतिकै कोपिलामै झर्न थाल्छन् । मैले त्यस वक्तव्यमा पनि भनेको छु, सपनाहरू मूर्छित हुन्छन् त्यस्तो बेलामा । ती सपनाहरू मूर्छित भइरहन दिनुहुँदैन । कुनै देश जब भविष्यप्रति आशावादी हुन्छ, सुन्दर भविष्यको सपना देख्छ, राम्रा दिन, सुदिनहरू आउँछन् भन्ने विश्वास गर्छ, तब नै ऊ बाँच्नसक्छ, तब नै उसले मिहेनत गर्नसक्छ, तब नै उसले काम गर्न सक्छ । मेरो काम मूर्छित सपनाहरूलाई जगाउनु र तिनीहरूप्रति विश्वास बढाउनु, र ती विश्वासहरू साकार पार्नका निम्ति हरेकले प्रयास गरुन्, जसबाट देश विकास सम्भव बनाउन सकिन्छ, समाज विकास सम्भव बनाउन सकिन्छ, त्यही कोसिस मैले गरेको हुँ । त्यो गर्नुपर्छ ।  

अर्को मैले भन्ने गरेको के हो भने हामीले आफूलाई चिन्नुपर्छ । संसार अन्धकार भएको बेला हाम्रा पुर्खाहरू विद्वान थिए । मैले भन्ने गरेको छु, हातमा ढुंगा बोकेर झण्डै झण्डै पत्थरयुगमै छँदा, शिकारको खोजीमा जङ्गलमा भौंतारिंदा हाम्रा पुर्खा त नाटकको रचना गर्दै थिए । काव्यको रचना गर्दै थिए । वेदको रचना गर्दै थिए । औषधि विज्ञानको आविष्कार र विकास गर्दै थिए । तारा, नक्षत्रहरूको गिन्ती गरेर त्यसको आधारमा तिनको धर्तीसँगको सम्बन्धलाई हेर्दै थिए । ग्रहण कतिखेर लाग्छ, कहिले लाग्छ ? हजारौं वर्षसम्मका, ग्रह, नक्षत्रहरूका गतिहरूको हिसाब गर्दै थिए । यस्ता अनेक कुराहरू संगीत, ज्ञान, विज्ञान, दर्शन यी सबै कुराहरूको विकास गर्दै थिए । पछि त्यसलाई साङ्ख्य दर्शन भनियो, पछि त्यसलाई चारवाक दर्शन भनियो, पछि त्यसलाई लोकायत भनियो, ती जनताले दर्शन निर्माण गरेको होइन, अनुभूतिहरू संकलन गरेका सङ्गृहीत गरेका र अभिव्यक्त गरेका हुन् । ती दर्शन भए । हाम्रा पुर्खा त त्यसो गर्दै थिए । त्यस्ता पुर्खाका हामी सन्तान, कुनै कारणवश अलिक समय हामी पछाडि प¥यौं । तर हामी सधैं पछाडि पर्न सक्दैनौं । सम्भवै छैन । किनभने पहिलो कुरा हामीसँग मैले जो पुर्खाको कुरा गरेँ, ती हाम्रा रचनात्मक, सिर्जनात्मक कामका सर्जक र अनुसन्धाता र अन्वेषक चरित्रै, आचरणै हाम्रो पुर्खाको त्यस्तै हो । त्यसले कुनै वनस्पतिको पात छैन, बोक्रो छैन, मुन्टो छैन, जरा छैन, जो नजागेका हुन्, त्यसको स्वाद, गन्ध, पाक, सबै पत्ता लगाएका हुन् । त्यसको अहिले हामी त्यसका रसायनिक प्रतिफलहरूका कुरा गर्छौं । दृश्यमा एउटा छ, त्यसको अन्तर्यमा के छ ? स्वादमा एउटा छ, गन्धमा एउटा छ, त्यसको स्वाद एउटा हुन्छ, पाक अर्कै हुन्छ । गुण अर्कै हुन्छ । यी कुराहरू हाम्रा पुर्खाहरूले उहिल्यै पत्ता लगाए, त्यस्ताका सन्तान हामीहरू । हामीसँग त्यो जीन छ । त्यसकारण हामी पछाडि पर्न सक्दैनौं, जीनको अर्थ हामीले बुझ्नुपर्छ, हाम्रो शरीरमा जुन कार्बोन छ, हरेक चीजमा कार्बोन त हुन्छ, जसले सन्तान सदृश्य पैदा गर्छ, देखाउँछ । मान्छेका सन्तान मान्छेजस्ता, अरू जीवका सन्तान अरु जीवजस्ता, कसरी हुन्छ भन्दा त्यो कोर्बोन तत्वले । त्यसका कार्बोन तत्वले खालि शारीरिक संरचनालाई त्यसरी प्रतिबिम्बित गरेको अथवा प्रतिरोध गरेको मात्रै हुँदैन, त्यस कार्बोनले मानसिक कार्बोन कपी गर्दाखेरि त्यसको खालि कपी मात्रै गरेको अथवा सदृश्य मात्रै हैन, त्यसको गुण, त्यसको अन्तर्यसमेतलाई पनि कपी गरेको हुन्छ । हाम्रो शरीरको कार्बोनको काम बाबुजस्तै छोरा, आमाजस्तै छोरा या छोरी त्यो निकाल्ने मात्र काम गर्दैन, तिनीहरूको पुस्तौंदेखिका सङ्कलित ज्ञानहरू पनि राखेको हुन्छ । त्यसैकारण पाँचवर्षभित्र बच्चाको मस्तिष्क पूर्णरूपमा विकास भइसक्छ भनेको के ? अथवा एउटा मान्छेको बच्चाले छोटो अवधिमा मानवीय गुणहरू, तरिकाहरू, भाषाहरू, सीपहरू कति छिटो सिक्छ, कसरी ? त्यसैकारणले हामी जे छौं, हाम्रो आफ्नै कमाइ, आज तपाईसँग जो विद्वता छ, जुन क्षमता छ, तपाईको कमाइ थोरै प्रतिशत छ । तपाईको बुवा, हजुरबुवा, हजुरआमादेखि हजारौं पुस्ताको, लाखौं पुस्ताको जुन योगदान छ त्यसमा, त्यसको जेनेटिक मेमोरी सबै तपाईमा जन्मिदै चढ्दै आएर यस्तो एउटा समृद्ध त्यो पूँजी ल्याउनुभएको थियो, त्यस पूँजीले तपाईलाई सबभन्दा ठूलो काम गरेको छ, त्यो पूँजी जसको छैन, एउटा बाख्राको पाठालाई बोर्डिङ हाल्दिनुस्, पाँच वर्ष बोर्डिङमा पढाउनुस् म्याँ भन्दा माथितिर गर्दैन, किनभने त्यसका पुर्खाले गर्न सकेको थिएन, तिनले त्यो जेनेटिक मेमोरी उनले त्यही म्याँ मात्रै पाएको छ । त्यसकारण तपाइँसँग विद्वता किन छ भनेदेखि तपाइँको पुर्खाले गरेको छ, त्यसकारण त्यो कार्बोन इलेमेन्ट जसले मेमोरी तपाइँलाई कन्टिन्यु ट्रान्सफर गरेको छ, त्यो मानसिक क्षमता मस्तिष्कका गुण त्यसको विज्ञानले व्याख्या गरिरहेकोछ, अझ खोजिरहेको छ । त्यो गर्नुपर्छ । त्यसैले हामी पछाडि पर्न सक्दैनौं । आज हामी अनपढ, हामी बुद्धु, त्यस्ता पुर्खाका सन्तान, अरु अस्तिका चाहिँ विद्वान, यो टेम्पोररी फेनोमेना मात्रै हो । त्यो अस्थायी परिघटना हो । अस्थायी परिदृश्य हो । हामी पछाडि पर्न सक्दैनौं । अर्को त्यो हिमाल, त्यो पहाड, ती ग्लासियस, त्यो झरना, हिमताल, हाम्रा तालहरू, हाम्रा हरिया पहाड, झरनादेखि लिएर यी मैदान, यो साधारण कुरा छैन, यसभित्र । त्यति उर्बर छ । खानीका अन्यत्र कुरा चलेको छन्, हामीकहाँ खानीको केही कुरै भएको छैन । अब त्यस्ता पुर्खाका हामी सन्तान, यस्तो उर्बर धर्तीका हामी मान्छे, यति सम्भावना बोकेका हामी यस धर्तीका मान्छे, मैले आफूलाई चिन्नुपर्छ, आफूलाई चिन्नुपर्छ पहिले हामीले । प्रभु मान्ने बानी परेकाहरूलाई यस्तो भन्दा अलि चित्त दुख्ने होला फेरि । हाम्रा विद्वान पुर्खाहरू सम्झिदा, तिनको जीन बोकेका सन्तान हौं हामी सबै । हामीसँग क्षमता छ भन्दा अथवा हाम्रो धर्ती बुद्ध यहीँ किन जन्मिए, सगरमाथा किन यहीँ ठडियो ? 

तपाइँले प्रभु भनेर, प्रभु मान्ने बानी परेका भनेर कसलाई भन्नुभा ? 
प्रभु भनेको शक्तिशाली ठूलाबडाहरूलाई भनिन्छ । मान्ने बानी परेका भनेको ठूलो देख्ने वित्तिकै नतमस्तक हुने बानी परेकालाई भनिन्छ । 

जनतालाई बुझ्ने भाषामा भनिदिनुस् न ?
जनतालाई तपाइँले के ठान्नुभएको छ ? कस्ता पुर्खाका सन्तान भन्दैछु म । (हाँस्दै) मान्छेले यी जनताले बुझ्दैन भन्ठान्न्या छन् नि ? त्यस्तो होइन,  वेद पढेर आएका जनता, पहिले पढ्न पाएनन् होला, चार सय, पाँच सय वर्ष अगाडिदेखि तिमी यी जातको तिमीले पढ्नु हुँदैन, तिमीले यो गर्नुपर्छ, यस्तो गर्न पाउँदैनौं भनेर भनियो होला, त्यो केही शताब्दीको कुरा हो । यो शताब्दीको कुरा हैन, लाखौं शताब्दीको इतिहास छ । त्यसकारण अलि वर्षदेखि केही शताब्दीदेखि पढ्न नपाएका छन् नि, हो तिनका छोराछोरीलाई पढाउनुस्, त्यही गति झ्याप्पै टिप्छन् उनीहरूले, किनभने उनीहरूको जेनेटिक मेमोरी त त्यही हो, गति समाइहाल्छन् । 

म फेरि सपनामै फर्किन चाहन्छु, तपाईंले एक ठाउँमा भन्नुभएको थियो, मैले सपना बेचेको होइन, मैले सपना बाँडेको हो । तपाइँले बाँडेको सपनाचाहिँ कति पाए त नेपालीले ? 
मैले भनेको के हो भने हामीले बनिबनाउ फल टिप्न खोज्यौं भने सम्भव छैन । अस्ति शायद शिशिर योगीले हो क्यार असाध्य सुन्दर ढंगले गीत गाउनुभो । ‘म यहाँ एउटा मान्छे खोजिरहेछु’, उहाँको आशय थियो, देश बनाइदिने मान्छे, हाम्रा पीरमर्का हेरिदिने मान्छे, हामीलाई यो दुःखको परिस्थितिबाट सुखको परिस्थितिमा पु¥याइदिने मान्छे खोजिरहेछु, मैले बोल्नुभन्दा अघि उहाँले गीत गाउनुभएको थियो, त्यही कार्यव्रmममा भनेँ– अब हामीले मान्छे खोज्दै हिँड्ने होइन, म बनाउँछु, मेरो देश भन्नुप¥यो । हामी बनाउन सक्छौं । हामीले मान्छे, भगवानले पठाइदिन्छन् भन्ने ठान्नु हुँदैन, भगवानले पठाइदिन्छन् भने पठाइदिएका मान्छे हामी नै हौं । यस दुःखको परिस्थितिबाट सुखको परिस्थितिमा हामीले लानुपर्छ । बन्जरलाई हराभरा हामीले गराउनुपर्छ, सुख्खालाई सिञ्चित हामीले गर्नुपर्छ, यस निराश परिस्थितिलाई बदलेर हामीले अगाडि बढाउनुपर्छ । 

मैले भनेको चाहिँ तपाईंले भन्नुभएको थियो, म सपना बेच्ने मान्छे होइन, ठिक छ, नेपालीले सपना त किन्न सक्दैन, तर तपाइँले, बाँडेको चीज त भेट्टाउनु पर्ने नि ?
भेट्टाउँछन्, त्यो एकै छिनमा मिल्ने कुरा होइन, एउटा आँपको कोया रोप्नुभो भने त्यो उम्रिन पनि टाइम लाग्छ ।  म के भनिरहेको छु भने तपाइँले आँपको कोया रोप्नुस् । रोपेपछि त्यो उम्रिन्छ, त्यो उम्रिएपछि त्यो हुर्किन्छ, बढ्छ, त्यो फल्छ । समय त लाग्छ । तपाइँले एकैचोटि अहिल्यैको अहिल्यै कुनै जादू गरेर सरक्क नेपाललाई केही महिनामा धनी समृद्ध देश बनाइहाल्न सक्नुहुन्न । तपाइँले खेत यति बाँझो छ भने त्यसमा लटरम्म धान अहिलेको अहिल्यै फलाउन सक्नुहुन्न । तपाइँले त्यो जोत्नुपर्छ, त्यसमा पानी लाउनुप¥यो, त्यसमा खन्न प¥यो, धान रोप्नु परयो, त्यसलाई हुर्काउनुपरयो, धेरै चीज गर्नुपर्छ, अनि हुर्कन्छ अनि पाक्छ । अनि मात्र तपाइँले काट्न पाउनुहुन्छ । 

अनि मैले भनेको सपना, वास्तवमा सपना बेच्ने कुरा होइन, बेचेको होइन । यो जगाइएको हो । हरेकका सपना छन् । हाम्रा पुर्खाहरूले उहिल्यैदेखि एउटा तत्व पत्ता लगाए । त्यो तत्व के हो भने मान्छे के चाहन्छन् भन्दा सुख चाहन्छ, अन्तिम निष्कर्ष त्यही नै हो । तपाईं के चाहनु हुन्छ भन्दा सुख, अर्कोले के चाहन्छ भन्दा सुख चाहन्छ । खुशीबाट पनि सुखको प्राप्ति हुन्छ । र मान्छेका सबै काम, काज, गतिविधि, अध्ययन, अनुसन्धान, खोज, अन्वेषण – सबै चीज खुशी प्राप्तिका निम्ति, सुख प्राप्तिका निम्ति हुन्छ । त्यसै कारण हाम्रा पुर्खाहरूले भने उहिलेदेखि मान्छेले के चाहन्छन् भन्दा – सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत् । कोही दुःखी नहोस्, सबै सुखी होउन् । अथवा सुख प्राप्ति नै मानिसको लक्ष्य हुने गर्छ । अन्तिम उद्देश्य नै सुख प्राप्ति । त्यो सुख कसरी प्राप्त हुन्छ – जैविक आवश्यकताहरू र मानवीय आवश्यकताको परिपूर्ति, यी दुईवटा कुरा अलिकति फरक छन्, जैविक आवश्यकता र मानवीय आवश्यकता । यसभित्र सुरक्षा, सुरक्षाभित्र दुईवटा खालका पर्छन् – एउटा भौतिक सुरक्षा, अर्को सम्मान आदिको सुरक्षा । तपाईंलाई भौतिकरूपले केही नगरे पनि अपमान कसैले ग¥यो भने तपाईंको सम्मानको सुरक्षा भएन तपाईं दुःखित् बन्नु हुन्छ । मान्छे त अत्यन्त सचेत प्राणी हो, मान्छेलाई केही गर्नु पर्दैन, तपाईंको अनुहार सपार्दिन, तपाईंलाई हँसाउन वा तपाईंलाई रुवाउन वा तपाईंलाई दुःखी बनाउन नछोइकन टाढैबाट सकिन्छ । किनभने तपाईं सचेत हुनुहुन्छ । तपाईं टी.भी. हेर्दाहेर्दै हाँस्नु भएको थियो, मुस्कुराइरहनु भएको थियो, खुशी हुनु भएको थियो के कार्यव्रmम हेरेर । फेरि अर्कोपल्ट टी.भी. हेरेर तपाईं बडो दुःखित पनि भइराख्नु भएको थियो । त्यहाँ कतै ट्राजिडी जस्तो केही देख्नु भएको थियो, तपाईं त्यो ट्राजिडीमा खुशी हुनुहुन्नथ्यो । तपाईंलाई त्यो टी.भी.ले छोएको पनि थिएन नि, तर तपाईंलाई राम्ररी थाहा छ त्यो बनावटी कुरा हो । त्यो टी.भी.ले साँचो कुरा पनि देखाइरहेको थिएन । तपाईंलाई मनोरञ्जनका लागि त्यत्तिकै देखाइराखेको थियो, तर तपाईं घरी खुशी हुनुहुन्थ्यो, घरी दुःखी हुनुहुन्थ्यो । किनभने तपाईं सचेत हुनुहुन्छ, तपाईंको भस्तिष्क त्यो परिदृश्यसँगै, त्यहाँ रचना गरिएको कुरा सँगैसँगै दौडिराखेको थियो । त्यसको असर तपाईंलाई छ भने मान्छेको सुरक्षाभित्र भौतिक सुरक्षासँगै उसका अधिकारहरूको, उसका सम्मानको आदि सुरक्षा पनि मान्छेलाई चाहिन्छ ।

तपाइँले यसलाई सपनामा कहाँनेर जोड्न खोज्दै हुनुहुन्छ ?
मान्छे कसरी चाहन्छु सुख भन्ने कुरा, कसरी प्राप्त हुन्छ सुख भन्ने कुरा, कस्तो समाज बनाउनु पर्छ हामीले भन्ने कुरा, त्यससँग म जोडेर हेरिराखेको थिएँ । समाज विकास भनेको आर्थिक उन्नति र समृद्धि हो । आर्थिक उन्नति र समृद्धिले मात्रै हुँदैन, अस्ति जापानमा एउटाले छुरी हानेर १५ जना हो कि कतिलाई ठाउँको ठाउँमै मारिदियो, ४०–४५ जना घाइते भए । त्यहाँ खान–लाउन नपाएको आदि कुनै विषय त थिएन । अमेरिकाको फ्लोरिडामा पचासौँलाई एउटाले बन्दुकले मारिदियो । त्यहाँ पनि कुनै भोकमरीको समस्या त थिएन । खान पाएन, मान्छे भोकै म¥यो भन्ने समस्या पनि थिएन । यदि समाज भौतिक हिसाबले त प्रगति भयो, तर त्यसको मानवीय महत्व, मानवीय मूल्यजस्ता कुरामा ध्यान गएन र मानवीय भावनाको श्रेष्ठताले स्थान पाएन भने त्यस्ता कुराहरू त जहाँ पनि हुँदा रहेछन् नि । त्यसैले समाजको समग्र विकास भित्र भौतिक उन्नती र चेतना, व्यवहार र आचरणगत उन्नति हुनु पर्छ – हार्डवेयरको पक्ष, सफ्टवेयरको पक्ष सबै विकास हुनुपर्छ । र, त्यो विकास गर्न मैले भौतिक उन्नतिका पक्ष र मानवीय भावनाका पक्ष अथवा हामी सभ्यता भन्छौँ नि कति नराम्रो गरी, कति डरलाग्दो गरी र कति घटिया पाराले सभ्यताभित्र असभ्यताहरू प्रकट भइरहेका छन्, जसले मानिसलाई समृद्धि र सुखी हुन दिँदैन । यसमा हामीले ध्यान दिनुपर्छ र मैले जुन भन्न खोजेका सपनाहरूको कुरा समग्र समृद्धिको कुरा हो ।

तपाइँले जति सपनाहरू बाँड्नु भयो, नेपालीहरूले तपाइँबाट जति सपनाहरू सुने, तपाइँले बाँडेका सपनाहरूप्रति के तपाइँलाई आफैँप्रति विश्वास थियो र छ पनि ?
बिल्कुल । कसैले उखेल्न, निमोठ्न, मिल्काउन, फ्याँक्न नसक्ने गरी, ती जबर्जस्त सपनाहरू नेपाली धर्तीमा रोपिइसकिएका छन् । मैले त्यसो भनिरहँदा धेरै ठूला, धेरै महत्वका कुराहरू भएका छन् भन्दिन म । तर नेपाल, राजनीतिक थिचोमिचो र हस्तक्षेप, आर्थिक परनिर्भरता, समग्रतामा पछौटेपन र दरिद्रता, ती सबैको परिणाम सँधैको दुःख, सँधैको कष्ट । आधुनिकतातर्फ जान नसकेको, विकासतर्फ जान नसकेको । अरुको चकाचौँध हेरेर रमाइलो मान्ने । सिनेमामा राम्रा वस्त्रहरू लगाएका सबै हेर्ने अनि घर फर्केर, सिनेमामा हेर्दा त राम्रो राम्रो लन्च डिनर गरिराखेको हुन्छ, सबै चीज हुन्छ, राम्रा वस्त्रहरू लगाएका हुन्छन्, घरमा फर्केर आउँदा खानेकुरा हुँदैन, भुटेको मकै पनि हुँदैन, लगाउने पनि राम्रो हुँदैन, ओढ्ने ओछ्याउने पनि हुँदैन, जाडोले स्यूँ स्यूँ पारेको हुन्छ – नेपालीको अवस्था त्यस्तै भयो । सिनेमा हेरिन्जेल खुशी भयो, अनि घरमा आएर आफ्नो दुःख आफैसँग भनेको जस्तै । त्यसबाट हामी मुक्त हुनु प¥यो । हामीले खालि अरुका विकासका कहानी सुन्ने, अनि आफूचाहिँ दुःखमा रहने अवस्था हुनु भएन ।

हामीले बनाउन नसक्ने भन्ने कुरा केही पनि छैन । हामी हाम्रो देशको अनुसार, देशको भूगोल, परिवेश र परिस्थितिअनुसार विकास कुराहरूलाई अगाडि बढाउन सक्छौँ । आधुनिक नेपाल, समृद्ध नेपाल, सुखी नेपालीको आनन्दको नेपाल बनाउन सकिन्छ । मेरो त्यही सपना हो ।

बाँड्ने मान्छे तपाईंलाई त विश्वास रहेछ, पाउने मान्छे जनता हो, तपाईंलाई के लाग्छ तपाईंले बाँडेका सपनाहरू जनताले पनि विश्वास गरिराखेका छन् अथवा गर्छन् जस्तो लाग्छ ?
विश्वास नगरेसम्म त नेपाल पछाडि पर्छ । जनताले पाउने होइन, जनताले ल्याउने हो, आफैले ।

जनताले विश्वास गर्नै पर्छ भन्नु भएको हो ?
हो, गर्नै पर्छ । जनताले विश्वास गर्नै पर्छ । जनताले ती सपना आफैले साकार पार्नु पर्छ । अरु कोही मान्छे खोजिरहेछु भनेर केही पनि हुनेवाला छैन ।

अघि तपाईं भन्दै हुनुहुन्थ्यो, म २ बजेसम्म पढ्छु, फेसबुक पनि चलाउनु हुन्छ होला, जनताका प्रतिव्रिmयाहरू पनि सुन्नु हुन्छ होला, जनताले पत्याएका रहेछन् कि पत्याएका रहेनछन् कि ? तपाईंको आफ्नो अब्जरभेसन चाहिँ के छ ?
म जहाँसम्म आइपुगेको छु, मलाई यो प्रधानमन्त्रीको पद पनि मेरो बुबाले अंश दिनु भएको होइन, नेपाली जनताले दिएको हो । त्यसमा म बहुतै स्पष्ट छु । यहाँ दुईटाबीच टग अफ वार छ, तानातान छ । कहिले जनतालाई तान्छन्, कहिले जनतालाई अलमल्याउनेहरू – विभिन्न प्रकारका हाउभाउ गरेर जनताका पंक्तिभित्र बसेका वा जनताको पंक्तिभन्दा बाहिरबाटै लल्कार्ने (बाहिरबाट लल्कार्ने समय रहेन) – यसको तरिका बदलिएको छ – जनता भित्रै छन् – जनताकै हुँ भन्ने गर्छन् – जनताका हितहरू र अरुका हित जनताका नाममा भजाउनेहरू – यसका बीचमा तानातान छ । त्यस तानातानमा म एउटा यस्तो पात्र हुँ जो जनताका निम्ति काम गर्छ, देशका निम्ति काम गर्छ, मानव जातिका निम्ति काम गर्छ । मेरो निष्ठा यही तीनवटा कुरामा छ – नेपाल राष्ट्र, नेपाली जनता र मानव जाति भन्नाले यो धर्ती र यसको भविष्य ।

तपाईंकहाँ आउनुभन्दा अगाडि मैले तपाईंका भाषणहरू यु–ट्युबमा पाएसम्म, भेटेसम्म हेर्ने प्रयत्न गरेको थिएँ । तपाईंले बाँड्नु भएका सपनाहरू, तपाईंले गर्नुभएका भाषणहरू अत्यन्तै रुचाइएका पनि छन्, तर ती भाषणका शीर्षकहरू यदि तपाईंले हेर्नुभयो भने अ फन्नी स्पिच अफ केपी ओली भनेर दिइएको छ । तपाईंले जनताले विश्वास गरे भन्नु भयो, तर त्यस्तो टाइटल किन दिइयो होला, तपाईंले सिन्सियरली राखेको कुरालाई मान्छेले त्यस्तो टाइटल किन दिए होला ?
मैले अस्ति एक ठाउँमा भनेको थिएँ, लोकतन्त्र जहाँ कलिलो हुन्छ, लोकतन्त्रका नाममा अथवा लोकका नाममा अनेकथरी तत्वहरू व्रिmयाशील हुन्छन् । तिनलाई देशभन्दा, जनताभन्दा, सत्यभन्दा ठूलो आफ्नो स्वार्थ हुन्छ । आफ्ना आग्रहहरू सबैभन्दा माथि राखेर त्यस्ता तत्वहरू रहेका हुन्छन् । अर्को, केही यस्ता मान्छेहरू छन् जसलाई अरुले आग्रह बोकाइदिएका हुन्छन्, तिनीहरूले भाडामा आग्रहहरू बोकेका हुन्छन् । त्यो भाडामा बोकेका आग्रहहरूले उनीहरू थिचिएका हुन्छन्, जसबाट मुक्त हुन सक्दैनन् । ती आग्रहका कैदी पनि हुन्छन् या भाडामा बोकाइएका आग्रहका पनि कैदी हुन सक्छन् । फेरि मान्छेको जात यस्तो छ, मान्छेले आफ्नो कुरा कम गरेको हुन्छ । तर उनीहरूले आफ्नै कुरा भन्ठान्छ । मैले अहिले जे बोलिराखेको छु यो मेरो भाषा भन्छु मैले । मैले बनाएको एक शब्द पनि छैन । उहिल्यै कसले–कसले बनाएका शब्दहरू म बोलिराखेको छु, तर मैले के भनिरहेको छु भने यो मैले बोलिरहेको भाषा मेरो भाषा हो । मैले त बनाएको छैन नि, एक शब्द मैले बनाएको छ र ? मेरो विचार भन्छन् । प्रायः विचार बनाउने तहमा झन्झट नै गरेको हुँदैन मान्छेले । अरुले ल्याएर बोकाइदिएको हुन्छ । कहिले कहिले आफै मञ्जुरीसाथ पनि राम्रा कुराहरू बोक्नु पर्छ, राम्रा कुराहरू बोक्न खोज्दा नराम्रा कुराहरू बोकिन्छ । जस्तो मैले भनेँ मैले बोलिरहेको भाषा मेरो भाषा, मेरो भाषा मैले बनाएको भाषा होइन, अरुले बनाएको भाषा । यो त मैले बोक्नै पर्छ नि, यो त मैले ग्रहण गर्नै पर्छ, मेरो रूपमा मैले स्वीकार गर्नै पर्छ । त्यसै गरेर विचार, कतिवटा विचार मैले मेरो भन्छु नि, मैले बनाएको विचार नभएर मैले लिएको विचार हुन सक्छ, धेरै विचार त्यस्तै हुन्छ, मैले अरुबाट लिएको विचार हुन्छ । मैले लिइसकेपछि मेरै हुन्छ त्यो, मेरो हुँदा हुँदा यस्तो मेरो भइसक्छ त्यो विचार, त्यसमा म कहिले कहिले म आग्रह साथ लाग्ने पनि खतरा हुन्छ । मानवीय प्रवृतिको कुरा गरेको मैले । मैले विचार लिएँ र त्यसप्रति म कहीँ गलत पनि छ कि भने सोच्ने होइन, त्यसलाई मैले आफ्नो बनाइसकेपछि, आफ्नोप्रति म अलिकति आग्रह राख्न सक्छु, पूर्वाग्रह राख्न सक्छु । त्यसो भएपछि मैले त्यसमा कतै कमी पनि छ कि भनेर विचार गर्दिन । बोकाएका स्वार्थहरू, बोकाएका विचारहरू, बोकाएका उद्देश्यहरू वा आफ्नै भन्ठान्दा – त्यो आफ्नै भन्ठानेर बोकेकामा मिसाएर घुसाइदिएका । त्यस्ता विचारहरू अनेक उद्देश्यका रूपमा प्रकट हुन्छन् । तपाईंले जुन शीर्षकको कुरा गर्नुभयो – त्यसबाट जे सम्प्रेषित हुन्छ त्यो चाहिँ – जसरी हाँसले फोहोरबाट खानेकुरा मात्रै लिन्छ त्यसैगरी जनताले पनि लिन्छ । ती उद्देश्यका, अरुले बोकाइदिएका विचारका भारीहरू जसले बोकाइदिएका छन् तिनले शिर्षक त्यस्तो राख्छन्, त्यसलाई के भ्रम हुन्छ भने यो शीर्षक राखेर मैले थला पारेँ भन्ने । तर जनता भने हाँस जस्ता छन्, चाहिने कुरा मात्रै लिन्छ नचाहिने कुरा त्यहीँ छाड्छन् । (हाँस्दै) आमा–बाबुले खर्च गरेर शब्द सिकाएका उसैलाई छोडिदिन्छन् जनताले, ल आमा–बाबुको खर्च तिम्रै भागमा, मलाई चाहिएको यति म लिन्छु, सिद्धियो । त्यसकारण यहाँ दलीय व्यवस्था छ, यसको कलिलोपन, काँचोपनमा यसभित्र घुसेर आउने अन्य तत्वहरू – धानवारीमा निस्किने सामाहरू उस्तै उस्तै देखिन्छ र त्यसभित्र मिसिन्छ, त्यो शीर्षकचाहिँ सामा अग्लो भएर चट्ट फलेको देखिन्छ नि । त्यस्तै गरेर उसलाई चाहिँ के लागेको हुन्छ भने म धानभन्दा बढी पहिले नै ध्यान पुग्ने गरी अगाडि उठेको छु नि भन्ने पर्छ, तर काट्ने मान्छेले, त्यसलाई स्याहार्ने मान्छेले के बुझ्छ भने सामा त सर्लक्क देखियो, त्यो काम छैन भन्ने ।

मैले प्रश्न गरेको चाहिँ तपाईंले आफ्नो सपना बुझाउन नसकेको जस्तो, अथवा जनताले नबुझेको जस्तो लाग्दैन ?
त्यो त छँदैछ, बुझ्ने क्षमता पुग्न सकेका छैनन्, तर सबै कुरा आफैले बुझेको छु भन्ठानेका छन् । आमजनताका कुरा बेग्लै छ, जनताको पंक्ति भित्रै पर्छन् ती पनि । तर जनताको पंक्तिभित्रै परे पनि तिनको उद्देश्य बेग्लै छ । ती उद्देश्यहरू तिनले आफ्ना भन्ने ठानेका होलान्, तर ती आफ्ना होइनन् । त्यस्ता केही अरु प्रकारका छन् । विचारमा विग लगाएका केही मान्छे हुन्छन् । तिनले विगलाई आफ्नै कपाल ठान्छन् । त्यसमा मैले धेरै जानु वाञ्छनीय ठान्दिन ।

म अब क्याटोगोरिकल्ली केही कुरा गर्न चाहन्छु । जति बेला विज्ञहरू सम्भव छैन भन्दै थिए, तपाईंले म एक वर्षभित्र लोडसेडिङ अन्त गर्छु भन्दै हुनुहुन्थ्यो । जानिफकारहरू हुँदैन, सकिँदैन भन्दै थिए । तपाईं भन्दै हुनुहुन्थ्यो, हो सामान्य अवस्थामा हुँदैन त्यसैले असामान्य अवस्थामा नै गर्ने हो । करिब करिब ९ महिना भयो तपाईं प्रधानमन्त्रीको कुर्सीमा बस्नु भएको १ वर्ष हुनलाई जम्मा तीन महिना बाँकी छ, देश लोडसेडिङ मुक्त हुने भयो त ?
बेसिकल्ली मुक्त हुन्छ, २ वर्षभित्र पूर्ण रूपमा मुक्त हुन्छ । एक वर्ष भित्र बेसिकल्ली मुक्त हुन्छ । तामाकोशीको आउन बाँकी छ । भारतसँग पनि ३०० मेगावाट थप लिएका छौँ र भारतसँग ५००–६०० मेगावाट जति लिन्छौँ । हामीसँग ५०० मेगावाट जति विन्टर सिजनमा, ड्राई सिजनमा या त्यो भन्दा अलिकति बढी उत्पादन होला । यस वर्षबाट हामीले कतिपय आयोजनाहरू पूरा पनि गर्दैछौँ । हाम्रो पूरा डिमाण्ड १४०० मेगावाट जति छ र १००० मेगावाटको आसपासमा हामी विद्युत दिन सक्छौँ भने पनि आधारभूत रूपमा लोडसेडिङ अन्त हुने स्थिति तर्फ हामी जाँदै छौँ । अब यसलाई मैले एउटा कुरा भनिरहनु उचित हुँदैन । यस अभियानलाई असफल पार्ने प्रयासहरू गम्भीर रूपमा भए । तर पनि हामीले विद्युत उत्पादन र नेपालमा त कसैले विद्युत दियो भने पनि ट्रान्समिसन लाइन छैन, त्यो विद्युत नै ल्याउनै सकिँदैन र लानै सकिँदैन । जहाँ उत्पादन हुन्छ, ती उत्पादन भएका ठाउँबाट पनि विद्युत ल्याउन ट्रान्समिसन लाइन नै छैन । नेपालको भद्रगोलको त अर्कै कहानी छ । त्यसलाई हामीले विस्तृत र परिपूर्ण ढङ्गले यसको समग्र योजनाका साथ देश बनाउने काम – यस अन्तर्गत यो पनि पर्छ ।

अर्को एउटा तपाईंले बाँडेको सपनाचाहिँ जति बेला नेपालीहरू भुसबाट चुल्हो बाल्दै थिए, दाउराबाट चुल्हो बाल्दै थिए, एक सिलिण्डर ग्यास घरमा लैजानको लागि लुछाचुँडी गर्दै थिए, हारालुस गर्दै थिए, लट्ठी खाँदै थिए, त्यति बेला तपाईं यो ग्यासका सिलिण्डर गए अब घरघरमा ग्यासको पाइप लैजाने हो भन्दै हुनुहुन्थ्यो । जनता सकसमा भएको बेला त्यस्तो सपनाचाहिँ किन बाँड्नु भएको हो ?
एउटा अनिकाल परेको बेला, बच्चा बच्चीहरू खान नपाएर अत्यन्त छटपटाएको बेला एउटी आमाले के गरिछन् भन्दा – बाबु त अन्न खोज्न गइराखेका छन् कतैबाट ल्याउला – बच्चाबच्ची त मर्न लागे, भोकले छटपटाएका छन् – अनि आमाले एउटा लौरो चुलामा राखेर पाक्दै छ पख भन्दै थिइन्, त्यसले एउटा आशा जगायो बच्चाबच्चीहरूमा खान त पाइने रहेछ भनेर । तिनीहरूले बाँच्ने सहारा भयो, त्यसपछि बाबुले कतैबाट खोजेर ल्याई पु¥याए र जीविका चल्यो । तपाईं कतैबाट कुनै भारी लिएर जाँदै हुनुहुन्छ भने यहाँ गन्तव्यमा पुग्छु भनेर पुग