NP EN

प्रधानमन्त्री ओली र सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

काठमाडौँ, २१ कात्तिक: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा  प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ट सम्बन्ध रहेको बताएका छन् । उनले दुई देशका सेनाप्रमुखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको  पनि स्मरण गरे ।

तीन दिनअघि नेपाल भ्रमणमा आएका नरवणेले शुक्रबार स्वदेश फर्किनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी छन् । त्यस्तै नरवणेसँगै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी छन् ।