पार्टीको यस्तै आन्तरिक किचलो, आसन्न महाधिवेशन, नेपाल–भारत सम्बन्ध, कोभिड नियन्त्रणमा सरकारको भूमिकालगायत विषयमा शनिबार प्रधानमन्त्री ओलीसँग अखण्ड भण्डारी र रामकृष्ण अधिकारीले गरेको कुराकानीको सम्पादित अंश–
प्रधानमन्त्रीज्यू, पार्टीका अर्का अध्यक्षसहित सचिवालयका पाँच नेता तपाईंलाई भेट्न आज आउनुभएको थियो। उहाँहरूले के भन्नुभयो ? अनि, तपाईंले के जवाफ दिनुभयो ?
उहाँहरूले बैठक चाहियो भन्ने माग गरेको भन्दै एउटा पत्र बुझाउनुभयो। त्यो पत्रको अन्तरवस्तु के छ, हेर्नुपर्छ।
बैठकको माग मात्र गर्नुभयो कि अरू कुरा पनि गर्नुभयो ?
उहाँहरूले दिएको पत्र पढिसकेको छैन। पत्र नै लेखेर किन भन्नुपर्यो, त्यो पनि थाहा छैन। प्रचण्डजी र मेरो चार दिनअगाडि कुरा हुँदा बैठक गरौं भन्ने छलफल भएको थियो। खास कुरा यसअघिको सचिवालय बैठक बस्यो–उठ्यो। सबै सचिवालयका सदस्यहरूले विनातयारी, विनाएजेन्डा, विनाप्रस्ताव सचिवालयको बैठक किन गरेको भनेर सोध्नुभयो। अब उप्रान्तका बैठक तयारीका साथ, प्रस्ताव, योजना, एजेन्डाका साथ गरिनुपर्छ। बैठकले ठोस प्रस्तावमा छलफल गरेर निष्कर्ष निकाल्नुपर्छ। यसअगाडिको बैठक त्यस्तो भएन। त्यसपछि हामी बसेका छैनौं।
तपाईंले पार्टी फुट्ने कुरा गरेकाले यो अवस्था आएको हो कि ?
कसले गर्यो पार्टी फुट्ने कुरा ? मैले ? उहाँहरूले नै अलिक अगाडि पत्रकार सम्मेलन गरेर जुनसुकै परिस्थितिका लागि तयार होऔं भनेको होइन ? मैले भनेको हो र ? अहिले त्यही कुरा उहाँहरू मैले भनें भन्दै हुनुहुन्छ। तपाईं पत्रकारहरूलाई नै अगाडि राखेर जुनसुकै परिस्थितिका लागि तयार होऔं भनेको के ? पार्टी फुट्न सक्छ भनेको होइन र ? मैले फुट्न सक्छ भनेको छैन। कसैले फुटाउन पाउँदैन। पार्टी कुनै हालनमा फुट्दैन, फुट्न दिइन्न।
सचिवालयको बहुमत त्यसै असन्तुष्ट भएको होइन होला नि ?
उहाँहरू पाँचजना बस्ने गर्दै आइरहनुभएकै छ। यो विल्कुल अस्वस्थ तरिका हो। गलत तरिका हो। पार्टीमा यस्तो तरिका अवलम्बन गर्नुहुँदैन। पाँचजना लगातार बस्ने, भ्रम फिँजाउने अनि कार्यकर्तालाई यस्तो–उस्तो भनेर सर्कुलेट गर्ने ? गलत कुरा त्यसरी सर्कुलेट गर्ने ? नभएका भ्रमपूर्ण कुरा सर्कुलेट गर्ने काम गर्नुहुन्न। कार्यकर्तामा निराशा जगाउन जरुरी छैन।
मैले कार्यकर्तालाई आह्वान गरिरहेको छु– एकताका निम्ति काम गर्नुहोस्, फुटका निम्ति होइन। फुटका निम्ति कोही आउँछ भने त्यस्तालाई आलोचना गर्नुहोस्। फुटका कुरा नगरौं, एक्ताका कुरा गरौं। बजाउने कुरा नगरौं। मिलाउने कुरा गरौं। त्यसो भनेर फिर्ता गर्नुहोस् भनेर मैले कार्यकर्तालाई भनेको छु।
अहिलेको बैठकका लागि त पक्कै एजेन्डा होलान् ?
उहाँहरूले एजेन्डा भन्नुभयो, कर्णालीमा देखिएको समस्या। त्यो त्यत्रो ठूलो समस्या होइन। त्यो विषय उहाँहरूले जसरी मतिर सोझ्याउन खोजिरहनुभएको छ, त्यो निरर्थक छ। त्यहाँका सबै खालका मान्छेले मैले भनेको मान्ने कुरा आउँदैन। सबै खालका मान्छेले हस्ताक्षर गरेका छन्। त्यो उहाँहरूले जिम्मा नलिने, मैले जिम्मा लिने ? त्यसमाथि पार्टीमा समस्या भइरहेको छ भने कार्यकारी अध्यक्ष हुँ भन्ने मान्छेले हेर्नुपर्दैन ? त्यो थाहा पाएर मलाई भन्नुपर्दैन ? दर्ता भइसकेपछि उहाँले मलाई सूचना गर्नुभयो। उहाँको काम पार्टी सञ्चालन गर्ने होला, पार्टी हाँक्ने, मिलाउने होला। त्यो गर्नुपर्दैन ? मेरो टाउकोमा हाल्ने ? अरू विभिन्न ठाउँमा उहाँहरूले विभिन्न क्रियाकलाप गरेर, आपसमा घृणा पैदा गरेर, कार्यकर्ताबीच कुटपिट र मारामार लगाइरहनुभएको छ, जुन अत्यन्तै खेदजनक र दुःखद् हो। यस्ता क्रियाकलाप गर्नै हुँदैन।
बर्दिबासमा नेताहरूलाई कुटाउनुभयो अध्यक्ष र सचिवलाई। त्यहाँ मारामार नगरेर, भागेर छाड्दिनुपर्यो र जोगिनुभयो। भाटा तयार पारेर कार्यक्रम गर्न थाल्ने भनेपछि मनसाय के थियो ? त्यस्ता खालका काम पार्टीमा बन्द गरिनुपर्छ। कार्यकर्ताको ज्यानमाथि, कार्यकर्ताको लासमाथि आफ्नो स्वार्थ उमार्न खोज्ने ? हुर्काउन खोज्ने ? त्यो विल्कुल गलत र अनुचित हो। यस्तो काम कसैले गर्नुहुन्न। रोक्नुपर्छ।
अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाएर ‘अब मिलेर जान सकिँदैन, सल्लाहमै पार्टी विभाजन गरौं’ भन्नुभयो भन्ने समाचार आयो नि, के हो यो ?
यो सबै झूटो हो। भ्रमपूर्ण हो। किन यस्तो भ्रमपूर्ण कुरा गर्नुपर्यो, मलाई थाहा छैन। किन यस्ता भ्रमपूर्ण कुरा फिँजाइन्छ ? मिल्न सकिँदैन भने आआफ्नो गरौं, तर झगडा नगरी सल्लाहमा गरौं भनेर बोल्ने गर्नुभएको थियो। पछिल्लो समयमा फेरि अर्का साथीले पनि त्यस्तो भन्नुभयो भन्ने कुरा छलफलका क्रममा प्रचण्डजीले मसँग भन्नुभयो। त्यसपछि मैले उहाँलाई सोधें, त्यस्तो स्थिति आउन दिने ? अनेकतातिर जान दिने ? एकताबद्ध बनाएरै पार्टीलाई अगाडि बढाउनुपर्छ, अरू प्रकारका गुटगत क्रियाकलाप तपाईंहरू गर्दै हुनुहुन्छ, यो नगरौं भनेको हुँ।
बैठक बोलाउँदैमा केही फरक पर्छ र ?
जसले जतिखेर भन्यो त्यतिखेर बैठक बस्ने कुरा होइन। दुई अध्यक्षबीच सरसल्लाह हुन्छ, त्यसपछि महासचिवले बैठक बोलाउने हो। एजेन्डा, प्रस्ताव, कार्यसूची तयार पारेर, सम्भावित निष्कर्षसहित बैठक तोकिन्छ। कसैले बाटोमा हिँड्दाहिँड्दै भन्यो भन्दैमा बैठक बस्छ र ? त्यसमाथि गुटगत बैठक बस्नु, झूटा रिपोर्टिङ गर्नु, गलत निष्कर्ष निकाल्नु, गलत दिशातिर राजनीति लैजान खोज्नु, पार्टीलाई अप्ठ्यारोमा पार्न चाहनु उचित होइन। अझ कसैको अनुपस्थितिमा एकथरी मानिस बसेर कसैविरुद्ध कुराकानी गर्नु राम्रो हुँदैन।
तपाईंले बैठक टार्नुको कारण अल्पमतमा परिन्छ, घेराउमा पार्छन् भन्ने डर त होइन ?
म महाधिवेशनबाट अत्यधिक कार्यकर्ताले पवित्र मत दिएर निर्वाचित भएको अध्यक्ष हुँ। अहिले पनि त्यही हैसियतमा यता पनि प्रथम अध्यक्ष हुँ। अरू कसैको कतै बहुमत छ, मेरो प्रतिस्पर्धामा प्रतिद्वन्द्वितामा कसैको बहुमत छ, म अल्पमतमा परें भन्ने कसैलाई भ्रम नरहोस्।
धुम्बाराही बैठकलाई कसरी लिनुहुन्छ ?
त्यो अनुचित हो। गुटगत बैठक गर्ने र निर्णय बोकेर कमिटीमा आउने तरिका ठीक होइन। बहुशक्ति केन्द्र चलाउनु हितकर छैन।
आखिर नेकपाभित्र बहुशक्ति केन्द्र कसरी विकास भयो ?
स्वार्थी प्रवृत्ति, कुण्ठा र ईष्र्याले यसलाई जन्माउने हो। मेरो नेतृत्वको अघिल्लो सरकार बनेदेखि कहिल्यै खास नेताहरू त्यो सरकारका पक्षमा बोलेको कहिल्यै सुन्नुभयो तपाईंहरूले ? अहँ, कहिल्यै बोल्नुभएन। विपक्षमा पटक–पटक बोल्नुभयो। अहिले पनि सरकार बनेदेखि जहिल्यै बोल्नुभयो। भित्रभित्र त उहाँहरू चर्काचर्का स्वरमा बोल्नुहुन्छ, बाहिर पनि बोल्नुहुन्छ विपक्षमा।
कस्तोमा पनि निहुँ खोज्ने भने, नेपाल देशको नाम नेपाल किन भनियो ? यो कुनै निहुँ खोज्ने विषय हो ? संविधानले त्यही भनेको छ, तर मान्छेलाई के पर्यो भने यो प्रणाली पनि देशकै नाम हो कि ? शासन ब्यवस्था पनि देशकै नाम हो कि ? यस्ता खालका कुराबाट जनतामा भ्रम फिँजाएर अन्योल पार्ने र शाब्दिक कुरा थाहा नपाउनेको भावनामा खेल्ने। त्यस कुरालाई दोहन गर्ने र लाभ लिने। त्यस खालका प्रवृत्ति छन्। यो विल्कुल उचित होइन।
पृष्ठभूमि हेर्दै जाँदा तपाईं स्वयंले गुट निर्माण गरेकाले बहुशक्ति केन्द्रको विकास भएको हो कि ? तपाईंको पनि एउटा गुट त छ नि ?
छैन, छैन। म पार्टीको अध्यक्ष हुँ। म देशको प्रधानमन्त्री हुँ। मैले अलिकति आफूतिर लिएर या मान्छे मिलाउँदै गएर, अरूलाई पर पार्दै लगेर लिनु के छ ? गर्नु के छ ? म सबैलाई लिएर पार्टी चलाउँछु। सबैलाई लिएर देश चलाउँछु। विपक्षीलाई पनि म आह्वान गर्छु– मिलेर जाऔं। झगडा नगरौं र देश बनाऔं। त्यसकारण आफ्नै पार्टीभित्र मलाई कोही चाहिन्छ, कोही चाहिँदैन भनेर अलिकति लिएर अरूलाई पाखा पार्ने म कसरी गर्न सक्छु ? केका लागि गर्छु ?
अर्काे कुरा, म भनिरहेको छु– यी पुरानो पिँढीका नेताहरूले आफ्नो सधैंको अतृप्तिका कारण सिर्जना गरेका आक्षेप हुन्। अगस्त्य ऋषिलाई जतिले पनि पुग्दैनथ्यो भन्ने भनाइ छ। अगस्त्य ऋषिको चालमा सधैं आफैं अतृप्त हुने ? मैले यसपछि नेतृत्व छाड्छु भनेको छु, उहाँहरूको डर र त्रासको कारण त्यही हो। मैले छाड्दा अलिकति नयाँ पिँढीलाई हस्तान्तरण गर्ने हो कि ? आफूले नपाइने हो कि ? त्यो त्रास। नेताहरूले भन्न सक्नुपर्यो नि मलाई चाहिँदैन। मैले यति वर्ष पार्टी प्रमुख भएर चलाएँ, यतिपटक प्रधानमन्त्री भइसकें, अब नयाँ पिँढीमा सुम्पिन मलाई मञ्जुर छ भन्नुपर्यो नि। म नेताहरूलाई आह्वान गर्छु, मलाई मञ्जुर छ नयाँ पिँढीलाई सुम्पिन। अरू नेताहरू पनि भन्नुहोस् त, मलाई मञ्जुर छ। लोभ कसमा छ, कसमा छैन भन्ने त्यहीं देखिन्छ।
नयाँ पिँढी भनेको कुन उमेर, समूह भन्न खोज्नुभएको ?
४०–६० उमेर समूहका नेताहरू।
तपाईंले नेतृत्व छाड्ने कुरा अन्तरमनबाटै भन्नुभएको हो ?
मैले यसअघि नै छाड्ने इच्छा व्यक्त गरेको थिएँ। परिस्थितिले गर्दा नेतृत्व गर्नुपर्यो। हुन त साथीहरूले भन्नुहोला– म नजन्मिएको भए पनि देश चल्थ्यो। म नजन्मिएको भए पनि परिवर्तन हुन्थ्यो। अवश्य। तर पनि त्यहाँ व्यक्तिको भूमिकाको अर्थ हुन्छ नै। पार्टीको लिडरसिपमा को हुँदा कसरी चल्यो ? को हुँदा उन्नति गर्यो पार्टीले ? को हुँदा उन्नति गरेन, त्यो इतिहासमा देखिएला। समस्या होलान्, तर पनि एकताबद्ध को हुँदा भयो ? को हुँदा भएन ? त्यो होला नि ? कसले नेतृत्व गरेको सरकारले सफलताका साथ राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्दै अगाडि बढ्यो ? त्यो पनि होला नि। होला, कसैकसैले मलाई अलिक कडा भाषा बोल्यो भन्न सक्नुहोला। म देशलाई प्रतिगमनतिर जान दिन्नँ। त्यसमा मेरो अलिकति कडा र स्पष्ट अडान छ। म देशलाई प्रतिगमनतिर लैजाने प्रयासहरू दुत्कार्छु। फेरि देशलाई हिंसामा धकेल्ने प्रयास भइरहेका छन्। म देशलाई हिंसाको बाटोमा जान दिन्न। सत्र–अठार हजार मान्छे मरे केका लागि ? के भयो त त्यो ? किन मरे मान्छे ? फेरि हामी फर्केर त्यही ठाउँमा आयौं।
फेरि पनि परिस्थितिले या भनौं कथाले माग्यो भने के गर्नुहुन्छ ?
कस्तो भइदिन्छ भने कहिले–कहिले परिस्थितिले आफ्नो इच्छाविपरीत पनि यस्ता प्रश्नहरूमा समूहका निर्णयहरू मान्नुपर्ने हुन्छ। समूहभन्दा पृथक् म स्वतन्त्र मानव हुँ, स्वतन्त्र ढंगले चल्छु भन्ने हाम्रोजस्तो पृष्ठभूमि भएका मान्छेलाई कहिलेकाहीं अधिकार हुँदैन। कहिलेकाहीं समूहको, समग्रको र राष्ट्रको हित हेर्नुपर्छ। सामूहिक निर्णयलाई स्वीकार गरिदिनुपर्ने हुन्छ। तर म के विश्वास गर्छु भने त्यस्तो परिस्थिति आउने छैन। हामी नयाँ लिडरसिपतिर जान सक्छौं र जानुपर्छ। म साथीहरूलाई आग्रह गर्न चाहन्छु– जे–जे भए पनि भइसकेका र पाइसकेका साथीहरूले अतृप्ति नदेखाऔं। त्यति भयो भने समस्याको समाधान हुन्छ।
नेतृत्वको प्रश्नमा सिद्धान्त र विचार पनि जोडिन्छ। तपाईंले नेतृत्व हस्तान्तरण गर्दै गर्दा विचार पनि अर्कातिर जाने सम्भावना हुन्छ कि हुन्न ?
नेतृत्व निर्माण गर्ने महाधिवेशनले हो। विनाविचार देश हाँकिदैन। महाधिवेशनले अवश्य पनि विचार, नेतृत्व क्षमता, कार्यक्षमता यी सबै हेरेरै नेतृत्व निर्माण गर्छ र निर्णय गर्छ। त्यसकारण हामी महाधिवेशनलाई विश्वास गर्न सक्छौं।
अबको नेकपाको विचार के ?
अबको विचार भनेको बहुदलीय प्रतिस्पर्धामा आधारित लोकतान्त्रिक गणतन्त्र, जहाँ शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायालय, लोकतान्त्रिक प्रणाली, त्यसका आधारभूत मूल्य–मान्यतासहितको र त्यसमा स्वतन्त्रताका हकदेखि मौलिक हक, मानव अधिकार, वातावरणीय सजगतादेखि लिएर सबै पक्ष समेटिएको सामाजिक न्याय र समानतासहितको सुशासनयुक्त सभ्य र समृद्ध समाज निर्माण हो। जसलाई हामी सामाजिक न्यायसहितको समृद्ध र सम्भ समाज अर्थात् समाजवाद भन्छौं, त्यसतर्फ उन्मुख राज्य। भन्ने त्यो, गर्ने मेरो छोरो, मेरी छोरी, मेरा भान्जा, मेरी भान्जी, मेरी बुहारी, मेरा भाइ अवश्य हुँदैन।
भर्खरै विवादमा आएको छ, तपाईंले जनताको बहुदलीय जनवाद (जबज) का पक्षमा बहस चलाउन आफूनिकट नेता–कार्यकर्तालाई जुम मिटिङबाटै निर्देशन गर्नुभयो। मदन भण्डारी फाउन्डेसन वडा तहसम्मै विस्तार गर्न पनि निर्देशन गर्नुभयो भन्ने पनि आएको छ। वास्तविकता के हो ?
मैले त्यस्तो केही भनेको छैन। मैले के भनेको हुँ भने कम्युनिस्ट पार्टी अहिले जुन हैसियतमा छ, त्यो जनताको बहुदलीय जनवादको विचार एवं नीतिका कारणले हो। दुनियाँमा कम्युनिस्ट आन्दोलन ओरालो लागेका बेला, सोभियत संघ ढलेका बेला, पूर्वीयुरोप छिन्नभिन्न भएर टुक्रिएका बेला जनताको बहुदलीय जनवाद कुनै सशस्त्र संघर्ष गरेर सफल भएको होइन। जबजले वैचारिक प्रतिस्पर्धाको उन्नत क्षमता राख्छ। प्रतिस्पर्धीलाई उछिनेर अगाडि जान सक्छ। यो खालि वैचारिक बुद्धिविलासको विषय होइन; सामाजिक परिवर्तनको उपयुक्त बाटो, विधि, तरिका र यसको मार्गदर्शक हो। यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याइपुर्यायो।
तर पार्टी एकीकरणपछि फरक–फरक वैचारिक अवधारणा आउन सक्नेलाई कसरी नकार्नुहुन्छ ?
नेकपा माओवादीले जनयुद्ध भनेर १० वर्ष लड्यो। फर्केर कहाँ आयो ? उही जनताको बहुदलीय जनवादमा आइपुग्यो। खासमा एकीकरणका बेला एउटाले हारेजस्तो र अर्काले जितेजस्तो नदेखाउन खोजिएको हो। महाधिवेशनअगाडि छलफल गरौंला र टुंगोमा पुगौंला, जबज नै मान्ने हो, तर अहिले त्यसका सबै विशेषता राखौं, नामचाहिँ ठ्याक्कै उही नराखेर जनताको जनवाद भनौं भनियो। आखिर विषय उही हो, जनताको बहुदलीय जनवादले भनेका सबै विशेषता उल्लेख गरौं, तर नाम थोरै परिवर्तन गरौं, किनभने एउटा गएर अर्काेमा मिलेजस्तो नदेखाऔं भन्ने कुरालाई ठिकै छ भनियो।
एकताका लागि विचारमा कुनै तलमाथि, सौदाबाजी नगरी सही विचारलाई स्थापित गरेर यो एकता गरिएको छ। कतिपय मान्छेहरू मदन भण्डारीको नाम सुन्न चाहँदैनन्। आज मात्रै होइन, उहिल्यैदेखि मदन भण्डारीको चर्चा सुन्न नसक्ने, विचार ठीक छ भन्न नसक्ने, त्यसको प्रतिफलमा ‘तर’ मारिरहने, त्यसको उच्चारण गर्न गाह्रो मान्ने खालका छन्। मदन भण्डारी फाउन्डेसन कुनै पार्टीले खोलेको संस्था होइन। केही मान्छेहरू पार्टीका नाममा मदन भण्डारी फाउन्डेसन चलाउन पाइँदैन, मदन भण्डारीको नाम लिन पाइँदैन, विचारको चर्चा गर्न पाइँदैन भनेर हल्ला फैलाइरहेका छन्। यो आन्दोलनको निम्ति हो ? होइन। यो अहम्का निम्ति हो ? यहाँ मान्छेहरूको पर्सनल इगोको मसाज गर्न थाल्ने कि देशको उन्नति गर्न लाग्ने ?
पार्टीभित्र लामो विवादपछि भदौ २६ मा तपाईंहरूले स्थायी समिति बैठकबाट एउटा समाधान खोजी गर्नुभएको थियो। त्यही बैठकका निर्णय कार्यान्वयनका लागि समीक्षा बैठक बस्नुपर्छ भनेर प्रचण्डलगायत सचिवालयका नेताहरूले भनिरहनुभएको छ। तपाईंहरू पनि स्थायी समितिकै निर्णय कार्यान्वयन गर्नुपर्छ भन्दै हुनुहुन्छ। के यो बुझाइमै अन्तर हो ?
पहिलो कुरा म तपाईंलाई सोधौं, भदौ २६ मा जुन समाधान निस्कियो, त्यसअगाडिको लडाइँ केका लागि थियो ? के इस्यु थियो ? व्यक्तिगत स्वार्थ, व्यक्तिगत महŒवाकांक्षा, व्यक्तिगत कुण्ठा र ईष्र्याबाहेक के थियो ? सैद्धान्तिक मुद्दा थियो ? वैचारिक मुद्दा थियो ? राष्ट्रिय मुद्दाहरू थिए केही ? केही पनि थिएनन्। खालि गुटबन्दी गर्ने, गुटका बैठक बस्ने, त्यहाँबाट निहुँ खोज्ने, त्यति न थियो। भ्रम फिँजाएर, अन्योल सिर्जना गरेर, कार्यकर्तालाई दिगभ्रमित गराएर, बहुमत पुर्याएर नेतृत्वलाई धक्का दिने सोचअन्तर्गत क्रियाकलाप भएका थिए। समस्या त्यही त हो, अरू केही पनि थिएन। त्यो सफल भएन। त्यो दुस्प्रयास सफल नभएपछि सहमति खोज्नुपरेको हो। सहमति खोज्न मानियो। मञ्जुर गरियो। सहमति जसरी भए पनि चाहिएको थियो। जे–जे भनेर सहमति हुन्छ भने त्यही गरौं भनेर गरियो। कार्यान्वयन के भएन अहिले ?
सहमतिअनुसार सल्लाहमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्नेमा तपाईंले फ्याट्ट तीनजना मन्त्री नियुक्ति गर्नुभयो। कतिपय अन्य नियुक्तिहरू पनि गर्नुभयो। त्यसलाई के भन्ने ?
विल्कुल गलत कुरा हो यो। एक महिना अगाडिदेखि प्रचण्डजीसँग यसबारे कुरा भएको छ। मैले एकजना तपाईंले नाम दिनुस् भन्दा उहाँले तपाईं नै तीनजना राख्नुस् भनेको हो। सहमतिअनुसार सचिवालयमा छलफल गर्ने, दुई अध्यक्षले परामर्श गर्ने र त्यस आधारमा आखिरमा प्रधानमन्त्रीले निर्णय गर्ने हो, मन्त्रिपरिषद्को अरूले गर्ने होइन। यहाँनेर एउटा भ्रम के पार्न हुन्न भने, दुईजना, तीनजना प्रधानमन्त्री छन्जस्तो गरेर मिलेर काम गर्ने भन्नुको तात्पर्य के हो ? दुइटा प्रधानमन्त्री हुने होइन नि ?
प्रचण्डजीको गुनासो के त त्यसो भए ?
उहाँलाई नै सोध्नुहोस् न एकपल्ट। गुनासोभन्दा पनि उहाँका आकांक्षा केही होलान्। सधैं कुरा घसार्ने, पसार्ने र झूटा कुरा लगाउनेजस्ता काम गरिरहनुहुन्छ। त्यो किन गरिरहनुपर्यो ?
अध्यक्षद्वयको कार्यविभाजन र कार्यधिकारका विषयमा तपाईंहरूबीच अझै अस्पष्टता हो र ?
प्रस्टै छ। म प्रथम अध्यक्ष हो। उहाँ द्वितीय अध्यक्ष। म पनि कार्यकारी हो, उहाँ पनि कार्यकारी। हामीकहाँ प्रथम अध्यक्षचाहिँ झन् सेरेमोनियल हुन्छ र ? कार्यकारी हो। अर्काे कुरा, जब प्रथम अध्यक्ष छ भने त्यस ठाउँमा दोस्रो अध्यक्षले अध्यक्षता गर्न पाऊँ भन्न मिल्छ ? पार्टीका काम सबैले मिलेर गर्ने हो। म पार्टी चलाउन पाऊँ रे। के भनेको त्यो ? प्रथम अध्यक्ष छँदाछँदै द्वितीय अध्यक्षले अध्यक्षता गर्न पाऊँ भन्नु सभापति हुँदाहुँदै उपसभापतिले अध्यक्षता गर्न पाऊँ भन्ने कुराजस्तै हो। द्वितीय अध्यक्ष भनेको द्वितीय अध्यक्ष नै हो, चाहे बराबर हैसियतको भन्नुस्, अध्यक्ष भने पनि द्वितीय अध्यक्ष नै हो। तैपनि सभापतित्व गर्नुस् तपाईं भनेर छाडिदिएको छ। चलाउनुस् न त, छाडिदिएकै छ। अनि के पुगेन अझै ? आफ्नो काम नगर्ने। पार्टी सञ्चालनका काम नगर्ने।
एकता र एकीकरणका काम नगर्ने। बाँकी काम टुंग्याउने भनेको होइन ? खोइ गरेको ? त्यस दिशामा काम नगर्ने अनि गुटबन्दी केका लागि गर्ने ? गुटमा सधैं प्रधानमन्त्रीको आलोचना गरेको छ, प्रधानमन्त्री भएन भनेको छ। प्रधानमन्त्री भएन भनेको के हो ? को हुनुपर्छ भनेको ? आफू हुनुपर्छ भनेको हो ?
अब के हुन्छ ? झगडै भएर पार्टी अगाडि बढिरहन्छ ? वा झगडा साम्य कुनै विन्दुमा गएर हुन्छ ? वा एकताकै अन्त्य हुन्छ ?
एकता भइसकेपछि कार्यकर्ता एकताकै पक्षमा हुन्छन्। मुठीभर केही मान्छेले आफ्ना स्वार्थका लागि गुटबन्दी गर्लान्। त्यो सफल हुँदैन। झगडा एक खालका मान्छेहरूले चलाइरहन खोज्लान्। तर त्यो विस्तारै अस्वीकृत हुँदै जान्छ। कार्यकर्ताबाट त्यो एक्लिँदै जान्छ। असफल हुन्छ। समाप्त हुन्छ।
प्रचण्डसँग कुरा मिल्दासम्म माधव नेपाललाई पन्छाउनुहुन्छ। प्रचण्डसँग सम्बन्ध चिसिएपछि फेरि माधव नेपालसँग सहकार्यको प्रस्ताव राख्नुहुन्छ। अहिले पनि नेपाललाई दुईपटक भेटिसक्नुभएको छ। तपाईंको यो कस्तो रणनीति हो ?
मलाई त्यस्तो गरिरहन जरुरी नै छैन। यो सरकार पाँच वर्षका लागि बनेको हो। पाँच वर्ष चल्छ। चुनावपछि परिणामले आफैं बन्छ। अर्काे महाधिवेशनसम्म दुइटा अध्यक्ष भनेका छौं हामीले। प्रथम अध्यक्ष म छु र द्वितीय अध्यक्ष प्रचण्डजी हुनुहुन्छ।
महाधिवेशनसम्म यही प्रणालीमा जान्छ। किनभने, हामीले त्यो सहमति गरेका छौं। उहाँहरूलाई कतिबेला मन लाग्यो राजीनामा दिनुस् भन्ने ? उहाँहरूलाई चाहियो, भोक लाग्यो, तृष्णा जाग्यो भनेर छाड्ने कुरा हुँदैन। महाधिवेशनसम्म मैले लाने हो। महाधिवेशनले आफैं निर्णय गर्छ।
पछिल्लो समय तपाईंले राजीनामा दिन्न, दिएँ भने देश बर्बाद हुन्छ भनेको कुरा चर्चित छ। कतिपयले ट्रोल नै बनाएका छन्। किन यो कुरा उठाउनुभयो ? कसैले मागेका थिए राजीनामा ?
आजै राजीनामा आउँछ, भोलि आउँछ भन्ने प्रचारबाजी मिडियामा हुन थाले। कतिपय गुटगत बैठक बसिरहेका छन्। त्यस्ता बैठकले अस्थिरताको सन्देश दिइरहेका छन्। त्यस्ता अफवाहलाई स्पष्ट पार्नु र जनतामा स्थिरतातिरको सन्देश दिनु थियो। मैले सत्य कुरा के बोलेको हुँ भने म राजीनामा गर्दिनँ। सरकार परिवर्तन हुनेवाला छैन। मन्त्रिपरिषद्को पुनर्गठन हुन सक्छ, तर सरकारको नेतृत्व परिवर्तन हुँदैन।
फरक प्रसंगमा जाऔं। लिम्पियाधुरासम्मको नक्सा आयो। हामीले संविधानमा पनि समेट्यौं। भूगोलचाहिँ कहिलेसम्म, कसरी आउला ?
वार्ताबाटै आउँछ। सकेसम्म छिटै आउँछ। मान्छेलाई अहिलेको आतंक रअका प्रमुख आए, मोदीको प्रतिनिधित्व रअका प्रमुखले किन गरे ? भारत सरकारको प्रतिनिधित्व किन गरे भन्ने छ। उहाँसँगको भेटघाट किन स्वीकारे भन्ने खालका अनेक कुरा उठाइयो।
अहिले भेटघाट अस्वीकार गर्ने होइन। मोदीजीले जो प्रतिनिधि पठाउनुहुन्छ, त्यसैसँग कुराकानी हुन्छ। त्यो कुनै गैरकूटनीतिक हुँदैन। राजनीतिक अधिकार दिएर राजनीतिक कुराकानीका लागि पठाएपछि उहाँसँगै आधिकारिकता हुन्छ। अरूका प्रतिनिधि मैले छान्ने होइन। अर्काे कुरा, कुन प्रधानमन्त्रीले भेटघाट गरेको छैन ? भारत भ्रमणमा जाँदा कुन प्रधानमन्त्रीले भेटेको छैन ? उनी नेपाल आउँदा कुन प्रधानमन्त्रीले भेटेको छैन ? यत्ति हो, धेरैले यो गोप्य राखिदिनुस् है भन्छन्।
म त्यस प्रकारको अपारदर्शी क्रियाकलाप गर्ने मान्छे होइन। मेरो कामकारबाही पारदर्शी हुन्छ। कुराकानी पारदर्शी हुन्छ। यसपटकको कुराकानी मैले एक्लै गरेको छैन, साथीहरू राखेर गरेको छु। सबै कुरा रेकर्डेड छन्। नोट छ। परराष्ट्र मन्त्रालयमा त्यो अफिसियल मेमोरीका लागि राखिएको छ। तसर्थ कुनै गोप्य र अपारदर्शी रूपमा लुकेर खस्याकखुसुक कुरा मबाट हुँदैन। पारदर्शी ढंगले हुन्छन्। ठीक भएको छ। यसले वार्ताको ढोका खोलेको छ। अब वार्ताहरू अगाडि बढ्छन्। त्यसपछि हाम्रो भूमि वार्ताको विधिबाट सकेसम्म छिटै फिर्ता हुन्छ।
यहाँकै कार्यकालमा सम्भव छ ?
म विश्वास गर्छु। मेरै कार्यकालमा सम्भव हुन्छ।
पार्टीको आन्तरिक किचलोमा अल्झिएर सरकार जति सफल हुनुपथ्र्यो, नभएको तपाईंलाई लाग्छ कि लाग्दैन ?
समयको बर्बाद हुन्छ। अनावश्यक ढंगले यो बैठक भनेको छ, भेटघाट भनेको छ, मैले किन भेट्न पाइनँ भनेको छ। निहुँ खोजेको छ। सरकारका काममा मैले समय पूरै दिनुपर्नेमा आधा समय अनावश्यक ढंगले खर्च गर्नुपरेको छ। लफडामा खर्च गर्नुपरेको छ। जवाफ दिनुपरेको छ। आज मैले तपाईंसँगको प्रश्नमा पनि देश विकासको कुराभन्दा अनावश्यक लफडाको जवाफ दिनुपरेको छ। यो मेरो रुचिको विषय होइन। अहिले वातावरण यस्तो बनाइएको छ कि विषयबाट ध्यान डाइभर्ट गरिदिएको, अन्यत्र मोडिदिएको छ। जसले गर्दा विषयतर्फ होइन, गैरविषयतर्फ, अनुचित विषयमा हामी समय बर्बाद गरिरहेका छौं।
जस्तो ?
विरोध गर्नेहरूले कुनै ठाउँ नपाएर खुलामञ्चमा धुलो हावासँग मान्छेलाई भात खुवाउन पाइएन भनेका छन्। धुलोमा नखुुवाउनुहोस्, सहरको सौन्दर्य बिग्रन्छ, देशको बद्नाम हुन्छ, क्याटरिङ बन्दोबस्त गरिदिन्छौं भन्दा महानगरपालिकाले रोक्यो भन्ने हल्ला छ। नेपालको नाम नेपाल भन्यो, मन्त्रिपरिषद्बाटै निर्णय गर्यो भनेको छ। संसदीय समितिमा चर्चा छ। अन्यत्र चर्चा छ। हाम्रो देशको संविधानको नाम हेरे भयो। हाम्रो देशको प्रस्तावना हेरे भयो। अनुसूची हेरे भयो। संविधानका अरू धारा हेरे भयो, प्रारम्भिक धारा ४ को कुरा गर्छन्। त्यहाँ ३–४ लाइन लेखेको छ। त्यहाँसम्म पूरै लामो नाम राख्ने कि ?
नामको कुरा खासमा के हो ? मन्त्रिपरिषद्ले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेखेर ‘नेपाल’ मात्रै लेख्ने निर्णय किन गरेको ?
नेपाल देश हो उहिल्यैदेखि। कहिले एकीकृत देशका रूपमा, कहिले विभाजित देशका रूपमा, कहिले बाईसे–चौबीसेका रूपमा रहँदा पनि नेपाल नाम रहँदै आएको थियो। प्रणाली र व्यवस्थाहरू फेरिन सक्छन्। पद्धतिहरू पनि फेरिन्छन्, तर देश कायमै रहन्छ। त्यसकारण देशको नाम नेपाल थियो, नेपाल छ, नेपाल हो र नेपाल नै रहन्छ।
तपाईंकै पार्टीका नेताहरूले यो परिवर्तनलाई त्यसै नरुचाउनुभएको होइन होला ?
अवश्य नै उहाँहरू (सचिवालका पाँच नेता) मध्येबाटै देशको नामबारेमा भ्रम फिँजाउन खोजिएको छ। बद्नाम गर्न उहाँहरूले अनेक कुरा निकाल्नुभएको छ। देशको नाम लेख्दा त्यो सबै शासन प्रणाली लेख्नुपर्दैन। देशको नाम शासन प्रणाली होइन। पञ्चायत हुँदा पनि नेपाल नै थियो। राणाशासन हुँदा पनि नेपाल नै थियो। बहुदलीय ब्यवस्था हुँदा पनि नेपाल र अहिले पनि नेपाल नै छ।
अन्त्यमा, कोभिडका बिरामीको पहिचान र उपचारको दायित्वबाट सरकार किन पन्छिन खोज्यो ? सर्वोच्चले नै निःशुल्क उपचार गर भनेर भन्नुपर्ने अवस्था कसरी आयो ?
कुन देशमा सरकारले उपचार गराउँछ ? बिमा गरेको हुन्छ, त्यसैले धान्छ। यहाँ त हामीले बिमाको कुरा गरेका छैनौं। सरकारले उपचार गराएको छ निःशुल्क। देशको आम्दानी छैन, हुने–खाने, सक्नेले म तिर्छु भन्न त पायो नि। त्यति भन्न खोजिएको हो। कहाँनेर सरकारले गर्दिनँ भनेको छ ?
साभार -- http://annapurnapost.com/news/169691