NP EN

देशभित्रै लगानी गर्न निजी क्षेत्रलाई प्रमको आग्रह

काठमाडौँ, ११ मङ्सिर: नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औंँ वार्षिक साधारणसभा आजदेखि शुरु भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले महासङ्घको वार्षिक साधारणसभाको उद्घाटन गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारका तीन वटै तह र महासङ्घका पनि सोहीअनुसारका तहको संंयुक्त प्रयासबाट मात्रै कोरोनाको महामारीसँग जुध्दै आर्थिक विकासमा केन्द्रित हुन सकिने सकिने बताउनुभयो । कोरोना महामारीविरुद्ध विभिन्न देशले खोप तयार पारिसकेको सन्दर्भ जोड्दै उहाँले यसको प्रयोगबाट नै मानव जातिले मुक्ति पाउने विश्वास व्यक्त गर्नुभयो ।  सरकार कोरोनाका कारण परेको असरलाई पराजित गरेर अर्थतन्त्र माथि उठाउन लागिपरेको जनाउँदै प्रधानमन्त्रीले सबैको साझा प्रयास तथा सहकार्यबाट मात्रै अगाडि बढ्न सकिने बताउनुभयो ।

गत आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएकामा कोरोनाका कारण न्यून मात्रै वृद्धि भएको जनाउँदै उहाँले  सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने बताउनुभयो ।  प्रधानमन्त्रीले सरकारको क्षमतानुसार नै सबैलाई समान रुपमा सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो “अभिभावकको क्षमताअनुसार नै माग गर्न म सबैलाई आग्रह गर्दछु । नेपाल सरकारले गच्छेअनुसार वा एक कदम अगाडि बढेर सहयोगको हात बढाउनेछ । फेरि पनि त्यो सीमित नै हुनेछ  किनकि हामीसँग बचत राम्रो छैन ।”

देशको अर्थतन्त्रलाई माथि उठाउन निजी क्षेत्रले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै प्रधानमन्त्रीले व्यापार, व्यवसाय र वाणिज्यका क्षेत्रमा देखाइएको भूमिका सराहनीय रहेको बताउनुभयो । सरकारले भन्दा बढी निजी क्षेत्रले  मौका पाएपछि सिर्जनात्मक काम गर्न, नयाँनयाँ व्यवसाय अगाडि बढाउन तथा कारोवारका नयाँ क्षेत्र पत्ता लगाउने काममा अग्रसर रहेकामा प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गर्नुभयो ।

कृषिमा लगानी गर्न आग्रह

प्रधानमन्त्रीले समृद्धि हासिल गर्नका लागि उद्योगसँगसँगै कृषि क्षेत्रलाई पनि आधुनिकीकरण, व्यवसायीकरण  र औद्यागिकीकरण गर्नु जरुरी रहेको जनाउँदै  त्यस क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न, प्रविधिको प्रयोग गर्न तथा उत्पादकत्वर उत्पादन वृद्धि गर्दै  थप विश्वास पैदा गरेर अगाडि बढ्न निजी क्षेत्रले साथ दिनुपर्ने उहाँले बताउनुभयो । कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्न र उत्पादकत्व वृद्धि गर्ने विषयमा निजी क्षेत्रको ध्यान जाने तथा विज्ञान र प्रविधिको प्रयोग गर्दै आधुनिकीकरणको दिशा पहिल्याउने काममा सचेत तथा सङ्गठित प्रयास हुनेमा आफू आशावादी रहेको उहाँले स्पष्ट पार्नुभयो ।

सरकारले सबैलाई कानूनबमोजिम नै व्यवहार गर्ने र सबैलाई यथोचित ढङ्गले सुरक्षा एवम् संरक्षण प्रदान गर्ने विश्वास दिलाउँदै उहाँले कारोवार तथा व्यवसायमा स्वच्छ र पारदर्शिता भने जरुरी रहेको बताउनुभयो ।

सरकारले लगानीका लागि बाह्या क्षेत्रका लगानीकर्तालाई समेत आग्रह गरेको सन्दर्भ जोड्दै प्रधानमन्त्रीले देशभित्रै लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले नेपालका निजी क्षेत्रका लगानीकर्ताको क्षमता विकास र विस्तार गर्न सकेको भए विदेशी लगानीकर्तालाई आमन्त्रण गर्नुपर्दैनथ्यो ।”

राष्ट्रिय पूँजीपति र उद्योगलाई जोगाउनु जरुरी रहेको  स्पष्ट पार्दै प्रधानमन्त्रीले देशभित्रै लगानी गर्न र धेरै कमाइ हुन्छ भनेर विदेशमा लगानी नगर्न आग्रह गर्नुभयो । “हाम्रै उद्यमी व्यवसायीले यहाँको पैसा बाहिर लगेर लगानी गर्ने काम उचित होइन । यहाँ नै लगानीका अवसर सकिएको छैन । हाम्रोमा श्रम बजार सस्तो छ । त्यसकारण यहाँको उद्योगमा बढी मुनाफा प्राप्त हुन्छ”,  उहाँले भन्नुभयो ।

देशभित्रै लगानी विस्तार गर्न तथा औद्योगिक वातावरण बनाउन सरकारका तर्फबाट केकस्ता सहयोग गर्नुपर्छ भन्नेबारेमा छलफल गर्न र सहजीकरण गर्न सरकार तयार रहेको जनाउँदै प्रधानमन्त्रीले कुन क्षेत्रमा कस्तो सहुलियत जरुरी रहेको भन्ने कुरा  स्पष्टसँग भन्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

देशभित्र डिपार्टमेन्टल स्टोर भए पनि हाम्रा मालवस्तु नभएको तथ्य पेश गर्दै प्रधानमन्त्रीले उत्पादन कसरी बढाउन सकिन्छ भन्नेबारेमा सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । (रासस)