NP EN

होली हर्सोल्लास र मित्रताको पर्वः अध्यक्ष ओली

१० चैत २०८०, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले होली हर्षोल्लास र गीत, सङ्गीतको पर्व भएकाले त्यसलाई सोही रूपमा मनाउनुपर्ने बताउनुभएको छ । 

नेकपा(एमाले) मधेस प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको होली मिलन कार्यक्रममा अध्यक्ष ओलीले होलीलाई विकृत बनाउन नहुने बताउनुभयो ।  
अध्यक्ष ओलीले होलीका नाममा देखिएको छाडापन र विकृतिलाई रोक्नुपर्ने बताउनुभयो ।


होलीको नाममा कसैमाथि जोडजुलुम र जबरजस्ती गर्न नहुनेतर्फ सचेत गराउँदै अध्यक्ष ओलीले– होलीको सुरु नै सररर.....बाट हुन्छ, उत्साह, उमङ्ग, हौसलाबाट हुन्छ । 
अध्यक्ष ओलीले भन्नुभयो– होली मित्रताको पर्व भएकाले हुँदा यसका अनुचित पक्षलाई कटाउँदै, हटाउँदै लैजानु पर्छ, यसका राम्रा पक्ष, मित्रताका पक्ष, रमाइलो पक्ष, मनोरञ्जनको पक्षलाई सामाजिक मर्यादाका सीमाभित्र रहेर बढवा दिएर लैजानुपर्छ । 
नेपालका पर्व र संस्कृति सामाजिक सम्बन्धसँग जोडिएको उहाँले बताउनुभयो । उहाँले सभ्य शान्तिपूर्ण र एकताबद्ध समाज  निर्माणमा होलीबाट सहयोग पुग्ने  विश्वास व्यक्त गर्नुभयो । नेकपा (एमाले) केन्द्रीय कार्यालय, प्राङ्गण, च्यासलमा भएको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य लालबाबु पण्डित, पोलिटव्यूरो तथा  केन्द्रीय कमिटीका सदस्यहरू, सम्पर्क कमिटीका नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।