NP EN

मिसन–२०८४ पार्टीको अर्जुनदृष्टीः अध्यक्ष ओली

१५ चैत २०८०, विर्तामोड (झापा) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मिसन–२०८४ पार्टीको अर्जृनदृष्टि भएको बताउनुभएको छ ।

उहाँले आगामी आम निर्वाचनमा एमालेले एक्लै सरकार चलाउन पुग्नेगरी बहुमत ल्याउने लक्ष्यका साथ मिसन–२०८४लाई अर्जुनदृष्टि बनाइरहेको बताउनुभयो ।
आज नेकपा (एमाले) झापा जिल्ला कमिटीको ११औं अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्ता समीकरण देश विकासका लागि भएको बताउनुभयो । 
यसअघि नेकपा (एमाले)लाई एक्ल्याउन र अघि बढ्न नदिन कांग्रेसले स्वार्थको गठबन्धन बनाएको उहाँले बताउनुभयो । कांग्रेसको गठबन्धन भत्कनैपर्ने थियो, पुरानो गठबन्धन भत्किएपछि एमालेले परिस्थिति सम्हालेको उहाँको भनाइ थियो ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य अमृतकुमार बोहोरा र पोलिटव्यूरो सदस्य तथा झापा इञ्चार्ज विशाल भट्टराईले मन्तब्य ब्यक्त गर्नुभएको थियो । उद्घाटन समारोहमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, स्थायी कमिटी सदस्यहरू राजेन्द्र गौतम, शेरधन राई, हिक्मत कार्की , पोलिटव्युरो सदस्य देवेन्द्र दाहाल, जीतु गौतम, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायत नेताहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । उद्घाटन सत्रमा पार्टीका जिल्ला उपसचिव असारु राजबंशीले स्वागत मन्तब्य र जिल्ला अध्यक्ष प्रेम गिरीले अध्यक्षता गर्नुभएको थियो ।
सो अवसरमा विभिन्न कालखण्डमा पार्टीको नेतृत्व तहमा र विभिन्न जिम्मेवारीमा रहेर योगदान पुर्याउनुभएका अग्रज नेताहरूलाई सम्मान गरियो । 
सम्मानित हुनेहरुमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, झापा विद्रोहका अगुवा नेता नरेश खरेल, कालिदास श्रेष्ठ, शोभा कुँवर, पृथ्वी मैनाली, सुमित्रा प्रसाई, सावित्रा खड्का, अन्तलाल धिमाल, जानुका सिटौला लगायत हुनुहुन्छ । युवा वैज्ञानिक सबिन बाँस्कोटा, लाहा उद्योगी डम्बरकुमार विश्वकर्मा, झापा इनर्जीका सञ्चालक एलपी साँवा र तारा नमस्ते बालआश्रमका अध्यक्ष नारायणप्रसाद पोखरेल समेत सम्मानित हुनुभएको छ ।