NP EN

​इलाममा सुहाङलाई विजयी बनाउन आग्रह

५ बैशाख (२०८१), इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई अत्यधिक मतका साथ विजयी गराउन मतदाताहरूलाई आग्रह गर्नुभएको छ ।
इलाम क्षेत्र नं. २ को देउमाई नगरपालिकास्थित मङ्गलबारे बजारमा आज आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो । 
नेकपा (एमाले)का उपाध्यक्ष, यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको मृत्यु भएपछि यही बैशाख १५ गते इलाम क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदै छ ।
स्व. नेता नेम्वाङको सपना पूरा गर्न पनि उहाँका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको भन्नुहुँदै अध्यक्ष ओलीले इलाम क्षेत्र नं. २ को विकास र यहाँका नागरिकको समृद्धिका लागि सुहाङ विजयी हुनुपर्ने भनाइ राख्नुभयो । 
अध्यक्ष ओलीले एमालेले पढेलेखेको, काम गर्न सक्ने योग्य उम्मेदवार उठाएकै कारण माओवादी केन्द्र, नेकपा माओवादी तथा नेपाल परिवार दलले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गरेको बताउनुभयो । 
सबैलाई आफैँ आफैँ चुनाव लड्न मन भए पनि एमालेले सुरु गरेको देश निर्माणको अभियानमा साथ दिन अन्य दलले पनि एमालेका उम्मेदवारलाई समर्थन गरेको उहाँले बताउनुभयो । 
इलामका जनताले जिताएर पठाएका सुवास नेम्वाङले देशलाई संविधान दिएको बताउँदै अध्यक्ष ओलीले अब जितेर जाने उम्मेदवारले पनि देश र जनताका पक्षमा त्यतिकै योगदान गर्ने भनाइ राख्नुभयो  । 
नेकपा (एमाले)ले घरघरमा वृद्ध भत्ता पुर्याएको, सामाजिक सुरक्षा भत्ता वितरण गरेको र सडक निर्माणलगायत पूर्वाधार विकासका धेरै काम गरेको पनि उहाँले बताउनुभयो । 
एमालेले मुलुकमा कस्तो विकास गर्छ भन्ने कुरा आफू प्रधानमन्त्री हुँदा देखाएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– म प्रधानमन्त्री हुँदा २१० पालिकादेखि सदरमुकाम जोड्ने सडक र ३९६ वटा पालिकामा अस्पताल बनाउन शिलान्यास गरेको थिएँ तर सरकारबाट बाहिरिएपछि ती सबै अलपत्र परेका छन्, अब अधुरा र अलपत्र कामहरूलाई पूरा गर्नुपर्छ ।
एमालेले सबै धर्म, संस्कार, संस्कृति र समुदायको सम्मान गर्ने उहाँले बताउनुभयो । एमाले सामाजिक सद्भाव कायम र सामाजिक समानताको अभियानमा लागेको प्रष्ट पार्दै सबै धर्म, भाषाभाषी, संस्कृतिको सम्वद्र्धन गर्दै राष्ट्रिय एकता कायम गर्न सके मात्रै देशको विकास हुनेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, नेकपा माओवादी केन्द्रको कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङ, त्यस क्षेत्रमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पनि बोल्नुभएको थियो । उहाँहरूले नेकपा (एमाले) देशको विकास, समृद्धि र सामाजिक सद्भावका पक्षमा काम गर्ने पार्टी भएकाले एमालेका उम्मेदवार सुहाङको पक्षमा सूर्यमा मतदान गर्न आग्रह गर्नुभएको थियो ।