NP EN

अन्तर्वार्ता - एभिन्यूज टेलिभिजन

“हामीलाई चाहिएको दुई कार्यकाल भन्दा एउटा मान्छे बाँचिञ्जेल, आँखा हेरिञ्जेल, सास फेरिञ्जेल लिड नगरोस् भन्ने होइन हाम्रो उद्देश्य । हाम्रो उद्देश्यमा जानु पर्यो नि । हामीले कुनै मुद्दा लड्न खोजेको त होइन नि । हामीले त पार्टीलाई, आन्दोलनलाई गतिशील बनाउन खोजेको हो भने हाम्रा उद्देश्यमा जानु परेन । हामी एक अवधिका लागि एउटा नेता छान्छौँ ।”

 

Exclusive Interview with KP Oli
AvenuesTV Nepal
Published on Jun 20, 2014
 
एमाले संसदिय दलका नेता तथा आसन्न नवौं महाधिबेशनको अध्यक्षका प्रत्यासी केपी ओलीसंग महाधिबेशन तथा पार्टी नेतृत्व लगायतका बिषयमा एभिन्यूज टेलिभिजनले गरेको बिशेष कुराकानी ।
 

विशेष संवादको आजको श्रृङ्खलामा हामी एमाले संसदीय दलका नेता तथा आसन्न नवौँ महाधिवेशनका अध्यक्षका प्रत्यासी केपी ओलीसँग कुराकानी गर्दैछौँ । केपीजी स्वागत छ यहाँलाई ।

धन्यवाद ।

सबैभन्दा सुरुबाट, तपाईँ स्वास्थ्यलाभ गरिसकेपछिको संभवत यो पहिलो अन्तर्वार्ता हो । देशभरिका कार्यकर्ताहरूमा मात्रै होइन नागरिकहरू पनि तपाईँको स्वास्थ्यका विषयमा चिन्तित, कतिपय सन्दर्भमा सामाजिक सञ्जालहरूमा उछिट्टोकाटेर लेखे पनि कहिँ न कहिँ तपाईँको स्वास्थ्यको विषयमा जागरुकता होला, कस्तो छ हजूरलाई ?

स्वास्थ्य स्थिति राम्रो छ । म स्वास्थ्य उपचार गरेर फर्केको छु । मलाई किड्नी ट्रान्सप्लान्ट गरेको हुनाले प्रतिरोध क्षमता कमजोर गर्ने औषधि नियमित रूपमा दिइन्छ । त्यसले गर्दा अरू सरदर मानिसको भन्दा प्रतिरोध क्षमता मेरो कमजोर थियो । त्यसैमा अलिकति बढी थकावट, बढी काम – त्यसले प्रतिरोध क्षमता झन् कमजोर पारयो र त्यस्तै बेलामा रोगले एटेक गर्ने समय पायो । फङ्गल इन्फेक्सन भयो । तयसपछि त्यो निको भएर म फर्केको थिएँ । फेरि यहाँ सघन ढङ्गले काम हुन थालेपछि कतैबाट मेनेन्जाइटिस सरयो । मेनेन्जाइटिसको सङ्क्रमण भएपछि तुरुन्त बैंकक लगियो । यो अलि जटिल खालको संभावना हुन सक्ने डाक्टरलाई लागेपछि त्यहाँ लगेर मेनेन्जाइटिसको केही दिन उपचार भयो । त्यसपछि म पूर्ण स्वास्थ्यलाभ गरेर फेरि स्वदेश फर्केको छु ।

तर तपाईँ यस्तो जिम्मेवारीमा जान खोज्दै हुनुहुन्छ जसलाई लागि तपाईँले झन बढी समय, ऊर्जा, मानसिक, शारीरिक सबै कसरत गर्नु पर्दछ । हुन त एउटा व्यक्ति स्वस्थ हुनु, अस्वस्थ हुनु भन्ने कुरा त्यो भाग्यावदीका लागि नियतिका कुरा होला अथवा प्रकृतिवादीको लागि द्वान्दात्मक, भौतिकवादीको लागि त्यो स्वास्थ्यमा आएको दूरावस्थाको कुरा होला । तर पनि पार्टीको नेतृत्वको प्रश्न भनेको जो सरकारसँग पनि जोडिन्छ, सरकार भनेको जनतासँग पनि जोडिन्छ र सम्पूर्ण जनतासँग जोडिने पार्टीको नेतृत्वमा झन् आराम गर्नु पर्ने बेलामा तपाईँको हुतहुती किन त ?

मेरो कुनै हुतहुती नै छैन । मैले राजनीति थालेको अठचालीस वर्ष भयो । म पूर्णकालीक भएको छयालीस वर्ष भयो । र, त्यसयता मैले कहिल्यै पनि पिठ्यूँ फर्काएर काम गरेको छैन । यससम्बन्धमा मेरो वैचारिक, व्यवहारिक, सांगठनिक, नीतिगत हिसाबले नै साथीहरूले भनेका होलान् । मैले अहिलेसम्म म उठ्छु भनेर घोषणा कहिले पनि गरेको छैन ।

दुई–दुई वटा घोषणसभा के हो त ?

कुन घोषणासभा ? यो त कार्यकर्ता भेटघाट थियो जो भृकुटीमण्डपमा भयो त्यो राष्ट्रिय कार्यकर्ता भेला थियो । त्यो भेटघाट थियो, ब्यानरमा पनि त्यही लेखिएको थियो र त्यो घोषणासभा थिएन ।

रूपमा थिएन, सारमा त त्यही नै हो ?

सारमा त अब केपी ओलीलाई बनाउनु पर्छ भनेर कोही कार्यकर्ताले कहिँ भन्यो त्यसलाई घोषणा गरयो भन्न मिल्यो, कसलाई त्यो लाग्यो त्यो अभिव्यक्त गरयो, त्यो भन्न मिल्यो । व्यक्तितवरमा साथीहरूको वा सामूहिक रूपमा साथीहरूको – अहिले सिङ्गो नेतृत्व पङ्क्ती भन्नु हुन्छ भने, अथवा कार्यकर्ता पङ्क्ती भन्नु हुन्छ भने त्यस पक्षमा छ । नेतृत्व हस्तान्तरणको पक्षमा छ । गतिशील परिवर्तनशील समाज, गतिशील परिवर्तनशील पार्टी, गतिशील परिवर्तनशील नीति र नेतृत्वको पक्षमा छ । त्यसकारण वैचारिक हिसाबले नै, नीतिगत हिसाबले नै परिवर्तनको पक्षमा नेकपा (एमाले) छ । नेकपा (एमाले) को केन्द्रदेखि तलसम्म, तलदेखि केन्द्रसम्म नेता कार्यकर्ता सबै छन् । त्यो मात्रै होइन, देशले नै एउटा अनुभूत गरेको स्थिति छ । तर न घोषणासभा भएको छ न कुनै घोषणा गरिएको छ । अब कसलाई के लाग्यो व्यक्तितवरमा, कसलाई कुन पदमा हुन उचित लाग्यो त्यो बेग्लै कुरा हो । अनुभूतिका कुरा र अभिव्यक्तिका कुरा ती आफ्ना कुरा हुन् । तर संस्थागत रूपमा हामीले कुनै संस्थागत निर्णय गरेका छौँ न समूहगत रूपमा कुनै निर्णय गरेका छौँ । अर्कोतिरबाट समूहगत निर्णय, संस्थागत त सम्भव छैन, दुई–चारजना हुनुहुन्छ । तर समूहगत रूपमा घोषणा गरेको सुनियो, देखियो । वहाँहरूले निर्णय गरेको र घोषणा गरेको देखियो । अर्कोले घोषणा गरयो, घोषणा भनेकै त्यस्तै हुन्छ । मैले यसलाई स्वीकार्छु भनेर दुई हात उठाएर स्वीकारेर खिलखिलाएको देखियो । त्यस हिसाबले वहाँहरूको त्यो घोषणासभाको रूपमा थियो र घोषणा गरिएको हो । तर मेरो तर्फबाट आम नेताहरू साथीहरूले नै भनेका छन्, अध्यक्ष पनि पक्षमा नै हुनुहुन्छ । तर अध्यक्षको पदबाट कुनै पक्षमा लागेर हतारिएर जानु अशोभनीय नै हुन्छ भनेर वहाँ बस्नु भएको छ । उपाध्यक्ष दुईजना, महासचिव एकजना, सचिव दुईजना र पुराना प्रतिष्ठित झापा आन्दोलनदेखि, कोअर्डिनेशन केन्द्रदेखि, मालेदेखिका तमाम साथीहरू अहिले मलाई भनिरहनु भएको छ, पछाडि फर्किने ठाउँ छैन ।

होइन, यो कुरा सुनिरहँदा तपाईँ आज पनि अरूबाट घेरिएर मात्रै अध्यक्षको प्रत्यासी । त्यो पनि प्रत्यासी भनेर तपाईँले मुखले पनि स्वीकार्नु भएन ?

यत्तिकै घेरेका होइनन् नि । विचार नभइकन, क्षमता नभइकन, काम नगरिकन, सक्रियता नभइकन यत्तिकै घेरिएको होइन । यसरी भवितव्य भनेर कसैले भन्छन् नि, पालो भनेर । पालो होइन । कसैले भन्छन् व्यवस्थापन । यद्यपि पालोको पनि केही अर्थ होला । दुईजना साथीमध्ये एकजना भारी बोकेर गयो, अर्को रित्तै गयो भने पर पुगेपछि अर्को थाकेको हुन्छ अर्कोले बोक्नु पर्छ, पालो पनि हुन सक्छ । व्यवस्थापन पनि दुईजना चारजना सँगै हिँडेका समान उमेरका, समान क्षमताका मान्छेमध्ये व्यवस्थापन गर्नुपर्ने, एकजना महाराजाजस्तो हुने अरुचाहिँ उसका आठपहरिया अथवा दासजस्तो हुने, आदेशको तामेली गर्ने त हुन सक्दैन, सँगैका साथीहरू हुन् । त्यसकारण त्यहाँ व्यवस्थापनको पनि पक्ष होला । तर मैले उठाइरहेको र हामीले उठाएको कुरा यो गौण कुरा हो । पालो भन्ने कुरा गौण हो । व्यवस्थापन गर्नु पर्छ नेताहरूको भन्ने कुरा गौण हो । व्यवस्थापनको प्रश्न नीतिगत रूपमा र संस्थागत रूपमा मात्रै सम्भव छ । यस निम्ति हामीले यस परिपाटीमा आएपछि, जनताको बहुदलीय जनवादको अवधारणाअनुसार अहिलेको समाजमा आउँदा, बहुपदीय प्रणाली, सामूहिक नेतृत्व र संस्थागत निर्णयबाट पार्टी सञ्चालन गर्नु पर्छ ।

हामी यो कुराकानीमा एउटा कुरा त छिनोफानो गर्नु परेन, अब तपाईँले अथवा तपाईँका पार्टीका नेता कार्यकर्ताले भनेजस्तै, तपाईँको पनि आकाङ्क्षा इलामबाट झापामा एमालेको पार्टी नेतृत्व सर्दैछ अथवा सर्नका लागि चुनावी प्रतिस्पर्धा भयो भने पनि तपाईँ अध्यक्षमा उठ्दै हुनुहुन्छ भन्ने प्रश्नको छिनोफानो त भइसक्यो नि ?

जसरी नेताहरू, कार्यकर्ताहरू लाग्नुभएको छ देशैभरि त्यस हिसाबले म त्यो सम्भावना, प्रवल सम्भावना, निश्चितै रूपमा त्यस्तो निष्कर्ष निस्किने अवस्था देख्छु ।

अब, तपाईँले अघि कुरा गर्नुभयो, गतिशीलताको, प्रजातान्त्रिकपनको र विचारको कुरा गरिरहँदा वैचारिक रूपमा अहिले अध्यक्ष झलनाथ खनालसहितको समूहले तयार गरेको राजनीतिक प्रतिवेदनमा यसअगाडि एमालेले आठौँ महाधिवेशनमा उल्लेख गर्दै आएको नेपाली समाजको चरित्र अर्धऔपनिवेशिक र अर्धसामन्त भनेको थियो, अब पूँजीवादउन्मुख भनेर भनियो, त्यसलाई करिब करिब सर्वसम्मतबाट पारित गरियो । तर तपाईँको अन्तर्वार्ता, अस्ति वैशाख ९ गतेको अन्तर्वार्तामा त तपाईँले त्यो कुरालाई स्वीकार्नु भएन । अझै पनि नेपाली समाजको चरित्र अर्धऔपनिवेशिक र अर्धसामन्ती नै हो र बैसठ्ठी त्रिसठ्ठीको आन्दोलन क्रान्ति होइन, त्यो स्वभाविक प्रक्रियामा जनताको उभार हो भनेर ‘आजको दिशाबोध’ भन्ने म्यागजिनमा । तपाईँले फेरि त्यो पार्टीको निर्णय र रूपान्तरणको कुरालाई नै नजरअन्दाज गरिदिनु भयो नि त ?

रूपान्तरणको कुरालाई नजरअन्दाज गरेको होइन । यथार्थ के हो भने यद्यपि जे निष्कर्ष निस्किएको छ, जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्त हो, त्यसको मार्गदर्शनमा हाम्रा नीतिहरू, कामहरू सबै निर्देशित हुनेछन्, हाम्रा छलफल, निष्कर्ष, निर्णयहरू त्यसबाट निर्देशित हुनेछन् भन्ने कुराबाट प्रारम्भ गरेरै, कुन आन्दोलन कति उचाईको हो भन्ने यो कुनै ठूलो डिबेट कै कुरा होइन, त्यति नै उचाईको हो जति त्यसले उपलब्धि हासिल गरेको छ । त्यसमा ठूलो लडाई लड्नु पर्ने कुनै आवश्यकता छैन । नेपालमा पूँजीवादको प्रारम्भ भएको कुरा आज होइन नि उहीले नै भएर अहिलेका जनताको बहुदलीय जनवाद सिद्धान्त भएको छैन भन्न अप्ठ्यारो नमान्ने वा त्यस्ता खालका साथीहरू जन्मेकै थिएनन् । हो, त्यतिबेला सामन्तवाद एउटा शासकीय वर्ग थियो । त्यसको ठाउँमा पूँजीवादी उत्पादन सम्बन्ध नेपालमा प्रवेश गरयो । अरू पनि उत्पादन सम्बन्धहरू थिए । निम्न पूँजीवादी उत्पादन सम्बन्ध थियो तर त्यो वर्ग संघर्षको यो वा त्यो छोर, यो वा त्यो शत्रुतापूर्ण वर्ग संघर्षको क्षेत्र होइन अथवा यो वा त्यो ढङ्गले त्यसले समाजलाई निर्देशित गर्न सक्दैन, समाज कता अगाडि बढ्छ भन्ने कुरामा । त्यसकारण सबै दुईवटा वर्ग जन्मिए । एउटा पूँजीपति वर्ग जन्मियो, अर्को मजदुरवर्ग जन्मियो ।

नेपाली सन्दर्भकै कुरा गर्दा पनि १८८५ मा जतिबेला इस्ट इन्डिया कम्पनीमार्फत बेलायती सेनामा हाम्रा गोर्खालीहरू भर्ती भए त्यतिबेलादेखि पूँजीवादसँगेको संगत सुरु भयो भनेर चैतन्य मिश्रजीले भन्नु हुन्छ, बहस चलाउनु भएको छ । घनश्याम भुषालजीले २००७ साल पछाडि भन्नु हुन्छ ?

संगतको कुरा भए पनि वास्तवमा नेपालमा उद्योगधन्दाको स्थापनाबाट पूँजीवादी आर्थिक सम्बन्ध सुरु भयो भन्ने र त्यहाँ पूँजीपतिवर्ग र मजदुरवर्गको जन्म पनि भयो । त्यसो भइसकेपछि अब नेपाल सामन्ती मात्रै रहेन । अब अर्धसामन्ती अथवा सामन्तीमाथि अर्को पनि एउटा वर्ग आयो जो पूँजीपति वर्ग, भर्खर उद्योग खुलेका छन्, थोरै मान्छे छन्, सानो पपुलेसन छ, तर त्यसो भए पनि यो यस्तो एउटा वर्ग हो जो बढ्दै जान्छ । सामन्तवाद यस्तो चिज हो जो कमजोर हुँदै जान्छ, किनारा लाग्दै जान्छ ।

तपाईँको निष्कर्ष चाहिँ आजसम्म पनि सामन्तवादको कहिँ कहिँ छिटपुट रूपमा देखाउन मिल्ने अवशेष त होला तर अहिले पनि नेपाली समाजको चरित्र अर्धसामन्ती नै हो त ? त्यसलाई कुन मानकले नाप्ने त ?

म त्यसमा धेरै बहस गर्न चाहन्न । नेपाली समाज, पूँजीवादी समाज औद्योगिक समाज भन्न मन छैन । नपाईँ हेटौँडादेखि बीरगञ्ज जानुस्, भएका उद्योगहरू बन्द भएका छन् । उद्योगको योगदान कति छ ?

त्यति तर्कले कहाँ यसो भन्न सकियो र । यो वैचारिक रूपमा जार्गनसँग जोडिएको प्रश्न ?

होइन, होइन । उद्योगसँगको कुरा गर्दैछु म । वैचारिक जार्गनको कुरा गरिराखेको छैन । अर्थतन्त्रमा उद्योगको स्थिति के छ ? औद्योगिक क्षेत्रमा कामदार कति छन् ? र, उद्योगको योगदान कस्तो छ ? उद्योगसँग सम्बन्धित मान्छे कति छन् ? अथवा अरु क्षेत्र पनि, जस्तो पूँजीवाद आउँदा औद्योगिक मात्रै हुनुपर्छ भन्ने छैन । पूँजीवाद आउँदा सेवाका क्षेत्रमा मान्छे हुन्छन् । पर्यटनका क्षेत्रमा हुन्छन् । अरु क्षेत्रमा पनि हुन सक्छन् मान्छेहरू । कृषिजस्तो पछौटे क्षेत्रबाट एड्भान्स क्षेत्रमा मान्छे हुन्छ । तर यहाँ कृषिमा पछौटे, साना, निर्वाहमुखी र सानो उत्पादनमा जनता अल्मलिएको स्थिति छ । अनि यो समाजवाद होइन भनेपछि पूँजीवाद हुन्छ भन्ने छैन । सामन्तवाद टुक्रिँदो अवस्थामा छ, कमजोर हुँदो अवस्थामा छ, विलयनतिर जाँदो अवस्थामा छ । पतनउन्मुख छ सामन्तवाद । यसमा विवाद छैन ।

तर त्यो भन्नुका पछाडि खाली आफ्नो तर्कलाई मजबुत बनाउन, फरक देखाउन मात्रै केपी ओलीले भन्नु भएको हो ?

होइन, होइन, म तर्क गर्दिन अहिले । जनताको बहुदलीय जनवाद मार्गदर्शक सिद्धान्त हो । त्यसको आधारमा हामी समाजको विश्लेषण गर्छौँ । हाम्रा नीति निर्माणमा, हाम्रा व्यवहारलाई निर्देशित गर्ने कुरामा, तमाम व्यवहारहरूको निर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद हो । त्यसकै आधारमा हामी अगाडि बढ्छौँ । त्यसमा कुनै बहस छैन । त्यसलाई सबैले स्वीकारेको स्थिति छ । अब रह्यो के भने पूँजीवाद त आज होइन नि, उहिले नै प्रारम्भ भएको हो । उद्योगधन्दाको स्थापनासँगै । पूँजीवादी प्रधानता समाजमा पूँजीवादी प्रधानता, बहुलता अझै आइसकेको छैन, सत्तरी प्रतिशत जनता कृषिमा आधारित छ, जस्ता कुराहरू छँदैछन् । यो डिबेटकै विषय छ एउटा र यो सानो डिबेट हो । नेपाली समाजलाई तीन तासेले तास फिटे झैँ कुरा फिटेर अल्मल्याउनु छैन । नेपाली समाजलाई शान्तिपूर्ण समाज बनाउनु छ, अनुशासित समाज बनाउनु छ, लोकतान्त्रिक समाज बनाउनु छ । हरेक जनताले अधिकार, अवसर र सुरक्षा प्राप्त गरेको समाज बनाउनु छ । जसले हरेक जनतालाई एउटा सूत्रमा बाँधेर राष्ट्रिय एकता बनाउँछ । त्यो समाजमा परिणत गर्नुछ, त्यो समाजमा विकास गर्नुछ । र, नेपालको मुख्य समस्या के हो भन्दा गरिबी, पछौटेपन, अशिक्षा, यी नै हुन् । यसबाट नेपाललाई समृद्ध नेपाल बनाउनु छ । मुख्य कुरा यो हो । त्यसपछि हामी के विचार गरौँ भने उद्योगधन्दा स्थापना गरेपछि, रुपान्तरण गरेपछि, कृषि आधुनिकीकरण र व्यवसायिकरणमा लगेपछि, कृषिक्षेत्रमा रहेको सत्तरी प्रतिशत जनसङ्ख्यामध्ये साठी प्रतिशतलाई सेवाका क्षेत्रहरू, पर्यटनका क्षेत्रहरू, उद्योगका क्षेत्रहरू र व्यापारका क्षेत्रहरू विभिन्न क्षेत्रहरूतर्फ ठाउँ बनाएर सिफ्ट गरिसकेपछि, यसरी देशका विकास भएपछि हाम्रा बहसहरू सार्थक हुन्छन् ।

यो विषयमा धेरै लामो बहस नगरौँ, हुन त वैचारिक रूपमा बहस गर्न चाहनेका लागि त्यो मनोरञ्जन अथवा बौद्धिक विलास अथवा एकप्रकारले सिर्जना, जेसुकै भनेर भने पनि हुन्छ, तर पूँजीवाद भनेको त गैरकम्युनिष्टहरूले त्यो आफैमा वाद पनि होइन भन्छन् – निजीकरणसँग सम्बन्धित अथवा नवउदारवादसँग सम्बन्धित – अर्थतन्त्रको उपरिसंरचनाका रूपमा लिन्छन् । तर हामीकहाँ अर्धसामन्ती र अर्धऔपनिवेशिक भन्ने जार्गन कहाँबाट सुरु भएछ भन्ने कुरा खोतल्दै जाँदा १९२६ मा माओत्से तुङले चीनको अवधारणामा गरेको, त्यसलाई हिन्दीमा पनि रूपान्तरण भयो, अङ्ग्रेजीमा पनि भयो, पुष्पलालजीले रूपान्तरण गर्दा त्यो कपी भयो र एकता केन्द्रदेखि लिएर नेकपा (माओवाद) सम्म, नेमकिपासम्मले, सबैले त्यो कम्युनिष्ट दस्तावेजमा त्यो लेख्नै पर्ने भयो र त्यसबाट अहिले पनि एमाले निस्किरहँदा केपी ओली किन निस्किनु भएन मात्रै भन्ने प्रश्न ?

एमाले निस्किरहेको पनि होइन । केपी ओली ननिस्किरहेको पनि होइन ।

दस्तावेजले त त्यही देखाउँछ नि ?

होइन, देखाउँदैन । नेपाल कहिल्यै पनि उपनिवेश रहेन । नेपाल सदैव स्वतन्त्र राष्ट्र थियो । नेपालमा कुनै औपनिवेशिक शक्तिको शासन भएन । तर नेपालमाथि खास समयदेखि विभिन्न प्रकारले नियन्त्रण, हस्तक्षेपजस्ता कुराहरू भइरहे । जसले गर्दा उपनिवेश भएन तर हस्तक्षेप, नियन्त्रणका पक्षहरू रहे । त्यसकारण यो उपनिवेश त भन्न मिलेन नि । त्यस्तोलाई अर्धउपनिवेश भनेर परिभाषा गरे । कम्युनिष्टहरूले परिभाषा गरेको भनौँ । अथवा अरूले पनि परिभाषा गरे, अरूले पनि भने । अन्तर्राष्ट्रिय मञ्चहरूमा अरु दस्तावेजहरूमा हामी औपनिवेशिकता आदि इत्यादिका.... अर्धऔपनिवेशिकताका कुराहरू भेट्छौँ ।

अहिले त पोष्ट कोलोनियल भन्न थालेका छन् ?

थालेका छन्, हो । पोष्ट कोलोनियल भन्ने सायद पूँजीवादीले मात्रै हैन अरूले पनि प्रयोग गरे हुन्छ । बीसौँ शताब्दी उपनिवेशको सर्वनास भएको शताब्दी हो । राष्ट्रिय मुक्तिको शताब्दी हो । त्यसलाई जसले भन्छ, त्यो त्यति बेठिक गरेको जस्तो म मान्दिन । त्यसको अर्थ हिजो उपनिवेशै थिएन भन्ने होइन । अथवा भोलि नेपाल बाह्य हस्तक्षेप नभएको, नियन्त्रण नभएको, त्यस्तो देश बन्ला । तर आजसम्म त छैन भने बाह्य हस्तक्षेपलाई के नामाकरण गर्ने ? केही पण्डित आए हुन्छ । पुष्पलालले नामाकरण गरेको मिलेन भने अर्को लाल आए हुन्छ नि ।

अद्यावधिक गर्नु पर्ने होला नि त ?

अद्यावधिक गर्न अर्को लाल आए हुन्छ नि यस्तो भन्नु पर्यो भनेर । स्वतन्त्र मात्रै थियो भन्दाखेरी त हस्तक्षेप, नियन्त्रण जस्ता कुराहरू त फेरि हराए नि । भने पछि केही छैन यो स्वतन्त्र राष्ट्र मात्रै हो ? यो सम्पूर्ण कुरामा स्वतन्त्र छ निर्णय गर्ने कुरामा भन्ने देखिन्छ, जो यथार्थ होइन । त्यसले गर्दा स्वतन्त्र राष्ट्र हो, त्यस स्वतन्त्र राष्ट्रको स्वतन्त्रतामाथि लगाम छ, हस्तक्षेप छ, बलियाको छ, धनीको छ, अनेको छ भने त्यसलाई कसरी परिभाषित गर्ने भन्ने शब्द.... पुष्पलालले ठीकै छ सारे होलान्, पुष्पलाले कुनै शब्द आविष्कार गरे भन्ने मलाई लाग्दैन, मैले एउटा पनि नयाँ शब्द बोलेको छैन, सबै नेपालीले बोल्दै आएको शब्द बोलेको छु, म कुनै शाब्दिक आविष्कार गर्ने मान्छे होइन । यदि त्यस्तो स्थितिलाई कसैले आविष्कार गर्छ भने ....

घनश्याम भुषालजीले पूँजीवादउन्मुख भनेको कुरा ?

यो बौद्धिक विलास हो ।

अब अर्को तपाईँमाथि लाग्ने आरोप, त्यो आरोपका केही तथ्य केही आधार पनि होलान्, जुन कोर्स लिएको छ अहिले देशले, बैसठ्ठी त्रिसठ्ठीको आन्दोलन पछाडि, ती मुद्दामा कसैको सहमति, कसैको असहमति जेसुकै होला, विशेषगरी गणतन्त्रको सन्दर्भमा त्यतिबेला जतिबेला एमालेले गणतन्त्रमा जाने विधिवत निर्णय गरेको थियो, भलै कम्युनिष्ट पार्टीहरू सबैको दस्तावेजमा गणतन्त्र, साम्यवाद, जनवादी गणतन्त्र नै लक्ष होला तर कार्यनीतिक रूपमा पनि गणतन्त्रमा जाने प्रश्नको तपाईँ विपक्षमा हुनुहुन्थ्यो रे, अब गणतान्त्रिक मुलुकमा एमालेको नेतृत्व गर्ने पात्र बन्नु त्यो कति शोभनीय, कति तादम्य हुन्छ ?
म तपाईँलाई नै सोध्छु, कति सालमा जन्मनु भयो तपाईँ ? मलाई पञ्चायतका बेला जति बेला वर्ष दिनमा, दुई वर्षमा – पर्चा छरिँदैनथ्यो, राजतन्त्रका विरुद्ध पर्चा छरिँदैनथ्यो, त्यतिबेला लोकतान्त्रिक गणतन्त्र हुनुपर्छ भनेर हतियार उठाएको थिएँ राजतन्त्रका विरुद्ध । मैले जिब्रो मात्रै फट्कारिनँ, एउटा संघर्ष सिर्जना गरेँ । र, म लामो समय जेल पनि बसेँ । म गोलघरमा पनि बसेँ । मैले कुनै कागज गरेर चौमडी जोगाउने काम गरिन । आन्दोलनबाट कहिल्यै पिँठ्यू फर्काउने काम गरिन । कुनै जुलुशबाट दमन गर्छु भन्दा पनि म भागिन, म भाग्दिन पनि ।

उन्नाइस दिने आन्दोलनमा त एकदिन पनि देखिएन तपाईँलाई, भलाइ नै स्वास्थ्यको कारण होला ?

यसमा अच्मम के लाग्छ भने म दिनैपिच्छे आन्दोलनमा छु । तर मेरो किड्नी फेलर भएको हुनाले म, पानी खान मिल्दैनथ्यो, म पानी खान सक्दिनथेँ । आधी गिलास पानी नखाने मान्छेले चक्रपथ परिक्रमा गर्छ भन्ने कुरा होइन । त्यतिबेला असाध्यै थकाई पनि लाग्थ्यो, स्वभाविक रूपमा किड्नी फेल भएपछि, फेल हुने थाहा हुन्छ यो । पानी शरीरमा नभएपछि, त्यस्तो अवस्थामा म आन्दोलन सञ्चालन गरिरहेको थिएँ । को थियो त सडकमा ? म सोध्न चाहन्छु माधव नेपाल हुनुहुन्थ्यो सडकमा ?

सँधै नदेखिए पनि वहाँलाई देखिएको हो ?

मैले त यहाँदेखि पैदल कीर्तिपुरसम्म....भक्तपुरसम्म.... अरू ठाउँमा ....

भलै यो आन्दोलनमा भौतिक रूपमा शीर्ष नेताहरू हुनु नहुनले त्यति धेरै मान्यता राख्दैन, तर विपक्षीहरूले जति शक्तिशाली पदमा आउन चाहे .....

त्यो के झूठो हो भने ती कहाँ थिए म सोध्न चाहन्छु । मैले जतिबेला राजतन्त्रका विरुद्ध हतियार उठाएँ, जतिबेला राजतन्त्रका विरुद्ध गणतन्त्रका लागि संघर्षको आवाज उठाएँ । त्यतिबेला वर्षदिन दुईवर्षमा पर्चा छरिँदैनथ्यो । कम्युनिष्टहरू विभाजित र स–साना ग्रुपमा थिए । तिनीहरूलाई एकतावद्ध बनाउनु पर्छ भनेर सानै मुख भए पनि मैले आवाज उठाएको थिएँ । बिगुल फुकेको थिएँ । नेपाली काँग्रेसको ढाड अठार सालमा राजाले भाँचेपछि नेपाली काँग्रेस सिथिल भएर बसेको थियो । दश वर्ष नेपाली काँग्रेस चटपटाउन सकेको थिएन । त्यस्तो बेला झापाबाट नयाँ ढङ्गले आन्दोलन सुरु गरेर लोकतान्त्रिक शक्तिहरू नेपाली काँग्रेसलगायत अरू पनि कोही लोकतन्त्रवादी छ भने या जनताको पनि हिम्मत उठाइएको थियो, गर्न सकिन्छ राजतन्त्रका विरुद्ध केही भनेर । अब, म सोध्न चाहन्छु, राजतन्त्र हटिसकेपछि फोटामा काठको बन्दूकले देखाएर गणतन्त्रवादी हुनेहरूसँग मेरो कुनै बहस छैन । जिउँदो राजासँग लडे कि लडेनन् । जिउँदो काँग्रेसँग, काँग्रसीकरण गरिरहेको बेला काँग्रेसँग को लडेको थियो हिजो ? माओवादी जिउँदो हुँदा को लडेको थियो ? अब त सजिलो छ नि । त्यसकारण मेरो कहिले पनि ... जुन शक्ति प्रमुख छ, जसले देश बढ्ता बिगार्छ, राजाले बिगारेका बेला राजासँग, काँग्रेसले बिगारेका बेला काँग्रेससँग, माओवादीले बिगारेका बेला माओवादीसँग, द्वन्द्व स्वाभाविक हो । अनि जो मान्छे राजनतन्त्रका विरुद्ध संघर्ष गरेर, संघर्ष थालेर, संघर्ष अगाडि बढाएर, अरु लोकतान्त्रिक र वामपन्थी शक्तिहरूको मनोबल उठाएर, एकताको सूत्रमा ल्याएर ... नेपालमा एकताका शर्तहरू केही केही अलिकति भडकावयुक्त पनि हुँदा हुन्, अनुभवको कमी थियो, अध्ययनको कमी थियो, तर पनि एकता आवश्यक छ भनेर, यो शर्तमा एकता गर्नु पर्छ भनेर शर्त अगाडि सार्ने को हो ? अपिल गर्ने को हो ? देशका विभिन्न भागमा घुमेर साथीहरूलाई सम्झाउने को हो ?

यो प्रश्न पछाडिको आधार के हो भने, हुन त यो एक दशक पुग्न लागेको कुरा हो, तर नरेन्द्र मोदी सन् २००१ मा गुजरातको मुख्य मन्त्री भइरहँदा २००२ को नरसंहारको विषयलाई तीन कार्यकाल मुख्य हुँदा धेरै टाउको दुखाएन तर प्रधानमन्त्री हुन लाग्दा त्यो प्रसङ्ग आयो, त्यसैले तपाईँ पनि पार्टीको संसदीय दलको नेता हुँदा सम्म पनि यो प्रश्न उठेन तर अर्को तपाईँले भन्ने गरेको विपक्षी जसलाई तपाईँले उछिट्टो काटेर खिलखिलाएका भनेर शब्द पनि प्रयोग गर्नुभयो, उनीहरूले उचालिरहेको प्रश्न भएकोले, तर त्यो निराधार पनि छैन होला, बैसठ्ठी त्रिसठ्ठीको .... जस्तो कि तपाईँको आफ्नै त हस्ताक्षर छैन, तर तपाईँहरूको केन्द्रीय कमिटीले गरेको निर्णयमा मुकुन्द न्यौपानेजी, विष्णु पौडेलजी, कृष्णगोपाल श्रेष्ठजीले नोट अफ डिसेन्ट नै लेख्नुभएको थियो कि यतिबेला गणतन्त्रमा जाने बेला भएको छैन, त्यो मूल त तपाईँको ढाडस थियो ।

हो । गणतन्त्रको माग एकपल्ट हामीले गर्यौँ सत्ताइस सालमा । गणतन्त्रको माग गरेर आन्दोलनमा उठाइयो । तत्काल गणतन्त्रमा जान सम्भव छैन भनेपछि हामीले त्यस आन्दोलनलाई छाडिदियौँ । त्यो साँचो हो । हाम्रो रणनीतिक हिसाबले भन्ने हो भने हामी गणतन्त्रको पक्षमा हौँ । तर कार्यनीतिक हिसाबले त्यहाँ पुग्न सम्भव छैन भनेपछि हामीले फरक बाटो लियौँ । छयालीस सालको आन्दोलनमा गणतन्त्रमा तत्काल पुग्न सम्भव छैन भनेर काँग्रेस र हामी मिलेर आन्दोलनका लक्षहरू निर्धारण गर्यौँ, मागहरू निर्धारण गर्यौँ । गणतन्त्र थिएन । बैसठ्ठी त्रिसठ्ठीका मैले धेरै भन्न चाहन्न । मागहरू पल्टाउनुस्, हेर्नुस् । त्योभन्दा अगाडि नेपाली काँग्रेसको जब संवैधानिक राजतन्त्र आस्थाको विषय थियो, उसको विधानमा त्यो थियो । नेपाली काँग्रेससँग मिलेर आन्दोलन गर्ने, गणतन्त्र आउँछ भनेर आस गर्ने, त्योभन्दा झूठो कुरा के हुन्छ, भ्रम के हुन्छ ? मैले त्यो कुरा भनेको थिएँ केन्द्रीय कमिटीमा । कार्यनीतिक हिसाबले अझै बेला भएको छैन, हामी एक्लै गणतन्त्र ल्याउन सक्दैनौँ, नेपाली काँग्रेस तयार छैन ।

त्यसैले त्यो निराधार त छैन रहेछ नि ? कि तात्कालीन अवस्थाको कुरा हा ?

त्यो के हो भने बुझ्न नसक्नुको कुरा हो । सदैव गणतन्त्रवादी भएर गणतन्त्रको माग साथै जानु पर्छ कार्यनीतिक रूपमा भन्ने कुरा पनि, झापा आन्दोलन नै ठीक थियो, त्योभन्दा पछि हामीले सच्याएको बाटो ठीक थिएन भनेर कि निष्कर्षमा पुग्नु पर्यो । होइन, सच्याएको बाटो ठीक थियो । हामीले अब आमूल परिवर्तनभन्दा अगाडिका शक्तिहरूसँग मिलेर जानु पर्छ, नेपाली काँग्रेस जस्ता शक्तिहरूसँग मिलेर जानु पर्छ, राजतन्त्रका अधिकार खोसेर जनतामा ल्याउने र लोकतन्त्रलाई सुनिश्चित गर्ने दिशामा जानु पर्छ भन्ने जुन कुरा गर्यौँ त्यो सही थियो कि थिएन त्यसमा बहस गर्नु पर्यो नि । त्यस कुरामा असहमति कसको थियो ?

आजको दिनको गठबन्धन तपाईँहरूको, यो बडा अचम्मको गठबन्धन भन्छन्, हुन त जेलमा पनि तपाईँहरू थुप्रै सँगै बस्नुभयो, काम पनि गर्नुभयो । बामदेव गौतमजी र तपाईँ बाह्रबुँदे समझदारीको पूर्वसन्ध्यामा, बैसठ्ठी त्रिसठ्ठीको आन्दोलनभन्दा अगाडि, तपाईँ राजासँग मिलेर दलहरूले अगाडि बढ्नु पर्छ भनेर त्यतिबेला भनिरहनु भएको थियो, अहिलेको प्रश्न होइन, तर बामदेव गौतमजी माओवादीसँग मिलेर राजालाई पाखा लगाउनु पर्छ भन्नु हुन्थ्यो र अहिले पछाडि पनि संविधानसभाको पहिलो संस्करण पछाडि अथवा यो आठौँ महाधिवेशन पछाडि पनि एमालेलाई चाहिँ बियाँ, माओवादीलाई सग्लो चामल देख्ने बामदेव गौतमजी, अनि तपाईँ सिंहदरवारमा रिसाएको चितुवा रोल्पामा चिठोर्छ भनेर आरोप लगाउने माओवादीलाई कसरी एक ठाउँमा आउनु भयो, दुईवटा ध्रुवका पात्रहरू ?

पहिलो कुरा त के हो भने यो एउटा सिलसिला छ, इतिहास छ । पार्टीलाई एकजुट बनाएर लाने कि नलाने ? स्वस्थ र सहज ढङ्ग बहस, विवाद र छलफल गर्ने कि नगर्ने ? कुनै मान्छेले कुनै राय गलत पनि व्यक्त गर्न सक्छ । त्यस रायको सम्बन्धमा छलफल गरेर, गलत छ भने त्यसलाई पराजित गर्नुपर्छ पार्टी भित्र । त्यसलाई दुश्मनीको रूपमा लिने र व्यवहार गर्ने अनि पार्टीलाई विभाजन र फूटतर्फ लाने, ध्रुवीकरणतर्फ लाने – यो तरिका गलत हो । पार्टीलाई ध्रूवीकरणतर्फ लाने होइन, सही निष्कर्षतर्फ नै लानु पर्छ ।

त्यो चाहिँ दुलाभित्र हात हाल्दा माछा पर्यो भने हातभित्र सर्प पर्यो भने हात बाहिर भनेको जस्तो कुरा भयो । हिजो त झण्डै पानी बाराबारजस्तो अवस्था थियो तपाईँहरू दुईजनाबीच ?

होइन, त्यो त्यस्तो होइन । तपाईँलाई भ्रम पर्यो । बामदेव गौतमजी र म जनताको बहुदलीय जनवाद मदन भण्डारीको अगुवाईमा प्रतिपादन भइरहेका बेला सँगै थियौँ पाँचौं महाधिवेशनमा । चौथो महाधिवेशनमा पनि त्यसको प्रारुप तयार भइरहँदा सँगै थियौँ ।

चौवन्नदेखि मात्रै फरक हो, महाकाली प्रकरणदेखि ?

यसमा विभिन्न मान्छेका तरिकाहरू (अफवाहहरू) भए यसमा म जान चाहन्न । तर कति भने, बामदेव गौतम आठौँमा अर्कातिर लाग्दा ठीक, महान, जयजयकार । नवौँमा केपी ओलीलाई समर्थन गर्दा पूरै सर्वनास भयो । झलनाथजीको उपाध्यक्ष हुँदा राम्रो भयो, जयजयकार भयो । केपी ओली अध्यक्ष हुन्छ र बामदेव उपाध्यक्ष हुने भयो भने त बामदेवकहाँ पार्टी जान्छ नि, सर्वनास हुने भयो – यो कस्तो कूतर्क हो ।

बामदेवकहाँ त जान्छ कि जाँदैन, अब त सत्तरी वर्षे म्याद राखेको छ, अर्को कार्यकाल आउन पाँचवर्ष लाग्छ, त्यो सम्भव नहोला ?

हामीले नवौँ महाधिवेशनमा नेतृत्व हस्तान्तरणको कुरा गरेका छौँ । नवौँ महाधिवेशनमा हामीले नेतृत्व हस्तान्तरण गर्छौँ र छिटो छिटो हाम्रो नीति भनेको नेतृत्व हस्तान्तरणको हो । एउटा मान्छे छेपारो टाँस्सिए झैँ एउटा पदमा टाँसिने होइन । यो जुन अवरोध पार्टीमा नेतृत्वको आयो । पन्ध्र वर्ष नेतृत्व गर्दा पनि उत्तराधिकारी तयार गरिँदैन भने परिवर्तनशील पार्टीको अर्थ के हुन्छ ? नेतृत्वको अर्थ के हुन्छ ।

म त्यसमा एकछिनमा आउँछु । तर अहिले सबभन्दा रोचक कुरा चाहिँ संसदीय दलको चुनावदेखि नै तपाईँको परफर्मेन्स अथवा परिणामको कुराले गर्दा, इश्वर पोखरेलजी पनि अर्को क्याम्पमा भएको कसरी ल्याउन सक्नुभयो ? बामदेव गौतमजीले त मसँग स्वयम् अन्तर्वार्तामा भन्नुभएको थियो कि केपी ओलीले महेश बस्नेत लगाएर मलाई कुट्न खोज्यो, धम्कीपूर्ण एसएमएस आउँछ भनेर भन्नु भएको थियो । अनि दुई–तीन वर्षमै कसरी यू–टर्न भयो, कसरी गराउन सक्नु भयो, त्यो तिलस्मिता कहाँबाट आयो ?

कहिले कहिले के हुन्छ भने, बामदेवजीको आफ्नो स्वभाव छ । वहाँ अलिकति प्रस्तुत हुँदा एग्रेसिभ्ली प्रस्तुत भएको देखिन्छ तर वास्तवमा त्यस्तै होइन । मैले धेरै केही नभनूँ । मलाई आश्चार्य लागेको के भने एकतातिर समर्थन गर्यो उपाध्यक्ष हुँदा ठीक छ, अर्कोलाई समर्थन गरेर उपाध्यक्ष हुन्छु भन्दा चाहिँ बेठिक छ – यो इन्साफ कसरी हुनसक्छ ? अध्यक्ष बेठिक हुन सक्छ, कि झलनाथ खनाल कि केपी ओली को बेठिक भयो बामदेवको हातमा उपाध्यक्ष जस्तो कार्यभार दिने । त्यो हुन सक्छ तर बामदेव त हुँदैन नि । बामदेवको ठिक छ भने, एउटाको उपाध्यक्ष हुँदा ठिक, अर्कोको उपाध्यक्ष हुँदा बेठिक भन्ने जुन कूतर्क हो – सर्वनाश भयो, पार्टी खत्तम भयो, आन्दोलन खत्तम भयो, यसरी त समाप्तै हुने भयो भनेर जुन एउटा कोकोहोला मच्चाइएको छ नि – यो स्याल हूइयाँका पछाडि कुनै दम छैन ।

तपाईँहरूले विधानको कुरा गर्दा, हुन त त्यो अक्षरस लागू हुँदैन किनभने माधव नेपालजी पचास सालदेखि अस्ति चौसठ्ठी पैँसठ्ठी बैशाखसम्म महासचिव भएको प्रमुख कार्यकारी पदमा त हो तर अध्यक्ष भन्ने शब्द छैन र आठौँ महाधिवेशन पछाडि निर्णय गर्नु भयो, त्यो दूरदर्शी नियम नभएर भविष्यदर्शी हुने भएकाले, त्यस पछाडि त पाइएला नि दुई कार्यकाल ? त्यो दावी गर्नु हुन्छ वहाँहरूले ।

नामाकरणको केही अर्थ हुँदैन । नाम त तपाईँले साहित्यिक नाम राख्न सक्नु हुन्छ, साँस्कृतिक नाम राख्न सक्नु हुन्छ, पत्रकारिताको क्षेत्रमा अर्कै नाम राख्न सक्नु हुन्छ, न्वारानको नाम अर्कै हुन्छ वा वास्तविक नाम अर्कै हुन सक्छ । वहाँ कस्तो महासचिव हुनुहुन्थ्यो ? अहिलेको अध्यक्षसँग तीनजना उपाध्यक्ष, अहिले पो दुईजना भए त, तीनजना उपाध्यक्ष, महासचिव, तीनजना सचिवका बीचमा त पावर सेयर गर्नुपर्यो । फेरि सँगै काम गरेका, समकक्षी भनेका प्रतिष्ठित वरिष्ठ भनिएका नेताहरू छन्, तिनीहरूसँग पनि सँगै काम गर्नु पर्यो । त्यो स्थितिमा दशौँ मान्छेसँग पावर सेयर गर्नुपर्यो, अहिलेको अध्यक्षले । आठौँ महाधिवेशनभन्दा यताको अध्यक्षात्मक व्यवस्थाको अध्यक्षले । त्योभन्दा उहिले मनमोहनजीलाई हामीले बनायौँ अध्यक्षात्मक व्यवस्था नभएको बेला, सेरेमोनियल । किनभने पार्टी एकीकरणपश्चात वहाँको टावरिङ पर्सनालिटीको लागि एउटा पद चाहिन्थ्यो । त्यतिको लागि हामीले अध्यक्ष भनेर राख्यौँ र बैठकको अध्यक्षता गर्न दियौँ । बाँकी केही पनि दिएन । सरकार बन्दा प्रधानमन्त्री दियौँ । तर रक्षा मन्त्रालय त नदिएको हो नि त । सरकार सञ्चालन गर्ने जिम्मा पार्टीले महासचिव प्रमुख नेता भएको हुनाले माधव नेपाललाई जिम्मा लगाउने कुरा लिखित निर्णय गरेको हो । प्रधानमन्त्री नै प्रमुख बुझिन्छ भनेर उपप्रधानमन्त्री प्रमुख बुझिने सम्मको, त्यो पनि निर्णय साथीहरूले गराउनु भएकै हो । त्यति सेरेमोनियल मात्रै हो । त्यतिखेरको महाचिव भनेको वान म्यान सो हो । उपाध्यक्ष छैन, महासचिव छैन, सचिवहरू छैन, कसैले वरिष्ठ हुन दिनु हुन्न । मनमोहनजी बितिसकेपछि पनि कसैलाई खाली ठाउँमा त अध्यक्ष वहाँले हुन दिनु भएन । नासेन्ता बहुनायका भनेर संस्कृतमा पढ्न लगाउनु भयो । बहुनायक हुनु हुँदैन । डेमोक्रेसीमो एकल नायकत्व, यो जङ्गबहादुरिय प्रणाली होइन । बहुनायकत्व हुन्छ । बहुपदीय संरचना, सामूहिक नेतृत्व, डेमोक्रेसी भनेकै त्यही हो ।

विधानत वहाँ उठ्न पाउनु हुन्छ अध्यक्षमा होइन ? नैतिकताको प्रश्न तपाईँले भनेको जस्तो तीन कार्यकालको कुरा के गर्ने हो भन्ने होला ।

वैधानिक र नैतिक हिसाबले पनि उठ्न पाउनु हुन्न ।

त्यसो भए तपाईँ सर्वसम्मन भइहाल्नु भयो नि ?

अलिकति विवाद हुन्छ भन्ने कुरा छ । वहाँ जोर जुलुमसँग आइरहनु भएको छ, हुँदै होइन यो, विधानको अपव्याख्या भनेर । अध्यक्ष भन्ने शब्दको पदमा मैले नहालेको हुनाले, पहिले नगरेको हुनाले, महासचिवको पद भएको हुनाले, यस्तो भनेर ।

विधानमा के छ त थहा छैन तर अब उपरान्त दुई कार्यकालभन्दा नपाइने छ रे, उपरान्त भन्ने छ रे ?

हाम्रो स्पिरिट ल्याउनु पर्यो नि । हामीलाई चाहिएको दुई कार्यकाल भन्दा एउटा मान्छे बाँचिञ्जेल, आँखा हेरिञ्जेल, सास फेरिञ्जेल लिड नगरोस् भन्ने होइन हाम्रो उद्देश्य । हाम्रो उद्देश्यमा जानु पर्यो नि । हामीले कुनै मुद्दा लड्न खोजेको त होइन नि । हामीले त पार्टीलाई, आन्दोलनलाई गतिशील बनाउन खोजेको हो भने हाम्रा उद्देश्यमा जानु परेन । हामी एक अवधिका लागि एउटा नेता छान्छौँ ।

तपाईँलाई त स्वास्थ्यले पनि साथ दिँदैन भनेर तपाईँलाई भन्न कन्फिडेन्स भयो ?

स्वास्थ्यले साथ दिँदैन भनेर तपाईँले भन्नु भयो, कहाँको ज्योतिश लगाउनु भयो, कहाँ पढ्नु भयो ज्योतिश शास्त्र म बुझ्दिन ।

तपाईँ संसदीय दलको नेता निर्वाचित भइसकेपछाडि तपाईँको अध्यक्षतामा एकपटक पनि बैठक भएको छैन, भलै दुईपटक झलनाथजीले चलाउनु भयो भने यो नजीरले देखाउँछ नि ?

तुरुन्तै म छानिनेबित्तिकै प्रशिक्षण कार्यक्रमहरू भए । जसले सांसदहरूलाई गाइड गर्यो । जस्तो हल्ला छ त्यस्तो होइन । जब म बिरामी परेर हस्पिटल गएँ मैले व्यवस्था गरेको थिएँ । उपनेताको काम फलानाले हेर्दै गर्ने । प्रमुख सचेतकको काम फलानाले हेर्दै गर्ने । मेरा विरुद्ध आक्रमण हुने र चुप लाग्ने र आनन्द लिने । त्यो प्रवृत्ती केही पक्षमा भएको हुनाले केही मान्छे उफ्रेका मात्रै हुन् । सबैले त लिड त गर्दैन नि । लिड गर्ने त केही हुन्छ । त्यो लिड गर्नेहरूमध्ये, त्यसरी जान, बामदेवजी सरकारमा गइहाल्नु भयो, इश्वरजी दलमा हुनुहुन्न, शंकरजी हुनुहुन्छ । यसले गर्दा केही मान्छेहरू उफ्रेर मेरो विरोध गर्ने मौका पाए । खासगरेर नवौँ महाधिवेशनलाई .... दलको नेता जित्दा त काम गर्न सकेनन् .... यो भन्दा अगाडि चारवर्ष दलको बैठक एकपल्ट पनि बसेन । विधान पास भएन । उपनेता दुई–दुई पल्ट तोकियो, नियुक्त भएन । कहाँ गति आयो ? एकपल्ट प्रशिक्षक कार्यक्रम भएन । अहिले कसैले भनोस्, म छानिने बित्तिकै दुई–तीन वटा प्रशिक्षण कार्यक्रमहरू भए ।

त्यसभित्र पनि जे–जे गर्नु भयो तपाईँले त्यो चाहिँ महाधिवेशनको पूर्वअभ्यास थियो भनेर आरोप लगाउँछ ?

मैले बेस्सरी काम गर्छु । देशमा परिवर्तन ल्याउनका लागि सुदृढ ढङ्गले, स्पष्ट दृष्टिकोण र सुदृढ कदमका साथ अगाडि बढ्छु । आरोप लगाउनेलाई के मन लाग्छ त्यो लगाउन् ।

लोकतन्त्रको अघि कुरा गर्नु भयो । एउटै व्यक्ति सँधै जङ्गबहादुर भइरहँदैन भन्नुभयो । अनुमोदन गर्यो भने फेरि त्यो पाउला, विधानले पनि । तर चार–पाँच वर्ष अगाडि तपाईँ यही पदमा हारेको व्यक्ति । त्यही पदमा पाँचवर्ष अगाडि अस्वीकृत भइसकेको व्यक्ति पाँचवर्ष पछाडि फेरि उम्मेद्वार बनेर आउनु चाहिँ लोकतन्त्र हो त ?

हो । म पाँचवर्ष पहिले नै हुनुपथ्र्यो । त्यतिबेला मैले साथीहरूलाई बुझाउन सकिन भन्ने कि धेरै अस्वस्थता रहने खालका कुराहरू चले, तिनलाई मैले रोक्न सकिन । रोक्न पथ्र्यो । प्रतिनिधि मात्रै भएको भए मैले जित्थेँ । गैरप्रतिनिधिहरू जम्मा गरेर, त्यो महाधिवेशन .... प्रमुख अतिथि को थियो त्यो महाधिवेशनमा ? त्यहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्ड प्रमुख अतिथि हुनुहुन्थ्यो र वहाँले त्यसबेला कता सहयोग गर्नुभयो मैले अहिले भनिरहनु पर्दैन ।

वहाँ पार्टीको सदस्यता भएको होइन, माओवादी हो, भोट त तपाईँकै सदस्यले हाल्ने हो नि त ?

भोटको कुरा मात्रै होइन नि । वातावरण बनाउने कुरा हुन्छ । सेन्टिमेन्ट जगाउने कुरा हुन्छ । त्यहाँ धेरै चिजको चलखेल भएको छ । पुष्पकमल दाहालजीलाई सोध्नुहोस् ।

खैर, तपाईँहरू दुवै जनाले संयुक्त रूपमा अध्यक्षको प्रत्यासी र विजेतालाई......

मेरो अपेक्षा थियो । मैले तत्काल अङ्कमाल गरेर, गलो लगाएर, माला लगाएर, बधाइ दिएर, म पूर्ण रूपमा सघाउँछु भनेको थिएँ । तर सहयोग नलिए पछि कसको के लाग्छ ।

रोचक प्रसङ्ग के छ भने, तपाईँलाई त स्मरण भइहाल्छ, तर त्यस पछाडिको पहिलो केन्द्रीय समितिको बैठकमै तपाईँले के भन्नु भएको थियो भने त्यतिबेला, एक नम्बरमा अध्यक्ष भइहाल्नुभयो पोर्टफोलियोमा, दुई नम्बरमा यसअघि महासचिव भइसकेको अथवा अध्यक्ष भइसकेकोलाई वरिष्ठ नेता दिने चलन नै छ, तीन नम्बर पद नपाएसम्म कुनै कमिटी नै चल्न दिनु भएन तपाईँले ?

होइन । मैले कहिल्यै .... केही भनेँ । मैले के भनेँ भने म कतिपय साथीहरूभन्दा ...

अहिले पोर्टफोलियोमा तीन हो, त्यो बार्गेनिङ्गबाटै हो नत्र चल्नै दिनुभएन भन्छन् ?

होइन, गलत कुरा हो । मैले त्यस्तो कुरा कहिल्यै पनि गरिन र स्वतः बुझेको जानेको कुरा के छ भने म धेरै साथीहरूभन्दा आमरूपमा सिनियरमा पर्छु । कतिपय अवस्थामा म उमेरभन्दा कम होला । तर मैले अघि भनेँ नि पञ्चायतका विरुद्ध पात नहल्लिएको बेला बन्दुक पड्काएर उद्घोष गरेको हुँ । एउटा नयाँ आन्दोलनको सिर्जना गरेको हुँ । गणतन्त्रको उद्घोष गरेको हुँ । लोकतन्त्रको उद्घोष गरेको हुँ । त्यसले र त्यस आन्दोलनले दिएको तरङ्गले मलाई यसै राजनीतिमा .... ज्यान जोखिममा राखेपछि केही प्रतिकूलता र केही अनुकूलता त हुँदो रहेछ नि ।

यसको त तपाईँले अस्वीकार गरिसक्नु भयो नि, भिडियो क्लिप्स छैन, तर भन्छन् ?

होइन, भिडियो क्लिप्स भए पनि केही हुँदैन । म दश वर्ष मात्रै होइन बीस वर्षपछि आज मैले गरेका कुराहरूको तपाईँले जवाफ माग्नु भयो भने....

यो सन्दर्भ होइन, त्यति बेलाको ?

त्यति बेलाको पनि । बीस वर्ष त भएको छैन नि तपाईँ पाँच वर्ष अगाडिको कुरा गर्दै हुनुहुन्छ । बीस वर्ष अगाडि पनि तपाईँले यो भन्नु भएको थियो, यसको जवाफ के हो भनेर सोध्नु भयो भने म जवाफ दिन्छु ।

त्यही बैठकमा तपाईँले म नेतृत्व पनि मान्दिन, यो नीति पनि मान्दिन भनेर त भन्नु भएको थियो नि ? आवेगमा । साक्षी पनि छ नि त ?

थिएन । बिलकुल गलत कुरा हो । त्यस्तो साक्षी, दूधको साक्षी ढाडे बिरालो कोही हुन सक्छ । न म त्यस्तो आवेस उत्तेजनामा आउँछु न केन्द्रीय कमिटीको बैठकमा नीतिगत कुराहरूबाहेक कहिल्यै बोल्छु । न बिचबिचमा उठेर म बोल्छु भनेर जङ्गिएर बोल्छु । कतै बोल्दिन । मैले राख्नै पर्ने कुरा छ भने सेन्ट्रल कमिटीको बैठकमा मेरो बोलाइ औपचारिक ढाँचाको हुन्छ र नीतिगत हुन्छ । बोल्न पर्नेछ भने मैले यस विषयमा म समय लिएर बोल्छु भनेर अध्यक्षसँग समय लिएर बोलेको हुन्छु । र, त्यस्ता सानातिना कस्का पद, के कस्का पद, म अध्यक्ष नै लडेको हुँ, नजितेपछि सिधियो । मैले जब परिणाम स्वीकारेँ सिधियो । त्यसकारण म फेरि तेस्रो पोर्टफोलियोका लागि लड्ने भन्ने त्यो बेकारको गलत कुरा हो । बैठकमा केही साथीहरूले भनेका थिए, केपी ओलीलाई तेस्रो पोजिसनमा राख्नु पर्छ, मर्यादामा भनेका थिए । सम्भवतः त्यो जायज नै कुरा थियो । तर सेन्ट्रल कमिटीको लिडरसीपले र मुख्य मुख्य लिडरसीपले त्यो कुरा नमानेको हुनाले सेन्ट्रल कमिटी त्यहाँ अलिकति सप्रेस गरियो, दबाइयो, चुप लाग्यो । मैले बोल्ने कुरा केही थिएन, मैले केही पनि बोलिन । त्यसकारण तपाईँले जे सुन्नुभयो नि त्यो सुनेको कुरा बिलकुल निराधार हो, यो त प्रसारण हुने कुरा हो । यो त कार्यकर्ताको बीचमा जान्छ, जनताको बीचमा जान्छ । मसँग वरव्यवहार, संगत र सम्बन्ध गर्दा एकजनाले होइन, मैले भनेको छु कि मेरो जीवन नै किताबको खुल्ला पानाजस्तो रहेको छ ।

त्यो त हामीले पनि पाउँछौँ, यो अन्तर्वार्ता लिइरहँदा क्यामरा अन भइसकेपछि मात्रै तपाईँ खरो, वाकपटु, एकदमै उखानटुक्का मिलाएर झर्रो झरल बोल्ने तर अरू बेला त बडो सादगी सादा हुन्छ, तपाईँ जस्तो देखिनु हुन्छ, तपाईँको बोली र लवज पनि त्यस्तै छ, अरू बेला, क्यामरा अफ गरेपछि ?

क्यामरामा पनि म कहिल्यै पनि बनावटी कुरा गर्दिन, आडम्बरी कुरा गर्दिन, झूठो कुरा गर्दिन, प्रमाणलाई गलत ढङ्गले पेश गर्दिन । क्यामरामा बोलेको कुरा, तपाईँको टेलिभिजन जहिलेबाट स्थापित भयो, जहिलेबाट इन्टरभ्यु लिनु भएको होला, जहिलेबाट फुटेज लिनुभएको होला टिप्पणीको रूपमा, त्यसबेलादेखिको खोजेर ल्याउनुस् हरेक कुराको जवाफ दिन्छु ।

अब अर्को आरोप पनि, अलिअलि यथार्थ पनि, तपाईँले जसलाई संरक्षण गर्नुहुन्छ, पार्टीभित्र आफ्नो क्याम्प जसरी निर्माण गर्नुभएको छ, त्यहाँचाहिँ क्वाँटी टाइपको क्या, तपाईँ आफै कुनैबेला माओवादीलाई भन्ने गर्नुहुन्थ्यो नि, डन, चरीदेखि, बाबुरामदेखि लिएर परशुरामसँग सबै मिसाउने, त्यो चाहिँ एउटा उर्वर केपी ओलीको छहारी छ भन्छन् ?

मलाई आश्चर्यचकित लाग्छ त्यसमध्ये म कसैलाई पनि राम्ररी जान्दिन ।

भेट्न जानुभएको थियो चरी घाइत हुँदा ?

सम्भवत गएँ । चरीले अरू सबै कुरा छोडेर नेकपा (एमाले) क्षेत्र नं. १ धादिङको उपाध्यक्ष पदमा निर्वाचित भएर आएपछि, मेरै प्रोग्राममा गएर फर्किँदा गोली लागेपछि म दिनेश अधिकारीलाई भेट् गएँ । रामेछापमा गएँ, साढे तीनसय–चारसय कार्यकर्ताको नाम पढेर पार्टी प्रवेश गरायो, मैले टिको लगाइदिएँ । त्यहाँको सचिवले नाम पढ्नुभयो, लाइनमा युवाहरू आए, कुण्डल लगाएका पनि थिए, कपाल बाटेका पनि थिए, कपाल लामो भएका पनि थिए, पेन्ट उधारेका पनि थिए, सबै खालका थिए । त्यो मेरो रुचीको विषय पनि होइन, मेरो कुरा पनि होइन, मेरो जिम्मेवारीको विषय पनि होइन । यी मान्छे को–को हुन् मैले सोधेर साध्ये पनि हुँदैन, तीनसय–चारसय मान्छेलाई । मैले त टिका मात्रै लगाइदिएँ । त्यहाँ अधिकांश तामाङहरू, जनजातिका मान्छेहरू अधिकांश थिए । नब्बे प्रतिशतभन्दा माथि थिए । बेलुका सुन्यौँ बाहुन प्रवेश गरायो भन्ने । मैले ठट्टा गरेँ, त्यत्रो जनजाति र अरू मान्छेलाई प्रवेश गराएकोमा बाहुन प्रवेश गरायो भन्ने ? त्यसमध्ये कोही बाहुन पनि हुन सक्छ, कोही क्षेत्री पनि हुन सक्छ । म कसैलाई चिन्दिन, कसैलाई जान्दिन । प्रवेश गर्ने मध्ये, जब कि पहिलो दिन एमाले प्रवेश गर्दैछन् भने म चिनूँ कसरी ? मैले त एमालेका नेता चिन्ने हो । पहिलो दिन एमालेमा प्रवेश गरेको मान्छे त मैले चिनेको हुँदैन । ति मान्छे आए, लाइनमा बसे भने बेग्लै कुरा । अर्को, सञ्चारमाध्यमहरूले हावादारी खबर के दिए भने होटलमा केपी ओलीले सदस्यता पुर्यायो भनेर हावादारी समाचार दिए, जुन शतप्रतिशत हावादारी हो, त्यो फेरि बुझे हुन्छ । त्थयहरू लुक्दैनन् । आज लुक्ला । हिजो त्यहाँ प्रवेश गरेको बेला लुक्ला । अलि पछि गएर त उदाङ्ग भइहाल्छ नि । तिनै जसलाई तपाईँ बाहुन भन्दै हुनुहुन्छ, ति बाहुनले भन्लान् । अब परशुराम वस्नेत । म उपचारका लागि इण्डिया जाँदैथिएँ र मेरो सानो कामले श्रीलङ्का पनि पुग्नुथियो । म श्रीलङ्कामा पुगेको थिएँ, यहाँ उधुम मच्चियो, परशुराम वस्नेत लुकाउन गयो भनेर । त्यसको अघिल्लो दिनतिर त्यहाँ घटना भएको रहेछ । तर जस्तो बनावटी घटना त्यहाँ बनाइयो नि, त्यस्तो घटना होइन, पछि पत्रकार सम्मेलन पनि गराएँ के भएको हो भनेर । एउटै बाइकमा तीनजना सँगै जाँड खाएर फर्किँदै गर्दा भनाभन गरे, ओर्लेर, बढी जाँड खाएको हुँदो हो, अनि लघु शंकाका लागि ओर्लिए, त्यहीँ भनाभन गरे, एउटाले रिसाएर प्वाङ्ग दियो । भएको त्यति हो । एउटा गुर्रर पुगेर पुलिसको शरणमा गयो, सिधियो । त्यसमा कुनै, आँप बगैंचामा बीस–पच्चीसजनाले घेरेर, अपहरण गरेर लगेर मार्ने कोशिस गरेर, त्यहाँबाट उम्किएको भन्ने कुरा त साँचो होइन नि त । त्यो झूठो हो र ति तीनैजना साथी हुन्, सँगै खाने, सँगै बस्ने ।

जसरी महाधिवेशनको पूर्वसन्ध्यामा तपाईँहरू दुईजना अध्यक्षको प्रत्यासीले नै उछिट्टो काढाकाढ ?

म त कुनै उछिट्टो काढ्ने कुरामा रुची राख्दिन । म वहाँका कमी कमजोरी सँगै काम गर्दा थाहा नभएको होइन । तर कुनै समीक्षाको घडीमा होइन, समीक्षा गर्न महाधिवेशनकै हामी कहिले समीक्षा गरेका छौँ, कुन महाधिवेशनको समीक्षा गरेका छौँ ? महाधिवेशनका कमी के रहे, के सच्याउनु पर्छ, राम्रा पक्ष के रहे, केलाई बढाउनु पर्छ कहाँ गर्यौँ ? ढाकछोप गर्ने काम मात्रै लिडरसीपले गर्यो । त्यो किन गर्यो भने कमजोरीहरूले ग्रस्त रह्यो । कमजोरीले ग्रस्त भएपछि ढाकछोप गर्नु पर्यो कमजोरीहरू । .... मैले टिप्पणी गरेको बेला पनि भनेँ वहाँ निरोगी हुनुस्, चिरञ्जीवी हुनुस्, कमसे कम सयौँ वर्षको आयु होस् । वहाँले नेपाल र नेपाली जनताका लागि लामो समयसम्म काम गर्न सक्नुहोस् । अरु कस–कसलाई काम गर्नु पर्छ त्यो गर्नुस् । नेपाल र नेपालीका जे गर्नु पर्छ राम्रो काम गर्नुहा्स् । मेरो त्यही सदासयता छ, त्यही ..... । म वहाँको योगदानलाई घटाउन पनि चाहन्न । वहाँको छिट्टो काट्ने पनि मेरो काम होइन । वहाँ मेरो साथी हो । मैले कमी कमजोरीहरू देखेको छु । ति कमी कमजोरीहरूको सम्बन्ध चर्चा गर्ने, उछाल्ने मेरो काम होइन । म प्रतिस्पर्धाका लागि गएको पनि छैन । पन्ध्रवर्ष वहाँले नेतृत्व गर्दा म प्रतिस्पर्धामा कहिल्यै गइन, सहयोग मात्रै गरेँ । तर, जब पार्टीको सिङ्गो नेतृत्व, सिङ्गो पार्टी पङ्क्तिले वहाँलाई दोहोर्याउनु हुन्न भन्दाखेरी पनि वहाँ कुनै हालतमा मलाई अध्यक्ष हुन नदिन उद्यत हुनुहुन्छ, उद्देश्य अरू केही होइन । तपाईँले सोध्नुहोस्, अरू कोही भए पनि हुन्छ । त्यसो भए मैले छोडेँ भने लौन त चारजना पुरानाले छोडुन् नि त, भन्नु हुन्छ के त । कि त अर्को लिडरसीपमा पुर्याउनु पर्यो नि भन्नु हुन्छ । बामदेवजीकोमा जानु हुन्छ र केपी ओलीलाई नदिउँ न त, तपाईँ हुनुस् भन्नु हुन्छ । त्यो भत्काउनका लागि । झलनाथजीकहाँ जानु हुन्छ त्यही भन्नु हुन्छ । इश्वरजीलाई त्यसै भन्नु हुन्छ । तपाईँलाई समर्थन गर्छु, तपाईँ तयार हुनुस् न भनेर । वहाँका प्रयासहरू नभएका होइनन् । अब, वहाँले मैले यति लामो समयसम्म सहयोग गर्दा पनि यति संकीर्ण लिएर मेरो विरुद्ध किन ... मैले बुझेको छैन । तर म अहिले पनि अन्तिममा गएर वहाँ उठ्नु हुन्छ भन्ने म ठान्दिन किनभने वहाँ उठ्नु पनि हुन्न, जित्न सम्भव छैन । पार्टी पङ्क्तिदेखि जनतासम्म सबैले महसूस गरेको कुरा छ ।

अब अन्तिममा, त्यसो भए केपी ओली नेकपा (एमाले) को अध्यक्षको उम्मेदवार र भावी अध्यक्ष आएपछि पार्टी र देशले के पाउँछ ?

मेरो जीवन खुल्ला किताब हो । विभिन्न जङ्क्चरमा, विभिन्न समयमा .... विभिन्न समयमा वैचारिक सङ्घर्ष .... ति वैचारिक सङ्घर्ष सही सावित हुने कुरा । ति सबै कुरालाई हेरेर नै एकमत यसरी मेरो समर्थनमा प्रस्तावका साथ मन खोलेर आएको हुनु पर्दछ ।

हुन्छ, तपाईँलाई स्वास्थ्य लाभको कामना सहित धन्यवाद ।

धन्यवाद ।