NP EN

सिधा कुरा प्रधानमन्त्रीसँग (श्रृङ्खला १)

आज एउटा विशेष दिन हो । बैसठ्ठी त्रिसठ्ठीको ऐतिहासिक, शान्तिपूर्ण र सफल जनआन्दोलनको रूपमा चिनिने आन्दोलन ०६३ साल बैशाख ११ गते एउटा निष्कर्षमा पुगेको थियो र ठूलो परिवर्तन त्यसले ल्याएको थियो । आज त्यस दिनको अवसरमा, जनताको सफलताको त्यस दिनको अवसरमा म सम्पूर्ण नेपाली जनतालाई बधाइ ज्ञापन गर्न चाहन्छु, शुभकामना भन्न चाहन्छु । आज त्यस आन्दोलन र त्यसभन्दा अघिका आन्दोलनहरू र बलिदानबाट प्राप्त अधिकारहरूलाई संस्थागत गर्ने काम भइसकेको छ, संविधान बनेको छ । आज हामी संविधानसभाबाट संविधान बनिसकेको एउटा अवस्थामा छौँ । त्यसकारण जनताका हकअधिकारहरू सुरक्षित, सुनिश्चित भएका छन् ।
 



Sidha Kura PM Sanga - सिधा कुरा प्रधानमन्त्री संग, (Ep. 1)
Published on Apr 30, 2016
All the videos on this channel has copyright by Nepal Television.
Approved by Mr. Rabi Lamichhane

 



सिधा कुरा: नेपाल टेलिभिजनको इतिहासमा पहिलो पटक जनताले आफूले निर्वाचित गरेको प्रधानमन्त्रीलाई सिधै प्रश्न सोध्न पाइने यो कार्यक्रम आज यसकारण पनि विशेष छ कि आज हामीले लोकतन्त्र प्राप्त गरेको दशवर्ष पूरा भएको छ । बैशाख ११ गते हामीले यो मुलुकमा लोकतन्त्रको स्थापना गरेका थियौँ र यसै अवसर पारेर हामीले यो विशेष कार्यक्रम प्रस्तुत गर्न पाउँदा हामीलाई गर्वको महसूस भएको छ । हामी आजबाट यो कार्यक्रमलाई प्रत्येक शनिबार राति ८ः४५ बजे सुरुवात गर्ने तरखर गरिरहेका छौँ । सिधा कुरा प्रधानमन्त्रमा तपाईँले आफूले चुनेको प्रधानमन्त्रीलाई सिधै प्रश्न सोध्न सक्नु हुनेछ ।

तपाईँका गुनासाहरू, तपाईँका जिज्ञासाहरूलाई म प्रस्तुत गर्ने कोशिस गर्नेछु । आज यो कार्यक्रम सुरु हुन्छ भन्ने थाहा पाएर केही महानुभावहरू केही प्रश्न पनि पठाउनु भएको छ तिनलाई पनि समावेश गर्ने कोशिस गर्दछु ।

सबैभन्दा प्रधानमन्त्रीज्यू यो कार्यक्रम सुरुवात हुन्छ भन्ने विभिन्न माध्यमबाट जानकारी गराउँदा केही मानिसहरूले यो कार्यक्रम तय गरिएको स्क्रिप्टेड प्रोग्राम हो कि भन्ने पनि जिज्ञासा राख्नु भएको छ । एकदम प्रश्न पनि तयार हुने, उत्तर पनि तयार हुने हो कि भन्ने एउटा जिज्ञासा गर्नु भएको छ, शंका गर्नु भएको छ । त्यो शंकाबाट आजको कार्यक्रम सुरुवात गर्न चाहन्छु ।

प्रम: पहिलो कुरा त अहिलेको सरकार र म प्रधानमन्त्रीको रूपमा नेपाली जनताले निर्वाचन गरेको संसदबाट निर्वाचित जनप्रतिनिधिको हैसियतमा, एउटा अत्यन्त विष्म परिस्थितमा, विशेष अभिभाराका साथ, अप्ठ्यारा र कठिनाइहरू पनि छन्, विशेष चुनौतीहरू पनि छन्, तिनीहरूलाई पार गर्ने मनसायका साथ यस जिम्मेवारीमा रहेको छु । र, यो जिम्मेवारी कसरी सफल ढङ्गले सम्पादन गर्न सकिन्छ त्यसमा मेरो ध्यान छ । त्यसका निम्ति यो कार्यक्रम, खासगरी प्रत्यक्षरूपमा यो बनीबनाउ प्रश्न, बनीबनाउ उत्तरभन्दा प्रत्यक्षरूपमा जनतासँग कुराकानी गरेर जनताका रायसुझावहरू, जनताका भावना, धारणाहरूलाई लिने र तत्सम्बन्धमा जवाफ मात्रै होइन व्यवहारिकरूपमा नै वहाँहरूले उठाएका प्रश्नहरूको, जिज्ञासाहरूको समाधान पनि प्रस्तुत गर्ने गरीको यो कार्यक्रम हो । त्यसकारण यसलाई कसैले बनीबनाउ, एउटा प्रचारात्मक कार्यक्रमको रूपमा नबुझ्दा राम्रो हुन्छ ।

सिधा कुरा: सबभन्दा पहिला कार्यक्रमको सुरुवातमै मैले जनताका जिज्ञासाबाट नै सुरु गरेँ र अर्को प्रसङ्ग, आज मुलुकमा लोकतन्त्र सुरु भएको दशवर्ष पूरा भएको छ, बैशाख ११ गते । यस अवसरमा र पत्यक्षरूपमा प्रधानमन्त्रीज्यू यस स्टुडियोमा उपस्थित भएको यो अवसर पारेर सम्पूर्ण देशवासीहरूलाई केही सन्देशबाट कार्यक्रम सुरुवात गरौँ कि ?

प्रम: आज एउटा विशेष दिन हो । बैसठ्ठी त्रिसठ्ठीको ऐतिहासिक, शान्तिपूर्ण र सफल जनआन्दोलनको रूपमा चिनिने आन्दोलन ०६३ साल बैशाख ११ गते एउटा निष्कर्षमा पुगेको थियो र ठूलो परिवर्तन त्यसले ल्याएको थियो । आज त्यस दिनको अवसरमा, जनताको सफलताको त्यस दिनको अवसरमा म सम्पूर्ण नेपाली जनतालाई बधाइ ज्ञापन गर्न चाहन्छु, शुभकामना भन्न चाहन्छु । आज त्यस आन्दोलन र त्यसभन्दा अघिका आन्दोलनहरू र बलिदानबाट प्राप्त अधिकारहरूलाई संस्थागत गर्ने काम भइसकेको छ, संविधान बनेको छ । आज हामी संविधानसभाबाट संविधान बनिसकेको एउटा अवस्थामा छौँ । त्यसकारण जनताका हकअधिकारहरू सुरक्षित, सुनिश्चित भएका छन् । यति बेला म स्वभाविकरूपमा यहाँसम्म नेपाललाई ल्याइपु¥याउन, यस आन्दोलनको क्रममा आफ्नो जीवन आहुति दिने र दुःख कष्ट गरेर योगदान पु¥याउनेहरूप्रति श्रद्धासुमन र धन्यवाद ज्ञापन गर्न चाहन्छु । प्रशंसा गर्न चाहन्छु सबैको ।

सिधा कुरा: प्रधानमन्त्रीज्यू, भूकम्प गएको एकवर्ष बितिसकेछ । अब सरकारलाई र यहाँलाई पनि गरिएका आलोचनाहरूको बारेमा कुरा गर्न चाहन्छु । सबभन्दा पहिला जनगुनासो यो छ कि यो सरकारले एकवर्ष बितिसक्दा पनि पीडितहरूको सम्बोधन सही ढङ्गले गर्न सकेन, मानिसहरू पालमा बस्न विवश भएका छन्, मानिसहरू आश्वासन मात्र पाउन सफल भएका छन् तर न्यानो पाउन सकिरहेका छैनन् भन्ने गुनासो व्याप्त छ, व्यापक रूपमा सबैले गरिरहेका छन् । यसलाई कसरी सम्बोधन गर्न चाहनु हुन्छ ?

प्रम: बैशाख १२ गते एउटा दुःखको दिन हो नेपालका लागि, पिडाको दिन हो । यो दुःख, यो पिडा लामो समयसम्म नेपालीहरूको लागि एउटा तितो स्मृतिको रूपमा रहनेछ । तर पनि यो प्राकृतिक विपत्ती हो । यतिबेला म दिवंगत हुने सबैप्रति र दुःख पाउने सबैप्रति श्रद्धासुमन र सहानुभूति प्रकट गर्न चाहन्छु । वहाँहरूको कष्टमा म, त्यो कष्टको एउटा सहभागिता आफू पनि लिन चाहन्छु । जुन आलोचनाको कुरा छ – पहिलो कुरा यसभन्दा पछि मैले नै हो एउटा स्वयंसेवक परिचालन गरेर आफ्नै तर्फबाट गैरसरकारी ढङ्गले, गैरसरकारी संस्थाबाट होइन, अन्त कतैबाट रकम आएर होइन, आफ्नै पैसाले पार्टीगत रूपमा, म त्यतिबेला सरकारमा थिइन, स्वयंसेवकहरू संगठित गरेर, परिचालन गरेर दिनमा बाइस हजार देखि तीस हजारसम्म दैनिक स्वयंसेवकहरू परिचालन गरेर एक महिनाभित्र २७,२७६ घरहरू निर्माण गरेर (अस्थायी आवासहरू) जनतालाई बसाइयो, जो अत्यन्त अप्ठ्यारो स्थितिमा थिए र जो आकाशमुनि थिए । एकहजार तेह्र वटा विद्यालयहरू बनाएर पठनपाठन सुरु गराइए । त्यसैगरी २२ हजार भग्नावशेषहरूलाई सफा गर्ने कामहरू भए । त्यो साधारणतया गर्न सकिने कुरा होइन । सत्ताइस हजारभन्दा बढी अस्थायी आवासहरू निर्माण गरेर जनतालाई हस्तान्तरण गर्नु सानो कुरा होइन । र, अरु थुप्रैले पनि आफ्ना आफ्ना क्षमताअनुसारका कामहरू गरे त्यस सम्बन्धमा । म नेपाली जनतालाई धन्यवाद भन्न चाहन्छु । तर जहाँसम्म केही पनि भएन भन्ने कुरा छ, म सरकारमा आउँदासम्म त कानुन पनि थिएन, प्राधिकरण पनि थिएन । एकदुई वटा कुराहरू थिए कि यो सबै सर्भे गरिसकेपछि मात्रै गर्नुपर्छ, यो वितरण गर्नु पर्छ भन्ने जस्ता, बनाउन थाल्नु पर्छ, यो पूरा गर्नुपर्छ, अनि लाभग्राहीको, कसले लाभ प्राप्त गर्ने हो, त्यसको सम्पूर्ण आहारा चाहिन्छ भन्ने कुरा सजिलो कुरा थिएन । किनभने ८ लाख घर भत्किएका थिए । नौ हजार जस्तो विद्यालय भत्किएका थिए । तेइस हजार मानिस घाइते भएका थिए । यस्तो अवस्थामा सबैको सर्भे, एकातिकर दुःख परेको छ त्यहाँ रेक्यु र उद्धार गर्नु परेको छ । त्यहाँ उद्धार र राहत पुर्याउनु परेको छ । यससँगसँगै केही केही पुनर्निर्माण पनि लिएर जानु परेको छ । त्यस्तो काम हामीले प्रारम्भमा गर्यौँ ।

सिधा कुरा: प्रधानमन्त्रीज्यू, यसो भनेर हामीले पर्याप्त काम गर्यौँ, जनताहरू यसै पनि गुनासो गरिरहेका छन् भन्न खोज्नु भएको हो ?

प्रम: हाइेन । कठिनाइ छ, अप्ठ्यारो छ, पीडा छ, दुःख छ । तर दुईचारवटा दुईचार सय घर भत्किएको होइन । आठ लाख घर भत्किएको छ । आठ लाख घर भत्किएको परिस्थिति । कस्तो ठाउँमा भत्किएको छ भन्दा पहाड, दुर्गम ठाउँहरूमा भत्किएको छ । जहाँ सिमेन्ट, जस्ता अथवा अरू सामग्रीहरू पुर्याउन पनि सम्भव छैन । अर्कोतिर त्यतिबेला नाकाबन्दीको अवस्था थियो । तनावको अवस्था । निर्माण सामग्रीहरूको उपलब्धता छैन । उपलब्ध हुने हो भने पनि त्यसलाई ढुवानी गर्नका लागि डिजेल छैन । सवारीसाधनहरू चल्दैनन् । त्यसप्रकारको अवस्थामा पहिले त लगेर १५ हजार कमसेकम जस्तापाता केही जो उपलब्ध हुन्छ त्यसको बन्दोबस्त गरेर जानका लागि १५ हजार सरकारले दियो । सरकार बेखबर भएको अथवा उदासिन भएको होइन । त्यसपछि हिउँद लाग्न थालेपछि पनि ८ लाख घर बनाउनु, नेपालको इञ्जिनियहरूको सङ्ख्या कति छ, जानकारकर्मीहरू कति पाइन्छन् र कति क्षमता छ सरकारसँग । अर्को कुरा पहिले लाभग्राहीहरूको तथ्याङ्क बनाइसकेपछि मात्र गर्नु पर्छ भनेको कुरा हो । त्यसको आधारमा ।

सिधा कुरा: यो लिमिटेड रिसोर्सेजमा गर्न खोजिएको ?

प्रम: फेरि न्यायो कपडाका लागि भनेर १० हजार पनि दियो । अर्को कुरा, हामीले एउटा अभियान प्रारम्भ गर्यौँ । अब त्यस अभियानलाई भोलि १२ गतेबाट विशेष ढङ्गले सञ्चालन गर्दैछौँ हामी । घर निर्माणहरू, त्यसको सम्बन्धमा अभियान सञ्चालन गर्दैछौँ । अर्को विद्यालय निर्माण अथवा सामुदायिक घरहरू, सामूहिक घरहरूको निर्माण जो भोलि सामुदायिक भवनको रूपमा काम लाग्न सक्छ । त्यस्ता कुराहरूको निर्माण गर्दैछौँ ।

भोलिका दिनमा थप कार्यक्रमहरू अनाउन्स हुँदैछ, त्यसबाट जनतालाई राहत पुग्नेछ, होइन ।

गोरखा जिल्लाका सिडिओ नारायण भट्टराईसँगको संवाद
भूकम्प प्रभावित क्षेत्रको स्थितिका बारेमा बोल्दै सिडिअो – भोलि १२ गते भूकम्प स्मृति दिवस मनाउन भनेर इपि सेन्टर भएको बारपाकमा आएका छौँ । भोलि सम्माननीय राष्ट्रपतिज्यूबाट भूकम्प स्मृति स्तम्भ निर्माण गर्नलाई त्यसको शिलान्यास गर्ने कार्यक्रम छ । यसैगरी निजी आवास निर्माणको सुरुवातको घरको पनि शिलान्यास गर्ने कार्यक्रम छ । त्यसैगरी लाप्राक गाविसमा एकीकृत वस्ती विकास कार्यक्रमको त्रिपक्षीय सम्झौता गर्ने कार्यक्रम छ । यो कार्यक्रम पनि सम्माननीय राष्ट्रपतिज्यूको सम्मुपस्थितिमा गर्ने कार्यक्रम छ र त्यसको सम्पूर्ण तयारी हामीले पूरा गरिसकेका छौँ । अहिले म लगायत हाम्रो सम्पूर्ण टिम यहीँ बारपाकमै छौँ । सबै तयारीहरू पूरा गरेर बसेका छौँ । र, भोलि त्यो कार्यक्रम सम्पन्न गर्ने तयारीमा छौँ ।

सिधा कुरा: प्रधानमन्त्रीज्यू, सिडियो साहेबको कुरा पनि सुनाएँ, त्यहाँको वस्तुस्थिति पनि बताएँ, इपि सेन्टरलाई प्रधानमन्त्रीज्यूको भनाइ के छ ? यो भर्खरै प्रस्तुत गरेको रिपोर्ट र यो भनाइप्रति ?

प्रम: दुईवटा पक्ष छन् यसका । एउटा, जहाँ भूकम्प गयो, पहिलो कुरा सबै सञ्चारमाध्यममा आएका कुरा वा विभिन्न ढंगले चर्चा गर्ने सबैको म फेरि एकपल्ट, सबैलाई थाहा छ, फेरि एकपल्ट ध्यानाकर्षण गर्न चाहन्छु – अप्ठ्यारो छ, जनताले दुःख पाएको छ, घर छैन – गत वर्ष भूइँचालो गएकै हो, भूइँचालोले भत्काएकै हो, जनताले दुःख पाएका छन् – कसैले दिएको दुःख भन्दा पनि प्राकृतिक रूपमा भूइँचालो अकस्मातरूपमा गयो – हाम्रा घरहरू कच्ची, भूकम्प प्रतिरोधक थिएनन्, हामीसँग आर्थिक अवस्था कमजोर थियो, कच्ची घर बनाइयो, दूर्गम अप्ठ्यारो ठाउँमा, कोही पहिरोमा परे, कोही के मा परे । अघि आफ्नो प्रतिक्रिया दिने क्रममा एकजना महिलाले भन्नुभएको थियो कि सरकारले ठाउँ सुरक्षित भनिराखेको छ तर कहाँ जाने ठाउँ छैन भनेर । हामी सुरक्षित वस्ती बसाउन खोज्छौँ । असुरक्षित ठाउँमा फेरि जानी जानी पहिराको फेद वा टुप्पोमा, पहिरोले लाने ठाउँमा, त्यस्तो ठाउँमा फेरि घर बनाइदिनु भनेको यसलाई टार्ने मात्रै कुरा हुन्छ । बनाइदिनलाई बनाइदिएको मात्रै हो भनेर, त्यस्तो गर्नु हुँदैन । जनतालाई सचेत गराउनु पर्छ र अब सुरक्षित ठाउँमा जनतालाई बसोबास गराउने हाम्रो धारणा छ । बारपाक, लाप्राक लगायत, गोरखा लगायत भूकम्प प्रभावित सबै ठाउँमा पुनर्निर्माण गर्नु पर्छ । घरहरू, भवनहरू, सरकारी कार्यालयहरू, विद्यालयहरू र पुरातात्विक महत्त्वका सबै संरचनाको पुनर्निर्माण हुन्छ, एकातिर । अर्कोतिर यदि कुनै पनि समयमा भूकम्प गयो भने हाम्रो फेरि पनि तयारी छैन, त्यसकारण तयारीको अर्को क्रमलाई पनि हामी अगाडि बढाउँदैछौँ । अब बन्ने घर कसरी बनाउने ? अथवा कच्ची घरहरूलाई, खतरायुुक्त घरहरूलाई अथवा भूकम्प आउँदा प्रतिरोध गर्न नसक्ने घरहरूलाई कसरी विस्थापित गर्ने भूकम्प प्रतिरोधीघरहरूबाट । भूकम्प कति बेला जान्छ त भन्न सकिँदैन । त्यसले गर्दा अत्यन्त मानिसहरू जम्मा हुने ठाउँ विद्यालय, अस्पताल, डिपार्टमेन्टल स्टोरहरू अथवा मान्छे धेरै हुने ठाउँहरूलाई ध्यान दिनु पर्छ । त्यसको अर्को तयारी पनि हामी गर्दैछौँ । अहिले यसकारण पुनर्निर्माणको काम, भूइँचालोले नभत्केका ठाउँहरूलाई, त्यसको पनि सकेसम्म छिटो व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने व्यवस्था र अहिलेकै तत्कालको समयमा पनि यस्तो तयारीहरू अगाडि बढाउनु पर्छ । पनुर्निर्माण गर्ने कुरा त आफ्नो ठाउँमा छ, त्यसबोहक पनि विद्यालयहरू जस्तो ठाउँहरू जहाँ बालबालिकाहरू जम्मा हुन्छन्, त्यस्तो ठाउँदेखि लिएर बजार जस्ता ठाउँहरू, त्यस्ता ठाउँहरूमा दुर्घटना हुने अवस्था नहोस् भन्ने कुरा पनि बढी ध्यान दिनु आवश्यक छ ।

सिधा कुरा: यसमा काम गर्ने स्पिडको कुरामा, सरकारसँग धैर्य छ, तर पीडित मान्छेसँग त्यति धैर्य छ होला ? जुन स्पिडमा हामी छौँ, जुन स्पिडमा हामी काम गरिरहेका छौँ, यो नेचुरल यति नै स्पिड हो कि अथवा साँच्चै समय लाग्छ भने हामी जनतालाई किन बुझाउँदैनौँ, साँच्चै लाग्छ भने जनतालाई यति समय लाग्ने नै चिज हो, अलिकति धैर्य गर्नुहोस् भनेर जानु पर्यो । तर पीडितलाई त धैर्य नै रहँदैन । एकरात पनि भारी पर्छ, हुरी चल्छ, पानी पर्छ, छतभित्र बसेर हामी कति महसूस गरौँला र ?

प्रम: त्यसैकारण मैले अहिले दुईवटा कुरा मात्र यहाँ भन्न चाहन्छु । वर्षायाम अगाडि नै अथवा जेठभित्रैमा समुदायिक भवनहरू, सामूहिक आवासहरू निर्माण गरिहाल्ने । सँगसँग हामी निजी घरहरू पनि बनाउँछौँ । जसले गर्दा अप्ठ्यारो परिस्थितिमा मानिसहरूलाई छानामुनि ल्याउन सकियोस्, आवास दिन सकियोस् । अस्थायी, ति घर होइन । वहाँहरूलाई त्यो घर दिएको होइन । हामीले हेरेका छौँ, पाकिस्तानमा पनि अथवा भारतमा पनि । पाकिस्तानको उत्तरतिर सन् २००५ मा भूइँचालो गएको थियो अथवा भूजमो २००८ मा जुन भूइँचालो गएको थियो अथवा २००८ मा चीन सिचुवानमा जुन भूकम्प गएको थियो । यस्ता विभिन्न ठाउँहरूको हामीले अध्ययन गरेका छौँ । र, कहिँ पनि, चीन त हरेक हिसाबले सम्पन्न छ, पैसाको हिसाबले, साधनस्रोतका हिसाबले सम्पन्न छ र जनशक्ति पनि ठूलो छ । त्यहाँ उसले सेना नै ओरिलिदिँदा पनि ठूलो कुरा हुन्छ । तर पनि लगभग चार वर्ष तयार गर्न लाग्यो, पुनर्निर्माणमा । हाम्रो जस्तो अनेक चिजको अभाव भएको ठाउँमा, अहिलेसम्म किन ढिला भयो भन्ने कुरा मान्छेहरूलाई थाहा छ । यो ढिलाईका पछाडि हाम्रो मात्रै होइन अनेक कारणहरू छन् । आन्दोलन भनिने कुराको कारणदेखि लिएर, बन्दका कारण, आवागमन अवरुद्ध हुने कारणदेखि लिएर नाकाबन्दीकै अवस्था, अनेक कारण छन् । त्यसले गर्दा विलम्ब भयो सबैलाई थाहा छ । तर आठ लाख घर तत्काल बनाउने यो कुनै जादू त होइन । सरकारले तीब्रताका साथ गर्दैछ । र, यो वर्षायाम भन्दा अगाडि हरेकलाई छानामुनि ल्याउने हाम्रो योजना छ ।

काभ्रेबाट विष्णु दनुवारजीको प्रश्न – प्रधानमन्त्रीज्यूलाई के कुरा राख्न चाहन्छु भने यो राहतको प्याकेज नेपाली जनताको लागि जो भूकम्प पीडित छन् तिनीहरूको लागि के–कसरी आउँदैछ र राहत किन ढिला हुँदैछ भन्ने जिज्ञासा राख्न चाहन्छु ?

प्रम: केही केही कानुनी जटिलताको कुरा थियो, विष्णुजीलाई त्यो थाहा नै छ, के कारणले कता कता अल्झिन्छ कहिले कहिले । विलम्ब कसरी भयो र कसरी अल्झिएको छ भन्ने कुरा । त्यस्ता कुराहरूलाई थाहा पाएसम्म, जानकारी भएसम्म हामीहरूले समाधान गरेकै छौँ । यदि कुनै ठाउँमा राहत पुगेको छैन भने हामी त्यहाँ पुर्याउँछौँ । केही केही ठाउँमा मैले पनि सुनेँ, फलानो गैरसरकारी संस्थाले दिइरहेको छ त्यसकारण त्यहाँ दोहोरिन्छ त्यसकारण दिनुहुँदैन भन्ने । दोहोरिन्छ कि दोहोरिँदैन भन्ने होइन, सरकारले न्यानो कपडाका लागि भनेर दिएको दशहजार अरू कसैले दिएको आधारमा नदिने अथवा कट्टि गर्ने कुरा आउँदैन । कतिपय ठाउँमा त्यस्तो अस्पष्टता रहेर होला, प्रमुख जिल्ला अधिकारीमा, अथवा अरू नियकामा... त्यसको समस्या रहेको होला । त्यो बुझाइको समस्या हो । अरू कसैले दिएको छ भने पनि हामी सरकारले दिने राहतलाई नदिने कुरा भन्ने हुन सक्दैन । यस भन्दा पनि हामी अझ तीब्रताका साथ घरहरू नै निर्माण गर्ने... घरहरू निर्माण गर्न पनि हामी सजिलो विधि बनाएका छौँ । वहाँहरू आफैले बनाए पनि हामी डिजाइन दिन्छौँ, यसो गर्दा हुन्छ भनेर । हामीले इञ्जिनियरहरू खटाएका छौँ । हरेक गाविसमा इञ्जिनियर र ओभरसियरहरू खटाएका छौँ । त्यसकारण अब वहाँहरूले प्राविधिक सहयोग पनि पाउनु हुन्छ, पैसा पनि पाउनु हुन्छ, आफै पनि बनाउन सक्नुहुन्छ । त्यसो गरे पनि वहाँहरूले सहयोग रकम प्राप्त गर्नु हुन्छ ।

कक्षा ६ मा अध्ययन गर्ने समृद्ध डंगोलको प्रश्न – बसन्तपुर कहिले बन्छ ?

प्रम: बसन्तपुरको निर्माण कार्य भोलिबाट प्रारम्भ हुन्छ । हामीले पर्सी बिहानबाट निर्माण कार्यको शिलान्यास गर्दैछौँ र त्यो काम अगाडि बढ्छ । तर, पुरातात्विक सम्पदाको पुनर्निर्माणको काम चाहिँ ... एउटा काष्ठकला जस्तो छ त्यस्तै बनाउनु पर्छ, त्यो काष्ठकला खोप्नका लागि त्यसअनुसारका मिस्ट्रि (कालिगढ)को संख्या थोरै छ । बसन्तपुरमा जति काष्ठकला थियो त्यसलाई त्यसै रूपमा लानका लागि मिस्ट्रिहरूको सङ्ख्याका लागि अझै हामीले तालिम गर्नुपर्ने छ । नत्र भने त्यसै अनुसारको गर्न हात बस्नु पर्यो, जान्नु पर्यो । अर्को, त्यसअनुसारको कला आज खोप्यो भोलि उड्ने, त्यस्तो भत्किने काठ होइन, त्यसप्रकारको काठको पहिचान र त्यो काठ उपलब्ध गराउनु पर्यो । धेरै काष्ठकला छन्, काष्ठकला चानचुने कुरा होइन । कतिपय ढुङ्गाका कलाहरू छन् । यदि ति ढुङ्गाका कलाहरूलाई त्यस्तै प्रकारको ढुङ्गाका कला बनाउन जरूरी हुन्छ । कामहरू शुरु गर्छौँ तर सम्पूर्ण रूपमा तयार गर्न, जस्तो अघि हामीले चर्चा गर्यौँ नि, यदि बरु छाना नभएर आकासमुनि छन् भने तिनलाई छानामुनि ल्याउने कुरामा हाम्रो यतिबेला प्राथमिकता छ, त्यसमा पनि बुढाबुढीका ठाउँमा, बालबालिका भएका ठाउँमा, गर्भवती महिलाहरू भएका ठाउँमा, स–साना शिशुहरू भएका ठाउँमा, विमारीहरू भएका ठाउँमा, एकल महिला भएका ठाउँमा – यस्तामा चाहिँ बढी प्राथमिकता दिनुपर्छ । त्यस्तै अपाङ्गहरू भएका ठाउँमा बढी जोड दिनुपर्छ । यस्ता ठाउँहरूमा प्राथमिकता दिएर, हामी एकैचोटि गर्न सक्दैनौँ भने, कुनलाई अगाडि बढाउने भनेर त्यसलाई अगाडि बढाउने । बरु गर्न सकिन्छ भने त्यस ठाउँमा अर्को पनि छिमेककाहरू आएर केही समय आश्रय लिन सकिन्छ । बनाउँदा प्राथमिकता तोकेर बनाउनु पर्ने हुन्छ । हामीले धरहरालाई एउटा अभियानको रूपमा सुरु गरेका छौँ । ‘मेरो धरहरा म बनाउँछु’ भनेर । हरेक नेपाली जनताले आफैले बनाउने । सरकारी रकममा होइन अथवा बाह्य सहयोगमा होइन । हरेक नेपालीको पैसाबाट बनाउने जसले गर्दा नभत्किने र वास्तवमा एउटा आकर्षक स्थलको रूपमा, जो स्मरणमा पनि रहोस् र जो आसाधारण बलियो, असाधारण आकर्षणको ठाउँ होस् ।

स्काइपमार्फत सुदन झाको प्रश्न – सम्माननीय प्रधानमन्त्रीज्यू हार्दिक नमस्कार । छोटकरीमा म आजको सेरोफेरोमा नै फोकस गरेर यहाँलाई सानो रिक्वेस्ट अथवा डाउट राख्न चाहन्छु । हिजोको परिस्थिति थियो हाम्रो गाँस, बास र कपासको – आजभन्दा दशपन्ध्र वर्ष अगाडि । यो पाँचवर्षको सूचना तथा प्रविधिले काँचुली फेरेको छ, त्यो सर्वविदितै छ । साउथ एसियामा मैले कतिपय सहरहरूमा हेर्दा हाम्रो नेपालमा जुन हिसाबले सूचना तथा प्रविधिले उन्नति गरेको छ, त्यो उदाहरणीय छ । भारतपछि हामी नै अगाडि छौँ । जहाँसम्म गोरखा जिल्लामा जुन हिसाबले विनास भयो बैशाख १२ गते त्यस पछाडिका डेभलपमेन्टहरू हुँदैजाँदा, यसो अब्जर्भ गर्दै जाँदा गाँस, बास, कपासलाई जोड दिइयो तर त्यसलाई सूचना तथा प्रविधिले टच गरेको कहिँ पनि देखिएन । आजभोलि हरेक डेपार्टमेन्टल स्टोर्स अथवा इभन तरकारी पसलेका पनि सानो इलेक्ट्रोनिक डिभाइस हुन्छ जसले मेजर गरेर तरकारी बेच्छन् । यी आईटी एनाबल सर्भिस भनेको नेपालमा जताततै लगभग प्रायजसो ठाउँमा पुगेको छ । त्यस्तै घरमै बसेर कमाउने कुराहरूदेखि लिएर आफै रोबोट बनाइसकेको दक्ष जनशक्ति नेपालमै हुँदा हुँदै पनि निर्माण प्राधिकरणले छुट्टै सूचना तथा प्रविधिको विङ्ग लिएर धेरै ठूलो कामलाई सानो इफोर्ट दिएर अगाडि बढाउन किन नसकेको ? अटोक्याडबाट घर बनाउन सकिन्छ, त्यो एउटा आईटी एनाबल सर्भिस हो । यसमा हजुरको के राय छ ?

प्रम: धन्यवाद छ यहाँलाई प्रश्नका लागि । यहाँले भन्नु भए जस्तै गाँस, बास र कपासको समस्या थियो । अझै पनि गाँस, बास र कपासको समस्या छ । झन् भुइँचालोले त बासकोसमस्या अझ प्रबल बनाइदियो घरहरू भत्काएर । बासको समस्याको प्रबल बनाए पनि आँदो दुईवर्षभित्र गाँस, बास र औषधि – यो तीनवटा चिजमा नेपाललाई आत्मनिर्भर बनाउने योजनाका साथ म अगाडि बढेको छु । दुईवर्षभित्र नेपालीहरूले गाँसको कुरा गर्नु पर्ने छैन । गाँस अथवा खानाको निम्ति नेपालीले खान पाइन भन्ने खालको अवस्था हुने छैन । त्यसको लागि उत्पादन पनि पर्याप्त गर्ने र उत्पादकत्व पनि वृद्धि गर्ने । कुनै पनि जमिनलाई खेर जान नदिने । अत्यधिक उत्पादकत्व बढाउने र उत्पादन वृद्धिसँगै व्यवसायिकता र अरु चिजले पनि कृषिलाई अगाडि बढाउने । यससम्बन्धमा अहिले धेरै समय छैन हामीसँग चर्चा गर्नका लागि । त्यस्तै आईटीको प्रयोग, सूचना प्रविधिको प्रयोग – यो अनिवार्य छ । अहिले हामीले चर्चा अलिकति कम गरेको के हो भने जुन मान्छेको घर भत्किएको छ नि, उसले आईटी भनेको एउटा मोबाइल बुझ्छ बढीमा । अहिले सूचना प्रविधि भनेको मोबाइल बुझ्छ । मोबाइलमा रेडियो पनि आउने, मोबाइलमा कुरा पनि गर्न सकिन्छ भन्ने बुझ्छ उसले । त्यसैलाई अलिकति प्रयोग गर्ने दक्षता बढ्यो भने त्यसपछि हामी कम्प्युटरका विभिन्न पक्षहरूमा जान सक्छौँ । इन्फर्मेसन टेक्नोलोजीका विभिन्न पक्षहरूमा जान सक्छौँ र यसले हाम्रो सामाजिक जीवनलाई उठाउन सक्छ । एउटा कुरा, वहाँको कुरासँग म के सहमत छु भने कतिवटा देशले अब, अरू प्रकारका उत्पादन त यथावतै रहने भए प्रायः, अरू प्रकारका व्यापार यथावतै जस्तै रहने भए । त्यसले गर्दा आईटीको क्षेत्रमा अलिकिति इनोभेटिभ वर्कका सम्बन्धमा ध्यान दिनुपर्छ भनेर त्यतापट्टि आफूलाई सिफ्ट गरिराखेका छन् । अथवा आजको जमाना सूचना प्रविधिको जमाना हो । त्यसलाई हामीले विकासको सन्दर्भमा प्रयोग गर्नु पर्छ । अहिले हामीले गरिरहेको चर्चा चाहिँ विकासको पाटोभन्दा पनि राहतको पाटो र कसरी भूकम्पबाट राहतमा लाने । हामीले गाँस, बास र कपास सँगसँगै आईटीको प्रयोग, सूचना प्रविधिको प्रयोगलाई पनि लगिरहेका छौँ । हामीले डिजिटल नेपाल बनाउने सोचिरहेका छौँ । हामीले ई–गभर्नेन्सका कुराहरू गरिरहेका छौँ । अस्ति भर्खर मात्रै पनि मैले एउटा कार्यक्रमको उद्घाटन गरेँ । जहाँ हामी आईटीबाटै कारोवारहरू गर्ने – प्रोक्यारमेन्ट सम्बन्धमा । आईटीबाटै प्रोक्योरमेन्ट गर्ने कुराहरू हामीले गरेका छौँ । यसरी हामी विस्तारै आईटीतिर जाँदैछौँ । आईटीमय बनाउँदैछौँ अथवा डिजिटल नेपाल । डिजिटल नेपाल बनाएनौँ भने वल्र्डचाहिँ डिजिटल वल्र्ड हुने हामीचाहिँ पछाडि रहने सम्भावना हुन्छ । त्यसकारण हामीले दौड गर्नै पर्छ । वहाँको सुझाव धेरै राम्रो छ । वहाँको ध्यानाकर्षण पनि धेरै राम्रो छ । र, वहाँले जस्तो रोबोट बनाएको कुरा गर्नु भयो नि त्यस्तै म के आग्रह गर्छु भने इनोभेटिभ ढङ्गले गर्दै जानुस्, बरु त्यसलाई सरकारले कसरी इनकरेज गर्न सकिन्छ, कसरी बढाउन सकिन्छ, त्यो चाहिँ सरकारले गर्छ ।

सिधा कुरा: प्रधानमन्त्रीज्यू यो माला, खादा, उद्घाटन यी चिजहरूबाट अलिकति वाक्क दिक्क लागिसकेको छैन ? कति उद्घाटन गर्ने, कति मालाहरू लगाउने, कति खादाहरू ओढ्ने ? यस्तो कुराहरू किन हामीकहाँ धेरै भएको होला ?

प्रम: मैले केही समय अगाडि आसनग्रहण गराउने जुन छ, यो नगरौँ भनेको थिएँ । एकैचोटि तोडिँदैन यो । हाम्रो सभ्यतामा, हाम्रो प्रचलनमा, हाम्रा तरिकाहरूमा पहिले माला थियो, दोसल्ला थियो अहिले खादा थपिएको छ । यस्तो प्रचलन जसलाई सामान्य ढङ्गले स्वागत गरे पुग्ने ठाउँमा अझ काँधभरि माला नअटेर धेरै हुन्छ, माला फेरि धेरै बेर लगाउने पनि होइन, पैसा खर्च मात्रै गर्ने हो । यससम्बन्धमा मैले भनेको छु, भड्किलो तरिका अथवा स्वागत सम्मान गर्न पाइन्छ । सम्मान गर्न पर्छ पनि, पाइन्छ पनि तर त्यसका नाउँमा अनावश्यक खर्च, अनावश्यक समय खेर फाल्नु हुन्न । एउटा कार्यक्रम चल्ने बेलासम्म त  आसनग्रहणकै लहर चलिराखेको हुन्छ । एकघण्टामा कार्यक्रममा सकिनु पर्ने तर एकघण्टा त आसनग्रहण नै चलिराखेको हुन्छ । यो ते समयको बर्बादी हो । यस्ता कुराहरूलाई हामीेले घटाउनु पर्छ तर मेरो निम्ति अहिले फर्किएर कति कुरा गर्ने भन्ने यति कुराहरू छन् कि मैले गरिराखेको छु । तर यता भत्किएका घरहरू पुनर्निर्माण गर्ने कि स्कुल पुनर्निर्माण गर्ने कि बाटाहरू बनाउने कि बिजुली निकाल्नु छ बिजुली निकाल्ने कि अथवा खाद्यान्नको अभाव छ त्यसको परिपूर्ति गर्ने कि आत्मनिर्भर हुने गरी खाद्यपदार्थहरू तयार गर भन्ने कि लगायतका कुराहरू । लगाउने कुरामा त हाम्रो केही पनि छैन, न धागो न केही, सबै चिज बाहिरबाट । यस खालको स्थितिलाई चिर्न आत्मनिर्भरतातर्फ जोड दिनु पर्छ । त्यसले स्वभाविक रूपमा निर्यात पनि बढाउँछ सँगसँगै आयातलाई सोझै घटाइदिन्छ । जनताको जीवनस्तर उकास्ने, उनीहरूको आम्दानी बढाउने, उनीहरूलाई धनी बनाउने, उनीहरूको क्रयशक्ति बढाउने र जीवनलाई साधारण र सुखी बनाउने – त्यस कुरामा प्राथमिकता दिइरहेको छु । आधुनिक जीवन बनाउन पर्यो ।

सिधा कुरा: प्रधानमन्त्रीज्यू हामी आशा गर्छौं । आज हामी धेरै कुराहरूलाई समावेश गर्ने कोशिस गरिरहेका छौँ तर कतिपय कुराहरू आगामी कार्यक्रममा पनि जानकारी गराउनेछौँ । हामीले तपाईंलाई फेसबुक पेजमा, इन्स्टग्राममा, ट्वीटरमा, स्काइपमा, ह्वाट्सआपमा मेसेज पठाउन सक्नु हुन्छ । तपाईंका केही जिज्ञासाहरू छन् भने ति मेसेजहरू रेकर्ड गरेर हामीलाई विभिन्न माध्यमबाट पठाउनुहोस् हामी त्यसका जानकारी हाम्रो कार्यक्रममा दिनेछौंँ । हाम्रो कार्यक्रमको वेबसाइट पनि छ त्यो वेबसाइटमा गएर तपाईंले जानकारी लिन सक्नुहुनेछ । तपाईंले सोध्नु भएको कुनै पनि प्रश्न अनुत्तरित हुने छैन । तपाईंले पठाउनु भएको कुनै पनि गुनासो नसुनिने हुने छैन र तपाईंले दिनु भएको कुनै पनि सुझाव महत्त्वहिन हुने छैन । यो कुरा यो कार्यक्रमको तर्फबाट यहाँलाई जानकारी गराउन चाहन्छु । आदरणीय दर्शक महानुभावहरू आजको कार्यक्रम हामीले विशेष गरेर भूकम्प गएको एकवर्ष भएको पूर्वसन्ध्यामा सुरु गरिएको कार्यक्रम भएको हुनाले यसै सन्दर्भमा केन्द्रित रहेका थियौँ । यसै सन्दर्भमा केन्द्रित रहँदा र जाँदाजाँदै लगभग आजको लागि हाम्रो समय सकिन आँटेको छ । जाँदाजादै आज हामीले स्टुडियोमा यस्ता सौभाग्यशाली बालक र उनकी मातालाई यहाँ बोलाएका छौँ, प्रधानमन्त्रीज्यू समक्ष वहाँहरूलाई म भेटघाट गराउन चाहन्छु । सुनित अवाले हुन्, विनाशकारी भूकम्पले घर भत्किएको भग्नावशेषबाट २२ घण्टा पछि जीवितै उद्धार, ५ महिनाका थिए सायद उनी, जीवितै उद्धार गरिएका बालक हुन् सुनित अवाले र उनका साथमा उनकी आमा यहाँ उपस्थित छिन् । प्रधानमन्त्रीज्यूलाई वहाँसँग जाँदाजाँदै भेटघाट गराउन चाहन्छु । तपाईंलाई स्टुडियोमा स्वागत गर्न चाहन्छु ।

बालककी आमाको प्रश्न – म प्रश्न गर्न चाहन्छु, सबैजनाले सरकारी राहत पाउनु भयो, धेरथोर मैले पनि पाएँ । मेरो लालपूर्जा नभएको घर भएकोले मैले पूर्ण रूपमा राहत पाउन सकेको छैन । मैले कसरी राहत पाउँछु होला ?

प्रम: त्यसको व्यवस्था गर्नु पर्छ । त्यससम्बन्धी हामीले व्यवस्था पनि गरेका हौँ । लालपूर्जा नहुन सक्छ, तर कित्ताकाट गरेको कुनै प्रमाण छ ? 

बालककी आमा – त्यस्तो पनि छैन ।

प्रम:  तर तपाईंको घर भत्किएको हो ?

बालककी आमा – घर भत्किएर दुईजना सन्तान पनि पुरेको हो । जेठाजुको पनि दुईजना सन्तान पुरेर बितेको छ । फेटोहरू नै सार्वजनिक भएका छन्, देशविदेश संसारका मानिसहरूले हामीलाई चिने ।

प्रम:  सर्जमिनको आधारमा यसको समस्याको समाधान गर्न सकिन्छ ।

बालककी आमा – सर्जमिन त भएकै थियो । वडामा पनि गएँ, तर वहाँहरूले केही गर्न सक्दैनौं भन्नुभयो । हामीसँग केही प्रमाण छैन ।

प्रम:  प्रमाणको कुरा होइन, मान्छेको कुरा हो । प्रमाण खोजेको भन्दा पनि घर भत्किएको कुरा हो । प्रमाणले त के गर्छ र । मुख्य कुरा त के हो भने कानुनी जटिलता त कहिले कहिले हुन्छ त्यसकारण प्रशासकहरूले, त्यहाँ काम गर्ने मान्छेले भोलि किन दिइस् भनेर अनेक विवाद हुने हुनाले त्यस्तो गर्छ । भोलि मात्रै ३ लाख १९ हजारलाई तपाईंहरूले प्रमाणपत्र पाउँदै हुनुहुन्छ भनेर रकम दिँदैछौँ । धेरै जिल्लामा धेरैले सम्झौता पनि गरिसक्नु भएको छ पैसा पाउने सम्बन्धमा । कतिपयले बैंकबाट पैसा पनि लिइसक्नु भएको छ । तपाईँको त्यो समस्या रहेछ, धनीपूर्जा नभएको अथवा जमिन ऐलानीमा बसेको । त्यस्तो अतिक्रमित भन्ने खालको होला । तर पनि जनताको आवास नभए पछि त्यो आवास मिलाउनु पर्छ । यसका सम्बन्धमा निर्णय थप गर्नु पर्छ ।

सिधा कुरा:  एउटा प्रतिनिधि पात्रको रूपमा हामीले वहाँलाई स्टुडियोमा प्रस्तुत गरेका हौँ, प्रधानमन्त्रीज्यू । यस्ता धेरै पीडितहरू छन् जसको सम्बोधन हुन सकोस् र देशका प्रधानमन्त्रीले यसबारे जानकारी नपाउने त कुरै भएन तर अझै यससम्बन्धमा सिस्टम चुस्त बनाउनका लागि प्रतिनिधि पात्रका रूपमा आज हामीले वहाँलाई उपस्थित गराएका छौँ । तपाईंलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । पक्कै पनि प्रधानमन्त्रीज्यूले, यो कार्यक्रम हेरिरहनु भएको छ सम्बन्धित निकायले ...

प्रम:  तपाईंको सम्बन्धमा म खोजिनीति गरौँला ।

बालककी आमा – धन्यवाद ।