NP EN

सिधा कुरा प्रधानमन्त्रीसँग (श्रृङ्खला १३)

देशमा बीचमा एकता कमजोर पार्ने कुराहरू भए । देशमा विकास निर्माणका कामहरूतर्फ ध्यान नदिने र राजनीतिक दाउपेचमा मात्रै समय खर्च गर्ने कुरा भए । म सरकारमा रहे पनि नरहे पनि राजनीतिक दाउपेचले होइन कि देशका विकासका बाटोतिर, देशलाई कसरी लाने भन्ने कुरामा राष्ट्रको स्वाभिमान, राष्ट्रको गौरव, यी कुराहरूमा मेरो ध्यान रहन्छ । यी कुराहरूमा ध्यान दिइरहँदा जुन सहमति भएको थियो त्यो सहमति आउँदो निर्वाचनसम्मका लागि भएको थियो । चौध बुँदे सहमतिमा कसैले हेरयो भने पनि हुन्छ, निर्वाचनमा कसरी समझदारी बनाउने सम्मका कुराहरू छन् । निर्वाचन कहाँ भएको थियो र कहाँ समझदारी बनेन । 
 



Sidha Kura PM Sanga - सिधा कुरा प्रधानमन्त्री संग, (Ep. 13)
Published on Jul 16, 2016
All the videos on this channel has copyright by Nepal Television. 
Approved by Mr. Rabi Lamichhane

 



सिधा कुरा: सबैभन्दा पहिला माओवादी केन्द्रले समर्थन फिर्ता लिए सँगसगै जुन राजनीतिक स्थिति  सिर्जना भएको छ, अब राजनीति कता जान्छ ? यहाँबाट सुरु गर्न चाहन्छु ।

प्रम: पहिलो कुरा त, देशप्रति सानातिना कुराहरूमा खेलवाडपूर्ण ढङ्गले चल्नु हुँदैन भन्थान्छु र स्थिरता स्थायित्व हुनु पर्छ । हामीले हाम्रा राष्ट्रिय प्रश्नहरू, खासगरी संविधानले जो निर्धारित गरेको छ, तिनीहरू र संविधानले तयार गरेका संरचना र अहिलेको अवस्थामा भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण र संविधानले तय गरेका संक्रमणकालीन संरचनागत प्रश्नहरूलाई टुङ्ग्याएर, सङ्क्रमणकाल टुङ्ग्याउने कुरा । र, सर्वोपरी कुरा त अब हामीले ढिलो गर्न नहुने भनेको आर्थिक उन्नति, आर्थिक विकास, त्यो मैले सदैव जोड दिँदै आएको छु । यस प्रसङ्गमा मैले स्थिरता स्थायित्वको कुरा गरेको हुँ । कसैले पनि सहमति बिना एक्लै चल्ने खालको अवस्था देशमा छैन । त्यसो भएपछि दाउपेचबाट, जालझेलबाट, टिकडम, षडयन्त्रहरूबाट चल्ने होइन कि कुराकानीबाट तर्कपूर्ण ढङ्गले, औचित्यताका आधारमा, सहमति कायम गर्ने र हाम्रा अगाडिको चुनौतिहरूको सामना गर्ने आवश्यकता थियो । अर्कोतिर के छ भने हरेक पार्टी आफ्नो निर्णयहरू गर्न स्वतन्त्र छ, निर्णयहरूलाई जनताले हेर्छ । राजनीतिमा जनता सबभन्दा ठूलो निर्णायक, सबभन्दा ठूलो न्यायाधीश र सार्वभौमसत्ता सम्पन्न छ । जनताले हेर्छ । तर जनताले हेरेर परिणाम त खास समयमा देला । हामीले आफूले निर्णय गर्न त राजनीतिक पार्टीहरू स्वतन्त्र छन् भन्ने कुरा लोकतन्त्रमा मान्छन् नै । त्यसर्थ माओवादीले समर्थन फिर्ता लियो । एउटा कुरा ध्यान दिनु पर्छ, माओवादीले संयुक्त सरकारबाट अथवा सहभागिताबाट पृथक भएँ भनेर समर्थन फिर्ता लिएँ भन्यो अथवा यस बीचका काम कार्वाहीहरूमा आफ्नो संलग्नतालाई उसले स्वीकारेन अथवा त्यो कुरामा आफ्नो जवाफदेही छैन भन्यो । त्यसको अर्थ खास मान्छेले बुझ्न सक्छ । किन त्यस्तो भन्नु परयो त ? यो बीचको कामहरूमा हामी जवाफदेही छैनौँ भनेर । राम्रो काम भएको छ, तर पनि जिम्मेवारी, अपनत्व लिन नसक्नुको कारण मान्छेहरूले बुझ्न सक्छन् म त्यतापट्टि जान चाहन्न । त्यसले एउटा नया परिस्थिति सिर्जना गरयो । म अहिले पनि भनिरहेको छु, सदैव भनिराखेको छु, सहमतिका साथ हामीले निकास दिनु पर्छ । अहिले पनि फरक ढङ्गले, गलत ढङ्गले चल्ने होइन कि एउटा सहमतिको वातावरण बनाएर संविधानसम्मत ढङ्गले अगाडि जाऔँ, म त कुनै वाधक नै बन्दिन । तर यत्ति हो कुरा मैले देश र जनताप्रतिको निष्ठा र संविधानको पालना, यी कुराहरूलाई केन्द्र भागमा राखेर नै चल्नु पर्छ र चल्न सकिन्छ भन्ने कुरा गरेको छु । त्यत्ति हो । यसले अब एउटा संवैधानिक बाटो त लिइसकेको छ । वहाँहरूले अविश्वासको प्रस्ताव दर्ता गरिसक्नु भएको छ । अविश्वासको प्रस्ताव दर्ता गरिसके पछि त्यस प्रस्तावको एउटा निष्कार्ष निस्किएला । निष्कर्ष जस्तो निस्किन्छ त्यसपछि अगाडि जाला । संविधान छ । आज बनाउनु पर्ने होइन । हिजो बनेको संविधान, त्यसले जे भन्छ त्यस अनुसार  अगाडि बढ्नु पर्छ ।

सिधा कुरा: प्रधानमन्त्रीज्यू, सरकार अल्पमतमा परेको छ भनिएको छ, यस्तो अवस्थामा प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने कुराहरू आएको छ, तर यहाँले संसदमा फेस गर्छु भन्नु भएको छ, यो भोटिङ्गलाई फेस गर्ने कुरा आयो, भोटिङ्ग हुनुअघि राष्ट्रका नाममा संबोधन गरेर राजिनामा गर्नु हुन्छ कि अथवा भोटिङ्ग नै फेस गर्नु हुन्छ ?

प्रम: एउटा कुरा गर्नु परयो वहाँहरूले । वहाँहरूले मसँग राजिनामा माग्नु भएको कि अविश्वासको प्रस्ताव दर्ता गर्नु भएको ? वहाँहरूले मसँग राजिनामाको अपेक्षा गरेको वा संवैधानिक व्यवस्था, कानुनी प्रक्रिया, संसदीय प्रक्रियाभित्र राजिनामा माग गरेको ?

सिधा कुरा: तर त्यो त स्वतः अल्पमतमा परिसकेपछि त प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने ?

प्रम: कानुनी रूपमा अल्पमतमा परेको होइन । मलाई अरुले भोट दिन्छन् कि ? दिँदैनन् कि ? यो त कुनै टुङ्गो छैन । म प्रधानमन्त्री छानिएका बखत, चुनिएका बखत पनि, अर्को पनि उम्मेद्वार हुनुहुन्थ्यो जसले जित्छु भन्ने ठानेकै थियो, आफू बहुमतमा छु भन्ने ठानेको थियो र म अल्पमतमा परेको छु भन्ने ठानेर नै उम्मेद्वारी दिएको थियो ।

सिधा कुरा: तर अहिलेको परिस्थितिमा त जति पनि अविश्वासको प्रस्तावमा दर्ता भएको छ त्यो नम्बर नै काउन्ट गर्ने हो भने माओवादी केन्द्र, नेपाली काँग्रेस जसले समर्थन गरेको लार्जेस्ट पार्टी छ, अन्य मधेसवादी दलहरू ?

प्रम: दुईसय अस्सीले दर्ता गर्नु भयो । दुईसय अस्सीले अविश्वासको प्रस्ताव पारित गर्न पुग्छ र ? दर्ता न गरेको हो । अनि वहाँहरूको सङ्ख्या पुग्यो भन्ने कहाँबाट आयो र ? कानुनी कुरा त त्यो होइन होला ? प्रकारान्तरले बुझ्ने कुराले चल्ने भए संवैधानिक अभ्यास, संसदीय अभ्यासको जरुरी पर्ने थिएन होला । प्रकारान्तरले यस्तो अर्थ लाग्यो, यस्तो अर्थ देखियो भन्ने कुराले चल्ने भए । मैले यहाँ के भन्छु भने, म त सहमतिको प्रयास गरिराखेकै थिएँ । मसँग एकपल्ट बैशाखको चौथो हप्ता एउटा अचानक आक्रमण भयो । त्यसलाई मैले अलिकति मत्थर पारेँ । अचानक आक्रमण भयो । त्यस आक्रमणपछि लगातार अपमान गर्ने र गलत प्रचारहरू गर्ने, सरकारलाई अस्थिर कमजोर बनाउने खेल, यस्ता कुराहरू भए । म अत्यन्तै शान्तभावका साथ, धैर्यताका साथ मैले लगातार सहमतिका साथ अगाडि जाऔँ भनेर प्रयास गरेँ । संविधानसभाको दोस्रो निर्वाचनपछि नेपाली काँग्रेसलाई नेतृत्व दिएर सरकार बनाएर आफू पनि त्यसमा बलियो होस् भन्नका निम्ति पार्टीलाई सरिक गराएर, संविधान बनाउने अवस्थासम्म नेपाली काँग्रेसले लिड गर्ने र त्यसपछि एमाले लिड गर्ने भन्ने भएको थियो, नेतृत्व गर्ने भन्ने भएको थियो । त्यसअनुसार मैले कहिले पनि यताउता नगरेर साथ दिएर आएँ । पछि संविधान जारी भइसकेपछि कुरा परिवर्तन भयो । त्यसपछि एमाओवादी र हाम्रोबीचमा दुई वर्षका लागि, आउँदो चुनावसम्मबा लागि, यो सङ्क्रमणकाल टुङ्गयाउनका लागि सम्म एउटा सहमति भयो । जसमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसमेत कुन कुन पार्टीबाट पठाउने, कसको सिफारिसमा पठाउने भन्ने कुराहरू पनि भए । ति कुरा हामी सबैलाई थाहा छ । मैले सहमतिका निम्ति माओवादीसँग दीर्घकालिन सहमति अनुरुप नै, वहाँहरूले मन्त्रालय पनि, मसँग पाँचवटा राखेर वहाँहरूलाई आठ दिएको हो । जबकि सबैलाई थाहा छ, १८२ सिट एमालेसँग छ भने ८२ सिट मात्रै वहाँहरूसँग छ । त्यस अवस्थामा हामीले वहाँहरूलाई आठवटा मन्त्रालय, छानेका मन्त्रालयहरू दियौँ । त्यसपछि पनि मैले नेपाली काँग्रेससँग पनि लगातार कुराहरू गरेँ । राष्ट्रिय सहमतिको अहिलेको आवश्यकताबाट तपाईँहरू नहटे राम्रो हुन्थ्यो भनेर । वहाँहरू हट्नु भयो । एउटा, मैले नेपाली काँग्रेसलाई साथ दिएँ र मेरो समर्थनमा वहाँहरू दुईवर्ष, १९–२० महिना जति सरकारको नेतृत्व गरेर बस्नु भयो । मैले त साथ दिएँ । मलाई साथ दिने बेलामा सिद्धान्तले मिल्दैन भन्नुभयो । त्यसबेला पनि नमिल्नु पर्ने हो नि त । तर आफूले नेतृत्व गर्दा चाहिँ मिल्छ, एमालेले नेतृत्व गर्दा मिल्दैन भन्ने कुराहरू वहाँहरूले गर्नु भयो र अलग ढङ्गले चल्नुभयो । अहिले माओवादीलाई नेतृत्व दिने भन्ने वहाँहरूको कुरा सार्वजनिक नै भएको छ । त्यो चाहिँ मिल्छ । सहमति भएको छ । त्यो चाहिँ मिल्छ । मैले त्यति लामो समयसम्म वहाँहरूको नेतृत्वलाई सफल बनाउन साथ दिएँ । त्यो चाहिँ, गुण पनि तिर्नु नपर्ने, यसका पछाडिको कारण के छ भन्दा म जे विचारमा छु, जे काममा छु त्यो कुरासँग वहाँहरू डराउनु हुन्छ, त्यसकारण हुन्न दिनु हुन्न भनेर । मैले यसमा के भन्दै थिएँ भने – वहाँहरूले मागेको राजिनमा हो भने अविश्वासको प्रस्ताव हटाउनु परयो, अविश्वासको प्रस्ताव हो भने राजिनामाको कुरा छोड्नु परयो, अविश्वासको प्रस्तावमा जानु परेयो नि । अविश्वासको प्रस्ताव दर्ता गर्ने, राजिनामा भन्ने । यो दुईवटा कुरा मिलेन । वहाँहरूले राजिनामा मागेको कि अविश्वासको प्रस्ताव दर्ता गरेर अविश्वासबाट हटाउन खोजेको ?

सिधा कुरा: जुन जवाफ प्रधानमन्त्रीज्यूले दिइरहनु भएको छ, यसभित्र रहेको जुन एउटा कानुनी जटिलता छ त्यस जटिलतातर्फ जान खोज्नु भएको हो ? किनभने स्वभाविक रूपमा के मानिन्छ भने अल्पमतमा सरकार परिसकेपछि त कतिपय अवस्थामा प्रधानमन्त्रीले आफूसँग अल्पमत भएपछि राजिनामा दिइन्छ भन्ने एउटा सामान्य बुझाइ रहन्छ, तर जसरी यहाँले बताइरहनु भएको छ त्यतातर्फ ध्यान दिनु पर्छ खोज्नु भएको हो ?

प्रम: त्यस्तो होइन । हाम्रा संवैधानिक, हाम्रा कानुनी व्यवस्था र हाम्रा सहमतिका कुराहरू एक प्रकारका छन् । र, मैले कहिल्यै आफ्ना निम्ति, मैले उहिलेदेखि भनेको छु मेरो जिन्दगी फाउको जिन्दगी हो, त्यसकारण मैले फाउको जिन्दगी, यो त मैले मौकाले पाएको जिन्दगी, मौकाले पाएको अवसरहरू हो, त्यसकारण यो अवसरहरूप्रति मेरो कुनै आकर्षण छैन, मलाई कुनै लाभ लिनु, कमाउनु केही छैन, मैले देशका लागि केही गर्ने हो, मैले जनताका लागि केही गर्ने हो, देशको समृद्धिको लागि गर्ने हो र देशको एकताका लागि केही गर्ने हो । देशमा बीचमा एकता कमजोर पार्ने कुराहरू भए । देशमा विकास निर्माणका कामहरूतर्फ ध्यान नदिने र राजनीतिक दाउपेचमा मात्रै समय खर्च गर्ने कुरा भए । म सरकारमा रहे पनि नरहे पनि राजनीतिक दाउपेचले होइन कि देशका विकासका बाटोतिर, देशलाई कसरी लाने भन्ने कुरामा राष्ट्रको स्वाभिमान, राष्ट्रको गौरव, यी कुराहरूमा मेरो ध्यान रहन्छ । यी कुराहरूमा ध्यान दिइरहँदा जुन सहमति भएको थियो त्यो सहमति आउँदो निर्वाचनसम्मका लागि भएको थियो । चौध बुँदे सहमतिमा कसैले हेरयो भने पनि हुन्छ, निर्वाचनमा कसरी समझदारी बनाउने सम्मका कुराहरू छन् । निर्वाचन कहाँ भएको थियो र कहाँ समझदारी बनेन । समझदारी बनाउने त्यहाँसम्मका कुराहरू छन् । शान्ति प्रक्रियाका कुरा छन् जसलाई अगाडि बढाइएको छ, तमाम कुराहरू, त्यो चौध बुँदे सहमतिमा जे गरिएको छ त्यस अनुसार नै अगाडि बढेको छ भने छोड्न किन परयो ? यसमा मोर्चाबन्दी गरेर फरक ढङ्ग चल्नु पर्ने कुनै आवश्यकता थिएन । मैले भनेकै थिएँ, नेपाली काँग्रेस, एमाओवादी र एमाले, प्रमुख रूपमा काँग्रेस–एमाले ठूला पार्टी हुन्, एमाओवादी पनि अर्को तेस्रो पार्टी हो, अरु पनि पार्टीहरू छन्, यी पार्टीहरू मिलेर एउटा सहमतिका साथ जाऔँ । मिलाएर जाऔँ, सहमति कायम गरेर जाऔँ, मैले त भनिराखेको हो । म फेरि संविधानअनुसार त चल्नुपर्छ । संधिवानअनुसार चल्छु । सहमतिका साथ, जस्तो संविधान संशोधन गर्नु पर्ला, सहमतिका साथ संशोधनमा जाने कुरा, सहमतिका साथ निकास निकाल्ने कुरा, यी कुराहरूमा मेरो कुनै विरोध त छैन । गरौँ । समस्याहरूको समाधान गर्ने कुरा हामी जहाँ भन्दैछौँ त्यहाँ संविधान संशोधन आवश्यक त परिहाल्छ । त्यो गर्न, वहाँहरूले मात्रै संविधान संशोधन गर्ने भन्ने ठान्नु भएको छ भने र अहिले संसदभित्र वहाँहरूले जस्तो खालको गतिविधिहरू गर्दै हुनुहुन्छ म त्यसमा बोलिराखेको छैन, संसदभित्र जस्तो गतिविधिहरू गर्दै हुनुहुन्छ ति गतिविधिलाई हेर्ने हो भने वहाँहरू अत्यन्त तनावतर्फ राजनीतिलाई लाँदै हुनुहुन्छ जो उचित होइन । म त्यत्ति भन्न सक्छु ।

...