देशभरि र बाहिरसमेत रहेका नेपाली दाजु–भाइ दिदी–बहिनीहरूले ठूलो संख्यामा मलाई यसमा साथ दिनु भयो । मलाई प्रश्नहरू गर्नुभयो, सुझावहरू दिनुभयो, सल्लाह दिनुभयो । म सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । प्रधानमन्त्रीको रूपमा म यस कार्यक्रममा अर्को एपिसोडमा आउन्न । अहिलेको सिलसिलाको निरन्तरतामा म आउन्न । तर मैले देशप्रतिको कर्तव्य, जनताप्रतिको उत्तरदायित्व छोडेको छैन । त्यसकारण भिन्न ढङ्गले, फरक ढङ्गले वहाँहरूका जिज्ञासा, वहाँहरूका प्रश्न, वहाँहरूका आवश्यकतामा मेरो ध्यान रहनेछ । वहाँहरूको सेवामा म, नेपाली जनताको सेवामा मेरो बाँकी जीवन समर्पण गर्छु ।
सम्माननिय प्र म के पी ओलीज्यु सँगको यो सिजनको अन्तिम शृंखला "सिधाकुरा प्रधानमन्त्रीसँग"।
All the videos on this channel has copyright by Nepal Television.
Approved by Mr. Rabi Lamichhane
सिधा कुरा : सरकारको यो नौ महिनाको प्रमुखको हैसियतले यो अनुभवलाई छोटकरीमा, समरीमा भन्नु पर्दा कस्तो पाउनु भएको छ ?
प्रम : मैले अत्यन्त अप्ठ्यारो परिस्थितिमा प्रधानमन्त्रीको कामको जिम्मा लिएको थिएँ । कार्यकारी प्रमुखको हिसाबले देशलाई अगाडि बढाउने जिम्मा लिएको थिएँ । परिस्थिति अप्ठ्यारो थियो । मैले धेरै भनिरहनु पर्दैन, तराई मधेसको अवस्था । तराई बन्द थियो केही महिना देखि । नाकाबन्दीको अवस्था थियो । पेट्रोल, डिजेल, हवाई इन्धनलगायतको आपूर्ति संकट थियो । ग्यास थिएन । स्कुल बसहरू पनि चल्दैनथिए । जनजीवन अत्यन्त कष्टकर, असाधारण थियो । त्यस्तो अवस्थामा प्रधानमन्त्रीको जिम्मा मैले सम्हाल्नु परयो । र, म ति अप्ठ्यारा पस्थितिहरूलाई सहज अवस्थामा बदल्न लागेँ । नौ महिनाका प्रयासहरूबाट धेरै कामहरू गए जो सबै नेपाली दाजु–भाइ दिदी–बहिनीहरूलाई थाहा छ । राजनीतिक स्वार्थ, दलीय स्वार्थ वा पूर्वाग्रहका आँखाले हेर्ने, अरुले गर्ने टिक्काटिप्पणी बेग्लै कुरा हो, नत्र भने त्यस्तो बलेको तराईको आन्दोलन आज छैन, तराई बन्द सिद्धियो, नाकाबन्दी छैन । आपूर्ति व्यवस्था जुन अत्यन्त भयावह समस्या थियो त्यो छैन । नेपाललाई अरु ढङ्गले भारतसँगको सम्बन्ध, चीनसँगको सम्बन्धलाई एउटा नया उचाईमा लाने, पारस्परिक लाभ, पारस्परिक सम्मानको हैसियतमा लाने, त्यसका निम्ति हामीले छिमेकीसँगको एकल निर्भरता र परनिर्भरताका पक्षहरूलाई हटाउने र निर्भरताभन्दा माथि उठेर देशलाई माथि उठाउने कामको प्रारम्भ गर्ने । एकैछिनमा त हुने होइन । त्यस्ता कामहरू गर्नु परयो । देश विकास कसरी हुन्छ, त्यसको नीति कार्यक्रम र बजेटहरू अगाडि ल्याउनु परयो । ति कुराहरू ल्याइयो । यो नौ महिना व्यस्त समय रह्यो । नेपाल राष्ट्र, नेपाली जनताका लागि मैले सक्रियतापूर्वक समर्पण गरेको छु । मलाई आफू राजिनामा गरेका बखत बेठिक नगरी, अपराध नगरी, गल्ती नगरी देश र जनताप्रति बफादार रहेर विकासका प्रयासहरूलाई अगाडि बढाएर, देशले भोगिरहेका समस्यालाई समाधान गरेर अगाडि बढ्न जुन नेपाली जनताको व्यापक समर्थन, सहयोग, स्नेह मैले पाएँ । त्यसका निम्ति म प्रशन्न पनि रहेँ, जनताप्रति कृतज्ञ पनि रहेँ र आफूलाई कामको सम्बन्धमा जति समय मैले पाएँ त्यसका निम्ति मलाई अलिकति सन्तोष पनि लागेको छ ।
सिधा कुरा : प्रधानमन्त्रीको रुपमा आफूले गर्न चाहेको र गर्न नपाएको त्यस्ता के–के चिजहरू छन् ? के–के चिहरू रहे ?
प्रम : पूर्वाधार विकास गर्न समय लाग्थ्यो । ऊर्जा विकास गर्न समय लाग्थ्यो । पूर्वाधारका अरु पक्ष विकास गर्न समय लाग्थ्यो । आधुनिक विज्ञान प्रविधिको अकितम/उच्चतम प्रयोग गर्न अलिकति समय लाग्थ्यो । देशलाई, प्रशासनलाई र समाजलाई आइटीमा लिएर जानका लागि अलिकति समय लाग्थ्यो । यस्ता कुराहरू अलिक भ्याउने कुरा भएन । बाटाहरू बनाउन समय लाग्छ । रेल बनाउन समय लाग्छ । विकास गर्न अलिकति समय लाग्छ । कृषिको आधुनिकीकरणका लागि समय लाग्छ । त्यसको व्यवसायीकरणका लागि समय लाग्छ । त्यसको योजनावद्ध विविधिकरणका लागि समय लाग्छ र देशलाई आत्मनिर्भरतामा लानका निम्ति योजनावद्ध ढङ्गले अगाडि बढ्न समय लाग्छ । शिक्षालाई तदनुसार, ति हाम्रो आवश्यकताअनुसार मोड्नका लागि अलिकति समय लाग्छ । यी यस्ता थुप्रै कुराहरू जो गर्न समयले नै भ्याउँदैनथ्यो ।
सिधा कुरा : कति समय अझ सरकार अगाडि बढेको भए यी सब चिजहरू हुन्थ्यो भन्ने लाग्छ यहाँलाई, मतलब कति समय अरू चाहनु हुन्थ्यो तपाईँ ।
प्रम : पाँच वर्षमा मैले अहिले भनेका कुराहरू, आधारभूत रूपमा अहिले भनेका कुराहरू र नेपाल गरिब देश, पछौटे देश भन्ने कुरा समाप्त हुन्थ्यो । ई–गभर्नेन्समा जान्थ्यो । पेपरलेस गभर्नेन्समा जान्थ्यो । डिजिटल युगमा जान्थ्यो । तर ति चिजहरूका निम्ति हामीसँग समय भएन । हामीले रेल–वेको मोटामोटी समय सर्भे, प्रारम्भिक सर्भे सकेका छौँ । तर त्यसको डिटेल सर्भे, डिजाइन, इष्टिमेट, लागत आदि अलिकति गर्न बाँकी छ र त्यसपछि हामीले काम सुरु गर्नु पर्छ । निर्माण गर्न केही समय लाग्छ, दुई–तीन वर्ष । यसो गर्दा झण्डै हामीलाई चारदेखि पाँच वर्षभित्र ति कामहरू पूरा गर्न सकिन्थ्यो । तर सुरु नै हुन विलम्ब हुने भयो । त्यसलाई असफल पार्न र खत्तम नै पार्न त कसैले सक्दैन । तर नगरेर विलम्ब गरिदिए पछि त भइगयो नि ? यस खालका कुराहरू चाहिँ हुन्छन् । यस सम्बन्धमा मैले आफ्ना विचारहरू अगाडि पनि सारेको छु । देशमा एउटा राष्ट्रिय भावना, आत्मनिर्भरताको भावना, राष्ट्रिय स्वाभिमान जाग्नु पर्छ, उठ्नु पर्छ भनेर यसलाई जगाउने काम गरिएको छ । अहिले राजनीतिक परिवेश जस्तो छ त्यस्तो धेरै असन्तुष्ट हुनु पर्ने पनि छैन ।
सिधा कुरा : तर सरकार दीर्घकालीन नहुने हामीलाई थाहै छ, तर योजनाहरू चाहिँ किन एकदमै दीर्घकालीन आउँछ, पाँच वर्षे, दश वर्षे योजना आउँछन्, जब कि थाहा छ प्रजातन्त्र प्राप्ती पछि पच्चिसौँ पटक सरकार परिवर्तन गर्दैछौँ, यस हिसाबले इन एभरेज हामीले हरेक वर्षजस्तो सरकार परिवर्तन गरिरहेका छौँ ?
प्रम : जस्तो, मैले रेल–वे लाइन बनाउने, रेल–वे सेवा सुरु गर्ने भनेँ भने त्यो ६ महिनाको त हुँदैन । विभिन्न देशमा सरकारहरू अलिक छिटो पनि परिवर्तन हुन्छन् । तर यहाँनिर सरकार परिवर्तनको अर्थन र उद्देश्य बेग्लै छ, दुःखको कुरा त्यो हो । नत्र यो कुनै ठूलो कुरा थिएन । अहिलेको सरकारको परिवर्तनको कुरा भनेको एकजना मान्छेलाई प्रधानमन्त्रीबाट हटाउने अर्कोलाई प्रधानमन्त्रीमा ल्याउनेसँग मात्रै होइन कि त्योभन्दा अलिकति गहिरा, अलिकति महत्वका र दूरगामी महत्वका अर्थ राख्ने खालका, त्यसभित्र आशयहरू छन्, चिन्ताको विषय त्यो हो । एकछिनको मात्रै, केही महिनाको मात्रै योजना वा दृष्टिकोण राखेर हुँदैन । नेपाल कसरी अगाडि बढ्छ ? अघि भर्खर मात्रै पनि एउटा टेलिभिजनको कार्यक्रममा मैले राखेको थिएँ, हामीलाई निर्माणका लागि रड चाहिन्छ, छडहरू चाहियो, अरु विभिन्न प्रकारका स्टिलका सामानहरू चाहियो, हामीसँग त्यत्रो फलाम खानी छ, पर्वतमा पनि फलाम खानी छ । अहिले हामीले नवलपरासीको नौवादीमा फलाम खानीको पहाडै फेला पारेका छौँ । खोज्न लगाए पनि फेला परयो । पर्वतमा त्यसै गरेर खानी छ । त्यसै गरेर अरु ठाउँहरूमा पनि खानीहरू छन् । त्यसलाई हामी किन उत्खनन् गरेर प्रशोधन गर्दैनौँ ? धेरै ठूलो कुरा नै होइन त्यो त । उत्खनन् गर्ने, प्रशोधन गर्ने र प्रयोग गर्ने । यसले हामी कच्चा पदार्थ अन्यत्रबाट ल्याएर निर्माण गर्नु पर्ने त हुँदैन । कच्चा पदार्थ पनि हामी उत्पादन गर्न सक्छौँ । त्यसमा पनि हामी आत्मनिर्भर हुन सक्छौँ । विभिन्न प्रकारका वस्तुहरू उत्पादन गर्न सक्छौँ । धेरै कुराहरू पत्ता लागेका छन् । अहिले तेल हामीसँग रहेछ, तेल खानी पत्ता लागेको छ । हामीसँग यूरेनियम रहेछ, त्यो पत्ता लागेको छ । हामीसँग अरु धेरै चिजहरू छन् ति पत्ता लाग्दैछन् । यति नौ महिनामा, पहिले पनि सरकार थिए, तर यो सरकारले कमसे कम फलाम खानी, यूरेनियम, तेल खानी आदि पत्ता लगायो । अरु काम गरिराखेको छ, कोइला खानी पत्ता लगायो, नून खानी पत्ता लगायो । ति कामहरू भइराखेका छन् । त्यसकारण हामीले आत्मनिर्भरताको बाटोतिर, आजको अन्तरसम्बन्धित दुनियामा शतप्रतिशत आत्मनिर्भर होइन, आत्मनिर्भर भनेको कस्तो भने कसैले बाटो छेकिदियो भने भोकै मर्ने हुनु भएन । कसैले आपूर्ति गरिदिएन भने भोकै मर्ने स्थिति हुनु भएन । नाङ्गै पर्ने स्थिति हुनु भएन । आत्मनिर्भरता त्यो हो । त्यसबाट व्यापार त सबैले गर्छन् नि, आदान–प्रदान सबैले गर्छन् । हामीसँग त यस्तो भूगोल छ, यस्तो जनसङ्ख्या छ, कर्मशील जनसङ्ख्या छ, योङ्ग इनर्जेटिक पपुलेसन छ हामीसँग, युवाहरू धेरै भएको देश, कर्मवीरहरूको देश, यति उर्वर देश, यति खनिजहरूले भरिएको देश, यति प्राकृतिक स्रोत, पानी मात्रै हाम्रो यत्रो पूँजी छ, जसकालागि ऊर्जा उत्पादन गरौँ, ट्रान्समिसन लाइन बनाऔँ, बेचौँ, त्यो गर्न सकिन्छ । यसलाई विलम्ब गर्नु हुँदैन ।
गीता निरौलाजीको प्रश्न प्रधानमन्त्रीसँग – देश विकासमा हजुरको भूमिका चाहिँ के हुनेछ ?
प्रम : मैले अस्ति ९ गते राजिनामा दिने सन्दर्भमा बोल्दा पनि भनेको थिएँ, मैले प्रधानमन्त्री पदबाट राजिनामा गरेको हुँ । मैले मेरो जिम्मेवारीबाट राजिनामा गरेको छैन । मेरो कर्तव्यबाट राजिनामा गरेको छैन । र, म आफ्ना जिम्मेवारीहरू, आफ्ना कर्तव्यहरूप्रति सजग छु र क्रियाशील रहन्छु । देशप्रति, जनताका हितप्रति, देशको स्वाभिमानप्रति, विकासहरूतर्फ उन्मुख हुने नीतिप्रति, मेरो सक्रिय सहभागिता फेरि पनि रहन्छ । र, प्रतिपक्षमा रहनुपर्दा पनि जिम्मेवार प्रतिपक्ष, रचनात्मक मात्रै होइन त्योभन्दा बढी जिम्मेवार प्रतिपक्ष भन्छु म, किनभने रचनात्मक मात्रै भन्दा त्यसमा सक्रियताको पक्ष त हुन्छ र अलिकति बढी आलोचनात्मक मात्रै पक्ष हुन्छ । तर मैले भनेको रचनात्मक मात्रै होइन जिम्मेवार प्रतिपक्ष, देश विकासप्रति, देशको भलाइप्रति, जनताको उन्नतिप्रति जिम्मेवार भएको प्रतिपक्ष, त्यस भूमिकामा म रहन्छु । र, मेरा अनुभवहरू, जो मैले आधा शताब्दी संघर्ष गरेर प्राप्त गरेको छु ति कुराहरूलाई मैले प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीका हिसाबले लगाएँ, लगाउने कोशिस गरेँ, यद्यपि व्यवधानहरू, वाधाहरू, अडचनहरू धेरै थिए, तै पनि । प्रधानमन्त्री नहुँदा पनि आफ्ना उद्देश्यहरूलाई अगाडि बढाउँछु ।
सिधा कुरा : म यतिखेर स्मरण गराउन चाहन्छु, यहाँले प्रधानमन्त्री हुनुभएको पहिलो दिन घोषणा गर्नु भएको टुइन विास्थापन सम्बन्धी । देशमा जम्मा विस्थापन गर्नु पर्ने टुइन १७१ रहेछन्, तिनको स्थितिबारे म जानकारी गराउन चाहन्छु, आदरणीय दर्शक स्रोताहरूलाई जानकारी गराउन चाहन्छु, यसको स्थिति के होला ?
प्रम : त्यसमा के छ भने तपाईँले भने जस्तै अहिले टुइनको स्थिति भनेको १७१ वटा टुइन जसमध्ये ६ वटा टुइनहरू तयार भइसकेका छन् निर्माण भइसकेका छन्, ललितपुरको बागमती नदिमा, दैलेखमा दुईटा भएकाछन् – एउटा असाराघाटको कर्णाली नदिमा र अर्को कर्णाली नदिमै दहिखोला भन्ने ठाउँमा । त्यसै गरेर दार्चुलाको जलजीवी भन्ने ठाउँमा महाकाली नदिमा भएको छ । त्यसै गरेर सुर्खेतको भेरी नदिमा भएको छ । त्यसै गरेर जाजरकोटमा गेटमापिपेचौर भन्ने ठाउँमा भेरी नदिमा भएको छ । यसरी ६ वटा निर्माण सम्पन्न भइसकेका छन् । एकाउन्न वटा निर्माणाधिन छन् अथवा निर्माण भइरहेका छन् । छयासी वटाको टेण्डर प्रक्रिया पूरा हुँदैछ । तीनवटामा डिपिआर तयार हुँदैछ । पच्चीस वटामा चाहिँ कहिँ पक्की पुल बन्दैछन्, कहिँ प्राविधिक हिसाबले नै झोलुङ्गे पुल बनाउन मिल्दैन, सम्भाव्यता नभएका । र, यो तीब्र रफ्तार हुँदैछ भन्ने कुरा त मैले जुन आँकडा बताएँ, ६ वटा तयारै भइसके, ५१ वटा निर्माणाधिन, ८६ वटा टेण्डरको प्रक्रियामा छन्, यत्रो बिघ्न भइराखेका छन् र डिपिआर तयार भएका ३ वटा, यी त सबै लाइनमा छन् । यत्रो वर्षदेखि टुइन झुण्डिएका थिए, टुइनमा झुण्डिएर पारी तर्न खोज्ने, तरी हालियो भने तरीहाल्यो नत्र बिचमै मरियो, नेपाली जनताको अवस्था त्यस्तै थियो । हाम्रा बालबालिकाहरू त्यस्तै जोखिम उठाइरहेका थिए । हाम्रा दिदी–बहिनी, दाजु–भाइहरू त्यही जोखिम उठाइरहेका थिए । त्यसलाई, मैले दुई वर्षभित्र भनेको थिएँ, अब कम्तिमा पन्ध्र महिना बाँकी छ । यो रफ्तारले, ५१ वटा निर्माण हुँदैछन्, ८६ वटा टेण्डरको प्रक्रियामा छन्, समयसिमा भित्र सकिने लक्षण छ, कामले गति लिएको छ । त्यसकारण यसमा केही भन्ने ठाउँ छैन, किनभने यो आजको भोलि हुने कुरा होइन, यसलाई अलिकति समय लाग्छ, त्यही भएर मैले दुई वर्षमा झोलुङ्गे पुलबाट टुइनलाई विस्थापित गर्ने भनेको थिएँ । र, त्यो कार्यरुप हुँदैछ । यो एउटा ऐतिहासिक काम हो । यो नेपाललाई टुइन एराबाट मुक्त गर्दै, ठूलो, एउटा युगलाई अन्त गरिदिने हो, टुइन युगलाई । यो काम हुँदैछ ।
टेकनाथ भण्डारीजीको प्रश्न प्रधानमन्त्रीसँग – प्रधानमन्त्रीज्यू तपाईँको कार्यकालमा देशले एउटा विकासको बाटोमा अगाडि बढेको छ, त्यसै गरेर झापा क्षेत्र नं. ७ मा पनि धेरै विकासका, ठूलठूला विकासका आयोजनाहरू अगाडि बढ्ने कुराहरू आए, शिलान्यास भए, केही कुराहरू अगाडि बढ्दैछन्, अब अहिले तपाईँले प्रधानमन्त्री पदबाट राजिनामा दिनुभयो, यस क्षेत्रमा मान्छेहरू अब के हुने हो भनेर एकदमै अन्योलमा छन्, हिजो विकास हुन्छन्, अगाडि बढ्छन् भनेका कुराहरू कसरी अगाडि बढ्छन्, यसमा तपाईँले कस्तो भूमिका खेल्नु हुन्छ र अगाडि बढ्ने या नबढ्ने के कस्तो अवस्था होला विकासका आयोजनाहरू ?
प्रम : मैले नीति कार्यक्रममार्फत अगाडि सारेका र बजेट त्यसलाई समपुष्टी गरेका आयोजनाहरू छन् । देश विकासका मार्गचित्रहरू छन् । मैले केही बाटाहरू, तरिकाहरू, योजनाहरू, कार्यक्रमहरू, नीतिहरू र तिनलाई कार्यान्वयन गर्नका निम्ति बजेटको व्यवस्था गरेको छु । ति कुराहरूलाई अब कसैले पनि रोक्न सक्दैन । अलिकति ढिलो चाँडोको कुरा हो, रोक्न सक्दैन । अर्को कुरा मैले भर्खरै यसै कार्यक्रममा भनेँ, मैले प्रधानमन्त्री पदबाट राजिनामा गरेको हुँ । मैले मेरो जिम्मेवारीबाट, मेरो उत्तरदायित्वबाट, देशप्रतिको मेरो निष्ठाबाट, मेरो कर्तव्यबाट राजिनामा गरेको होइन । र, म प्रतिपक्षमा गए पनि, प्रतिपक्ष ? यो कुनै नेकपा (एमाले) भनेको निरिह भएर डिलमा बसेर दुःख मनाउ गर्ने अथवा हर्ष बढाइँ गर्ने, जे गरे पनि केही गर्न नसक्ने, खाली दुःख मनाउ र हर्ष बढाइँ मात्र गर्ने निरिह यो संस्था होइन । यो नेपाली जनताले माया गरेको, नेपाली जनताले मन पराएको र नेपाली जनताले विश्वास गरेको र शक्तिसाथ संसदमा उपस्थित रहेको नेपालको राजनीतिक परिवर्तनको इतिहासमा योगदान गरेको, अहिले पनि सशक्त ढङ्गले संसदमा उपस्थित रहेको संस्था यो छँदैछ, त्यस संस्थाको नेतृत्व मैले फेरि मेरा कर्तव्यहरूलाई सम्झेर बाँकी काम अगाडि बढाउने हिसाबले नै गर्छु । यी कामहरू म भन्न चाहन्छु प्रश्न गर्ने मित्रलाई । यी कामहरू अगाडि बढ्छन्, बढाइन्छन्, यिनीहरूमा तलमाथि हुन सक्दैन ।
सिधा कुरा : प्रधानमन्त्रीज्यू, यतिखेर हामीले सम्भावना कुरा गरिरहँदा, यो देश, मुलुक विकसित हुन्छ भन्ने आश जनतालाई दिइराख्दा, सपनाहरू देखाइराख्दा, योजनाहरू दिइरहँदाखेरी देशको ठूलो जमात यो देशको भविष्य छैन भन्ने सोचेर दिनानुदिन बाहिरिँदैछ, लाखौँको सङ्ख्यामा मानिसहरू यो देशमा भविष्य नदेखेर बाहिर गइरहेका छन्, यो क्रमलाई रोक्नका निमित्त हामीले भनेर मात्रै अथवा योजनाहरू दिएर मात्र कार्यान्वयनका पाटाहरू नबनाइदिँदा कसरी रहन सक्ला ? अर्को कुरा यो मुलुकमा सम्भावना छ अथवा छैन भन्ने कुरा एउटा गरिब किसानको छोरो प्रधानमन्त्री भइसक्दा पनि मानिसले नदेख्ने हो भने यो देशको भविष्य के होला ?
प्रम : तपाईँले भनेको कुरा कहिँ कहिँ मिलेन । एउटा गाउँमा जन्मिएको किसानको छोरो त्यस जिम्मेवारीमा पुग्दा पनि भएन भने कहिले हुन्छ भन्ने । पुग्ने बाटो लिएको छ, नीतिहरू लिएको छ, त्यसले मार्गचित्र कोरेको छ । अब देश विकास कसरी हुन्छ भन्ने कुरा गरिएको छ र त्यसको योजना, खाली भनिएको मात्रै छैन, त्यसको योजना छ, त्यसको पैसा कहाँबाट आउँछ भन्ने पनि भनिएको छ, पैसाको बन्दोबस्त समेत, यसलाई कहाँ–कहाँ पुरयाउने, कता–कता पुरयाउने भनेर । मानिसहरू कस्तो छन् भने, कसै–कसैले कस्तो गर्छन् भने, कथाको प्रसङ्ग– भ्यागुता बच्चीले घुम्दै जाँदा एउटा गाईको बाच्छी भेटेछ, यत्रो बाच्छी त मैले ठूलो पो देखेँ आमा भनेपछि भ्यागुताले पेट फुलाइछ कत्रो थियो भनेर, माउसाले देखेको रहेनछ, त्यत्रो । अब, नदेखेकाहरूले या नबुझेकाहरूले या बुझ्ने कष्ट नगरेकाले वा बुझ्न मञ्जुर पनि नगर्नेहरूले अथवा आग्रहवस बुझ पचाउनु परेकाहरूले भन्नु बेग्लै हो । तर, बाटो त देशले समात्न खोजेकै छ । यो छोटो अवधिभित्र हामीले जे गरेका छौँ त्यो, तपाईँ विचार गर्नुहोस् न माघसम्म नाकाबन्दी रह्यो, फागुन–चैतमा म भारत गएर, चीन गएर, दुईटा देशहरूसँग सम्बन्ध सन्तुलित, व्यवस्थित, उन्नत बनाएर नेपालहो हितको पक्षमा दूरगामी महत्त्वका ठूला–ठूला सम्झौताहरू गरेर आएँ । ततक्षण मलाई हटाउने षडयन्त्र सुरु भयो । बैशाखमा एकैचोटि । कुनामा, एउटा घुम्तीमा ढुकेर अचानक आक्रमण भयो, घुम्तीमा, झ्वाट्टै । तीन दिनपछि नीति कार्यक्रम आउँदैछ, राष्ट्रपतिबाट संसदमा सम्बोधन हुनुछ, त्यतिखेर सरकार परिवर्तन गर्न थाल्दा कुन सरकारको नीति कार्यक्रम पढ्ने हो ? त्यतिबेला त्यसो गर्न थाल्दा शपथग्रहण गराउन राष्ट्रपति बस्ने कि भ्रमणमा जाने ? अर्को दिन राष्ट्रपतिको भारत भ्रमणको प्रस्ताव थियो । त्यस यता दिनैपिच्छेको, यहाँहरूले देख्नुभएको छ, त्यस्तो अवस्थामा हामीले यी कामहरू गरयौँ र मैले यही कार्यक्रममा भनेको थिएँ । यस कार्यक्रममा मैले के भनेको थिएँ भनेँ – हाम्रो जनशक्ति जसरी श्रम गर्न योग्य जनशक्ति जुन अनुपातमा प्रतिवर्ष बढ्छ या उत्पादन हुन्छ, त्यस अनुरुपमा सिर्जना हुन्छ, त्यस अनुपातमा हामीले रोजगारीका अवसर सिर्जना गर्न सकेका छैनौँ, त्यसकारण रोजगारीका अवसरको न्यूनताले गर्दा मान्छेहरू बाहिर जानुपरेको छ । हामीले एउटा आशावादी जगायौँ, यस पल्ट, यस वर्ष । ठूलो सङ्ख्यामा बाहिर जाने मान्छेको सङ्ख्या घट्यो । यस अवधिमा विस्तारै झन घट्दै गयो । किनभने मान्छेमा आशावादिता जाग्यो । सर्टिफिकेट राखेर यहिँ काम गर्न पाइन्छ, ऋण पाइन्छ र काम गर्न पाइन्छ, त्यसमा अलिकति प्राविधिक सुझाव सल्लाह समेत पनि पाइन्छ र काम गर्ने ठाउँ छ भने किन विदेश जाने भन्ने पनि उठ्यो । त्यस कारण युवा पलायन हुने, युवा विदेश जाने, श्रम शक्ति बाहिर जाने, देश बाँझो हुने । त्यस परिस्थितिलाई बदल्ने दिशामा त प्रारम्भ भइसकेको थियो । तर अब त्यसलाई निरन्तरता कसरी दिने भन्ने कुरा । र, हामीले श्रमका अवसरहरू कसरी बढाउने, श्रम शक्तिको जति बढोत्तरी छ त्यो भन्दा बढी श्रमका अवसरहरू बढाउँदै गएपछि बल्ल हामीले आकर्षण पनि दिन सक्छौँ र आशा पनि दिन सक्छौँ ।
सिधा कुरा : प्रधानमन्त्रीज्यू, आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग यहाँको कुराकानी भयो, वहाँले राष्ट्रिय सहमतिको सरकारका लागि आग्रह गर्नु भएको समाचार आएको छ र राष्ट्रिय सहमतिको सरकार बन्नका लागि जुन आधारहरू चाहिन्छ ति आधारहरू नभएको आशयका अभिव्यक्तिहरू यहाँबाट आएको भन्ने बुझिएको छ, के छ सम्भावना छ राष्ट्रिय सहमतिको सरकारको ?
प्रम : सम्भावना छैन । र, मलाई कुनै एउटा कर्मकाण्ड, एउटा नाटक मञ्चन गरिरहनु पर्दैन, म नाटक गर्ने मान्छे होइन, म राजनीति गर्ने मान्छे हो । त्यसकारण मैले त्यो यथार्थ भनेको हो । वहाँहरूको पनि एउटा कर्मकाण्ड पूरा गराई मात्रै हो, त्यस्तो मात्रै कुरा हो । त्यसमा कुनै गम्भीरता, वास्तविकता केही पनि छैन ।
सिधा कुरा : किन त्यसो भन्नु भयो, किन यो सहकार्य हुन सक्दैन राजनीतिक पार्टीहरूबीच ?
प्रम : एउटा, संविधान बन्नेबित्तिकै नेपाली काँग्रेसले सम्भावना भत्कायो । दोस्रो, त्यसलाई सैद्धान्तिक रुप दियो । तेस्रो, मैले धेरै कोशिस गरेँ, वहाँहरूले त्यो सम्भावनालाई पूरै इन्कार गरेर आउनुभयो । सहमतिका निम्ति मैले वहाँहरूले आग्रह गरेँ, आह्वान गरेँ । वहाँहरू अविश्वास राख्नेतिर कुद्नुभयो । मैले त्यस्तो अविश्वास राखेर चलेका र बलमिच्याईँको भाषा बोल्ने, त्यस अवस्थामा रहेका साथीहरू, पार्टीहरू र सबैलाई पनि सजिलो होस् भन्नका निम्ति, नत्र एउटा विवादको स्थिति त थियो, संवैधानिक अन्योलले, अस्पष्टताले, त्यसलाई पनि वाधा अड्काउ फुकाउने विधिमार्फत टुङ्ग्यादिएँ र सहज ढङ्गले मैले राजिनामा पनि गरेँ र नयाँ सरकार गठनका लागि बाटो सजिलो होस्, विवादरहित होस् । मैले त्यसमा पनि भनेँ र मैले सम्माननीय राष्ट्रपतिज्यूलाई पनि भनेँ, मलाई कुन सरकार, कसको सरकार भन्ने कुरा भन्दा, यो प्रणाली जनताले लडेर ल्याएका उपलब्धी, हामीले जिन्दगीभर गरेका परिश्रम, तिनका उपलब्धी, ती कुराहरूको रक्षा मेरो लागि ठूलो कुरा हो । त्यसकारण म विवादतर्फ अथवा अनावश्यक झमेलातर्फ जान चाहन्न । मैले मनेँ, कानुनका छिद्रहरू खोजेर ति छिद्रबाट अलिक दिन सरकारको आयु लम्ब्याउने त्यस प्रकारको कोशिस म गर्दिन भनेर मैले पहिले पनि भन्दै आएको थिएँ र मैले राजिनामा गर्दा पनि त्यही भनेर गएँ । त्यो राष्ट्रिय एकताको सम्भावना वहाँहरूले नकारिसक्नु भयो । वहाँहरूले त्यस सम्भावनालाई अस्वीकार, इन्कार गरिसक्नु भयो र असम्भव बनाइसक्नु भयो । अनि फेरि नेपाली जनतालाई अलमल्याउने हिसाबले ए कोशिस त भएको छ है, गरेका छन् है भन्ने पार्ने हिसाबले अँ यसो छ नि त भन्ने, त्यो तमासाको कुनै जरुरी छैन । वहाँहरू चाहनु हुन्न, नचाहने कुरा किन झुठो गर्ने, देखावटी कुरा किन गर्ने ?
सिधा कुरा : यहाँनेर एउटा कुरा सोध्न मन लाग्यो, जस्तो सम्बोधनको क्रममा पनि यहाँले भन्नु भयो, यहाँका विभिन्न क्रियाकलापले गर्दा जनताको मन पनि जित्नु भएको छ, धेरै जनताले आइ आएम विथ केपी ओली भनेँ, एउटा ट्रेन्डिङ पनि चलाए, जनताको मन जित्नु भएको छ, बाधा अडकाउ फुकाउनको निम्त गर्नुभएको पहलले अझै जनताको मत जित्नु भयो, राजनीतिमा जुन यहाँले पनि भन्नु भयो, आफ्नो राजनीतिलाई उचाई दिने कोशिस भयो सर्वत्र त्यसको तारिफ पनि भयो, प्रशंसा पनि भयो । तर सबैको मन तपाईँले जितिरहँदा तपाईँका यी कदमले देशले जित्ने सम्भावना कत्तिको देख्नुभएको छ ? देशले पनि जित्दैछ ?
प्रम : अवश्य, अवश्य । मैले राजिनामा दिइरहँदा पनि बोलेको छु । यो निर्णय त्यता लानका लागि होइन, तर चिताएजस्तो चाहेजस्तो मन मात्रै हुँदैन, घटनाक्रमहरू यसैगरी अगाडि बढ्छन् भन्ने छैन । घटना कसरी अगाडि बढ्छ त्यसको आफ्नो नियम छ, त्यसका आफ्ना विधि र तरिका छन् । मान्छेका आकांक्षाहरू फरक हुन सक्छन् । त्यसकारण मैले भनेको हुँ । आज नेपाली जनतामा र खासगरी नयाँ पिँढीमा । जुन नयाँ पिँढी हिजोसम्म राजनीतिक रुपमा मतलब छैन भन्थ्यो, आज नयाँ पिँढी मेरो देश बनाउनु पर्छ भन्छ । मेरो देशको स्वाभिमान भन्छ । मेरो देशलाई आत्मनिर्भर बनाउनु पर्छ । मेरो देशको यत्रो प्राकृतिक स्रोतहरू छन् त्यसको सदुपयोग हुनुपर्छ, त्यसको एक्सप्लोर गर्नु पर्छ हामीले विकास गर्नु पर्छ भन्छ । र, जागरण आएको छ एउटा । मैले जुन नेपाली जनताबाट माया ममता पाएको छु अरु कारणले होइन, जनताका ति चाहना ति भावना मेरा विचारहरूमा र व्यवहारहरूमा जनताले त्यो प्राप्त गर्छ । किनभने मैले आफ्ना निम्ति भनेको छैन, मैले देशका निम्त भनेको छु, जनताका निम्ति भनेको छु, अग्रगमनका निम्ति भनेको छु, सामाजिक न्यायका निम्ति भनेको छु, शान्तिका निम्ति भनेको छु, विकासका निम्ति भनेको छु । त्यसकारण जनताले आफ्ना आकांक्षाहरू, आफ्ना सपनाहरू त्यहाँ देख्छ जहाँ मैले भनेको छु । त्यसकारण मैले जनताबाट समर्थन पाएको छु । त्यसको अर्थ के हो भन्दा यो देश हार्दैन, यो देश जित्छ, यो देश विद्वान पुर्खाहरूको, ऋषिमुनिहरूको सन्तानहरूको यो देश, अनि उर्वर यो देश, वीर भनेर दुनियामै परिचित यो देश, यो वुद्धको देश, यो सगरमाथाको देश । त्यसकारण यो शान्त हुन्छ, शालिन हुन्छ, उच्च हुन्छ, समृद्ध हुन्छ । त्यो हुन्छ ।
सिधा कुरा : अब अर्को एउटा महत्त्वपूर्ण कुरा, यहाँको एउटा अडान लिने जुन स्वभाव छ, यो स्वभावका सकारात्मक पक्षहरू त आफ्नै ठाउँमा होलान्, तर जो विरोधि छन्, जसलाई तपाईँ मन पराउनु हुन्न अथवा जुन चिजलाई तपाईँ इन्डोर्स गर्न चाहनु हुन्न, तिप्रति तपाईँ अलि धेरै नै कटाक्ष गर्नु हुन्छ, तिनलाई तपाईँ वर्जित गर्नुहुन्छ भन्ने पनि एउटा आरोप छ नि ? मधेस एउटा उदाहरण हुन सक्छ ।
प्रम : होइन कहाँ गरेको छ र ? मधेस । मधेस भनेको त एउटा बलजफ्ती थोपरेको शब्द हो । तै पनि एउटा अभ्यास पार्न खोजिएको छ, गर्न खोजिएको छ, भन्न खोजिएको छ, लिखतमा आए, तराई मधेसको जुन कुरा हो । म तराईमा ५५ वर्षदेखि छु । दश वर्ष मात्रै मेरो पहाडमा बितेको हो ।
सिधा कुरा : तर तपाईँलाई तराई फ्रेण्डली मान्दैनन्, विशेष गरेर मधेस केन्द्रित दलहरूको कुरा गर्दा ?
प्रम : त्यो कुरामा नमान्लान् । अहिलेसम्म कसैले तराईका सदरमुकामहरूमा चक्रपथ बनाउने, हरेक सदरमुकाममा चक्रपथ बनाउन, हरेकलाई पचास करोडका दरले काम सुरु गर्नका निम्ति कसले छुट्याएको थियो ? मैले छुट्याएको छु । तराईका सदरमुकाम जोड्न कुनै बाटो काम लाग्ने छ ? तर अहिले चार लेनको चौडा सडक पूर्व–पश्चिम राजमार्गदेखि सदरमुकाम जोड्ने बाटोका योजना र बजेटमा हालिएको छ । अहिलेसम्म तराईका गरिब जनताका निम्ति यस वर्षमा बीस हजार घर, चानचुने कुरा होइन, त्यो बनाएर जनतालाई दिने, धनीपूर्जा छैन भने धनीपूर्जाको व्यवस्था गरेर दिने, त्यो कसले भनेको थियो ? तराईका गरिबहरू, अल्पसङ्ख्यकहरू, उत्पीडितहरू, तिनका छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क पढाउने कसले भनेको थियो ? अनि तराईका खेतहरू सुख्खा र बाँझो नरहुन्, उर्बर होउन्, त्यसका निम्ति सिंचाईको प्रबन्ध गर्ने भनेर असाधारण ढङ्गले बजेट छुट्याउे, योजनाहरू पार्ने काम कसले गरेको थियो ? केही राजनीतिका नाउँमा पण्डितले पाण्डित्याईँका कुरा गर्नु सतहभन्दा बाहिर कुरा गर्नु बेग्लै कुरा हो । तराईमा जाउँ न त, वहाँहरू पनि तराईमा जानुस् । जसले तराईले मन पराउँदैन केपी ओलीलाई, केपी ओलीले तराईलाई हेला गर्छ भन्छन् त्यो जनताले के बुझेका रहेछन् तराई जाउँ त, वहाँहरू पनि जानुस्, म पनि जाउँ । त्यसकारण सतहका गफहरू, जनता अलमल्याउने चेष्टाहरू बेग्लै हुन् । म तराई मात्रै देख्दिन, म हिमाल–पहाड–तराई देख्छु । पूर्व मेचीदेखि महाकाली, चाँदनी दोधारा, मेची पारीका महेशपुरका वडाहरूसमेत देख्छु । त्यसकारण यो यहाँको र वहाँको भन्ने कुरा ति निरर्थक कुरा हुन् । जनताका कुरा होइनन् ति ।
पंकज चौधरीजीको प्रश्न प्रधानमन्त्रीसँग – मधेसमा भएको आन्दोलनप्रति तपाईँको चाहना के छ ?
प्रम : मैले भनिसकेँ आनदोलनको सम्बन्धमा । यत्तिकै मनगढन्ते आन्दोलनको खास अर्थ हुँदैन । मधेसका जनतालाई अधिकारसम्पन्न बनाउने । मधेसका जनतालाई अवसर दिने । मधेसका पछाडि परेका, दुःखी, गरिबहरू, अल्पसङ्ख्यक, उत्पीडित र वास्तवमा गरिब जनताका निम्ति काम गर्ने र मधेसलाई उद्योगको क्षेत्र, कृषिको क्षेत्र, विज्ञान–प्रविधिको प्रयोगको क्षेत्र र पहाडबाट निकालिएको विद्युतले चलाउने, तराई उत्पादन भएको धानले अरुतिर चलाउने, उद्योगले अरुतिर चलाउने, यसप्रकारको हाम्रो सामञ्जस्यतापूर्ण व्यवहार हुन्छ । आन्दोलनका सम्बन्धमा आन्दोलन गरिरहँदा खाली दुईवटा कुराहरूको आधारमा जस्तो नागरिकतामा बेठिक गरिएको छैन । नागरिकताको अधिकार छ जनतालाई । अन्यत्र कहिँ नभएको अधिकार पनि छ हाम्रोमा । अरु हिसाबले पनि तराईका सम्बन्धमा कुनै भेदभाव संविधानमा कतै छैन । त्यसकारण जस्ता खालको भ्रमहरू फिजाइएको छ ति बेठिक हुन् । र, अहिलेसम्म तराईका साथीभाइहरू जो माथि–माथि पुगे के विषय उठाउ ? बरु तराईका साथी–भाइहरूले दाजु–भाइ दिदी–बहिनीहरूले वहाँहरूलाई सोध्न जरुरी हुन्छ, के विषय उठाउनु भयो ? र सोध्न जरुरी हुन्छ वहाँहरूले भन्दा मैले धेरै विषय उठाएँ । मैले वहाँहरूलाई नै भनेँ बरु यो–यो माग गर्नुस् न म पूरा गरौँला । तर वहाँहरूले ति माग गर्नतिर जानु भएन । केही पनि संविधानमा पाइएन भन्ने, हल्ला मात्रै चलाउन थाल्नुभयो । त्यसकारण म पंकजजीलाई भन्न चाहन्छु, जहाँ पनि जनताले गरेका आन्दोलनहरूप्रति मेरो सहानुभूति हुन्छ । जायज मागहरू पूरा गर्नु पर्छ, किनभने यो देश जनताको हो, जनताका लागि नै हामीले काम गर्ने हो । जनताका माग पूरा नगर्ने भन्ने हुनै सक्दैन । जनताका माग पूरा गर्नु पर्छ । जनताका नाउँमा केही अरुले फाइदा लिन खोजेका छन् भने, अनुचित कुरा गर्न खोजेका छन् भने त्यसलाई अनुचित छ पनि भन्नु पर्छ ।
सिधा कुरा : प्रधानमन्त्रीज्यू, विशेष गरेर बाढी पहिरोले धेरै मानिसहरूको ज्यान गइसकेको छ, सरकार परिवर्तनको यो एजेन्डामा राजनीति चाहिँ विषय वस्तु भएको छ, जनताले पाएको पीर मर्काप्रति सरकार काम चलाउ भइसकेका कारणले अलि उदासिन भयो भन्ने आरोपहरू व्याप्त छन्, के भन्न चाहनु हुन्छ ?
प्रम : सरकार परिवर्तनको जुन बाजा बज्यो त्यो बेमौसमी नै थियो । तर अब त्यस सम्बन्धमा म धेरै केही भनिरहन चाहन्न । यस परिस्थितिमा पनि उहाँहरू त्यसमा लाग्नुभयो । तर सरकारको तर्फबाट मैले बाढी पहिरो र त्यसले पुरयाएको जनधनको क्षतिमा मैले ध्यान दिएको छु । मैले अलिकति लक्षण हेरेर के हुन सक्छन् भन्ने ध्यानमा राखेर, यता इटहरीमा आधार बनाएर हेलिकोप्टर तैनाथ राखेको छु पूर्वका लागि बाढी वा पहिरो । पश्चिमका लागि सुर्खेतलाई बेस बनाएर हेलिकोप्टर पहिले नै लगेर राखेको छु । जिल्ला–जिल्लामा प्रहरी, प्रशासन, सेना लगायत सम्भव हुने सरकारी संयन्त्र समयमै परिचालन गरिएको छ र उद्धारका कामहरू, राहतका कामहरू गरिएको छ । प्राकृतिक विपत्ति भनेको सूचना दिएर, निम्ता गरेर आउने होइन, अचानक आउँछ । दुःखको कुराहो, पिडाको कुरा हो त्यो । म अत्यन्त दुखित छु ।
सिधा कुरा : तर बाढी पहिरो त प्रायः अनुमान गर्न सकिन्छ नि ?
प्रम : त्यसै कारण मैले विभिन्न ठाउँमा हेलिकोप्टरहरू राखेर रेस्क्युका तयारीहरू गरेको थिएँ । किनभने मैले एकैचोटि त खोलाहरू थुन्न सक्दैनथिएँ । आकाशमा बादललाई पनि रोक्न सक्दैनथिएँ । हाम्रो अवस्था जे छ त्यसमा, यहाँदेखि जान ढिलो हुन्छ र यहाँको मौसम खराब भयो भने पनि वहाँ पुग्न गाह्रो हुन्छ, त्यसकारण त्यतैपट्टि नै लगेर राखिछोड्ने भनेर पूर्व र पश्चिममा राखेर, मध्यमा पनि राखेर, काठमाडौँमा त छँदैछ । मैले यस सम्बन्धमा नियमितबाहेक जसरी गृह मन्त्रालयले आर्थिक सहयोगहरू दिने गर्छ, राहतहरू पुरयाउने गर्छ त्योभन्दा पृथक ढङ्गले पचहत्तर करोड रुपैयाँ प्रधानमन्त्री कोषबाट निकास गरेको छु । र, त्यो प्रधानमन्त्री कोषबाट निकासा गरेको रकम गृह मन्त्रालयमा प्राकृतिक विपत्तिका लागि जुन समिति त्यसलाई छुट्याएर जिम्मा दिएको छ । त्यसले प्रशासनमार्फत त्यस रकमलाई वितरण गर्छ । अर्को, स्थानीय पार्टी कार्यकर्ताहरू, जनसमुदाय, विभिन्न संघ–संस्थाहरू, सबैलाई पनि मैले आग्रह गरेको छु । र, म तपाईँलाई के भन्न चाहन्छु भने अरुले काँडेदार लठ्ठीले प्रहार गरे पनि मैले खेपेको छु तर मैले सत्ताको लुछाचुँडीतर्फ ध्यान नदिएर बाढी पहिरोतिर ध्यान दिएको छ । अहिले मैले भनेका कुराहरूबाट पनि यहाँले बुझ्नु भयो । ठूलो क्षति भयो यसपल्ट । जनधनको ठूलो क्षति भयो । यता भोटेकोशीमा ठूलो क्षति भयो । त्यसपछि पनि लगातार क्षति भइरहेको छ । उता प्युठानमा क्षति भयो । बाग्लुङमा क्षति भयो । नवलपरासीमा क्षति भइरहेको छ । रुपन्देहीमा क्षति भएको छ । थुप्रै ठाउँहरूमा क्षति भएका छन् । नवलपरासीको बागमतीको किनारमा ठूलो क्षति भएको छ । अरु ठाउँहरूमा पनि क्षति भएका छन् । पूर्वाञ्चलतिर क्षति भएका छन् । मोरङमा, सुनसरीमा, झापामा र अरु ठाउँहरूमा पनि, कतिपय बीगञ्ज, पर्सा, रौतहतमा पनि भएका छन् । सर्लाहीमा भएको छ । यस्ता थुप्रै ठाउँहरूमा क्षति भएका छन् जसप्रति हामी गम्भीर छौँ र हाम्रो सीमिति क्षमता भएता पनि त्यस क्षमतालाई अधिकतम प्रयोग गरेर जनतालाई उद्धार गर्ने कुरा, राहत सहुलियत पुरयाउने कुरामा ध्यान दिइएको छ । म त्यतापट्टि सबैको ध्यान जाओस् भन्न चाहन्छु ।
सिधा कुरा : अघि तपाईँलाई मैले जानकारी पनि गराएँ, केही आरोपहरू छन्, ती ओरोपहरू राख्न चाहन्छु म । सरकारले एजेण्डा मात्र दियो तर त्यसको कुनै तयारी गरेन भन्ने आरोपको विषयमा छोटकरीमा के भन्न चाहनु हुन्छ ?
प्रम : हामीले नीति कार्यक्रम दियौँ, बजेट दियौँ । अहिलेसम्मको प्रतिपक्ष कस्तो रह्यो भने, मैले धेरै भनिरहनु पर्ने त होइन, तर गैरजिम्मेवार प्रतिपक्ष, अर्को – अहिले नक्कली जोडिन गएको प्रतिपक्ष, अस्ति बजेट आफैले पास गरयो, त्योसँग सम्बन्धित त्यसमा आश्रित विधेयकहरू फेरि फेल गरयो । फेरि भोलि चाहिन्छ कि चाहिँदैन ? आज गरेका तर्क, भोलि त्यसलाई उल्टाएर अगाडि बढ्नु पर्दा के चाहिन्छ ? ठूलठूला कुरा गरे साथीहरूले, वैदेशिक ऋण, आन्तरिक ऋण आदि लिनै हुँदैन भनेर । वहाँहरूले अहिलेसम्म कहिले लिनु भएन ? फेरि लिनु हुन्छ कि हुँदैन ? तर एकछिनका लागि जे पनि तर्क गर्ने, जे पनि बोल्ने, त्यस प्रकारका कुराहरू भए । सरकारले समय कहाँ पायो ? बजेट त पास भयो २५ गते, २९ गते त्यससँग आश्रित विधेयकहरू पास हुनु पर्ने थियो, एक गतेदेखि बजेट कार्यान्वयन हुने हो । एक गते साउनबाट कार्यान्वयन हुनु पर्ने, २९ गते अविश्वासको प्रस्ताव दर्ता भइसक्यो । त्यस्तो स्थितिमा अब कार्यान्वयन अघि बढ्ने र फेरि त्यसलाई कार्यान्वयन गर्नका निम्ति आवश्यक पर्ने कुराहरू, तिनीहरू अहिले तत्काल नभए पनि केही छैन, त्यसलाई अगाडि लान सकिन्छ, वहाँहरूले गर्न खोजेको त घाँटीमा सुर्किन लाउन खोजेको हो, तर त्यो त हाललाई सम्भव छैन । तर वहाँहरूले कसरी चल्नु भएको छ भन्ने चाहिँ देखाउँछ त्यसले । त्यसकारण समय सरकारले नपाएको हो । तर हामीले जुन रोडम्याप, जुन बाटो, जुन नक्शा बनाएका छौँ, जुन नीति कार्यक्रम पेश गरेका छौँ, जुन बजेट प्रस्तुत गरेका छौँ, त्यसले एउटा बाटो निर्दिष्ट गरेको छ, एकैछिनमा त हुने होइन । पच्चीस गते बजेट पास भयो, २९ गतेभित्र बजेट नै कार्यान्वयन हुँदैन, किनभने यो साउन १ गतेदेखि लागू हुने हो । त्यसबीचमा अविश्वास आइसक्यो । र, अहिले त हामी १५ गते न कुरा गर्दै छौँ । यसबीचमा त्यसको कार्यान्वयन भएन भन्ने कुरा त्यति उक्तिसंगत हुँदैन ।
सिधा कुरा : त्यसै गरी अर्को एउटा महत्त्वपूर्ण कुरा यहाँ राख्न चाहन्छु । सरकारमा आफू रहँदा र नरहँदा प्राथमिकताहरू फेरिएजस्तो भएन र जबकि यहाँले यसै कार्यक्रममा भन्नु भएको थियो पहिला स्थानीय निकाय निर्वाचन, अनि त्यसपछि अरु निर्वाचन हुँदै संसदीय निर्वाचनको कुरा आएको थियो । अब अहिले सरकार फेरिने हुने बित्तिकै स्थानीय निकाय निर्वाचन पछि गर्नु पर्छ, पहिला संसदीय निर्वाचन नै गरौँ भनेर भनिरहनु भएको छ, यहाँले नै भन्नु भएको छ ?
प्रम : एउटा त्यसका पछाडिको कुरा के छ भने, वहाँहरूले एकलौटी, मनपरी ढङ्गले र चुनाव नगर्ने मनसायका साथ स्थानीय निकायको निर्वाचनलाई चैततिर गर्ने भनेर आफू आफूमा कुरा गर्नु भयो, त्यो नगर्नका लागि हो । हामीसँग स्थानी तहको निर्वाचन चाहियो वा प्रादेशिक तहको चाहियो, प्रतिनिधि सभाको चाहियो, राष्ट्रिय सभाको गठन गर्नु परयो, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन हुनु परयो र कमसे कम प्रतिनिधिसभा राष्ट्रियसभासम्म चाहिँ २०७४ साल माघ ७ गतेभन्दा अगाडि नै भइसक्नु पर्छ कानुनहरू बनाएर । त्यतापट्टि त वहाँहरू रुची नै छैन अब । के भन्नु भयो भने, चैतमा निर्वाचन लाने । अर्को भित्र सम्झौता के गर्नु भएको छ भने चैतमा सरकार परिवर्तन गर्ने । सरकार परिवर्तन गर्दै गरेका बेला चुनाव गर्छ ? हुन्छ ? हुन सम्भव छ ? भनेपछि त्यो हुनका लागि होइन, सरकार परिवर्तन गर्ने हो, तबसम्म भएन, यसकारणले उसकारणले सरकार परिवर्तन हुने भयो त्यसले अलमल्लियो भन्नका निम्ति । यसरी चुनाव नहुने खालको वातावरण ल्याएर देशलाई एउटा रिक्तताको स्थितिमा, संवैधानिक र राजनीतिक संस्थागत, जनप्रतिनिधिहरूको संस्थाको रिक्तताको स्थितिमा पुरयाउने योजना अन्तर्गत, यो षडयन्त्रपूर्ण जुन खेल भइरहेको छ, त्यसकारण भनिएको हो कि यो नगर्न चुनाव मिल्दैन । वहाँहरूले मंसिरमा चुनाव गर्नुपथ्र्यो ।
सिधा कुरा : स्थानीय निकायको गर्न नसक्नेले संसदको चुनाव गर्न सक्छ त ?
प्रम : यसको कारण के हो भने संसदको निर्वाचन भएन भने देश रिक्ततामा जान्छ । संविधान कार्यान्वयन फेल भयो । सरकार परिवर्तन गर्ने र अरु कुनै ठाउँ नै हुँदैन त्यसपछि । पुरयाउन खोजिएको त्यहाँ हो । एउटा रिक्तताको स्थिति, संवैधानिक र राजनीतिक रिक्तताको स्थिति सिर्जना गर्ने । त्यसपछि जसो गरे पनि भयो, रिक्तता भएपछि । त्यस प्रकारका योजनाहरूतर्फ चिर्न हामीले देखाएको सजगता त्यहाँनेर हो । नगर्ने त स्पष्ट देखि सकियो यहाँ । चुनाव नगर्ने खालको मनसाय प्रकट भइसक्यो । त्यो मनसाय, चुनाव गराउने भन्दै भन्दै प्रकट हुन्छ । नगर्ने भन्दैन । तर भ्याइएन भ्याइएन भ्याइउन भन्दै पर लान्छ । त्यसो भएर यो जनप्रतिनिधि संस्था रिक्त हुन नदिने, खासगरी जनप्रतिनिधिको निर्णायक संस्था, त्यो त प्रतिनिधि सभा हो, त्यसको निर्वाचन गर्नु परयो, त्यसको रिक्तता हुन दिनु भएन । त्यसका निम्ति मैले भनेको हुँ । कि अब चुनाव नगर्ने लक्षण देखियो । फेरि यसमा पनि षडयन्त्रको धुँवा अलिकति बाहिर निस्किएको देखियो । त्यसो भइसकेपछि सतर्क हुनुपरयो । अहिलेदेखि नै भन्नु परयो कि अब चुनाव प्रतिनिधिसभाको गरौँ । कमसे कम संवैधानिक रिक्तता नहोस्, संविधानको कार्यान्वयन हुने दिशामा जाओस् ।
सिधा कुरा : अर्को महत्वपूर्ण आरोपको बारेमा पनि यहाँ चर्चा गर्न चाहन्छु । छिमेकीसँगको सम्बन्धको सन्तुलन कायम गर्न सक्नु भएन र बाँकी अन्य दलहरूप्रति चाहिँ बढी नै आक्रामक हुनु भयो भन्ने आरोपको बारेमा के भन्न चाहनु हुन्छ ?
प्रम : मान्छेहरूलाई के लागेको होला भने जनताको स्मरणशक्ति कमजोर छ भनेर, मैले शुरुमा नै भनेको थिएँ, म प्रधानमन्त्री हुँदा तराईमा नाकाबन्दी थियो, भारतसँगको सम्बन्ध चिसो मात्रै होइन, त्यो चिसोभन्दा तल गइसकेको थियो । त्यस्तो अवस्थामा थियो, आज त त्यस्तो छैन । मैले नेतृत्व नगरेको बेला इन्धन, आपूर्ति केही छैन, हवाई इन्धन छैन, बस ट्रक चल्दैनन्, गाडी चल्दैनन्, पेट्रोल छैन, डिजेल छैन, मट्टितेल छैन, ग्यास छैन, चुला बल्दैनन्, स्कुल चल्दैनन्, कलेज चल्दैनन्, अस्पतालले इन्धन पाएनन्, यो स्थिति थियो होइन र ? त्यस स्थितिबाट आजको सामान्य अवस्थामा आउँदा सम्बन्ध बिग्रियो ?
सिधा कुरा : यो त तपाईँको तर्फबाट हो, तर छिमेकीको तर्फबाट भएका व्यवहारलाई लिएर जुन, जस्तो वक्तव्य, यहाँहरूले भन्दै आउनु भएको छ, त्यसले गर्दा सन्तुलनमा रहेको अन्दाज गर्न त अलि गाह्रै छ नि ? विशेष गरी मिडियामा आएका कुराहरू ।
प्रम : भारतले अस्ति भर्खर मात्रै औपचारिक आफ्नो वक्तव्य दियो, प्रतिवेदन दियो । त्यसमा भन्यो नेपालसँगको बिग्रिएको सम्बन्ध अहिले सुमधुर बनेर उचाईमा उठेको छ । एकपल्ट त्यो रिपोर्ट पढ्न म आग्रह गर्न चाहन्छु ।
सिधा कुरा : तर छेडखानी चाहिँ किन चलिरह्यो ? उता पत्रपत्रिकामा चाहिँ आउने ।
प्रम : पत्रकारका कुरा छोडिदिनुस् न । अहिले पारस्परिक समानता, समान लाभ, पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा नेपालको सम्बन्ध भारतसँग र चीनसँग अत्यन्तै सन्तुलित ढङ्गले अगाडि बढ्यो । सन्तुलन भनेको पारस्परिक, दुईपक्षीय, पारस्परिक लाभ र सम्मान नभएको, एकातिर लाभ एकातिर सम्मान भएको कोल्टे तराजु भएको सम्बन्ध होइन । त्यो सन्तुलित भयो, देश–देशका बीचमा । अर्कोतिर पनि सन्तुलित सम्बन्ध भयो । र, नेपाललाई एउटा अलिक क्षमताको सीमितता, परिस्थितिको परिवेश, त्यसले छेकेको ठाउँबाट मुक्त गरियो । र, नेपाल, मैले हिन्द महासागर र प्रशान्त महासागरको नाम लिएको त्यही भएर हो । त्यसले सम्बन्ध चाहिँ असन्तुलित भयो ? यी मनगढन्ते, केही भन्न नपाएपछि के भन्ने त भन्दा त्यो भने । सम्बन्ध धेरै राम्रो भएको छ, नराम्रो होइन ।
सिधा कुरा : अब हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ । सम्माननीय प्रधानमन्त्रीज्यू म यहाँलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु र त्यो भन्दा पहिला हाम्रो यो कार्यक्रममा एउटा ठूलो कमिटमेन्ट, यो कार्यक्रममा आउनु, यो कार्यक्रम उठेका विषयहरूलाई यहाँले निरन्तर रूपमा त्यसको फलोअप गर्नु, त्यसका कार्वाहीका लागि पहल गर्नु, प्रधानमन्त्रीज्यूको कार्यालयमा नै एउटा ब्यूरो खडा गर्नुले साँच्चै नै यो कार्यक्रमप्रति यहाँले दर्शाउनु भएको र जनताका चासो र गुनासोप्रति दर्शाउनु भएको जुन एउटा समय दिनु भएको छ, सदाशयता देखाउनु भएको छ, म यसका लागि यहाँलाई सम्पूर्ण दर्शकहरूको तर्फबाट यो कार्यक्रम यूनिटको तर्फबाट म सबभन्दा पहिला धेरै–धेरै धन्यवाद दिन चाहन्छु । यसका साथसाथै यहाँ धेरै मानिसहरू लाभान्वित पनि हुन पाए यस कार्यक्रमको माध्यमबाट, हामीले सोचेजति धेरै मुद्दाहरूलाई एड्रेस गर्न सकेनौँ होला, तर धेरैभन्दा धेरै समूह, व्यक्तिहरूले लाभ लिएका घटनाहरू पनि रहेका छन्, तिनको जानकारी हामी हाम्रो आदरणीय दर्शक महानुभावहरूलाई गराउँला । तर त्यसभन्दा बाहेक पनि भाग १ देखि भाग १५ सम्म आइपुग्दा जनताका धेरै प्रश्न र जिज्ञासाहरू रहे ति सबैलाई कार्यक्रममा प्रशारण गर्न सकिएन, तर त्यसका दस्तावेज भने हामीले फाइल गरेर राखेका छौँ, यी जनताले आश गरेर सोधेका प्रश्नहरू र यी जिज्ञासाहरूलाई के गर्ने विचार गर्नु भएको छ ?
प्रम : एउटा कुरा के हो भने आज यो सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रमको पन्ध्रौँ शृङ्खला प्रधानमन्त्रीको रूपमा मेरो अन्तिम शृङ्खला हो । अब अर्को शनिबार अथवा २२ गते ८ः४५ बजे यसरी म उपस्थित हुन्न । किनभने यो कार्यक्रम हो सिधा कुरा प्रधानमन्त्रीसँग । त्यति बेलासम्म मैले प्रधानमन्त्री छोडिसकेको हुनु पर्छ । र, यो आजको पन्ध्रौँ शृङ्खला नै अन्तिम शृङ्खला हो । यस शृङ्खलामार्फत पनि मैले एउटा प्रधानमन्त्रीको हैसियतले जनताप्रति उत्तरदायी, जनताका प्रश्नहरूलाई सामना गर्ने, जनताको अगाडि उभिएर मैले ठीक गरेको छु भन्न त सक्नु परयो नि, त्यो सक्ने । मलाई निगरानी गर्नुस् भनेर भन्न सक्ने । आत्मविश्वासका साथ मैले यस कार्यक्रम सहभागिता जनाउँदै आएँ । देशभरि र बाहिरसमेत रहेका नेपाली दाजु–भाइ दिदी–बहिनीहरूले ठूलो संख्यामा मलाई यसमा साथ दिनु भयो । मलाई प्रश्नहरू गर्नुभयो, सुझावहरू दिनुभयो, सल्लाह दिनुभयो । म सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । प्रधानमन्त्रीको रूपमा म यस कार्यक्रममा अर्को एपिसोडमा आउन्न । अहिलेको सिलसिलाको निरन्तरतामा म आउन्न । तर मैले देशप्रतिको कर्तव्य, जनताप्रतिको उत्तरदायित्व छोडेको छैन । त्यसकारण भिन्न ढङ्गले, फरक ढङ्गले वहाँहरूका जिज्ञासा, वहाँहरूका प्रश्न, वहाँहरूका आवश्यकतामा मेरो ध्यान रहनेछ । वहाँहरूको सेवामा म, नेपाली जनताको सेवामा मेरो बाँकी जीवन समर्पण गर्छु ।
सिधा कुरा : हजुर । धेरै धेरै धन्यवाद दिन चाहन्छु म सम्माननीय प्रधानमन्त्रीज्यू । अब म कार्यक्रममा आएका प्रश्नहरूको फाइल यहाँलाई हस्तान्तरण गर्नेछु र यहाँले अहिले भर्खरै प्रतिवद्धता व्यक्त गर्नु भएअनुसार यसलाई निरन्तर फलोअप गर्ने जानकारी गराउनु भएको छ, म यहाँलाई यो हस्तान्तरण गर्न चाहन्छु आजको यो कार्यक्रममा ।
प्रम : धन्यवाद ।
सिधा कुरा : आदरणीय दर्शकहरू कार्यक्रमको भाग १ देखि भाग १५ सम्म प्रस्तुत गर्न नसकेका प्रश्नहरूको फाइल सम्माननीय प्रधानमन्त्रीज्यूलाई हस्तान्तरण गर्दैछु । धेरै धेरै धन्यवाद दिन चाहन्छु, कुनै पनि कार्यक्रममा एक मिनेट पनि ढिला नगरी प्रस्तुत हुनु भएर अत्यन्तै सिन्सिएर्ली कार्यक्रममा सहभागिता जनाइदिनु भयो । जनतामा धेरै उत्साहको सिर्जना गरिदिनु भयो । हामी फेरि पनि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । यहाँको स्वास्थ्य सँधै लाभ होस् भन्ने पनि शुभकामना दिन चाहन्छु र राजनीतिमा यहाँले लिनु भएको जुन एउटा अडान छ , नेपाललाई विकसित बनाउनको निमित्त जुन योगदान यहाँले गरिरहनु भएको छ त्यसमा अझ थप बल मिलोस् भन्ने पनि हामी कार्यक्रमको तर्फबाट यहाँलाई हार्दिक शुभेच्छा अर्पण गर्न चाहन्छौँ ।
प्रम : यति बेला म तपाईँ र तपाईँको यो टिम, नेपाल टेलिभिजनलाई धन्यवाद भन्न चाहन्छु । र, यसमार्फत सम्पूर्ण नेपाली दाजु–भाइ दिदी–बहिनीहरू जो दर्शकको रूपमा स्रोताको रूपमा विभिन्न ढङ्गले हामीसँग हुनुहुन्छ वहाँहरू सबैलाई पनि धेरै धेरै भन्न चाहन्छु, सबैमा धेरै धेरै शुभकामना ।