NP EN

फायर साइड - केपी शर्मा ओली

नेकपा (एमाले) एउटा चुनावका लागि, चुनावको भोट माग्नका लागि वा चुनावमा आफ्नो स्थिति सुदृढ गर्नका लागि राजनीति गर्ने होइन । यसले देशका लागि, जनताका लागि गर्नु पर्छ । हामी जनताले अधिकार सम्पन्न हुन पाउनु पर्छ, अवसर पाउनु पर्छ, सबैले सुरक्षा पाउनु पर्छ र सम्मान पाउनु पर्छ भन्ने ठान्छौँ । सामाजिक सुरक्षा, सामाजिक न्याय र समानता पाउनु पर्छ भन्छौँ । हामी विविधतामा छौँ त्यसकारण द्वन्द्व, कलह होइन राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता, पारस्परिक सम्मानका साथ राष्ट्रिय एकता गरेर अगाडि बढ्नु पर्छ भन्ने ठान्छौँ । लोकतान्त्रिक प्रणाली आवश्यक छ । लोकतान्त्रिक प्रणाली अपनाएर जानु पर्छ सबैले, हामीले त्यसको अभ्यास गर्नु पर्छ भन्ने ठान्छौँ हामी । र, समृद्धिको बाटोमा जान हामी ढिलो भइराखेको छ । हामी समृद्धिको बाटोमा जानु पर्छ भन्छौँ । हामी त्यसकारण हाम्रा छिमेकी, सबभन्दा पहिला त हाम्रा दुईटा छिमेकीहरू छन् । दुईटा छिमेकीसँग समानता, पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा हामी सुमधुर सम्बन्ध र सहयोगात्मक सम्बन्ध कायम गरेर अगाडि बढ्नु पर्छ भन्ने ठान्छौँ । 

 

Fireside with KP Oli | केपी ओलीका  साथ फायर साइड

This program was aired in Kantipur Television on 05 December 2016 at 9:30 PM
कान्तिपुर टेलिभिजनमा प्रसारण गरिएको मिति २०७३ मंसिर २० गते सोमबार
 

प्रश्न: प्रधानमन्त्री पद छोडिसकेपछि फुर्सद बढेको छ कि बेफुर्सद हुनु भएको छ ?

उत्तर: मलाई जिन्दगीमा फुर्सद वास्तवमा कहिले पनि भएन । सँधै व्यस्त रहने, यसलाई जिम्मेवारी भन्नुस् अथवा आदत भन्नुस् । सायद परिभाषित जिम्मेवारीभन्दा बढ्ता आदत पनि होला । म सँधै अलि व्यस्त रहने आदत नै जस्तो भयो ।

प्रश्न: एउटा क्युरियोसिटी, प्रधानमन्त्री हुनुभन्दा अगाडि पनि व्यस्तै भइन्थ्यो, ट्रान्जिसनमा प्रधानमन्त्री हुनुभयो, प्रधानमन्त्री हुँदाको व्यस्तता आफ्नो भयो, तर प्रधानमन्त्री भइसकेपछिको व्यस्तता अलि गह्रुँगो हुन्छ, जिम्मेवारपूर्ण हुन्छ ?

उत्तर: मलाई त्यस्तो लागेको छैन, मैले प्रधानमन्त्री हुनुभन्दा अगाडि पनि देशका लागि अत्यन्त जिम्मेवार ढङ्गले भूमिका खेलेको थिएँ । र, देशलाई अगाडि बढाउने सम्बन्धमा प्रयास गरेको थिएँ । प्रधानमन्त्री हुँदा पनि त्यही काम गरेको थिएँ । प्रधानमन्त्रीबाट हटिसकेपछि पनि त्यही काम गरिराखेको छु । अब पदिय जवाफदेहीको हिसाबले भन्ने हो भने प्रधानमन्त्री हुनुभन्दा अगाडि र पछाडि म एमाले संसदीय दलको नेता थिएँ, एमालेको अध्यक्ष थिएँ, प्रधानमन्त्री हुनुभन्दा अगाडि पनि र प्रधानमन्त्रीबाट हटिसकेपछि पनि त्यही पोजिसनमा छु । त्यसकारण जिम्मेवारीमा तलमाथि केही पनि छैन ।

प्रश्न: तर, जिम्मेवारीमा तलमाथि छैन भन्दाभन्दै पनि सदन र लोकतन्त्रबीचको जुन अन्योन्याश्रित सम्बन्ध छ, त्यसलाई केपी ओलीले प्रधानमन्त्री पद छोडिसकेपछि मान्न छोडे भन्न थाले नि ? तपाईंको जिम्मेवारी अलि सडकतिर, अलि उच्छृङ्खलतातिर छ भन्छन् नि ?

उत्तर: एउटा शब्द त तपाईंले बहुतै गलत प्रयोग गर्नुभयो । नेकपा (एमाले) वा एमाले संसदीय दलको नेता वा अध्यक्षको हिसाबमा हामी कोही पनि र म उच्छृङ्खल भन्ने कुरा त्योसँग हाम्रो जम्काभेट पनि हुँदैन । हामी जिम्मेवार भूमिकामा हुन्छौँ, त्यो जिम्मेवार भूमिकाले हामीलाई कहिले अलिक कडा ढङ्गले प्रस्तुत हुनु पर्ने हुन्छ, कहिले अलिकति नरम ढङ्गले प्रस्तुत हुनु पर्ने हुन्छ । अहिले जस्तो खालको परिस्थति छ, सरकार परिवर्तन, यो हामीले जुन प्रणाली ल्याएका छौँ यहाँ अस्थिरता, यो हामीलाई इम्पोज गरिएको छ, यो अस्थिरता प्रणालीबाटै इम्पोज गरिएको छ । अर्को, अहिलेको हिजोको संविधानसभा वा रुपान्तरित व्यवस्थापिका संसद, त्यसको बनावट, न्यो बनावट त्यस्तै खालको छ । सरकार परिवर्तन हुन सक्छ तर सामान्य ढङ्गले सरकार परिवर्तन, औचित्यका आधारमा, आवश्यकताका आधारमा वा सरकारले राम्रो काम गर्न नसकेर हुन्छ कि वा राम्रो काम गरेर हुन्छ, दुईवटा फरक कुरा हो । अहिलेको सरकारले राम्रो काम गर्न बिल्कुलै सकेको छैन । चार महिना खेर गयो । कुनै नाकाबन्दी त छैन, कुनै बन्द छैन, कुनै त्यस्तो आन्दोलन छैन, केही छैन, निहुँ खोजी खोजीकन आन्दोलन सिर्जना गरिराखेको छ, तनाव सिर्जना गरिराखेको छ । अब, सत्तापक्षीय गठबन्धन कसरी तनावमा देशलाई लाँदैछ । मैले राजिनामा गर्ने बेलामा पनि भनेको थिएँ, अब देशलाई तनावतिर, द्वन्द्वतिर लान खोजिँदैछ र खोजिनेछ । त्यो कुरा क्रमशः आउँदैछ । अहिले नभएको मधेश आन्दोलन विहानदेखि, पहिले पहिले रेडियो नेपाल खोल्दाखेरी शङ्खध्वनीका साथ शिव भजनबाट खोल्थ्यो, अहिले आन्दोलनरत मधेशी मोर्चा, मधेशका जनताका भावना, मधेशी आन्दोलन भन्दै खुल्छ ।

प्रश्न: त्यो आन्दोलन त छँदै छ नि ?
उत्तर: मधेश आन्दोलन ?? अहिले छ ??

प्रश्न: असन्तुष्टी त छ नि ? आन्दोलनका रापताप त बाँकी होलान् नि ?
उत्तर: दुई–चारजनामा असन्तुष्टी, असहमति हुनु लोकतन्त्रमा धेरै ठूलो कुरा होइन । त्यसलाई संवैधानिक प्रक्रियाबाट लान सकिन्छ ।

प्रश्न: अब त्यही असन्तुष्टीलाई संवैधानिक प्रक्रियाबाट लान सकिन्छ भन्ना हेतु सरकारले संशोधन प्रस्ताव सदनमा पेश गर्दा त्यसाई सदनमा न्यायोचित डिस्कसनमा लगेर त्यसलाई लोजिकल एण्डमा पुरयाउनको लागि नेकपा (एमाले) लाई किन अप्ठ्यारो परिरहेको छ ?

उत्तर: तपाईंले एउटा शब्द उच्चारण गर्नुभयो अहिले, संवैधानिक भनेर । संवैधानिक भए त छलफलमा आइहाल्थ्यो । प्रश्न के हो भने यो असंवैधानिक छ । संविधानको धारा २७४ ले सीमाङ्कन सम्बन्धी व्यवस्था, अरु कुरालाई गर्न सक्छ, सीमाङ्कनसम्बन्धी कुरालाई रुपान्तरित व्यवस्थापिका संसदले गर्न सक्दैन अथवा सङ्घीय संसदले मात्रै गर्न सक्छ र त्यो पनि प्रादेशिक सभा बनिसकेपछि । प्रादेशिक सभामा पठाएर त्यसको सहमतिका साथ मात्रै गर्न सक्छ । त्यो स्पष्ट व्यवस्था हो । एउटा २९६ को कुरा साथीहरूले गर्नु हुन्छ, त्यो सङ्क्रमणकालीन व्यवस्थापन सम्बन्धी कुरा । सङ्क्रमणकालीन व्यवस्थापन गर्नु पर्दा तत्सम्बन्धमा त्यो सीमाभित्रका कुरा वा कानुन बनाउने कुराको हकमा गर्न सक्छ, तर स्पष्ट रूपमा सबै काम यसले गर्न सक्छ भन्ने होइन । यो सरकारको, यो संसदको, यो रुपान्तरित व्यवस्थापिका संसदको कामको प्रकृति र सीमा भिन्न छ र भिन्न हुन्छ । किनभने यो सामान्य ढङ्गले संविधानले व्यवस्था गरेको वा सामान्य अवस्थाको सरकार सञ्चालनका लागि निर्वाचित होइन यो संसद । अहिलेको रुपान्तरित व्यवस्थापिका संसद भनेको यो संविधानसभा थियो जसले संसदको पनि काम गर्थ्यो । अब संसदको काम पनि गर्ने भनेर, के अर्थनमा, रुपान्तरित व्यवस्थापिका संसद किन भयो यो, यो संघीय संसद होइन । तर त्यसको काम यसले गर्छ, कति हदमा गर्छ भन्दा सङ्क्रमणकाल ट्ङ्ग्याउने सम्बन्धमा, निर्वाचन गराउने प्रसङ्गमा, संविधानले तोकेका सीमाहरूका सम्बन्धमा गर्दै नगर्नु भनेका कुरा, गर्न नमिल्ने कुरा यो ल्याएको छ । अब, जस्तो पनि ल्याउन पाइन्छ या जस्तो पनि ल्याउनु हुन्छ या प्रतिपक्षले भनिराखेको छ, यो–यो बुँदामा छलफल गरौँ भन्नु पर्दैन ? यो–यो विषयमा, यी–यी कुरामा, यस अर्थमा ।

प्रश्न: तर पेश तपाईंहरू गर्नुस्, औचित्यको आधारमा हामी समर्थन वा विरोध गर्छौँ भनेर एमाले नै ?

उत्तर: वहाँहरूले हामीसँग छलफल गर्नु भएन । कुन–कुन विषय, कुन भाषा, कसरी गर्ने भन्नु कुरा गर्नु भएन । संविधान संशोधन गर्नु परयो भन्ने, औपचारिक भाषासम्म वहाँले प्रकट गर्नुभएको थियो । हामीले भन्यौँ – संसदमा दर्ता गर्ने कुरा, दर्ता नै गर्न दिन्नौँ भन्ने कुरा होइन, दर्ता कसैले गर्न सक्छ, तर दर्ता गर्दा सबै सुतिसके, प्रतिपक्षका नेताहरू सुते, मिडियाका मान्छे सुते, सबै निदाइसके, घुर्दै छन् त, अब दर्ता गरे हुन्छ भनेर, त्यसरी त गर्नु पर्ने होइन नि त । सरकारले गर्ने प्रस्ताव दर्ता मध्य रातमा गर्नु पर्ने कुनै कारण त थिएन नि ।

प्रश्न: यो पहिलो चोटि कहाँ हो र ? कहिलेकाहीँ कन्भिनिएन्ट भएको बेलामा तपाईँहरूले साथ दिएको बेला त मध्य रातमा थुप्रै चिज भएको छ ?

उत्तर: सहमतिका साथ, जो त्यतिबेलै गर्नु पर्ने छ, त्यस्तो अवस्थामा एउटा डेडलाइनभित्र त्यस दिन गर्नु पर्ने खालको । जस्तो भन्नुहोस्, ६७ सालमा हामीले एउटा व्यवस्था गरयौँ, संविधानसभाको म्याद थपको व्यवस्था । त्यसै दिन १२ बजे समय पुग्थ्यो, त्यसकारण पौने १२ बजेभित्र, ११ः४५ भित्र हामीले गर्नुपथ्र्यो, त्यसकारण हामीले ११ः४५ भित्र गरेको हो । तर कस्तो अवस्था थियो त्यतिबेला भन्दा सत्तापक्ष प्रतिपक्ष सबैले मिलेर, संवैधानिक डेडलाइन थियो, त्यतिबेला नहुने हो भने त्यो संविधानसभा भङ्ग हुन्थ्यो । त्यस्तो अवस्थामा गरेका थियौँ । तर अहिले के परेको थियो, के भङ्ग हुन्थ्यो, भोलि विहान घाम झुल्किँदा गरे हुन्थयो ।

प्रश्न: तर त्यसको एउटा सर्टेन टाइमलाइन त यसले डिस्टर्ब गर्न थालिसकेको छ नि ?

उत्तर: होइन, थिएन । भोलिपल्ट हुँदा के हुन्थ्यो ? घाम झुल्केपछि के हुन्थयो ? भोलिपल्ट १० बज्दाखेरी के हुन्थ्यो ? के शुभमुहूर्त, लगन के थियो त्यति बेला ?

प्रश्न: होइन, यसलाई पेश गरिएको समयलाई आपत्ति कि नेकपा (एमाले) लाई, त्यसको कन्टेन्टमा आपत्ति कि ?

उत्तर: होइन, तपाईंले के बुझ्न सक्नु हुन्छ भने, के रहेछ त, त्यसको ढाँचाकाँचाले बुझ्न सक्नु हुन्छ नि । किन यो मध्यरातमा, मध्यरातमा गर्नु पर्ने कारण के परयो होला ? त्यो त बुझ्न सकिन्छ नि । मध्यरातमा गर्नु पर्ने कारण केही न केही त छ त्यहाँभित्र । किन, यति समय भयो, भोलिपल्ट हुँदा केही बित्दैन थियो भने मध्यरातमा किन हुनुपरयो, एउटा । अर्को, वहाँहरूले प्रतिपक्षीसँग यी–यी विषयमा, यस भाषमा, यसरी गरौँ त भन्नु भएन । अनि अर्को कुरा, हामीले पहिले नै भनेका छौँ छनक पाएर, यो सीमाङ्कनसम्बन्धी कुरा यो संविधानले अहिले गर्न मिल्दैन । फेरि अहिले नगरिकन नहुने भन्ने पनि त केही छैन नि त । तत्कालका तत्काल नगरी नहुने भन्ने त छैन । अर्को, मधेशीमोर्चाको जहाँसम्म कुरा छ ।

प्रश्न: उनीहरू त चुनावमामै जान्न दिन्न गरेनौ भने भनेका छन् ?

उत्तर: अच्छा, के कारणले ? पाल्पा, अर्घाखाँचीको सवाल सप्तरी, महोत्तरीमा । पाल्पा, अर्घाखाँची छुट्याइएन भने चुनाव हुन्न दिन्नौँ भन्ने सर्लाही, महोत्तरीमा किन ? वहाँहरूको पार्टी राष्ट्रिय पार्टी त होइन । एमालेले जसरी देशभरीको कुरा गर्छ, काँग्रेसले जसरी देशभरीको कुरा गर्छ, वहाँहरूको त, वहाँहरूले आफैले क्षेत्रीय पार्टीको रूपमा आफूलाई प्रस्तुत गर्नु भएको छ ।

प्रश्न: यो चिजमा सबैजनाले क्लियर हुनु परयो कि मधेशवादी दलहरू चाहिँ रिजनल पार्टीहरू हुन् ?

उत्तर: हो । नेशनल पार्टी होइनन् । उनीहरूको नामले, कामले, विचारले कुनै पनि हिसाबले नेशनल पार्टी होइनन्, रिजनल पार्टी हो । अब, उनीहरूको डिमान्ड आफूसँग सम्बन्धित भइदिएको भए पनि एउटा कुरा हुन्थ्यो । आफ्नो प्रदेशसँग सम्बन्धित भइदिएको भए पनि हुन्थ्यो । अरु प्रदेशसँग ? मधेसको पार्टी, वहाँहरूको भनाई । वहाँहरूले केलाई मधेस भन्नु हुन्छ आफ्नो ठाउँमा होला ।

प्रश्न: तर, हृदश त्रिपाठीको त नवलपरासी, रुपन्देहीसँग सम्बन्ध होला नि त, छ नि त ?
उत्तर: एकजनाले जे भन्यो त्यही हुने ? त्यहाँ सांसदहरूको, सभासदहरूको देख्नु भएको छैन तपाईँहरूले ? हरेक पार्टीको ।

प्रश्न: तपाईँले अहिले मधेसवादी दलहरूलाई जसरी स्रिङ्क (सानो) बनाउनु भयो नि रिजनल पार्टी हुन् भनेर, तर रिजन त एउटा मुलुकभित्रकै रिजन हुन् नि त, नेशनल इन्टरेस्ट त उनीहरूलाई हुँदो होला नि ?

उत्तर: प्रश्न के हो भने नि नेशनल इन्टरेस्ट कुनै अर्थमा हुनु राम्रो हो । हुनु पथ्र्यो । त्यो वाञ्छनीय हो । तर वहाँहरूको नामले, कामले हरेक हिसाबले उहाँहरू रिजनल पार्टी हो । उहाँहरूका रिजनल कुरा छन् र उहाँहरूको रिजनल एकखालको भौगोलिक संकीर्णता, ती चिजहरू पनि हामी देख्छौँ । र, त्यस नाममा उहाँहरूले केही गलत नीतिहरू अख्तियार गरिराख्नु भएको छ । पहाड र तराई छुट्याउनु पर्छ भन्ने खालका । हामीले अर्को पनि भन्यौँ, यो ५ नम्बर प्रदेश जसमाथि उहाँहरूले हमला गरिराख्नु भएको छ, त्यसको जरुरी छैन किनभने त्यहाँका जनता प्रदेशको रचना वा त्यसको विभाजन वा त्यसको हेरफेर भन्ने कुराका आधार के हुन् भन्दा – एउटा, जनताले प्राप्त गरेका हक अधिकार उपभोग कसरी गर्न सक्छन् सजिलोसँग, अर्को, राज्यबाट प्राप्त गर्ने सुविधा सहुलियत उनीहरूले कसरी प्राप्त गर्न सक्छन् अनुकूल ढङ्गले, अर्को, सामाजिक सद्भाव आदि इत्यादिका लागि राष्ट्रिय एकताका लागि कत्तिको अनुकूल हुन सक्छ वा हाम्रा विकासका सम्भावनाहरूलाई कत्तिको अगाडि बढाउन सकिन्छ । के, अहिलेका जुन प्रयासहरू छ्न्, ति प्रयासहरू यो छुट्याउनु पर्छ भन्ने कुरा, त्यहाँको जनताका भावना अथवा अघि मैले भनेका आधारहरू कुनै आधारसँग कुनै सरोकार राख्छ ? वा प्रदेशको सीमाङ्कनको आधार त्यहाँका जनता, उनीहरूले प्राप्त गर्ने प्रशासनिक सुरक्षासम्बन्धी सुविधा सहुलियत आदि कुनै पनि कुरासँग सम्बन्धित नहुने, उनीहरूका निम्ति प्रतिकूल प्रभाव पर्ने र अरु कसैले अन्तैबाट माग्ने । अहिले भारतले नेपालको संसदमा भइरहेको डिबेटको बारेमा, छिमेकी मित्र राष्ट्र भारतले ।

प्रश्न: यो प्रोसेसलाई भारत ले स्वागत गर्नु भयो ।

उत्तर: के प्रोसेसलाई ? हाम्रो विवादलाई स्वागत गर्नु भयो ? कि यहाँहो कि यहाँको समाधानलाई ?

प्रश्न: संविधान संशोधन प्रस्ताव जुन सदनमा दर्ता भयो ।

उत्तर: के त्यो निर्विवाद छ ? के त्यो पास हुन्छ ? अनि त्यस सम्बन्धमा भारतलाई हतारो किन ? वहाँहरूको संसदमा प्रस्तुत भएको विषयलाई यो चाहिँ राम्रो लाग्यो हामीलाई, यो ठीक छ यसलाई हामी स्वागत गर्छौँ भनेर हामी भनौँ ?

प्रश्न: अब यसलाई एकैछिन धेरै सुगरकोट नगरौँ । तपाईँले जसरी भन्नुभयो कि संशोधन प्रस्तावको टामिङ र त्यसमा भएको असंवैधानिक तपाईँले जुन भनिरहनु भएको धारा बाझिएका केही सीमाङ्कनसम्बन्धी विषयहरू.....

उत्तर: र, अर्को कुरा पनि प्रदेशको जहाँको समस्या छ भनिएको छ अन्तै कतैकोले त्यसलाई टुक्र्याउने गलत मनसाय र गलत माग राख्छ, त्यहाँको जनता, त्यहाँको जनप्रतिनिधि कसैले पनि त्यसलाई, त्यहाँका संघ–संस्था कसैले पनि त्यसलाई मञ्जुर गर्दैन ।

प्रश्न: तपाईँहरूले राख्नु भएको विमति र अहिले संसदमा प्रस्तुत भएको संशोधन प्रस्ताव र यसका रेफरेन्सेजहरू तपाईँले जसरी दिइरहनु भएको छ, मित्रराष्ट्र भारतलाई यति चाँडो हतारो किन भयो, र यसको टामिङ मध्यरातमा सबै सुतिसकेपछि यसको दर्ता गर्नु पर्ने आवश्यकता किन भयो, यसमा भारतको इन्टरेस्ट देख्नु भएको छ ?

उत्तर: एउटा क्लोज एण्ड फ्रेण्डली नेबोरको हिसाबले भारतले नेपालका आन्तरिक विवादहरूमा, आन्तरिक मामिलाहरूमा अनावश्यक रुची, चासो, पक्षधरता वा हस्तक्षेप गर्नु मनासिब हुँदैन । यो दुई देशका बीचको मित्रताको निम्ति, दुई देशका बीचको मित्रताको स्वास्थका निम्ति उपयुक्त हुँदैन । यसको जुन प्रकारको रुची, चासो र सक्रियता देखा परेको छ, यो भन्न राम्रो लाग्दैन, तर यो उचित भइराखेको छैन । म आग्रह गर्न चाहन्छु ...

प्रश्न: यो अनुचित भइरहेको छिमेकीको चासो छ त्यसको अहिले मात्रै जति चर्चा बटुलिरहेको छ र जसले यसलाई अप्ठ्यारो महसूस गराइरहेको छ मुलुकभित्र, त्यसको सुरुवात यहीँबाट भएको हो कि त्यो १२ बुँदे देखि नै यसको सुरुवात भइसकेको थियो, त्यसलाई हामीले ढोका खोलिदिएकै त्यही बेला देखि हो कि ?

उत्तर: १२ बुँदेमा जस्तो हल्ला छ नि त्यसमा को–कोसँग सम्पर्क सम्बन्ध छ भन्ने मलाई थाहा छैन । तपाईँकै कार्यक्रममा मैले बोलेको थिएँ, धेरै अगाडि । त्यसको मस्यौदा गर्ने मान्छे, छलफलमा त हेरफेर गरयौँ त्यो बग्लै कुरा हो, तर मस्यौदा गर्ने मान्छ म हुँ । अझै पनि त्यसको हस्तलिखित मस्यौदा सायद माधव नेपालजीको साथमा हुँदै होला । हस्तलिखितबाट गरेको थियो, मैले गरेको थिएँ । त्यसमा हामीले अरुको चासो, अरुको रुची, त्यसलाई कुनै स्थान दिएका होइनौँ । यति हो कि भारतको भूमिमा ततसम्बन्धमा छलफल भएको थियो । हस्ताक्षर भारतमा भयो भन्ने कुरा होइन । माओवादीहरूले भारतमा हस्ताक्षर गरेको हो । हामीहरूले नेपालमा हस्ताक्षर गरेका हौँ । हामी नेपालभित्र रहेका वैधानि पार्टीहरूले नेपालमै गरेका हुन् । माओवादी भारतमो थियो, उनीहरू नेपालमा आएनन् हस्ताक्षर गर्दा । माओवादीले भारतमा गरेको हो ।

प्रश्न: तपाईँले ड्राफ्टको जिम्मेवारी जसरी लिनु भयो, हस्तलिखित नै मैले गरेको हुँ भनेर, त्यो १२ बुँदे सहमतिको जुन प्लाटफर्म भारतमा क्रियट गरियो नि, कुनै भवितब्यले, त्यो गल्ति थियो ? ढोका खोल्नको लागि पहिलो स्टेप थियो ?

उत्तर: धेरैवटा संवाद, जस्तो सिलिगुढी, बागदोरा, लखनउ, दिल्ली, नोयदा, फरिदावाद, विभिन्न ठाउँहरूमा कुराकानीहरू भए । र, दिल्लीमा फरिदावादमा पनि कुराहरू भए ।

प्रश्न: त्यतिबेलाका स्टेकहोल्डरहरूले अनकनाई अनकनाई भए पनि त्यो १२ बुँदे भारतीय भूमिमा गरिनु ठीक थिएन भन्ने जुन रिमोर्स देखाइरहेका छन् नि त्यसमा तपाईँ पनि सहभागी हुनुहुन्छ त्यो रिमोर्समा ?

उत्तर: मलाई के लाग्छ भने, भारतीय भूमिमा त्यो गर्दा, हिजोको भारतको जुन वक्तव्य छ, हिजोको वक्तव्यले के भन्छ भने हामीले सहयोग गर्दै आएको, भनेको हामी भारतमा बसेर जुन माओवादीहरूसँग कुराकानी गरयौँ, माओवादीसँग कुरा न भारतमा भयो, अरु त केही भारतमा भएको होइन । भारतका निर्देशअनुसार त कुनै छलफल भएको होइन, कुनै बुँदा पनि भारतको भनाइ अनुसार परेको होइन । मैले भनेँ नि मैले ड्राफ्ट गरेको हो त्यो, त्यसमा कसैको निर्देशअनुसार त ड्राफ्ट गरेको होइन । कसैले मध्यस्थता गरेको होइन । कुनै भ्रम राख्नु पर्ने जरुरी छैन है, यो कुनै मध्यस्थतामा होइन । हामीले धेरै राउण्ड छलफल गरयौँ ।

प्रश्न: तर यो किसिमको चासो, यो किसिमको इन्फ्लुएन्स भनौँ न, भारतीय इन्फ्लुएन्स नेपाली राजनीतिमा चुलिँदै गएको, त्यसको एपेक्स प्वाइन्ट पुगिसक्यो कि अझै चुलिँदैछ ?

उत्तर: अलिकति मैले त्यो चुल्याउने प्रयास र त्यसलाई साथ दिने, अलिकति असहज लाग्नु पर्ने हो, स्वाभिमानको हिसाबले पनि, तर नलागेर त्यसलाई साथ दिने पक्ष पनि यहाँ क्रियाशील देखियो, देखिरहेको छ । मलाई के लाग्छ भने मैले भारतसँग हाम्रो त्यसबेला भारतले कुनै मध्यस्थता गरेको केही होइन । माओवादीले भनेका हुन सक्छ भारतसँग, उनीहरूले हामी यसरी बसेका छौँ, कुरा गर्दै छौँ भनेको हुन सक्छ, हामी यहाँ छौँ भनेको हुन सक्छ । हामी त खुल्ला हौँ, हामी दिल्ली गयौँ, फरिदावाद गयौँ, नोयदा गयौँ, हामी त्यहाँ भारत सरकारलाई खबर गरेर त होइन । हामीले त हाम्रा समस्या समाधान गर्न माओवादीहरू ....

प्रश्न: तर फासिलिटेटरहरू त थिए नि ?

उत्तर: थिएन ।

प्रश्न: हिन्दुस्तानी फासिलिटेटरहरू थिएन ?

उत्तर: थिएन, थिएन । थिएन, कोही पनि थिएन । हुने कुरै भएन । हामीले माओवादीहरूलाई भेटेर कुराकानी गरयौँ ।

प्रश्न: तर क्लेम त गर्छ नि ?

उत्तर: झूटो हो । बिलकुल झिटो हो ।

प्रश्न: हामीले मिलाइदिएको सम्म पनि भनेको छ भारतीय पक्षले ?

उत्तर: मिलाइदिएको सम्बन्धमा प्रचण्डलाई सोध्नु पर्छ । प्रचण्ड, वहाँहरूको केही हुन सक्छ । जानकारी हुन सक्छ वहाँहरूमार्फत । हामीमार्फत कुनै जानकारी छैन । त्यस समझदारीको सम्बन्धमा, समझदारी जुन हामीले तयार गरयौँ । त्यस सम्बन्धमा कुनै मध्यस्थता, कुनै प्रकारको सुझाव, केही पनि छैन ।

प्रश्न: तर हिस्टोरिकल्ली हेर्दा, यसलाई अन्यथा नलिनुस्, विश्लेषकहरू र राजनीतिमा रुची राख्नेहरूले एकताकासम्म केपी ओली भारतसँग नजिकको सम्बन्ध राखेर काम गर्ने नेपाली राजनीतिज्ञ हो, समझदारीमा काम गर्ने राजनीतिज्ञ हो भनेर चिनिन्थ्यो, यसलाई सुन्दै पढ्दै आए, एउटा पुस्ताले नै यो चिज बुझ्दै आए । तर एकाएक जब तपाईँ प्रधानमन्त्री हुनु भयो, तपाईँले जुन किसिमको अडानहरू राख्नु भयो, त्यो भारतलाई त्यति रुचिकर भएन, त्यो असमझदारीको युटर्न केपी ओली र भारतको बीचमा कहिलेदेखि सुरु भयो ?

उत्तर: मेरो कस्टान्ट धारणा छ, कस्टान्ट तरिका छ । हामी नेपालीहरू भारत विरोधी होइनौँ, भारत विरोधी हुनु पनि छैन । भारत विराधी हुने कुरा हामीलाई आवश्यकता पनि छैन, सोच्न पनि सक्दैनौँ, किन सोच्ने ? भारत विरोधी किन हुने ? भारत हाम्रो छिमेकी हो । हामी भारतका छिमेकी हौँ । हामी भौगोलिक हिसाबले प्रतिकूल अवस्थामा छौँ । जनसङ्ख्याको हिसाबले सानो छौँ । भूगोलको हिसाबले सानो छौँ । विकासमा पछाडि छौँ । र, तीनतिरबाट भारतबेस्थित समेत छौँ । यस्तो अवस्थामा हामीले भारतसँग वैरभाव राख्नु, त्यो सोच्नै सकिने कुरा होइन । हामी मैत्रीभाव नै राख्छौँ । यत्ति हो कुरा – हामीले भारतसँगको सम्बन्धमा कुनै यो गरिदेउ, त्यो गरिदेउ, त्यसो हुनुपरयो, उसो हुनुपरयो, कुनै नचाहिने कुरा केही माग गरेका छैनौँ । भारतको कसैले भन्दिए भयो नि त यो माग किन गर्नु हुन्छ भारतसँग, त्यसो नगरिदिनुस्, भारतलाई यस्तो नगरिदिनुस् भने हुन्छ नि त । त्यस्तो त केही छैन । हामी के चाहन्छौँ भने हाम्रा आन्तरिक मामिला छन् । काँग्रेससँग राम्रो प्रतिस्पर्धा होला । माओवादी र काँग्रेसको प्रतिस्पर्धा होला । माओवादी र हाम्रो प्रतिस्पर्धा होला । हाम्रो र राप्रपाको प्रतिस्पर्धा होला । राप्रपा र प्रतिस्पर्धा होला । मधेसीमोर्चा र माओवादीको प्रतिस्पर्धा होला । स्वस्थ ढङ्गको प्रतिस्पर्धातिर हामी जान्छौँ । हामी डेमोक्रेटिक अभ्यास गर्न खोजिरहेका छौँ भने यसमा यसो उसो भनेर फेरि हात कित हाल्ने ? यसो चाहियो उसो चाहियो भनेर किन भन्ने ? यसबीचमा कहिल्यै पनि मैले, अहिले पनि म तपाईँलाई भनिराखेको छु, हामी हाम्रो देशको सार्वभौमसत्ताको कुरा गरिराखेका छौँ, यो कुनै अर्घल्याईँ होइन । हामी स्वतन्त्रताको कुरा गरिराखेका छौँ, स्वाधिनताको कुरा गरिराखेका छौँ, हामी आफ्ना निर्णय आफू गर्छौँ, आफ्ना मामिला आफै समाधान गर्छौँ, यो भन्नु के कोही विरोधी हो र ? अनि यसो गर्दा चित्त दुखाउने किन ?

प्रश्न: तपाईँ ले जे चिज भनिरहनु भएको छ, जे चिज बुझाउने प्रयास गरिरहनु भएको छ, तपाईँका सहकर्मी पार्टीका अन्य पार्टीहरू काँग्रेस, माओवादी केन्द्र, उनीहरूको बुझाई चाहिँ फरक छ जस्तो लाग्यो तपाईँलाई ?

उत्तर: यो कुरा मैले धेरै भन्नु भन्दा पनि वुद्धिजीवीहरूले, सञ्चारकर्मीहरूले, युवाहरूले, जनताले छुट्याउनु जरुरी छ । म के भन्छु भने हाम्रो तर्फबाट भारतसँग केही पनि छैन । भारतले हाम्रा मामिलामा हात मात्रै नहाल्दा मैत्रीपूर्ण ढङ्गले आरामले चल्ने भो नि त ।

प्रश्न: अहिले पनि हात हालिरहेको अनुभव गर्नु हुन्छ तपाईँ ?

उत्तर: मलाई लाग्छ देशले के अनुभव गरिराखेको छ । यहाँ यो सबै उछलकुदहरू, के कूटनीतिक मर्यादाभित्र रहने काम भएको छ ? के स्वतन्त्र निर्णयाधिकार नेपालको, त्यसलाई सम्मान गर्ने काम भएको छ ? हिजोको मात्रै वक्तव्यमा पनि हामीले सहयोग समर्थन गर्दै आएका हौँ, त्यस कारण हामीले रुची राख्न पाउँछौँ, पक्ष लिन पाउँछौँ, प्रकारान्तरले भाषा त्यही छ । कुरो त्यही छ । त्यो तरिका भएन, त्यो ठिक होइन । सहयोग गर्न सकिन्छ । तपाईँले मलाई सहयोग गर्न सक्नु हुन्छ । तर मैले सहयोग गरेको हुनाले मेरो घरपरिवारै मै चलाउँछु भन्न पाउनु हुन्न । तपाईँलाई मैले सहयोग माग्न सक्छु । तपाईँले इच्छा भए सहयोग गर्न सक्नु हुन्छ । इच्छा नभए सहयोग नगर्न सक्नु हुन्छ । तर मैले तपाईँलाई अस्ति सापटी दिएको थिएँ अभर परेको बेला, तपाईँको घर मैले नै चलाउँछु, मेरो आदेश अनुसार चल्नु पर्छन भन्न पाउनु हुन्न ।

प्रश्न: तपाईँको कुरा बुझियो । तपाईँले अहिले जति बताउन चाहिरहनु भएको छ । मैले चाहिँ बुझेँ । आई थिङ्क दर्शकहरूले पनि यसबाट छर्लङ्गै अर्थ लगाउनु हुन्छ । तर अहिले अड्किरहेको नेपाली राजनीतिको सबैभन्दा प्रखर मुद्दा भनेको सङ्घीयता हो । नढाँटी भनिदिनुस् कि यो के तपाईँ पनि सङ्घीयताको पक्षधर राजनीतिज्ञ हुनुहुन्छ, तपाईँको पार्टी पनि सङ्घीयतामा नै जाऔँ भन्ने कम्प्रोमाइज गरिसकेको पार्टी हो । अहिले के निल्नु न ओकल्नु, अलिकति घाँडो अनुभव भइरहेको हो सङ्घीयता ?

उत्तर: तपाईँले ठिकै भन्नु भयो, सङ्घीयता स्वीकारिसकेको पार्टी भनेर । नेपाली काँग्रेस र नेकपा (एमाले) उहिल्यै सात सालको आन्दोलनदेखि स्थापनाकालदेखि उनीहरूको सङ्घीता माग होइन । यी दुईवटै पार्टीको धारणा के हो भने यति सानो देशमो सङ्घीयता आवश्यक पर्छ भन्ने नलागेकै हो । पुष्पलाले, विपि कोइरालाले, मदन भण्डारीले सङ्घीयता नसुनेको त्यसकारण नभनेको होइन । थाहा नपाएर नभनेको होइन । दुनियाका शासन प्रणालीका बारेमा जानकारी नभएको होइन । तर नेपालको सन्दर्भमा आवश्यक छ भन्ने नलागेरै वहाँहरूले नउठाएको हो । हामीले पनि सम्झना नभएर, नजारे थाहा नपाएर सङ्घीयता नभनेको होइन । तर नेपालको सन्दर्भमा यति सानो देशमा र जहाँ विविधताले युक्त छ, सगरमाथादेखि केचनाकवलसम्म भौगालिक हिसाबले । जैविक, वनस्पति, सामाजिक, साँस्कृतिक, भाषिक, जातीय, विविधता स्वभाविक हो यस्ता देशमा । त यस्तो देशमा, यो विविधताको देशमा सङ्घीयता उपयोगी हुन्छ भन्ने नलागेको हो । तर बीचमा अलिकति जबर्जस्त ढङ्गले सङ्घीयताको माग उठ्यो । हामीले विचार गरयौँ, यो असन्तुष्टी राखिरहनु भन्दा यसलाई स्वीकारेर जाँदा सायद समस्याका समाधान होला, हामीले स्वीकारयौँ । तर हामीले के देख्यौँ भने त्यस नामबाट सुरु गरेर, त्यो त एउटा फिट्ने कुरा मात्रै रहेछ, मठ्ने कुरा मात्रै रहेछ, त्यसले सङ्घीयता स्वीकारेर होइन कि त्यो त सङ्घीयता कति वटा... हाम्रो तर्फबाट बढी गम्भीरताका साथ भन्दा लचिलापन देखाउने, समस्या समाधान भए हुन्थ्यो भन्ने, त्यो हामीले पटक पटक गरयौँ । समस्या समाधान भए हुन्थ्यो भनेर ।

प्रश्न: तर सङ्घीयतासँग सम्बन्धित मुद्दालाई पुस गरेर अगाडि लिएर जानुमा नेपाललाई श्रेयस्कर छ कि अब यसलाई रिथिङ्क रिभिजिट गर्ने बेला भयो ? किनभने वुद्ध जन्मेको भूमि अशान्त भइसक्यो, साधारण सीमासम्बन्धी विवादहरूले जनआक्रोस छताछुल्ल हुन तिर उन्मुख जस्तो देखिन्छ । त्यसमो राजनीतिक फ्युलिङ्ग मात्रै गरेर बस्ने कि यसलाई रिभिजिट गर्ने ?

उत्तर: वास्तावमा के हो भने मैले सदैव भन्ने गरेको छु, कुनै पनि कुरालाई एकपल्ट गरियो, जे गरियो त्यो ठिक छ वा त्यसैमा जिद्दि गर्नु पर्छ भन्ने छैन । जे गरिएको छैन त्यस कारण गर्नु हुँदैन भन्ने पनि होइन । हाम्रा अनुभवका आधारमा हामीले सङ्घीयता त माग गरेका थिएनौँ, सात सालमा थिएन, छयालिसमा थिएन, बैसठ्ठी त्रिसठ्ठीमा पनि सङ्घीयता थिएन, आन्दोलनको माग थिएन ।

प्रश्न: घुस्यो कहाँबाट ?

उत्तर: धेरै वटा कुरा आयातित कुराहरू छन् जो हामीले समस्या समाधानका लागि भनेर र लोकतन्त्रलाई संस्थागत गर्ने लोभमा, संविधान पनि ल्याऔँ भन्ने अर्थमा, संविधानसभाको निर्वाचन गराऔँ भन्ने अर्थमा, संविधान बनाऔँ भन्ने अर्थमा र स्थिरता र स्थायित्व ल्याऔँ भन्ने अर्थमा थुप्रै कुराहरू स्वीकारयौँ । यो जातका आधारमा भागवण्डा दुनियाको कुन देशमा छ ? शासन व्यवस्था जातका आधारमा, विद्यार्थी जातका आधारमा पढ्न पाउने, डाक्टर जातका आधारमा हुने, इञ्जिनियर जातका आधारमा हुने, धन्न पौडी खेल्दा जातका आधारमा पानीमा हालेका छैनौँ नत्र कति मान्छे सिधिसक्थ्यो, किनभने जातका आधारमा पानीले त मान्दैन नि, यस्तो खालको हामीले गर्दै आयौँ । यो पढाईमा, हामी मेडिसिन पढाउँछौँ तर हामी ८२ प्रतिशत ल्याएको जात भएन त्यसकारण पाउँदैन, ५२ प्रतिशत ल्याएकोलाई आरक्षण भन्छ । के मेडिसिनको अध्ययन जो तपाईँ हाम्रो अप्रेशन गर्छ, उपचार गर्छ, औषधि दिन्छ, ५२ र ८२ एउटै हो टालेन्सी ? कि त परिक्षा सिस्टम हटाइदिऔँ । यस्ता कुराहरू त हामीले गरेका छौँ, यी आयातित कुराहरू छन् । हाम्रो देश एउटा बहुसङ्ख्यक जात अरु स–साना अल्पसङ्ख्यक जात होइन । अल्पसङ्ख्यकहरूको मिश्रित आवादीको देश हो यो । यहाँ त हामी अल्पसङ्ख्यकहरू मिलेर बस्ने हो । यसमा एउटा जातीय विद्वेष रोप्न खोजियो जसलाई आधारभूत रूपमा नेपाली जनताले अस्वीकार गरेको छ । त्यो खुशीको कुरा हो । अब अर्कोतिर अरू प्रकारका प्रयासहरू, कताबाट टुक्र्याउन सकिन्छ, कताबाट यसलाई विभाजित गर्न सकिन्छ भन्ने खालका प्रयासहरू, ति फेरि भइराखेका छन् । भूगोलका आधारमा हुन्छ कि, जातका आधारमा हुन्छ कि, भाषाका आधारमा हुन्छ कि, धर्मका आधारमा हुन्छ कि, संस्कृतिका आधारमा हुन्छ कि वा अरु हिसाबमा हुन्छ ।

प्रश्न: यो टुक्र्याउने जुन कोशिस छ त्यो एउटा ठाउँबाट मात्रै छ कि यत्रतत्र सर्वत्रबाट छ ?

उत्तर: बहुतै बहुतै, बहुतै धेरैतिर । यसरी विष छरिएको छ, सबैतिरबाट ।

प्रश्न: संसारका अन्य शक्तिहरूको पनि त्यो इन्टरेस्ट नेपालमा छ त्यसो भए, होइन ?

उत्तर: विभिन्न ढङ्गले छ । नेपाली जनतालाई म आग्रह गर्न चाहन्छु, सजग हुनु जरुरी छ । हाम्रो देश विविधतायूक्त देश हो । विविधता हाम्रो सुन्दरता हो । विविधता हाम्रो सम्पदा हो, सम्पन्नता हो । हामी सांस्कृतिक रूपमा, विविध संस्कृतिका धनी छौँ । त्यो त हाम्रो सम्पन्नता रहेछ नि । त्यसलाई हामीले पारस्परिक घृणा, पारस्परिक बेमेल, पारस्परिक द्वन्द्व तिर लान खोजिएको छ ।

प्रश्न: यो सङ्घीयतासँग रिलेटेड प्रश्नको जवाफमा पनि तपाईँले आज हामीलाई जति बताइदिनु भयो, दर्शहरूले, आमजनताले बुझ्ने गरी नै बताइदिनु भयो जस्तो लाग्छ । तर प्रतिपक्ष दलको नेता हुनुहुन्छ, संसद अवरुद्ध छ, राष्ट्र प्रमुख सबै दलका नेताहरूलाई बोलाएर मिलेर जानुस्, अरु उपाय छैन, राजनीतिक गतिरोधक अन्त्य गर्नुस् भन्ने सुझाव दिइरहनु भएको छ । कहिले खोल्नु हुन्छ संसद ?

उत्तर: यो सरकारको हातमा छ । सरकार जसरी आएको छ नि, यो संशोधन प्रस्ताव ....

प्रश्न: तर संसद त प्रमुख प्रतिपक्षीको हो भन्छन् नि डेमोक्रेसी बुझ्ने बुझाउने मानिसहरूले ?

उत्तर: अहिले राष्ट्रियताको सवालमा, अहिले संविधानको प्रश्नमा, अहिले सरकारका तरिकाका प्रश्नमा, अहिले राष्ट्रिय एकताको प्रश्नमा, अहिले देशको अखण्डताको भविष्यको प्रश्नमा संसद अवरुद्ध भएको छ । पहिले कस्ता कुरा भएको थियो ? कस्ता कुरामा हुने गरेको थियो ? कति कति समय भइराखेको थियो ? नेपाली काँग्रेस प्रतिपक्षमा हुँदा के के विषयमा भएको थियो ? यो एजेण्डा अगाडि राख्ने कि पछाडि राख्ने ? यो आज राख्ने कि नराख्ने ? एक नम्बरमा यो राखेर दुई नम्बरमा यो । काँग्रेस र मधेसवादी दलहरूले मिलेर एक नम्बरमा हाम्रो नराखी हामी नमान्ने, एक नम्बरमा तपाईँको राखे हामी बन्द गरिदिन्छौँ, एक नम्बर हाम्रो राखने तपाईँ बन्द गर्नुस् भनेर संसद बन्द हुन्थ्यो ।

प्रश्न: त्यो बेला त त्यस्तो गरेको थियो हामी किन छोड्ने भन्ने हो ?

उत्तर: होइन । अहिले त्यसै कारण मैले भनेँ, यो त संवैधानिक प्रश्न हो । अदालतले कारण देखाऊ आदेश जारी गरिसक्यो । भोलि कारण देखाऊ आदेशको सुनुवाइ हुन्छ । अनि उसै दिन अदालतले सरकारको नाउँमा कारण देखाऊ आदेश जारी गरिसकेपछि कारण देखाउनु पर्छ कि मध्यरातमा लगेर दर्ता गर्नुपर्छ ? यस सम्बन्धमा समाधान गर्ने कसरी हो, प्रतिपक्षले जब गम्भीरताका साथ तपाईँहरूको मस्यौदा हेरौँ, छलफल गरौँ, तपाईँहरू एकलौटी बलजफ्टी नगर्नुस्, असंवैधानिक, गैरकानुनी र राष्ट्रहितका विरुद्ध नबढ्नुस् भनिराखेको छ भने बडाले जो गरयो काम सर्वसम्मत, हामी भित्ता आड लाग्या छौँ, ल ढकेलेर हेर, कति बलियो भित्ताको आड हामी लागेका छौँ, ढकलेर हेर भनेर धाक लगाएर जाने ।

प्रश्न: यो त संशोधन प्रस्ताव जुन सरकारले तपाईँको भाषामा संवैधानिक पनि छैन र यसमो विभिन्न त्रुटीहरू छन् र यो राष्ट्रहितमै पनि छैन भन्ने सम्म कुरा गर्नुभयो होइन । तर एउटा अब्जरभेसन के छ भने संशोधन प्रस्ताव तपाईँको सरकार ढाल्नका लागि गरिएको सत्ता गठबन्धन र तपाईँहरू पनि सहभागी हुनु भएको एउटा संवैधानिक निकायको प्रमुखको काम कार्वाही वा विभिन्न अन्य चिजहरूमा महाअभियोगको .... अब यो तीनवटै इन्टमिङ्गल इस्युजहरू हुन् कि आइसोलेटेड तीनवटा इस्युजहरू हुन् ?

उत्तर: होइन, फरक फरक इस्यु हो नि ।

प्रश्न: तर ओझेलमा त परे नि सबै एकअर्काले गर्दा जनचासोका प्रखर विषयहरू ?

उत्तर: जब राष्ट्रिय हितको प्रश्न छ, जब संविधानको पालनाको मर्यादाको प्रश्न छ, जब अदालतको मर्यादाको प्रश्न छ भने एउटा व्यक्तिको सम्बन्धमा दुई दिन चार दिन ढिला भएर केही पनि हुँदैन । दुई दिन चार दिन ढिलाले के गर्छ र ? तसर्थ यी छुट्टाछुट्टै कुरा हुन्, छुट्टाछुट्टै विषय हो ।

प्रश्न: गाँसिएको छैन ? बार्गेनिङ्ग टुलको रूपमा एक अर्काको हात समात्ने ? राजनीतिक प्रवृत्ति त छ नि ?

उत्तर: त्यस्तो भए पनि हामी त्यसलाई महत्त्व दिन सक्दैनौँ । गासेर लाने कुरा, जोडेर लाने कुरा हुन सक्दैन ।

प्रश्न: एमालेको अध्यक्षसँग कुरा भइरहेको छ, बटम लाइन के हो त संसदलाई सुचारु गर्नका लागि ?

उत्तर: बटम लाइन, अहिलेको रुपान्तरित व्यवस्थापिका संसद, त्यसबाट बनेको सरकार, सङ्क्रमणकालीन व्यवस्थापिका संसद हो, यो सरकार खुदै सङ्क्रमणकालीन हो । यसका काँधमा सङ्क्रमणकाल २०७४ साल माघ ७ गतेभित्र जति बेला यो रुपान्तरित व्यवस्थापिका संसदको समय सिद्धिन्छ त्यसभित्र सङ्क्रमणकाल टुङ्ग्याउन निर्वाचनजन्य कामहरू, त्यसका निम्ति कानुन निर्माण, संशोधन, त्यसका निम्ति आयोगहरूको गठन, तिनका कामहरू गरेर प्रतिवेदन बुझ्ने कुरा, स्थानीय निकायको निर्वाचन, प्रादेशिक निर्वाचन र प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन र राष्ट्रपति, उपराष्ट्रपति आदिका निर्वाचनसमेत गराउनु पर्ने काम छ । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचत त प्रतिनिधिसभा आइसकेपछि पनि हुन्छ । तर प्रतिनिधिसभाको म्याद त समाप्त हुन्छ, फेरि संविधान संशोधन गर्ने, कानुन निर्माण गर्ने कुनै पनि कुरा सरकार गठन गर्ने ....

प्रश्न: त्यसकालागि त मिलेर समय थप्ने ठाउँ त छँदै छ नि तपाईँहरूको ?

उत्तर: त्यस्तो गर्न पाइँदैन । समय छउञ्जेल नगर्ने ।

प्रश्न: पहिला पनि त त्यस्तो प्राक्टिस भएकै हो नि ?

उत्तर: त्यस्तो सँधै प्राक्टिस गरेर, नेपाल किन गरिब भयो ? नेपाल किन पछाडि परयो ? किन सबै कुरा पेन्डिङ हुँदै गए ? सात सालको परिवर्तनभन्दा यतै यदि हामी गम्भीर हुने हो र हामी ठिक ढङ्गले अगाडि बढ्ने हो भने देश त गरिब हुन सक्दैन नि । नेपाल गरिब हुने अचम्मको कुरा हो । नेपाल गरिब हुन सक्ने र सुहाउने कुरै होइन । गरिब हुन सक्ने देश होइन । यति उर्वर देश छ ।

प्रश्न: अब अझै बुझ्ने गरी गरौँ न त । सरकारले प्रस्तुत गरेको संविधान संशोधन प्रस्ताव जुन छ त्यो फिर्ता नगरिकन एमालेले सदन सुचारु हुन दिँदैन होइन त अब ?

उत्तर: त्यो राष्ट्रहित विपरित छ । असंवैधानिक छ । अदालतको आदेश विपरित छ । अदालतको आदेश आफ्नो ठाउँमा होला, त्यो पनि एउटा फ्याक्टर हो, तर असंवैधानिक कुरा खुलेआम हुनथाल्यो भने, संविधान संशोधन यति हैसियतसाथ भएको प्रमुख प्रतिपक्षसमेतको विषय हो । यो प्रतिपक्ष, अहिलेको प्रतिपक्ष, यसको स्ट्रेन्थ जुन छ ...

प्रश्न: पोलिटिक्स अफ द डे गरिरहनु भएको छ कि चुनावहरूलाई मध्यनजर राखेर तपाईँहरू एउटा स्टाण्ड, पपुलिस्ट मुभमेन्टमा तपाईँहरू उद्दत हुनुहुन्छ ?

उत्तर: बिलकुलै होइन । नेकपा (एमाले) नेपाल राष्ट्र, नेपाली जनताको सुरक्षित र सुन्दर भविष्य हो । त्यसमा मात्र केन्द्रीत छ । अरु कुरा यसको कुनै पनि छैन । नेपाल सुरक्षित, स्वतन्त्र र लोकतान्त्रिक अभ्यास, लोकतान्त्रिक प्रणाली यहाँ भए पछि पछाडि परयो भने फेरि अगाडि आउन सक्छ । त्यसकारण यो ठूलो कुरा होइन, अगाडि र पछाडि । एउटा चुनाव हेर्न थाल्यौँ भने देश बनाउँछौँ कसरी ?

प्रश्न: तर तपाईँले जसरी असंवैधानिक भन्नुभयो र राष्ट्रहित विपरित भन्नुभयो, सीमाङ्कनबाहेक अन्य जति बुँदा छन् संशोधनका लागि टेबल गरिएका त्यसमा नागरिकताको कुरा, भाषाको कुरा, जनसंङ्ख्याको आधारमा प्रतिनिधित्वको कुरा, राष्ट्रिय सभा, यी कुराहरूमा त खासै बिमति जनाउनु पर्ने विषय त थिएनन् होला नि ? चुरो कुरा त्यही एउटा हो ?

उत्तर: सबै बिमति जनाउनु पर्ने, कुनै पनि सहमति जनाउन नसकिने, त्यस्ता कुराहरू छन् ।

प्रश्न: तर अङ्गिकृतलाई उच्च पद दिन लागियो भन्ने कुरा पनि कतै रहनेछ, हिन्दीलाई राष्ट्रिय भाषा बनाउन लागियो भन्ने पनि कतै रहनेछ ? जनमानसमा भ्रम त फैलियो नि ?

उत्तर: प्रत्यक्ष त्यहाँ लेखिएको छैन होला, तर त्यसको अर्थ अन्तिममा गएर त्यही लाग्छ । मातृभाषा हुने छ भन्ने, चारजनाले मातृभाषा त लेखिदिन्छ । यहाँ पनि ०.२ प्रतिशत त लेखिसकेको छ, लेख्देला । त्यसो भएपछि राष्ट्रिय भाषा हुन्छ । एउटा कुरा के हो भने यति कुरा मान्दिएर समस्या टुङ्गिन्छ भने भन्दै यति धेरै मान्यौँ, यति धेरै मान्यौँ समस्या टुङ्ग्याउनका लागि । तर जुन कुरा भइसक्यो त्यसमा टेकेर अगाडि बढ्ने ? जुन भइसक्यो, फेरि हामी कम्प्रोमाइज गर्छौँ नि, हो त्यसलाई आधार बनाएर अगाडि बढ्ने । अहिले भनिँदैछ दुई नम्बर प्रदेश तराई मात्र हुँदा हुन्छ भने पाँच नम्बर प्रदेश छुट्याउन किन नहुने ? भनिँदैछ । पाँच छुट्याइसकेपछि एक र सात छुट्याउन किन नहुने ? पाँच त छुट्याइयो । बनाएको प्रदेश छुट्याइयो भने ।

प्रश्न: तर दुई नम्बर प्रदेशमा पनि त गल्ती भएको थियो होला नि तपाईँको कुराको रेफरेन्स लिने हो भने, त्यस्तो लाग्छ तपाईँलाई ?

उत्तर: म के ठान्छु भने भइसकेको एउटा कुरा हो । तर मेरो त्यतिबेला पनि मान्यता हो, मैले सहमति यसकारण, भैगो समस्या समाधान हुन्छ भने होस्, संविधान जारी गरौँ भनेर स्वीकारेको हुँ । हिमाल–पहाड–तराईको देश छ, हाम्रो विकासको संभावना, हाम्रो राष्ट्रिय एकता, हाम्रो सामाजिक सद्भाव, हाम्रा अरु चिजहरूका लागि, सबै कुराका लागि हिमाल–पहाड–तराई मिलाएर प्रदेश बनाउनु उपयुक्त हो । कोही पनि बुझ्ने मान्छेले, अस्ति भर्खर रामदेवजी आउनु भयो, यो जातजातका कुरा नगर्नुहोस् पहिले नेपाली, नेपालको राष्ट्रिय स्वाभिमान भन्नुहोस् । एउटा जोगी जस्तो मान्छेले पनि त्यति कुरा बुझ्दोरहेछ भने पोलिटिसियनहरूले बुझेको छैन होला ? वास्तवमा त्यो प्रदेश त्यसरी बनाउनु ठिक थिएन । त्यही प्रदेशलाई वहाँहरूले के भन्नुभयो तपाईँलाई याद होला, सुख्खा प्रदेश बनाइयो भनेर । हामीलाई सुख्खा प्रदेश बनाइयो भन्नुभयो । अनि अर्कोलाई फेरि सुख्खा प्रदेश बनाउनका लागि तराई मात्रै हुँदा सुख्खा प्रदेश भन्नुभयो त्यहाँ, निहुँ खोज्नुभयो, तपाईँहरूले सुन्नुभयो होला सुख्खा प्रदेश भनेर । त्यही कुरा फेरि वहाँ पाँच नम्बरमा लगेर पहाड छुट्याएर फेरि सुख्खा प्रदेशको कुरा गर्दै हुनुहुन्छ ।

प्रश्न: तर आज यत्रो अतरङ्ग कुराकानी भयो केपीजी १८२ सिट सहितको प्रमुख प्रतिपक्षी दलको नेता, पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्ष, अल आइज आर सेट अन यु, अहिले जुन राजनीतिक स्टेलमेट नेपालमा देखिएको छ त्यसको अदर साइड, पक्ष र विपक्षको कुरा गर्दा विपक्षमा तपाईँको नेतृत्व देखिएको छ । अब आम जनताले राष्ट्रिय अन्तराष्ट्रिय चासो जति छ सबैको आँखा तपाईँमाथि पर्दाखेरि तपाईँ कसरी आश्वस्त बनाउन चाहनु हुन्छ कि म यो स्टेलमेटलाई छोट्याउने प्रयास गरिरहेको छु र यसले हाम्रो अन्य राजनीतिक र संवैधानिक प्रक्रियाहरू समयमै सकिने म वाचा दिन सक्छु भन्ने आश्वस्तता दिन सक्नु हुन्छ तपाईँ अहिले, आजका दिनमा ?

उत्तर: म अलिकति पहिले हाम्रा नीतिहरूको कुरा गरौँ । नेकपा (एमाले) एउटा चुनावका लागि, चुनावको भोट माग्नका लागि वा चुनावमा आफ्नो स्थिति सुदृढ गर्नका लागि राजनीति गर्ने होइन । यसले देशका लागि, जनताका लागि गर्नु पर्छ । हामी जनताले अधिकार सम्पन्न हुन पाउनु पर्छ, अवसर पाउनु पर्छ, सबैले सुरक्षा पाउनु पर्छ र सम्मान पाउनु पर्छ भन्ने ठान्छौँ । सामाजिक सुरक्षा, सामाजिक न्याय र समानता पाउनु पर्छ भन्छौँ । हामी विविधतामा छौँ त्यसकारण द्वन्द्व, कलह होइन राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता, पारस्परिक सम्मानका साथ राष्ट्रिय एकता गरेर अगाडि बढ्नु पर्छ भन्ने ठान्छौँ । लोकतान्त्रिक प्रणाली आवश्यक छ । लोकतान्त्रिक प्रणाली अपनाएर जानु पर्छ सबैले, हामीले त्यसको अभ्यास गर्नु पर्छ भन्ने ठान्छौँ हामी । र, समृद्धिको बाटोमा जान हामी ढिलो भइराखेको छ । हामी समृद्धिको बाटोमा जानु पर्छ भन्छौँ । हामी त्यसकारण हाम्रा छिमेकी, सबभन्दा पहिला त हाम्रा दुईटा छिमेकीहरू छन् । दुईटा छिमेकीसँग समानता, पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा हामी सुमधुर सम्बन्ध र सहयोगात्मक सम्बन्ध कायम गरेर अगाडि बढ्नु पर्छ भन्ने ठान्छौँ । हामी प्राकृतिक स्रोतहरूले सम्पन्न पनि छौँ, यसलाई हामी छिमेकीहरूसँग पनि त्यसलाई सेयर गरेर, सन्तुलित र समुचित ढङ्गले सेयर गरेर अगाडि बढ्न चाहन्छौँ । बाँकी दुनियासँग पनि हामी शान्तिको पक्षमा छौँ, सुमधुर सम्बन्धको पक्षमा छौँ हाम्रा नीतिहरू यी हुन् र यसका निम्ति हामी देशभित्र राजनीतिक शक्तिहरूका बीचमा जिद्दि र अहङ्कार, पेलाई होइन, निषेधको राजनीति होइन, फलानालाई सिध्यादिन्छु होइन, अनावश्यक, अनुचित, अर्घेल्याईँ कुराहरू होइन । देशको हितमा केन्द्रीत भएर कुरा गरौँ, देशप्रति इमान्दार भएर कुरा गरौँ । हामी संवादको पक्षमा छौँ, सहमतिको पक्षमा छौँ र यो सङ्क्रमणकाल यसो भनेर निहुँ खोज्ने, उसो भनेर निहुँ खोज्ने ढङ्गले होइन, सङ्क्रमणकाल टुङ्ग्याएर जाऔँ । अहिले सरकारपक्ष के गर्दैछ, तराईमा मधेशी मोर्चा फोरम अगाडि सारेर एमाले कहिँ पनि जान पाइँदैन, एमालेले यो कुरा स्वीकार्ला ? स्वीकाुर्न हुन्छ ?

प्रश्न: तपाईँको आजको कुराबाट सरकारले तपाईँले सोच्नु भएको जस्तो राष्ट्र हितमा काम गरिरहेको छैन भन्ने कुराको निचोड कतै कतै आजको कुराबाट देखेँ । अनि त्यस्तो निचोड निकालिसकेपछि तपाईँ कतै यो सरकारको गठबन्धन देशको माटो सुहाउँदो भएन, यो सरकारलाई हल्लाउनु परयो, यो सरकारलाई फेर्नु परेयो भन्नेतिर पनि तपाईँहरू अलि जोसिन थाल्नु भयो ?

उत्तर: यो सरकार बन्नु देशको दुर्भाग्य हो, नेपालको हार हो, नेपालको देशभक्त शक्तिको हार हो । हामी फेरि पनि सरकारमा जाउँ, सरकारको खेलमा सामेल हौँ भन्ने हाम्रो त्यो रुची छैन ।

प्रश्न: छैन ?

उत्तर: मेरो व्यक्तिगत रुची छैन, पार्टीको पनि रुची छैन । हामी के चाहन्छौँ भने सङ्क्रमणकाल टुङ्ग्याउनका लागि चुनावको बाटोमा जाऔँ । मैले भनेको छु सरकारलाई कि हाम्रो तर्फबाट यसमा पूराका पूरा सहयोग हुन्छ ।

प्रश्न: यतिका विषय थाँती राखेर पनि चुनावमा जान सकिन्छ ?

उत्तर: सकिन्छ । सक्नै पर्छ ।

प्रश्न: स्थानीय चुनाव कि ?

उत्तर: सबै चुनाव त गर्नु परयो । प्रतिनिधि सभाको चुनाव त तपाईँले समयभित्र गर्नु भएन भने संवैधानिक रिक्तता हुन्छ, त्यसले राजनीतिक रिक्तता, त्यसपछि न संविधानमा न कानुनमा, न व्यवहारमा न सरकारमा ।

प्रश्न: तर कन्सलेटरी मुडमै हुनुहुन्छ होइन तपाईँ ?

उत्तर: अवश्य नै । अवश्य ।

प्रश्न: .... अपोजिसन जसले यो स्टेलमेटलाई लम्ब्याउने, अन्य बाहिरी प्रभावहरू पनि जनताले भोग्नु पर्ने स्थितिमा डोरयाउनका लागि चाहिँ तपाईँ उद्दत हुनुहुन्न होइन उसो भए ?

उत्तर: एकदमै मेलमिलाप, सहमतिका साथ शान्तिको बाटोमा जानुपर्छ, म त्यसमा छु । तर प्रधानमन्त्रीले अस्तिका दिन भन्नुभयो, शान्तिपूर्ण ढङ्गले हामीलाई मिलेर बसेका छौँ नछुट्याइयोस् पाँच नम्बर प्रदेशको पहाड र तराई । पाल्पा र रुपन्देही किन छुट्याउने ? अर्घाखाँची र कपिलवस्तु किन छुट्याउने ? हामीलाई नछुट्याइयोस् भनेर जनता शान्तिपूर्ण ढङ्गले सडकमा उत्रे । प्रधानमन्त्रीले वितण्डा हो यो भन्नुभयो । वितण्डा हो रे । के भनेको वहाँले । ति जनतालाई वहाँले वितण्डाकारी भन्नुभयो । ति त वितण्डकारी हुन् भनेर ।

प्रश्न: कहिले भेट्दै हुनुहुन्छ प्रधानमन्त्रीलाई नेक्स्ट ? प्रश्न सोधिहाल्नुभयो, एन्सर पनि त दिनु होला नि वहाँले ।

उत्तर: भेटघाट त हुँदै जाला । वहाँ पनि यहीँ हुनुहुन्छ, हामी पनि यहीँ छौँ । पर्सि त संसद छँदै छ ।

प्रश्न: पर्सि चल्न दिनु हुन्छ संसद ?

उत्तर: वहाँहरूले चल्ने वातावरण बनाउनु भयो भने त चलिहाल्छ नि । वहाँहरूले व्यवधान गर्नु भयो, तनाव सिर्जना गर्नु भयो ।

प्रश्न: नेक्स्ट टाइम हाउस सेसन हुँदा अल आइज, सबै आम नेपाली जनताको आँखा पनि तपाईँहरूतिर नै केन्द्रीत रहनेछ, वि विल वाचिङ यु, थान्क्यु भेरिमच फ र योर टाइम ।

उत्तर: थान्क्यु ।