NP EN

दिलभुषण पाठकसँग टफ टकमा केपी शर्मा अोली

 

केपी ओलीलाई प्रधानमन्त्री बनाउनका लागि पनि देश र जनताका हितहरू वा संविधान निर्माणका प्रश्नलाई यताउता पर्न दिनु हुँदैन । बन्न नदिनका लागि पनि देशसँग खेलवाद गर्न दिनु हुँदैन । बनाउनु वा नबनाउनु, बनाई छोड्न वा बन्न नदिन । संविधान र देशका प्रश्नहरू त्यो भन्दा बाहिर हुनुपर्छ, माथि हुनुपर्छ, मेरा निम्ति माथि छन् । प्रधानमन्त्री हुन्छ, हुँदैन, के हुन्छ जस्ता कुराहरूले देशका हितहरूलाई, संविधान निर्माणका प्रश्नहरूलाई – यति अहम् विषयहरूलाई त्यसभित्र मुछेर फेरि तलमाथि पार्ने काम गर्नु हुँदैन ।
 


 

TOUGH talk with Dil Bhusan Pathak is a weekly talk show in Kantipur Television Network. Nepal.
Published on Jul 22, 2015

 



​आदरणीय दर्शकवृन्द कार्यक्रम ‘टफ टक’मा स्वागत छ । केही विरोध र अवरोधका बीच संविधानको प्रारम्भिक मस्यौदामा जनताको राय, सुझाव लिने काम सकियो । संविधानसभाले तयार पारेको मस्यौदामा संविधानको कतिपय अन्तरवस्तुहरू जनताले फरक मत राखेका छन् । विशेषगरी मुलुकको राष्ट्रपति वा प्रधानमन्त्री अथवा वडाअध्यक्षसमेतलाई जनताले प्रत्यक्ष चुन्न पाउनु पर्ने, संविधान जारी हुनु अगावै प्रदेशहरूको नामाङ्कन र सीमाङ्कनको टुङ्गो लगाउनु पर्ने, निर्वाचनमा थ्रेसहोल्डको व्यवस्था हुनु पर्ने जस्ता सुझावहरू आएका छन् । यसैगरी धर्मको विषयमा पनि प्रशस्त सुझाव आएका छन् । सात वर्ष लगाएर पनि मुलुकको वरिष्ठ नेता र पार्टीहरूले टुङ्ग्याउन नसकेका कतिपय मुद्दामा बरु जनताले दुई दिनमै ठोस र स्पष्ट सुझाव दिएका छन् । अब के हुन्छ ? आजको ‘टफ टक’मा हामीसँग हुनुहुन्छ एमाले अध्यक्ष केपी शर्मा ओली ।

दिलभुषण पठक - अध्यक्षज्यू कार्यक्रममा स्वागत छ ।
केपी अोली - धन्यवाद ।

आराम हुनुहुन्छ ?
केपी अोली - ठीक छ ।

दिलभुषण पठक - कस्तो पाउनु भयो जनताको राय सुझाव ? तपाईँहरूले गर्नु भएको सोह्र बुँदेभन्दा त विपरित आयो होइन ?
केपी अोली - आएन । राय सुझाव समर्थनको माग र आग्रह मात्रै होइन । राय सुझाव आ–आफ्ना वर्ग, पेशा र समुदायका हकहितहरू, धारणाहरू र जनताका विभिन्न तह–तप्काका विभिन्न इच्छा र आकाङ्क्षाहरू राय सुझावका रूपमा आउन् । यसमा समग्र राष्ट्रिय सन्दर्भमा दृष्टिकोणहरू र आ–आफ्ना तह–तप्काका सन्दर्भमा दृष्टिकोणहरू आउन् भनेर हामीले जनताको राय सङ्कलन गरेका हौँ । सोह्र बुँदे समझदारीको सेरोफेरोमा, यो राजनीतिक विषय हो – संवैधानिक विषय होइन सोह्र बुँदेको सेरोफेरो, यो राजनीतिक विषय हो, जसले संविधान निर्माणलाई सफलताका साथ अगाडि बढाउने अठोट गरेको थियो र अगाडि बढिरहेको छ । मस्यौदा त्यस आधारमा बन्यो । सोह्र बुँदेको सेरोफेरो भनेको नेपालमा रहेका प्रमुख दलहरू वा संविधानसभामा रहेका प्रमुख दलहरूको कसरी सहमति हुन सक्छ भन्ने कुराको खोजी र त्यस खोजीलाई व्यवहारिक रूप दिने कुरा हो । जुन सहमतिको अभावमा पहिलो संविधानसभा असफल भयो फेरी त्यही नियती यस संविधानसभालाई नदिउँ, त्यसमा नपु¥याउँ र सफल बनाउँ भन्ने हिसाबले सहमति कायम गर्ने कोशिस भयो । विभिन्न दलका इच्छा–आकाङ्क्षाहरू, विभिन्न दलका नीति–दृष्टिकोणहरू, तिनीहरूलाई एक ठाउँमा ल्याउँदा...

दिलभुषण पठक - ठीक छ, त्यो एउटा प्रयत्न थियो, तर जनताबाट जुन किसिमको सुझाव अथवा फिडब्याक आयो नि, यस्तो लाग्छ कि तपाईँहरू जनतासँग सम्पर्कमै हुनुहुन्नथ्यो, सम्बन्धमै हुनुहुन्नथ्यो, तपाईँहरू एउटा कुरा सोचिरहनु भएको छ जनता अरु केही चाहन्छ ?
केपी अोली - त्यस्तो होइन । हामीले जुन विषय पठायौँ ति विषयमाथि नै जनताले आफ्नो राय दिएको छ । हामीले पठाएका विषयभन्दा पृथक कुनै आएको छैन अथवा हामीले सोचेकोभन्दा पृथक आएको छैन । एकजनाले एउटा कुरा सोचेको होला, अर्कोले अर्को सोचेको होला । रायसुझावमा यति धेरै जनताका, लाखौँ जनताले उत्साहका साथ भाग लिएका छन्, उत्साहका साथ सुझाव दिएका छन् र संविधानलाई कसरी उपयुक्त बनाउन सकिन्छ भन्ने सन्दर्भमा आ–आफ्ना दृष्टिकोण प्रस्तुत गरेका छन् । कुन चाहिँ उपयुक्त हो भन्दा जसले सुझाव जे दिएका छन् त्यो उपयुक्त लागेर नै दिएका छन् । उपयुक्त लगाईमा विविधता छ । अब ति सबै कुराहरू एकैचोटि एकमुष्ट त आउन नसक्लान् । तिनीहरूमध्ये उपयुक्तता केमा हुन्छ ? जनताको अभिमत के छ ? आमरूपमा या अत्यधिक बहुसङ्ख्यक जनताको अभिमत के छ त्यसलाई हामीले ध्यान दिनु पर्छ । त्यसअनुसार हिजो दलहरूका कहिँ कतै कुनै दृष्टिकोण थिए होलान् अथवा दलले कुनै कुरा अरूसँगको सहमतिका लागि मानेको थियो होला । अब जनताले रायसुझाव दिइसकेपछि, जनताको रायसुझाव जो देशको हितको पक्षमा छन्, लोकतन्त्रको पक्षमा छन्, सामाजिक न्याय समानताको पक्षमा छन् अथवा जनतालाई सबल बनाउने पक्षमा छन् वा राष्ट्रिय एकताको पक्षमा छन् वा समृद्धि तर्फका प्रयासहरूलाई अगाडि बढाउने पक्षमा छन्, यस्ता कुराहरूलाई समृद्ध बनाउनका लागि नै सुझाव मागिएको हो र जनताले त्यसरी नै सुझाव दिएका छन् ।

दिलभुषण पठक - संविधानमा समेटिन्छन् त ?
केपी अोली - समेटिन्छ । त्यसकारण यो एकदम लडाइँ झागडाको विषय हो, विपरित विषय हो अथवा ...

दिलभुषण पठक - मेरो प्रश्न के हो भने सोह्रा बुँदेमा तपाईँहरूले जे–जे सहमति गर्नु भयो, धेरै जसो जनताले, बहुसङ्ख्यकले त्यसभन्दा फरक मत राखे भने त्यो पनि तपाईँहरूले संविधानमा समेट्न सक्नु हुन्छ ?
केपी अोली - किन नसक्ने ।

दिलभुषण पठक - सोह्र बुँदे धरापमा प¥यो त्यसो भए ?
केपी अोली - होइन । धरापमा कसरी पर्छ, समृद्ध हुन्छ । समृद्धिलाई धराप भनिँदैन । सोह्र बुँदे सहमतिका साथ संविधान बनाउने, संविधान निर्माणको कामलाई सफल बनाउने, संविधानसभालाई असफल हुन नदिने, सङ्क्रमणकाललाई टुङ्ग्याउने, जनताका हक अधिकार सुनिश्चित गर्ने र अगाडि बढ्ने कुरा हो । त्यसको मूल आशय, मूल मर्म, मूल भावना अथवा मूल उद्देश्यहरूमा हामी जानु प¥यो । सोह्र बुँदेको कुनै कुरामाथि अत्यधिक जनताको कुनै फरक टिप्पणी आयो भने ...

दिलभुषण पठक - मानिलिनुहोस्, प्रत्यक्ष कार्यकारी हामी आफैले चुन्न पाउनु पर्छ, जनताले नै भोट हाल्न पाउनु पर्छ अथवा वडाअध्यक्षदेखि लिएर प्रधानमन्त्री राष्ट्रपतिसम्म हामीले चुन्न पाउनु पर्छ भनेर बहुसङ्ख्यकले त्यसो भने भने तपाईँहरूले के गर्नु हुन्छ ?
केपी अोली - हामीले जनताको इच्छाभन्दा विपरित, जनताले जे चाहेका छन् त्योभन्दा विपरित आफ्नो निम्ति होइन देशका निम्ति संविधान बनाउन खोजेको हो भन्ने कुरा हामीले बुझोका छौँ र बुझाउनु पर्छ । जनताले चुन्न पाउनु पर्छ । तर सबै ठाउँमा प्रत्यक्ष निर्वाचन मात्रै हुन्छ भन्ने कुरा नहुन सक्छ । जस्तो जनताले आफै कानुन बनाउनु पर्छ भन्यो भने, आफै मन्त्री छान्न पाउनु पर्छ भन्यो भने, आफै प्रधानमन्त्री, राष्ट्रपति छान्न पाउनु पर्छ भन्यो भने, प्रश्न के हुन्छ भने त्यसो भए प्रतिनिधि संस्थाहरू रहन्छन् कि रहँदैनन् ? गाविससम्म त सम्भव होला प्रत्यक्ष निर्वाचन, प्रत्यक्ष प्रतिनिधिको व्यवस्था अथवा सांसदसम्म प्रत्यक्ष प्रतिनिधित्वको व्यवस्था होला । तर त्यस प्रतिनिधिले अरू प्रतिनिधि छान्दछ ।

दिलभुषण पठक - तपाईँहरू आफ्नो बाटो राख्नु हुन्छ होइन आफूलाई, आफू अनुकूलको बाटो ? जनताले प्रत्यक्ष प्रधानमन्त्री चुन्न पाउनु पर्छ, यतिका वर्षसम्म हामीले प्रधानमन्त्री चुन्न पाएनौँ, अधिकांश प्रधानमन्त्री यसरी चुनिए कि तपाईँहरूको इच्छामा अथवा तपाईँहरूको अनुकूलमा सांसदहरूलाई भेडाबाख्रा जस्तै गरेर, किनेर, कुनै एउटा होटलमा राखेर थुनेर पनि प्रशस्त घटनाहरू देखिसकेपछि आजको दिनमा जनताले के भने भने अब प्रधानमन्त्री हामीले प्रत्यक्ष चुन्न पाउने कि नपाउने भनेर सुझाब दिँदा पनि तपाईँहरूलाई आपत्ती छ ?
केपी अोली - छैन । कुनै आपत्ती छैन । हामी हेर्छौँ कति जनताले यसप्रकारको सुझाव दिनु भएको छ । प्रत्यक्ष प्रधानमन्त्री वा प्रत्यक्ष राष्ट्रपतिको निर्वाचन, निर्वाचन मात्रैको कुरा होइन, त्यसले अन्य प्रणालीसँग सम्बन्ध राख्दछ । अन्य राजनीतिक प्रणाली, राजनीतिक व्यवस्था, सरकारको गठन, सञ्चालन आदि अनेक पक्षहरू हुन्छन् ....

दिलभुषण पठक - अरू मुलुकहरू गतिलै चलिरहेका छन् यही प्रणालीमा ?
केपी अोली - तपाईँले अमेरिका भन्नु भएको होला । अमेरिकाको इतिहास, अमेरिकाको प्रणाली र यहाँको प्रणाली, त्यहाँको दलीय व्यवस्था र यहाँको दलीय व्यवस्था वा अन्यत्रका जस्ता कुराहरू अलिकति आफ्नो खालको परिस्थिति, परिवेश हुन्छ । हामीले अरूको नक्कलभन्दा पनि आफ्नो खालको परिस्थिति परिवेश गर्छौँ । यद्यपि हामीकहाँ वेस्टमिनिस्टर अथवा ब्रिटिश संसदीय प्रणालीको पृष्ठभूमिबाट हामी आयौँ र त्यसैमा अडिनु पर्छ भन्ने कुरा छैन ।

दिलभुषण पठक - तपाईँहरूको आफ्नो पार्टीको एजेन्डा नै थियो नि होइन र ? तपाईँहरू बोल्ने, देखाउने अनि गर्ने फरक–फरक हुन्छ एमालेको ?
केपी अोली - तपाईँलाई के बताउँ भने संविधान बनाउन चारसयभन्दा बढी भोट चाहिन्छ, हामीसँग दुईसयभन्दा अलिकति कम छ ।

दिलभुषण पठक - त्यसको अर्थ जे पनि कम्प्रोमाइज गरिदिने त ?
केपी अोली - जे पनि कम्प्रोमाइज गरेको छैन । एमालेको मुद्दा हुँदैन, देशको मुद्दा हुन्छ । देश र जनताको हितका निम्ति पो एमालेले काम गर्छ ।

दिलभुषण पठक - तपाईँले उठाएको मुद्दा त देशकै थियो भन्ने बुभियो नि ? हामीले बुझ्यौँ नि ?
केपी अोली - अवश्य हो । तर चारसय एक बिना भावनामा भड्किएर, हाम्रो अडान, हाम्रो प्रतिवद्धता भनेर, संविधान बन्न नदिएर, त्यसरी हामी जाँदैनौँ । हामी देश र जनताका भावना बुझ्छौँ । हामीले कुनै कुरा प्रस्ताव गर्छौँ । तर त्यो प्रस्ताव यदि निर्णय गर्ने कुरामा अरूसँग मिल्दा, देशको आधारभूत हितको विपक्षमा छैन भने, जनताको आधारभूत हितको विपक्षमा छैन भने, राष्ट्रको अस्तित्व, सम्प्रभूता वा अखण्डताको विरुद्धमा छैन भने, जनताको सामाजिक सद्भाव र राष्ट्रिय एकताको विरुद्धमा छैन भने, असमानताको पक्षमा र समानताको विपक्षमा यदि छैन भने समानताको पक्षधर कुराहरूलाई जनताको निम्ति हामी काम गर्छौँ । अनि त्यसमा हामी कम्प्रोमाइज पनि गर्छौँ, साना मसिना कुराहरू ।

दिलभुषण पठक - तपाईँहरूको यो मुद्दा नै हो । बहुसङ्ख्यकहरूले यदि आफैले चुन्न पाउनु पर्छ प्रधानमन्त्री यदि भन्यो भने र तपाईँहरूको निर्णयले मात्रै अर्थ राख्ने भयो भने तपाईँहरू के निर्णय गर्नुहुन्छ ?
केपी अोली - यसको खास अर्थ हुँदैन । किन अर्थ हुँदैन भने हामीले अहिलेको यथार्थमा संविधान बनाउनै पर्ने अभिभारा हाम्रो अगाडि छ । संविधान बनाउँछौँ । संविधान लोकतान्त्रिक हुनुपर्दछ । संविधान जनपक्षीय हुनुपर्दछ, समानताको पक्षमा हुनुपर्दछ । एकताको पक्षमा हुनुपर्दछ र समृद्धिका निम्ति हुनुपर्दछ । यी कुराहरूमा सम्झौता हुन सक्दैन । यी कुराहरू हामी कायम राख्छौँ । यसबाहेकका अरू कुरा, यसका तपसीलका ब्याख्याहरू, वा कार्यान्वयनका पक्षहरू – तिनीहरूमा अडेर, अथवा राष्ट्रियताका प्रश्नहरू बाहेकका अरू स–साना कुरामा अडेर देशलाई संविधान बन्न नदिने खालका कुराहरूमा हामी जाँदैनौँ । अब अहिलेको यथार्थमा यो प्रणाली कि त्यो प्रणाली भन्ने हामी छलफल गर्छौँ र जनताका राय लिन्छौँ, जनताको अभिमत जे छ, त्यसअनुसार हाम्रो धारणा परिवर्तन गर्नुपर्ने हुन्छ । एउटा कुनै प्रस्ताव त हामी लिएर जान्छौँ, प्रस्ताव त लानु प¥यो छलफलका लागि । प्रस्ताव लगेपछि त्यो प्रस्ताव नै अन्तिम हो भन्ने होइन । देश र जनताको आवश्यकता र इच्छाअनुसार ।

दिलभुषण पठक - आम मान्छेको बुझाइ चाहिँ के थियो भने तपाईँहरूले एउटा बन्द कोठामा बसेर सोह्र बुँदे गर्नुभयो, यो जनतालाई चित्त बुझाउन जनताको रायसुझाव सङ्कलन गरेजस्तै मात्रै हो, त्यो ल्याएर फेरि कहिँ थन्क्याउनु हुन्छ, आफ्नो एजेन्डा लाद्न सक्नेसँग त्रास छ जनतालाई, यो नौटङ्की मात्रै हो पनि भने धेरैले । तर तपाईँ यो भन्दै हुनुहुन्छ कि जनताका रायहरूलाई सकेसम्म नयाँ बन्ने संविधानमा समेट्नु हुन्छ ?
केपी अोली - केही केही मान्छेले भनेको सुनियो, यो एउटा नाटक मात्रै हो आदि इत्यादि । हतार किन गर्ने भनेर म त भनिराख्या छु भन्ने कुराहरू । संविधान निर्माण गर्न कुनै हतारो भएको होइन । कुनै देशको संविधान निर्माण गर्नका निम्ति के आठ–आठ वर्ष खेर जान्छ ? संविधानसभा खेर जान्छ ? यसप्रकारका तरिका, यसप्रकारका अभिव्यक्तिहरू वाञ्छनीय हुँदैन ।

दिलभुषण पठक - खैर गएको हो ?
केपी अोली - हो नि । हामीले आठ–आठ वर्ष ? तीन महिनाको काम हो संविधान निर्माण गर्ने कुरा । बढीमा छ महिनाभित्र संविधान मज्जाले निर्माण गर्न सकिन्छ ।

दिलभुषण पठक - तर, रायसुझाव संकलन गर्ने काम दुई दिनको मात्रै थिएन होला, अलिकति समय दिँदा हुन्थ्यो होला ?
केपी अोली - रायसुझाव जनताले धारणा बनाउनका निम्ति आठ वर्षदेखि बहस गरिएको छ । कतिपयलाई के लाग्छ भने मै मात्रै बुझ्छु, मलाई मात्रै थाहा छ, मैले मात्रै बुझेको छु, मैले मात्रै सुनेको छु भन्ने लाग्छ । जनताले यहाँ सोह्र बुँदे भइसक्दा के भयो, सोह्र बुँदेमा कुन कुन बुँदा आयो भन्ने कुरा जनताले थाहा पाइसक्छ । आजको जनता हो । आठ वर्षदेखि संविधान निर्माणको प्रश्नमा जनता छलफल गरिराखेका छन् । जनता सचेत छ । मैले यसपल्ट सुझाव संकलनको सन्दर्भमा पनि देखेँ । जनताका विभिन्न तहतप्काहरू, विभिन्न पेशागत समुदाय वा अन्य समुदायहरू यसरी आफ्ना विषयहरूमा स्पष्ट छन्, यति सचेत छन्, लिखितरूपमा, बुँदागतरूपमा, छोटो समयमा यसरी प्रस्तुत गरिएको छ सुझावहरू जुन गहन सुझावहरू छन् । त्यसकारण दुई दिनमा जनताले सुझाव दिन सक्दैन भन्ने कुरा होइन । अहिले पनि तपाईँलाई भनौँ, भर्खर मैले साउदी अरब, कतार विभिन्न देशका थुप्रै मान्छेहरूलाई मेरो ईमेल आइडी दिएँ, अझै हामीलाई ईमेल आइडीको सन्दर्भमा कन्फ्युजन भयो, तपाईँ ईमेल आइडी पठाउनुहोस् हामी सुझाव दिन्छौँ भने । मैले टेलिफोन रिसिभ गरेँ, ईमेल आइडी वहाँहरूलाई दिएँ, वहाँहरू पठाउँदै हुनुहुन्छ । यो हिजो र अस्तिका दिन दिइएको सुझाव मात्रै होइन, हाम्रा ईमेलहरूमार्फत दिएको, हाम्रा एसएमएसमार्फत दिएका सुझावहरू पनि हामी ध्यान दिन्छौँ, हामी त्यसम्बन्धमा अध्ययन गर्छौँ ।

दिलभुषण पठक - ठीक छ, यदि ती सुझावहरूलाई तपाईँहरूले साच्चिकै महत्त्व दिनुभएको हो, तपाईँहरूले गरेको सोह्रा बुँदेभन्दा बाहिर निस्केर तिनका रायसुझावलाई समेट्दै हुनुहुन्छ भने संघीयतामा भनिदिनुहोस्, संघीयतामा के हुन्छ ? तपाईँहरूले त नामाङ्कन र सीमाङ्कन पछि गर्ने भनिदिनु भयो, अनि तपाईँहरूले भनिरहेका ति बाठा जनताले के बुझे भने केपी ओलीज्यूलाई प्रधानमन्त्री हुन हतार छ, बालुवाटारमा बसेर राष्ट्रपति–उपराष्ट्रपति–संविधानसभाको अध्यक्ष–प्रधानमन्त्रीको बाँडफाँड गरेका छन्, त्यसकारण संघीयता टुङ्ग्याउन पनि तिनीहरूलाई हतारो भएन, पछि आयोग बनाएर टुङ्ग्याउँछु भनिरहेका छन् भन्ने बुझेर तिनले के भने भने संविधान जारी गर्दैखेरी संघीताको नामाङ्कन र सीमाङ्कन टुङ्ग्याऊ भनेर धेरैले रायसुझाव दिएको हाम्रा समाचार सङ्कलनहरूमा देखियो, त्यसलाई के गर्नुहुन्छ तपाईँहरू ?
केपी अोली - जनताले भनेको कुरा, जनताको अभिव्यक्ति, जनताको इच्छा, जनताको आकाङ्क्षा वा इशारा तपाईँले भनेजस्तो छैन । यो संविधान बनाउन आँटेको, सङ्क्रमणकाल टुङ्ग्याउन आँटेको, जनताका अधिकारहरूलाई संस्थागत गर्न आँटेको, यसका निम्ति केपी ओलीले गरेका पहल, प्रयासहरू प्रधानमन्त्री हुने खुद्रा, साना, छुद्र स्वार्थको निम्त हो भनेर जनताले त्यसरी अर्थ लगाउँछ भन्ने, त्यो कुरा साँचो होइन । जनताका हकअधिकारहरू जनताले संघर्ष गरेर सफल बनाए तर हकअधिकार सुनिश्चित भएनन् । सातसालमा आन्दोलन सफल भयो, सत्रसालसम्म खेलाएर पुग्दाखेरी समाप्त भयो । छयालीसपछि हामी फेरि एउटा अर्को चक्रब्यूहमा फस्यौँ । बैसठ्ठी त्रिसठ्ठीको त्यत्रो जनआन्दोलन दशौँ लाख काठमाडौँमा, अन्त्रसमेत गरेर पचासौँ लाख जनता आन्दोलनमा सहभागी भए र परिवर्तन ल्याए । गणतन्त्र स्थापना भएको छ तर गणतन्त्रलाई संस्थागत गर्न सकिएको छैन । यस्ता थुप्रो पक्षहरू छन् । हामीले सङ्घीयता भनेका छौँ, सङ्घीयता संस्थागत हुन त सकेको छैन । यी कुराहरूलाई संस्थागत गर्न संविधान चाहियो र सङ्क्रमणकाललाई टुङ्ग्याउनु परयो र देशलाई अगाडि बढाउनु परयो । यो भन्दाखेरी ए केपी ओलीलाई प्रधानमन्त्री हुन मन लाग्यो, संविधान नबनाउँ, त्यसलाई किन प्रधानमन्त्री हुन दिने भन्ने केही छुद्र मतिका मान्छेहरूले त्यस्ता सोचहरू बनाउलान्, जनताको त्यस्तो सोच छैन । र केपी ओलीलाई, म स्पष्ट भन्न चाहन्छु देशको प्रधानमन्त्री हुने सपना बोकेर राजनीतिमा लागेको, जेलनेल बसेको, हरेक पत्र मर्न तयार भएको, यो सबै प्रधानमन्त्री हुनका लागि होइन । प्रधानमन्त्री हुनका लागि कसैले ज्यान जोखिममा हाल्दैन । मैले जतिबेला राजतन्त्र जिउँदो थियो त्यसबेला गणतन्त्रका लागि संघर्ष गरेको हो । जतिबेला तानाशाही थियो त्यतिबेला लोकतन्त्रका लागि संघर्ष गरेको हुँ । त्यो जिब्रो फट्कारेको मात्रै होइन ज्यान समर्पित गरेर लागेको हो । त्यसकारण मेरो उद्देश्य, म स्पष्ट भन्न चाहन्छु, मलाई प्रधानमन्त्री वा कुनै पदको कुरा होइन, मलाई संविधान बनाऔँ, देशलाई अगाडि बढाऔँ भन्ने कुरा छ । दुईवटा कुरा हुन्छ, एउटा – उपयुक्त पात्र जो हुन्छ त्यसलाई प्रधानमन्त्री बनाउँदा हुन्छ, मलाई कुनै आपत्ती छैन । अर्को – प्रधानमन्त्री हुने योग्यताले मात्रै हुँदोरहेनछ । यहाँ फेरि सङ्ख्याको, यहाँ फेरि अरू प्रकारका अभिमतहरूको पनि अर्थ हुँदो रहेछ । त्यसकारण मैले यी सबै पक्षहरूलाई देखेको छु । मेरो उद्देश्य प्रधानमन्त्रीको पदमा मेरो आँखा होइन, मेरो आँखा संविधान निर्माण र....

दिलभुषण पठक - तपाईँ यो भन्न सक्नु हुन्छ कि जवाफ त आउन बाँकी नै छ नामाङ्कन र सीमाङ्कनको विषयमा पछि आउँछु, तर तपाईँले अन्तै प्रसङ्ग लगेकोले, तपाईँ यो भन्न सक्नु हुन्छ कि त्यसोभए तपाईँहरूको कुनै सहमति भएको छैन, सोह्रबुँदे लेख्दै गर्दा केपी ओलीलाई प्रधानमन्त्री बनाउने कुनै सहमति भएको छैन ?
केपी अोली - यस कार्यक्रम पछि तपाईँलाई कसैले सोध्यो भने तपाईँले पनि एउटा नाम भन्नु होला, कसलाई अब प्रधानमन्त्री बनाउनु पर्छ भन्दा तपाईँले पनि एकजनाको नाम लिनु होला । त्यस्तो एकजनाको नाम लिनेमा तपाईँले अरु कसैको पनि लिन सक्नु होला वा मेरै पनि लिन सक्नु होला । मानिसहरूले, राजनीतिक दलहरूले, दलका नेताहरूले भनेका छन्, मैले भनेको छैन ।

दिलभुषण पठक - उनीहरूले भनेका छन् कि कुनै सहमति गरेका छन् ? सहमति भएको छ ? सिधा जवाफा दिनुहोस् ?
केपी अोली - सिधा जवाफ ? अहिले मेरो ध्यान संविधान निर्माणमा छ । विभिन्न पार्टीका नेताहरूले भनेका छन् ।

दिलभुषण पठक - चाहेका छन् ?
केपी अोली - चाहेका पनि छन् ?

दिलभुषण पठक - तपाईँहरूको दल र अरूले त्यो सोह्र बुँदे गर्दैगर्दा चाहेको कुरा बताएका थिए ।
केपी अोली - छन्, हो । तर त्यस सम्बन्धमा मैले आफूले भनेको पनि छैन । मैले त्यतापट्टि, फेरि मैले के ध्यान राखेको छु भने यस कुरालाई मैले किन्चित दिमागमा राखेँ भने कुनै पदको हित वा पदको स्वार्थ, पदको प्राप्तीको आकाङ्क्षा राखेँ भने अरू कुराहरूमा मैले उचित वा अनुचित कुनै पनि कुरा गर्नु पर्ने हुन सक्छ, त्यसकारण यस कुरालाई म केन्द्र भागमा राख्दिन अथवा यसलाई मेरो विषय बनाउन्न भन्ने मेरो अठोट हो । त्यो नबनाएपछि, अब म अघिको प्रश्नमा जाउँ, किन अघिल्लो संविधानसभामा संविधान बन्न नसकेर सभा नै असफल भयो ? किनभने राजनीतिक दलहरूका बीचमा सहमति हुन सकेन र कतिपय विवादित विषयहरू असहमतिका साथ नै अगाडि गए र ति असहमतिहरू बिलकुल तनावयुक्त ढङ्गले अगाडि बढे । त्यसले संविधान निर्माणका लागि अनुकूल परिस्थिति बनेन । हामीले के थाहा पाउनु परयो भने, तिमध्ये कुन चाहिँ विषय त्यस्तो हो भन्दा जुन विषय हामीले – अहिले अलिकति संविधानले व्यवस्था गरेरै यति समयभित्र यसरी गर्ने भन्ने विधिका साथ संविधानसभाले निर्णय गरेर पछाडिलाई राखौँ भन्यौँ, त्यही विषय । अथवा सङ्घीयताको प्रश्न, नामाङ्कनको प्रश्न, सीमाङ्कनको प्रश्न र सङ्ख्याको प्रश्न हामीले राजनीतिक दलहरूका बीचमा आ–आफ्ना मूल्य–मान्यताहरू हुँदा हुन् तर पनि हामीले सहमति गरयौँ, एउटा प्रस्ताव त लानु परयो जनताका बीचमा । अब जनताले आठ प्रदेश कि, सोह्र प्रदेश कि, चार प्रदेश कि, दश प्रदेश कि जनताले सुझाव दिन्छन् । दिएका छन् जनताले सुझाव । अघि नै मैले भनेँ, हामीले जे प्रस्ताव गरयौँ त्यसैमा अड्ने हो भने सुझावहरू चाहिँदैन अथवा हामीले प्रस्ताव सुन्ने तर नमान्ने, सोह्रा बुँदा जे छ त्यही मात्रै हो भन्ने हो भने केही केही विद्वान मित्रहरूले भने जस्तो नाटक मात्रै हुन्छ । तर हामीले नाटक गरेको होइन । जनताको अभिमतबाट आफू निर्देशित हुन खोजेका हौँ हामी ।

दिलभुषण पठक - तपाईँहरू त यति विज्ञ हुनुहन्छ कि, यतिका वर्ष नेपालको राजनीतिमा छाइरहनु भएको कि अब त जनताको पल्स पनि छाम्नु हुन्छ भन्ने एउटा बुझाई हो । ठीकै छ फरक मत नै आयो, तर इन्फर्मेसन त होला, लार्ज मान्छेले के भने भने सङ्घीयताको विषय, अस्ति तपाईँहरूसँग बाहिरिएका जुन मधेसी आदिवासीहरू थिए तिनमा अरू आम मान्छेको भनाइ त्यसमा के थपिए भने सङ्घयताको मुद्दा सीमाङ्कन र नामाङ्कन गरेरै सक्नु पर्छ, अनि मात्रै संविधान जारी गर्नु पर्छ भन्ने आएको एक किसिमको बुझाइ छ, यदि आएको त्यो हो भने त्यो कार्यान्वयन हुन्छ ?
केपी अोली - प्रश्न के हो भने, सीमाङ्कनको विषयमा सहमति नभएर, नामाङ्कनको विषयमा सहमति नभएर संविधान बनेन । त्यसकारण हामीले के भन्यौँ भने त्यसलाई सङ्घीय आयोग बनाएर, छ महिना त्यसले राम्ररी अध्ययन गरेर, त्यसो गर्दा जनताको हकअधिकारको कुरा, जनताको सुविधा सहुलियतका कुरा वा जनताको सहभागिताको कुरा अथवा सुरक्षाका कुराहरू अथवा जनताले प्रयोग गर्ने आफ्ना अभिमतका कुराहरूदेखि लिएर यी तमामको अनुकूलताको कुरा, हाम्रो विकासको अनुकूलता, हाम्रो भूगोलको अनुकूलतादेखि लिएर हाम्रा सामाजिक पक्षहरू छन् तिनको, हाम्रो जनसङ्ख्याको, सबै कुरा, भूगोल, जनसङ्ख्या आदि हेरेर जस्तो गर्नुपर्छ त्यसको देश–विदेशको अनुभव लिएर सिफारिस गरोस् र नियमित अधिवेशन भएको छ महिनाभित्र संसदले, बाँकी संसद जो हुन्छ, यही संसद हो, यही सङ्ख्या हो, यी नै मान्छे हो, यी नै पार्टी हुन्, तर संविधान जारी गरिसकेपछि संविधानसभा समाप्त हुन्छ, संसद जो बाँकी हुन्छ त्यसले त्यस सिफारिसका आधारमा निर्णय गरोस् भनेर हामीले सहमति गरयौँ । त्यसले संविधान बनाउने बाटो खुल्यो । अब एउटा कुरा म के थपौँ भने अहिले सीमाङ्कन टुङ्ग्याउनलाई हामीलाई कुने आपत्ती त छैन ? टुङ्गिन्छ भने त टुङ्ग्याउन । जति छिटो टुङ्गिन्छ टुङ्ग्याउँ । तर टुङ्गिन नदिने, टुङ्ग्याउन नमान्ने, उचित कुरा नगर्ने....

दिलभुषण पठक - यो नमान्नेहरू, रोक्नेहरू भन्ने मिल्छ ? यति वर्ष हामीलाई लड्काउनेहरूको नाम, जात, अथवा कित्ता, अथवा वर्ग, समूह देखाइदिनुस् न मुलुकलाई ? संविधानै बनाउन नदिनेलाई ?
केपी अोली - त्यो सबैले देखेको छ । संविधान सभामै आउनु हुँदैन भन्ने । संविधानसभाबाट संविधान बनाउनु हुँदैन भन्ने । संविधानसभाभन्दा बाहिर बस्नु पर्छ भन्ने । संविधानसभा भङ्ग गर्नु पर्छ भन्ने । यसले संविधान बनाउनै पाउँदैन भन्ने । संविधानको मस्यौदामा छलफल, रायसुझाव केही पनि नगरेर त्यसलाई च्याट्ने । संधिवानमा जनताको राय सङ्कलन गर्न वाधा व्यवधान पुरयाउने ....

दिलभुषण पठक - होइन, त्यो क्रियाकलाप त देखियो । तर त्यो को हो भनेर ठ्याक्कै देखाइदिनु हुन्छ ?
केपी अोली - टिभिमा आएको छ नि त । तपाईँहरूको फुटेज हेर्नुहोस् न । को को हो भन्ने कुरा त त्यहाँ नै छन् नि ।

दिलभुषण पठक - हामीले टिभिमा त तपाईँ लगायत सबैलाई देखाइरहेका छौँ । सबै घटनाक्रमहरूमा कहिँ न कहिँ कसै न कसैले त अवरोध पुरयाएकै छ फेरि ?
केपी अोली - छैन ।

दिलभुषण पठक - तपाईँहरू जसलाई दोष दिइरहनु भएको छ, वहाँहरूले तपाईँहरूलाई नै दोष दिइरहेको छ ?
केपी अोली - दोष नदिइकन त वहाँहरूले के भन्ने ।

दिलभुषण पठक - तपाईँको पनि दोष हुन सक्छ ?
केपी अोली - यदि संविधान बनाउनु दोष हो भने, सङ्क्रमणकाल टुङ्ग्याउनु दोष हो भने, जनताका हक अधिकारहरू सुनिश्चित गर्नु दोष हो भने, देशलाई अगाडि बढाऔँ भन्नु दोष हो भने मेरो पनि दोष हो भन्नु पर्छ । जनताको इच्छा आकांक्षा वा जनताले गरेका सफलताहरूलाई संस्थागत गरौँ भन्नु दोष हो भने मेरो पनि दोष छ । मेरो अरु कुनै थप माग छैन । तर नेपाललाई सँधै यो सस्तो श्रमशक्ति प्राप्त गर्ने, सस्तो श्रमिक प्राप्त गर्ने देश मात्रै बनाउने, अविकसित अनपढहरूको देश बनाउने, टेबल पुछ्ने र भाँडा माझ्नेहरूको देश बनाउने कुरा अब मञ्जुर हुन सक्दैन । यस देशमा लोकतान्त्रिक सभ्य कानुनको शासनको परिपाटीको स्थापना गरेर यस देशका साधनस्रोतहरूलाई एकतावद्ध गरेर उपयोग गर्ने र समृद्धि हासिल गर्ने काम हामीले गर्नु पर्छ ।

दिलभुषण पठक - त्यो त आम सबैले बुझेको कुरा भयो । त्यो त नया कुरा भएन । तर कसरी भन्ने कुरा चाहिँ हामीले यतिका वर्ष बितायौँ नि त होइन ?
केपी अोली - यतिका वर्ष बितायौँ जसमा यदि तपाईँले राम्ररी हेर्नु भएको छ भने ति कुराहरूको सम्बन्धमा मैले आफ्ना दृष्टिकोणहरू पनि प्रस्तुत गरेको छु । कसरी गर्न सकिन्छ भनेर । म कुनै भावावेशमा छैन । मैले कसैप्रति आग्रह पूर्वाग्रह राखेर चलेको पनि छैन । मैले यथार्थ मात्रै भन्ने गरेको छु । कुनै आग्रहले काम चल्छ भन्ने पनि म ठान्दिन । त्यसकारण केहीले व्यवधान पुरयाउन खोजे । के चाहियो संविधान भन्न खोजेनन् । के हुनु पर्छ भन्न खोजेनन् । के हट्नु पर्छ मस्यौदाबाट भन्न खोजेनन् । सम्पूर्ण रूपमा जलाए । सम्पूर्ण रूपमा च्याटे । सम्पूर्ण रूपमा व्यवधान खडा गरे । यो बहस छलफल हुन दिँदैनौँ भने । गएर मस्यौदाको प्रतिहरू खोस्ने, जलाउने, च्याट्ने आदि कामहरू गरे । र, सुझाव संकलन भइसकेपछि अत्यन्त उद्दण्ड, अराजक र अपराधिक क्रियाकलापहरू, नेताहरूमाथि ....

दिलभुषण पठक - त्यो परिस्थिति तपाईँहरूले र्जिना गर्नुभयो भन्ने उहाँहरूको आरोप छ नि त ? वहाँहरूको मर्म परेन, वहाँहरू पनि यो जनआन्दोलनको एउटा हिस्सा थिए । मधेश आन्दोलन भनेर एउटा शब्द पारिदिनु भएन तपाईँहरूले । जो इन्क्लुजनमा परेनन् ति छुटे भन्ने उनीहरूको आरोप छ ?
केपी अोली - को परेन ? मधेशी ? मधेशी परेन इन्क्लुजनमा ? प्रधानन्याधीश भर्खरै हट्नु भयो होला । राष्ट्रपति मधेशी नै भन्नु हुन्छ वहाँहरू, उपराष्ट्रपति मधेशी नै भन्नु हुन्छ होला वहाँहरू । संविधान जलाएर बनेको राष्ट्रपति र उपराष्ट्रपति त होइन । यही संविधानसभाले नै बनाएका होलान् । यो एउटा देशमा पृथक–पृथक खालका संकीर्णता, विद्वेष, घृणा, जहाँ भिन्नता देख्यो त्यहाँ – त्यसभित्र फेरि चर पाउनेबित्तिकै त्यसलाई बढाउन खोज्ने र एउटा घृणा र कलहको वातावरण खोज्ने कुरा उपयुक्त हुँदैन । हामी सम्पूर्ण नेपाली हौँ, नेपाल हाम्रो हो ।

दिलभुषण पठक - तपाईँ त्यसो भए नियतकै समस्या देखिरहनु भएको छ जसले यो च्याटिरहेका छन् । एउटा मात्रै आशय संविधानसभाबाट संविधान नआओस् भन्ने नै हो । तिनको मर्म समेटुन् भन्ने होइन ?
केपी अोली - होइन । अवश्य होइन । किनभने सामान्यत म असन्तुष्टि जाहेर गर्नुलाई, विरोध प्रकट गर्नुलाई अनौठो ठान्दिन । तर व्यवधान खडा गर्नु, आक्रमण गर्नु, तोडफोड गर्नु, नेताहरूमाथि हमला गर्नु, बहस नगर्नु, जनताको अभिमत संकलन गर्न नदिनु र त्यसमा व्यवधान पुरयाउनु – त्यो त कुनै राय सल्लाह संविधानको अन्तर्वस्तुमा कुनै कुरा होइन नि त ।

दिलभुषण पठक - ठीक छ । त्यसो भए अब भन्नुस् बेसिकल्ली तपाईँ यो भन्दै हुनुहुन्छ, स्वीकार्नु चाहिँ यो हुनुहुन्छ कि सोह्रबुँदेमा तपाईँले जे सहमति गरे पनि बहुसङ्ख्यक जनताले दिएको रायसुझाव चाहिँ समेटिन्छ । त्यो प्रमुख कार्यकारी होस् प्रत्यक्ष निर्वाचनबाट अथवा सङ्घीयताको कुरा होस् अथवा थ्रेसहोल्डको कुरा होस्, यी सबै कुराहरू समेटिन्छन् वा यो–यो कुराहरूमा कन्सिडर गर्न सकिन्छ जनताको राय, यी–यी कुराहरू चाहिँ हामीले सोह्रबुँदेमा लेखेको ढुङ्गामा लेखेसरह भन्दै हुनुहुन्छ ?
केपी अोली - मैले त्यस्तो भनिन । मैले ढुङ्गामा लेखेसरहभन्दा के भनेँ भने जनताका रायहरूलाई ध्यान दिनुपर्छ र उपयुक्त रायहरूलाई र अत्यधिक आयका रायहरूलाई सामेल गर्नुपर्छ । यसमा हरेको राय, मैले राय दिएको थिएँ – परेन भनेर उफ्रिनुको त अर्थ हुँदैन । यत्रो देशमा २ करोड ७५ लाख जनसङ्ख्या होला । त्यसमा हरेकका भिन्न–भिन्न कुराहरू आएका छन् ।

दिलभुषण पठक - आएका मध्येबाट पनि तपाईँहरूले कसरी प्रशोधन गर्नु हुन्छ, कसरी लिस्ट गर्नु हुन्छ भन्ने पनि जनतालाई शङ्का होला नि त फेरि ?
केपी अोली - शङ्का गर्नु पर्ने केही पनि छैन, तर एउटा यथार्थ के हो भने एकदमै इन्डेपेन्डेन्ट मात्रै छैन, यो दलीय व्यवस्था हो, दलहरू छन्, फेरि पनि हामीले ती विषयहरू आइसकेपछि दलहरूका बीचमै छलफल गर्नु पर्छ, दलीय आधारमा छलफल गर्नु पर्छ र दलहरूलाई मञ्जुर गराउनु पर्छ अथवा सभासदहरूलाई मञ्जुर गराउनु पर्छ । सभासदहरूको दुई–तिहाई भएपछि मात्रै पास हुन्छ । यो त मैले बनाएको संविधान सभा त होइन । जनताले बनाएको, छानेको संविधानसभा हो । त्यसकारण मैले अत्यन्तै सुन्दर कुरा गरे पनि थप चारसयवटा भोट जम्मा गरेन भने ....

दिलभुषण पठक - यो इन्टरेस्टिङ छ के, जनताले त्यही आरोप लगाउँछन् – पत्रकारहरू आक्रामक भए भनेर नभन्नु होला – सबै तपाईँहरूकै जिम्मा, तपाईँहरूकै ठेक्क जस्तो के, जनताकै लागि भनेर जनताको रायसुझाव लिन गइसकेपछि, तिनले पठाएको रायसुझाव आइसकेपछि तपाईँ दलहरू बसेर किन छलफल गर्नु पर्ने फेरि ? सबै तपाईँहरूको अनुकूलमा मात्रै ?
केपी अोली - हनुमानले सुमेरुबाट जडिबुटी खोज्दा सुमेरु नै उठाएर लगे भन्ने छ नि । जडिबुटीको भारी नै बोकेर गएको जस्तो । के संविधान भारी नै ... जे जनताबाट आयो, जनताबाट अभिमतहरू जे आए, रायसुझाव जे आए तिनको थुप्रो नै अगाडि राखिदिने र त्यही संविधान हो भन्ने कि त्यसलाई सर्टआउट गरेर संविधानको रूप दिने ।

दिलभुषण पठक - सर्टआउट गर्दाखेरि सर्टआउटको सार चाहिँ यदि तपाईँहरूले सोह्रबुँदेमा गरेको सहमतिभन्दा फरक आयो भने त्यसलाई संविधानमा लेखिन्छ कि लेखिँदैन, ट्क्कै जवाफ दिन सक्नु हुन्छ ?
केपी अोली - मैले दोहरयाएर अहिले मात्रै होइन अगाडिदेखि भनिराखेको छु, सोह्रबुँदे ऐतिहासिक उपलब्धि हो जसले संविधान निर्माणको कामलाई अगाडि बढायो, असाधारण उपलब्धि हो, जो हुन नसकेर अघिल्लो संविधानसभा असफल भएको थियो । तर त्यो ऐतिहासिक उपलब्धि भएता पनि त्यो नै अन्तिम होइन । सोह्रबुँदेका आधारमा जुन संविधानको मस्यौदा भयो, सोह्रबुँदे त अब पछाडि परिसक्यो । सोह्रबुँदेले त संविधानको मस्यौदा दियो । सिधियो । सोह्रबुँदेको काम संविधानको मस्यौदा दिने कुरा हो । त्यसले त मस्यौदा दियो । अहिले सोह्रबुँदे जनताको बीचमा गएको होइन । अहिले गएको संविधानको मस्यौदा । मस्यौदा गएको हो संविधान जारी भएको होइन । संविधानको प्रारम्भिक मस्यौदा गयो जो जनताबाट अभिमत लिएर त्यसलाई सम्पन्न गर्ने, समृद्ध बनाउने भनेर गयो । यसमा कुनै कन्फ्युजन राख्नु पर्ने कुरा छ र भनेको । सोह्रबुँदे त अघिल्लो च्याप्टर भइसक्यो जसले संविधानसभाका गतिविधिहरूलाई अगाडि बढाएर संविधान बनाउने बाटो खोल्यो । त्यसकारण यो प्रारम्भिक मस्यौदा तयार भएर संसदले पास गरेर जनताका बीचमा पठायो । मस्यौदा पठायो । अब सोह्रबुँदेमा अल्झिरहनु पर्ने केही पनि आवश्यकता छैन । किनभने मस्यौदा जनतामा पठाएको सोह्रबुँदे होइन मस्यौदा हो । मस्यौदा रायसुझावका लागि पठाइयो । यो पढिभाँचिकन जानकारी लिनु, यसलाई कार्यान्वयन गर्नु भनेर त पठाएको होइन । यो त रायसुझाव लिनलाई पठाएको हो । रायसुझाव त आएपछि त्यस रायसुझावको अर्थ हुन्छ । सोह्रबुँदे त इतिहासको कुरा भयो । अब त रायसुझाव आएपछि मस्यौदालाई समृद्ध बनाउँछ संविधानसभाले ।

दिलभुषण पठक - ठीक छ । जनताले के पनि रायसुझाव दिए भने आचरणका हिसाबले, योग्यताका हिसाबले साह्रे विक (कमजोर) देखिए धेरै राजनीतिक दलका नेताहरू अथवा नेतृत्वमा बस्ने मान्छेहरू । संविधानले त्यस्तो कुनै ग्यारेण्टी गर्न सक्दैन, तिनलाई कुनै आचरण बनाई दिउँ अथवा तिनको पनि कुनै योग्यताहरू निर्धारण गरिदिउँ भनेर जनताले बडो उत्साहका साथ यस्ता खालका प्रतिक्रियाहरू दिए । यी लागू हुन्छन् नि होइन, यिनलाई कन्सिडर गर्न सकिन्छ नि ?
केपी अोली - अवश्य कन्सिडर गर्न सकिन्छ । तर एउटा मात्रै आधार हुँदैन । आधारहरू धेरै हुन्छन् ।

दिलभुषण पठक - बिलकूल, एउटा कुनै आधार त बनाउन सकिन्छ नि ?
केपी अोली - सकिन्छ । सांसद को हुनुपर्छ भन्ने सन्दर्भमा, ठीक छ, समानुपातिकका हकमा भन्न सक्ने भयौँ हामी । कोही मान्छे, कसैले नेपालमा मास्टर्स डिग्री हासिल गरेको छैन तर म जनताको बिचमा उम्मेद्वार हुन्छु र जनताको प्रतिनिधित्व गर्छु र जनताको हितका निम्ति काम गर्छु भन्यो, उसले जनतामा जान नपाउने वा जनताको अभिमत नपाउने वा मास्टर्स डिग्री गर्न नपाएको हुनाले उसले उम्मेद्वार हुन नपाउने भन्ने कुरा त नहोला । अब उम्मेद्वार भएपछि यदि क्वालिफिकेसन पुग्दैन भन्ने लागेपछि जनताले मत दिँदैन नि । जो योग्य छैन त्यसलाई त मत दिँदैन । स्कुल वा कलेजले दिने सर्टिफिकेट वा विश्वविद्यालयले दिने सर्टिफिकेट कि जनताले दिने सर्टिफिकेट भन्ने प्रश्न आउँछ । नागरिकका हक, अधिकार र कर्तव्यहरू हुन्छन् । कुनै नागरिकका हक, अधिकार र कर्तव्यलाई हामी सीमित गर्न सक्दैनौँ । जस्तो राष्ट्रपति हुन यति वर्ष उमेर पुगेको, प्रधानमन्त्री हुन यति वर्ष उमेर पुगेको, सांसद हुन यति वर्ष उमेर पुगेको, विधायक हुन यति वर्ष उमेर पुगेको जस्ता कुराको क्राइटेरियाहरू छन् । त्यहाँ क्राइटेरिया नभएको होइन । ति क्राइटेरियाहरू छन् । त्यसका बीचमा, अब प्रत्यक्ष रूपमा जनताका बीचमा गएर आफूलाई टेस्ट गर्ने कुरा, जनताको अभिमतबाट समर्थन प्राप्त गर्ने कुरा ....

दिलभुषण पठक - तपाईँलाई अन्यथा लाग्ला तर धेरैले गल्फ देशहरूमा बसेर दुःखजिलो, हाड, नङ्ग्रा खियाउनेहरूको धेरै प्रतिक्रियाहरू आइरहन्छ मलाई, तपाईँलाई नै बोलाउँछु भन्दा त्यस्ता केही प्रतिक्रियाहरू थिए, यो कहिलेसम्म हामी अर्काको मुलुकमा आएर दुःख गरिरहनु पर्छ भन्ने प्रश्न । उनीहरूले एउटा प्रस्ताव नै, धेरैले सुझाइरहेको एउटा प्रश्न, एउटा सामान्य गाडी चलाउन चाहिँ एसएलसी पास गर्नसम्मको निर्धारण गर्ने तर मुलुक नै हाँक्ने मान्छेहरू जो आउँछन् तिनलाई यसो केलाएर हेरयो भने त बडो विचित्रको चरित्र देखिन्छ । शैक्षिक योग्यता तपाईँले उठाउनु भएको एउटा प्रश्न हो, तर त्यो भन्दा बाहेकको अरु आचरणहरू हुन्छन् नि उसका अरू संस्कार हुन सक्छ अथवा आनीबानी, बोलिचाली हुनसक्छ, व्यवहारै पनि हुन सक्छ, धन्दाहरू हुन सक्छ, कहाँ कसको मुद्दा बोकेर हिँडेको छ, आज एउटा कुरा बोलेर हिँडेको छ भोलि अर्को कुरा बोलेर हिँडेको छ, तपाईँहरू नै यसको मेसो पाउनु हुन्न, यो कहाँको उत्पत्ति हो, आफूसँगै राजनीति गरेर आएको मान्छे, त्यस्तो छ नि छैन ? अहिलेको विकृति यो नभएको हो ?
केपी अोली - त्यस्तो छ । तर त्यसमा पनि के छ भने त्यस्ता मान्छेहरू फेरि आमरूपमा भन्नु हुन्छ भने जनतालाई झुक्याएर, लट्पट्याएर अनुमोदित भएका छन्, जनताबाट निर्वाचित भएका छन् ।

दिलभुषण पठक - तिनलाई किन छान्न नपाउने ? तपाईँहरू किन एउटा बलियो कानुन बनाउन नचाहिरहनु भएको ?
केपी अोली - कसरी ? जनताभन्दा माथिको कानुन हुँदैन । जनता जबसम्म सचेत छैन नि, एउटा सेक्टरले त माग गरयो ....

दिलभुषण पठक - त्यसो भए जनताको दोष हो ? कित उसले प्रपर मान्छे सेलेक्ट गरेर पठाउनु परयो ?
केपी अोली - मैले त्यस्तो भाषा त भन्न चाहन्न । तर जनतालाई अल्मल्याइएको छ, धोका दिइएको छ, छक्याइएको छ, जस्ता कुराहरूको सिकार जनता पनि हुन्छ समय समयमा । जनता भ्रममा पर्दैन, अलमलमा पर्दैन ....

दिलभुषण पठक - ठीक छ, त्यो त तपाईँको भोटबाट छान्ने नछान्ने कुरा भयो, तर तपाईँहरूले समानुपातिक भन्ने पनि व्यवस्था राखिदिनु भएको छ कि जहाँ जो पनि मान्छे उछिट्टिएर भाग खान आइपुग्छ होइन ?
केपी अोली - आइपुग्छ ।

दिलभुषण पठक - त्यसलाई रोक्न सक्नु भएन ?
केपी अोली - भागबण्डा भनेपछि तपाईँले सम्पूर्ण रूपमा लोकतान्त्रिक प्रणाली मात्रै होइन लोकतन्त्रको एउटा अलिकति विकृत, मिश्रित प्रणालीसमेत पनि अङ्गिकार गर्नुभएको छ । त्यसो भइसकेपछि प्रतिनिधित्व हुनै पर्छ भनेपछि, तपाईँले त्यस क्षेत्रको प्रतिनिधित्व पनि गराउनु पर्ने हुन्छ ।

दिलभुषण पठक - थ्रेसहोल्ड भन्ने व्यवस्था हुन्छन् नि निर्वाचन प्रणालीमा त्यसलाई केही गर्न सकिँदैन ?
केपी अोली - थ्रेसहोल्ड त हुनुपर्छ ।

दिलभुषण पठक - किन राख्नु भएन संविधानको मस्यौदामा ?
केपी अोली - जनताले सुझाव दिएका छन्, अब राखे पनि हुन्छ ।

दिलभुषण पठक - तपाईँको यदि मैले फेस रिड गर्न सकेँ भने तपाईँलाई मनबाट त्यसको चाहना थियो तर पछि यी विभिन्न सम्झौता गर्ने सिलसिलामा अथवा मुलुकमा संविधान बनोस् भनेर तपाईँले त्यसलाई गिभअप गर्न वाध्य हुनु भएको थियो ? मनबाट भनिदिनुस् ।
केपी अोली - त्यो ठीकै कुरा हो ।

दिलभुषण पठक - राजनीतिक शुद्धिकरणका लागि निर्वाचन प्रणालीमा थ्रेसहोल्ड अनिवार्य छ भन्ने तपाईँको बुझाइ हो ?
केपी अोली - ठीक हो । बहुदलीय परिपाटीमा, यस्तो प्रणालीमा थ्रेसहोल्ड हुनु आवश्यक छ ।

दिलभुषण पठक - तपाईँको तहको नेताले, धेरै मान्छेहरू उत्साहित भएजस्तो लाग्छ, केपी ओली प्रधानमन्त्री हुने खबरले, तपाईँको तहको नेताले पनि यस्ता मुद्दाहरू कठोरताका साथ राख्न सकिँदोरहेनछ ?
केपी अोली - कठोरताका साथ राख्न सकिन्छ, तर सङ्ख्या तानेर पुरयाउने रबर त होइन । मसँग एकतिहाइभन्दा अलिकति कम सङ्ख्या छ । त्यसलाई मैले चारसय एक पुरयाएर संविधान जारी गर्नुछ । त्यसकारण यसमा अरु कुराहरूको हिसाबकिताब हुँदैन ।

दिलभुषण पठक - अध्यक्षज्यू, मलाई यसरी नै मनको कुरा भनिदिनुहोला, धेरै मान्छेको प्रश्न के छ भने यो मुलुकको राजनीतिक दलहरूमा आन्तरिक संस्कार चाहिँदैन ? आन्तरिक प्रजातन्त्र चाहिँदैन ? नेतृत्व त्यही दुई–चार जना मान्छेहरूले मात्रै सँधैभरि लिइरहने हो ? अथवा त्यहाँ आन्तरिक अभ्यासको, आन्तरिक प्रजातन्त्रको वास्तविक अभ्यास कति छ तपाईँहरूको दलहरूमा ? अथवा ति दलहरूलाई आधुनिक र जनताको हितमा बनाउन केही लेख्नु पर्छ कि पर्दैन संविधानमा ? तपाईँले दर्ताको कुरा मात्रै लेखिदिनु भएको छ ।
केपी अोली - त्यो राम्रै हुन्छ । त्यस्तो व्यवस्था गर्नु वास्तावमा राम्रै हुन्छ । नेपालमा एक ढङ्गको भन्ने हो भने परिवर्तन र यथास्थिति अथवा आफ्ना लाभ र देशका लाभ बीचमा अलिकति अन्तरद्वन्द्व छ । आफ्ना लाभलाई केन्द्र भागमा राखेर देशका लाभका कुरा गर्ने । परिवर्तनका कुराहरूलाई अस्वीकार गरेर यथास्थितिका वा नकारात्मक दृष्टान्तहरू खोजेर त्यसमा जान खोज्ने । बाँचिञ्जेलसम्म कुनै पदमा टिकिरहन खोज्ने । पद बेस्सरी प्राप्त गर्न खोज्ने, प्राप्त भइसकेपछि टिकिरहन खोज्ने प्रवृत्तिहरू छन् । एकपल्ट भइसकेपछि त्यो नछोडूँ नछोडूँ लाग्ने र त्यसैमा फेरि दोहोरयाई तेहरयाई चौहरयाइकन सँधै आफै हुन खोज्ने । हाम्रा जस्ता देशहरूमा जो मान्छे उच्च ओहदामा हुन्छ, पदमा हुन्छ उसको प्रभाव स्वभाविक रूपमा हुने नै भयो । हाम्रा जस्ता देशमा । त्यहाँ एकपल्ट कुनै जिम्मेवारी प्राप्त गरयो भने त्यस जिम्मेवारीलाई नछोड्ने आधार बनाउने र त्यसमा टाँसिरहने खालका प्रवृत्तिहरू छन् नै नेपाली समाजमा । त्यसमा पनि खासगरी माथि पुगेकाहरूमा त्यो प्रवत्तिहरू हुन्छन् ।

दिलभुषण पठक - बीसौँ वर्षसम्म पार्टीको अध्यक्ष भइरहने, दुईचोटि तीनचोटि प्रधानमन्त्री भएर इच्छा पूरा नहुने, रिटायर्ड कहिल्यै नहुने ?
केपी अोली - अनेक पटक, उही पदमा फेरि सर्वोच्च ठाउँ आफैलाई चाहिने, आफूलाई भएन भने उधुम मच्चाउने, उमेरको कुनै बार नहुने, यस्ता खालका कुराहरू छन् र ति कुराहरू तपाईँले उठाएको प्रश्न जस्तै हुनुपर्छ, दुई कार्यकालभन्दा बढी कोही रहन पाउनु हुँदैन । पार्टीको कुनै ठाउँमा कोही व्यक्ति पुग्छ भने एकपल्टका लागि पुगेको हो, एकपल्टमा छोडेर रेस्ट गर्नु पर्छ ....

दिलभुषण पठक - यी कुराहरू त केही पनि लेखेको छैन, मस्यौदामा ? दल मास्न पाइँदैन, दल दर्ता गर्न के–के गर्नु पर्छ भन्ने सामान्य कुरा चाहिँ लेखिदिनु भएको छ, तर सपार्ने, सुधार्ने कुरा त परेको छैन यसमा ?
केपी अोली - यो संविधान एउटा त सहमतिको, सम्झौताको दस्तावेजको रूपमा नै आउनेवाला छ ।

दिलभुषण पठक - त्यसोभए जनताले स्पष्ट बुझ्नु परयो कि यो मोरलेस एउटा सहमतिको दस्तावेज मात्र हो ?
केपी अोली - हो । यो सहमतिकै दस्तावेज हो । शक्ति सन्तुलनको स्थितिमा चारसय एक पुरयाएर मात्रै गर्न सकिन्छ । कि त संविधान बनाउँदै नबनाउनु परयो । तर संविधान बनाउनु पर्छ, सहमतिका दस्तावेजका रूपमा । यसको अर्थ यसमा अरू केही छैन, संवैधानिकता छैन, यसमा प्रगति छैन भन्ने कुरा होइन । संवैधानिकता छ, यसमा प्रगति छ, सबै कुरा छ, केही केही अपुग हुन सक्छ । किनभने यो एउटैले मात्रै गर्न सक्ने अवस्था छैन, सहमतिको दस्तावेज हो र यसलाई भोलि अपुग कुराहरू फेरि व्यवहारको क्रममा जनताका अभिमतहरू लिएर संसदले पनि संशोधन गरिराख्छ ।

दिलभुषण पठक - समय एकदम कम छ । करिब करिब हामीले धेरै समय खर्चिसक्यौँ । प्रश्न धेरै छन् । केही दलहरू यो मस्यौदाको विरोधमा छन् नि, बाहिर छन् नि ? तिनलाई समेट्न सकिन्छ ? सहमतिकै दस्तावेज हो भने तिनलाई किन नसमेट्ने ?
केपी अोली - बहुदलीय व्यवस्थामा केही असहमतिहरू अस्वभाविक होइन । त्यसमा पनि नेपालको सन्दर्भमा मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन । असहमतिका कारणहरू, पृष्ठभूमिहरू, उद्देश्यहरू के छन् भन्ने कुरा पनि जनताले बुझ्छन् ।

दिलभुषण पठक - त्यसो भए यो संविधानले कतै द्वन्द्वको बीउ रोप्ने त होइन ?
केपी अोली - द्वन्द्वको बीउ त रोपिएकै छ । रोपेकै छन् मान्छेले, त्यसलाई समाप्त पार्न चाहिँ संविधान हो ।

दिलभुषण पठक - यो संविधानले मास्छ ?
केपी अोली - हो । संविधान नहुँदा अराजकता हुन्छ । संविधान नहुँदा बेथिति, कानुनहिनता, दण्डहिनता सबै चिज हुन्छ । संविधान भएपछि संविधानअनुसार चल्ने अभ्यासतिर देश लाग्छ । त्यसकारण द्वन्द्वको न्यूनीकरण हुन्छ । द्वन्द्वको सामान्यीकरण हुँदैजान्छ र त्यसलाई न्यूनीकरण गर्दै लगेर समाधानतर्फ लैजान्छ । कुनै कुरा समाधान दिन यस संविधानको कुनै केही परिवर्तन गर्नु पर्ने भयो भने त्यसलाई परिवर्तन गर्न सकिन्छ ।

दिलभुषण पठक - तर अक्सर नेपालका कुनै पनि राजनीतिक घटनाक्रमहरूमा बाहिरी प्रभाव पर्छ भन्ने एक आममान्छेको धारणा छ । यो संविधानको निर्माणमा त्यस्तो कुनै बाहिरी प्रभाव पर्छ ?
केपी अोली - आजको दुनियाँ, नेपालजस्तो देश, यहाँका जस्ता पार्टी, यहाँका जस्ता नेता । यसमा कुनै प्रभाव पर्दै पर्दैन, हुँदै हुँदैन त भन्न सकिँदैन, तर – केही अगाडि मैले एक ठाउँमा बोलेँ, कसैले मलाई सोध्यो, तपाईँले सोधेकै प्रश्न, के यसमा विदेशीहरू हात हुन्छ भनेर – मैले भनेँ यो नेपालीहरूले नै बनाएको हो । नेपालीहरूले नै छलफल गरेर, नेपालीहरूकै सहमतिमा यो सोह्रबुँदे भएको छ र यो मस्यौदा भएको छ । विभिन्न शक्तिकेन्द्रहरूतिर केही मान्छेहरू कुदे । देख्नु भयो तपाईँहरूको भूमिकालाई त उसले ठाडै अस्वीकार गरयो – उसले त हामीले बनयौँ, नेपालीले बनाएको पो भन्यो, देख्नुभयो – सायद त्यो कुराले कति प्रभावित गरयो, कति गरेन त्यो त म भन्न सक्दिन । थोरैबहुत गर्न पो खोज्यो कि । तर मस्यौदा हामीले गरेका हौँ । हाम्रो संविधानसभाले गरेको हो । हाम्रो संविधानसभाले पारित गर्छ । हामी देशका हितलाई, जनताका हितलाई, लोकतन्त्रका मूल्य मान्यताहरूलाई अथवा सामाजिक न्यायजस्ता कुराहरूलाई केन्द्र भागमा राखेर राष्ट्रिय एकता जोगाएर अगाडि बढ्छौँ ।

दिलभुषण पठक - त्यो पक्का हो तर बेसिकल्ली तपाईँलाई किन प्रभाव पार्ला भनेर सोधेँ भने – एकजना पूर्वप्रधानमन्त्री, वरिष्ठ नेता, एमाओवादीका प्रचण्ड भारत भ्रमण गरेर आइसक्नु भयो अरू केही मान्छेहरूको जानेको लाइन छ, त्यसमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई के भन्नुभयो भने यो विवादको बीउ नराखिकन संविधान बनाउ है भनेर भन्नु भयो । तपाईँहरूको जुन यो फास्ट ट्र्याकमा जुन अघि बढेको संविधानको एउटा एक्सप्रेस थियो नि, यो एक्सप्रेसलाई यसले कहिँ अवरोध पुरयाउँछ जस्तो लाग्दैन तपाईँलाई ?
केपी अोली - बिलकुल लाग्दैन, किनभने भारत एउटा छिमेकी देश हो । त्यहाँको सरकारले, त्यहाँको नेताले, त्यहाँका प्रधानमन्त्रीले विवादका बीउ रोपेर, विवादमा रुमल्लिएर, विवाद उछालेर जाउ भनेर भन्छन् ? विवाद नहोस्, सहमति होस्, एकदमै सुन्दर संविधान बनोस्, छिटो बनोस्, राम्रो बनोस्, त्यही भन्ने होइन र । अनि वहाँले के भन्नु भयो त ? मैले सुनेको त्यही नै हो । त्यसो भन्दा हस्तक्षेप कहाँनिर भयो अथवा नेपालका मामिलामा नेपालीलाई काम गर्न नदिने कुरा कहाँबाट आयो र ? त्यो त केही पनि छैन । विवाद भर्सक नहोस्, मित्रले चाहने कुरा त्यही नै हो । अरु पनि देशमा यदि हामी जाने हो भने अरु पनि देशका नेतासँग भेट्ने हो भने त्यही कुरा भन्नु होला । विवाद नहोस्, राम्रो बनोस्, छिटो बनोस्, पहिलेजस्तै संविधानसभा असफल नहोस् । वहाँले संविधान नबनोस् त भनेन ।

दिलभुषण पठक - तर मान्छेको स्वार्थले पनि फरक पार्छ होला होइन । कति मान्छेको स्वार्थ यो पनि हुन सक्छ कि मुलुकमा संविधान बनोस् या नबनोस् केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिउँ भन्ने स्वार्थ पनि हुन सक्छन् नि ?
केपी अोली - हुन सक्छ । केपी ओलीलाई प्रधानमन्त्री बनाउनका लागि पनि देश र जनताका हितहरू वा संविधान निर्माणका प्रश्नलाई यताउता पर्न दिनु हुँदैन । बन्न नदिनका लागि पनि देशसँग खेलवाद गर्न दिनु हुँदैन । बनाउनु वा नबनाउनु, बनाई छोड्न वा बन्न नदिन । संविधान र देशका प्रश्नहरू त्यो भन्दा बाहिर हुनुपर्छ, माथि हुनुपर्छ, मेरा निम्ति माथि छन् । प्रधानमन्त्री हुन्छ, हुँदैन, के हुन्छ जस्ता कुराहरूले देशका हितहरूलाई, संविधान निर्माणका प्रश्नहरूलाई – यति अहम् विषयहरूलाई त्यसभित्र मुछेर फेरि तलमाथि पार्ने काम गर्नु हुँदैन ।

दिलभुषण पठक - मलाई एउटा कुरा बताइदिनुस् कि तपाईँहरूले सोह्रबुँदे सहमति गर्दै गर्दाखेरी तपाईँहरूले जुन किसिमको सम्बन्ध अथवा विश्वासको वातावरण बनेको थियो, यो अहिलेको अवस्थामा पनि त्यस्तै छ कि त्यहाँ केही चलखेलहरू भइसके ?
केपी अोली - नेपाल हो, चलखेल हुनसक्छन् । त्यसबाहेकका मान्छेहरूका आफ्ना लगाईहरू पनि हुन सक्छन् । तर ती प्रभावी हुँदैनन् । हाम्रो संविधान निर्माण गर्ने कुरामा जुन सहमति छ, त्यो सहमति अगाडि बढ्छ ।

दिलभुषण पठक - त्यसो भए, त्यो स्पिरिटलाई जारी राख्नलाई अथवा तपाईँहरूले प्लान गरेको अनुसार असार मसान्त भन्नुभएको थियो, ठीकै छ, साउन मसान्त भन्दै हुनुहुन्थ्यो अघिल्लो अन्तर्वार्तामा संविधानसभाका अध्यक्षज्यूले । त्यो अनुकूल संविधान बनाउनका लागि अथवा तपाईँले अघि ठ्याक्कै सहमति भएको होइन तर धेरैको चाहनाचाहिँ हो मलाई प्रधानमन्त्री बनाउने भनिहेको अवस्थामा त्यो दुईवटै लागू गर्न सहमति गर्नका लागि कति फ्रजाइल छ भन्ने मेरो प्रश्नमा केही आशंकाहरू देखाउनु भयो अथवा यहाँको स्वभाव अथवा यहाँका मान्छेहरूको चरित्र चित्रण गर्नुभयो, त्यसबाट बच्नलाई अथवा त्यो सम्झौतालाई कार्यान्वयन गर्नलाई, त्यसलाई मूर्तरूप दिनलाई सावधानीहरू के–के हुनसक्छन्, अध्यक्षज्यू तपाईँ जाँदाजाँदै भन्न सक्नुहुन्छ ? किनभने तपाईँको बुझाइ के हो भने यदि त्यो भयो भने मुलुकले एउटा संविधान पाउँछ, राजनीति स्थीर हुन्छ र हामी अगाडि बढ्छौँ, एउटा समृद्ध नेपालको बाटोमा निस्किन्छौँ । त्यसका लागि सावधानीहरू के–के हुन् ?
केपी अोली - अवश्य नै । यसै त हाम्रो सबैभन्दा बलियो आधार, यी सबै कुरा म जे गरिराखेको छु, के विश्वासका आधारमा, म संविधान बनाइन्छ किन भन्दैछु ? देशको एकता कायम गरिन्छ किन भन्दैछु ? राष्ट्रको अस्तित्व तलमाथि हुँदैन किन भन्दैछु ? यो देश विकासको बाटो अघि बढ्छ किन भन्दैछु ? यो सबै कुरा म नेपाली जनताको आजको चेतनामा विश्वास गरेर भन्दैछु । नेपाली जनता सचेत छ । केही केही भड्काउन खोज्ने मान्छेले, उचाल्न खोज्छन्, दुरुपयोग गर्न खोज्छन्, तर नेपाली जनता सचेत छ, एकदमै विद्वान नहोला, धेरै उच्चस्तरीय सर्टिफिकेट नहोला, तर देश जोगाउने कुरा, लोकतन्त्र ल्याउने कुरामा सचेत छ । सात सालदेखि । तपाईँले भर्खरैको, सात साल त देख्नु भएन होला, बैसठ्ठी त्रिसठ्ठी त देख्नुभयो नि । कफ्र्यु के हो जनताले बुझेर तोड्यो । तानाशाही के हो बुझेर भिड्यो । बुझेर भिडेको छ नि । त्यो नबुझिकन, थाहा नपाइकन ....

दिलभुषण पठक - कति दुःखी छन् नेपाली जनता, अहिले यतिका दिनसम्म संविधान नपाउँदा ?
केपी अोली - हुने नै भयो । हो, यो दुःख छिट्टै हटाउँछौँ । मेरो जनतामाथिको विश्वासले यी सबै कुरा भनिराखेको छु । सबैभन्दा ठूलो आधार जनता हो । जनताको चेतना हो । जनताको अभिमत हो । त्यसकारण तपाईँले सुरुमा एउटा प्रश्न गर्नुभएको थियो, जनताको अभिमत तपाईँहरूले रित पुरयाएको हो कि, साँच्चै सुन्नु हुन्छ भनेर ? यो देश चलाउने जनता हो र जनताको अभिमतले मात्रै हो । अरु कसैले होइन ।

दिलभुषण पठक - समय सिधियो अध्यज्यू । म जाँदाजाँदै एउटा पोजिटिभ नोटले इण्ड गर्न चाहन्छु । तपाईँ यो मुलुकको राजनीतिमा लामो समयदेखि हुनुहुन्छ । धेरै कुरा देख्नुभएको छ । तपाईँले सङ्केत गर्नुभयो कि यो मुलुकको हित चाहने र नचाहनेको बारेमा पनि । मलाई इमान्दारिताका साथ भनिदिनुस्, अबको नेक्स्ट ६ महिना अथवा वर्षदिन अथवा दुई वर्ष कस्तो देख्नु हुन्छ नेपालको राजनीति ? हामी सुरुमा हुन्छौँ अथवा अगाडि बढ्छौँ, पर्सेन्टमा, झिनो आसा के हुन्छ ?
केपी अोली - हामी अगाडि बढ्छौँ । संविधान बन्छ । राष्ट्रिय सरकार बन्छ । भूकम्पले क्षतिग्रस्त बनाएका ठाउँहरूको हामी पुनर्निर्माण गर्छौँ । त्यसलाई नयाँ ढङ्गले निर्माण गर्छौँ ।

दिलभुषण पठक - अहिलेसम्म प्राधिकरण बनाउन सकिरहेको छैन ? तपाईँकै सरकारको नेतृत्वमा बनाउन खोज्नु भएको ?
केपी अोली - मैले त्यस्तो केही खोजेको छैन । बनोस्, अगाडि बढोस् भन्ने कुरा मात्रै हो । तर म के भन्छु भने यदि तपाईँले भनेजस्तो जिम्मेवारी लिनु परयो भने यो भूकम्पबाट क्षति भएका ठाउँहरूमा मात्रै होइन नभएका पनि, जो उत्तिकै कच्चा छन्, भूकम्प नगएर मात्रै अडिएका हुन्, त्यस्ता ठाउँहरूको पनि पुनर्निर्माण गर्नु पर्छ । नेपालको संरचनासम्बन्धी पुनर्निर्माण गर्नु पर्छ । र, नेपालमा उद्योगहरूको स्थापना, कृषिको आधुनिकीकरण, व्यवसायिकरणदेखि लिएर, पर्यटनका क्षेत्र देखि लिएर सबलाई यसरी नयाँ ढङ्गले व्यवस्थित गर्नु पर्छ र नेपाल त नेपाली जनताले बनाउने हो, अरु कसैले बनाइदिने होइन । त्यो बनाउने कुरामा हामीले सरकारको काम, नेतृत्वदायी, संयोजनकारी हुनु पर्दछ र त्यसले हाँक्नु पर्दछ ।

दिलभुषण पठक - आशा गरौँ, अध्यक्षज्यू आशा गरौँ । यो आशा र विश्वास नेपाली जनताले धेरै अघिदेखि चाहना गरिराखको, इच्छा गरिराखेको । तपाईँको महत्त्वपूर्ण विचार, समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

केपी अोली - म यहाँलाई पनि धन्यवाद भन्न चाहन्छु । यहाँको टेलिभिजन र समग्र दर्शकहरूलाई धेरै धेरै धन्यवाद, धेरै धेरै शुभकामना ।