NP EN

मैले सपना किन देखेँ ? प्रधानमन्त्री ओलीको बिदाई अन्तरवार्ता

कुनै देश जब भविष्यप्रति आशावादी हुन्छ, सुन्दर भविष्यको सपना देख्छ, राम्रा दिन, सुदिनहरु आउँछन् भन्ने विश्वास गर्छ, तब नै ऊ बाँच्नसक्छ, तब नै उसले मिहेनत गर्नसक्छ, तब नै उसले काम गर्न सक्छ । मेरो काम मूर्छित सपनाहरुलाई जगाउनु र तिनीहरुप्रति विश्वास बढाउनु, र ती विश्वासहरु साकार पार्नका निम्ति हरेकले प्रयास गरुन्, जसबाट देश विकास सम्भव बनाउन सकिन्छ, समाज विकास सम्भव बनाउन सकिन्छ, त्यही कोसिस मैले गरेको हुँ । त्यो गर्नुपर्छ ।  
 



Hamro Katha
Published on Aug 3, 2016

 



हाम्रो कथा: कति बजे उठ्नुहुन्छ ?
केपी ओली: जति बजे सुत्यो, त्यसको आधारमा हुन्छ । कति समय सुत्ने भन्ने हिसाब हुन्छ मेरो ।

हाम्रो कथा: सुत्न चाहिँ कति बजे सुत्नुहुन्छ ?
केपी ओली: राति १ बजे, २ बजे । १२ बजे छिटोमा ।

हाम्रो कथा: के गर्नुहुन्छ ? त्यतिबेला सम्म ? 
केपी ओली: पढ्ने समय त चाहियो । 

हाम्रो कथा: राति पत्रपत्रिका पढ्नुहुन्छ ?
केपी ओली: पत्र पत्रिका, किताब, लेख । 

हाम्रो कथा: राति सधैं पढ्नुहुन्छ ?
केपी ओली: सकेसम्म राति पढ्ने । जानकारी लिनुप¥यो नि, के कसो भइरा छ । पुराना शास्त्र के रहेछ, नयाँ विचार के आउँदैछ, हेर्नुप¥यो नि ।

हाम्रो कथा: साधारणतया कति घन्टा सुत्नुहुन्छ ? 
केपी ओली: ६ घन्टा ।

हाम्रो कथा: सपना चाहिँ के देख्नुहुन्छ ? 
केपी ओली: दुइटा कुरालाई सपना भन्ने गर्छन्, एउटा निदाएको बेला देखिने सपना । अर्को ब्युँझिएको बेला देख्ने सपना । निदाएको बेला देखिने सपना खास अर्थका हुँदैनन् । त्यसकारण म संझिने झनझट पनि गर्दिन । 

हाम्रो कथा: प्रधानमन्त्री हुँदा राति देखिने सपना र प्रधानमन्त्रीबाट राजिनामा दिएपछि देखिने सपनामा केही परिवर्तन भएको छ ? 
केपी ओली: तपाईले सोध्नुभएको कुरा मानसिक अवस्थासँग सम्बन्धित छ । अथवा कुनै कुराले मानिसमा खुसी अथवा दुःख हुन्छ । संस्कृतमा एउटा स्लोक छ, उदय सवितारक्त रक्ताश्चाष्टोमयस्तथा ।  जसको अर्थ हुन्छ, घाम झुल्किने अवस्थामा पनि रातै भएर झुल्किने गर्छ, अस्ताउने दुःखमा पनि रातै भएर अस्ताउने गर्छ । सूर्यमा चेत छैन । त्यो एउटा भौतिक पिण्ड हो । अथवा त्यो एउटा विशाल अग्निकुण्ड हो । चेत बिनाको भौतिक तत्वमा आफना जड धर्म हुन्छन्, जड नियम हुन्छन् । म त्यस्तो जड त होइन, तर  म खुसी, उन्माद अथवा धेरै हर्ष, विस्मात जस्ता कुराहरुबाट पीडित हुन्न । प्रधानमन्त्री हुँदा खुसी हुने, प्रधानमन्त्रीबाट हट्नुपर्दा दुःखी हुने, त्यो म गर्दिन । अघिपछि पनि मलाई धेरै पीर, चिन्ता जस्तो कुराले सताउँदैन । म सोचेर, विचार गरेर काम गर्छु, काम गरिसकेपछि सिद्धियो । मलाई धेरै चिन्ता हुँदैन । त्यसकारणप्रसन्नता र अप्रसन्नताको प्रभाव तपाईले सोधेजस्तो सपनामा प्रतिबिम्बित  हुँदैन ।  एकनास हुन्छ । 

हाम्रो कथा: तर मानवीय समवेदना भन्ने त हुन्छ नि ? 
केपी ओली: मैले अघि भने म जड होइन, त्यसकारण जडधर्म होइन, जीवधर्म स्वाभाविक हो । तर त्यसलाई मानसिकता, परिवेश परिस्थिति र मान्छेका इतिहास लगायतको धेरै कुराहरुले प्रभावित गरेको हुन्छ । म त्यस्ता कुराहरुमा धेरै लतारिन्न । खुसीहरुमा लतारिने, या मानसिक दुःखहरुमा भौतिक परिस्थिति आफ्नो ठाउँमा छन्, तर त्यसले मानसिकतामा पार्ने प्रभाव त्यसमा लतारिने त्यति बानी छैन मेरो । 

हाम्रो कथा: तर तपाईको राजिनामा पछि त देशभित्र मात्र हैन, विदेशमा पनि खुसियाली छायो भन्छन्, खुसियाली मनाए भन्छन् ।  
केपी ओली: हिन्दीमा भन्छन्,  कहीँ खुसी, कहीँ गम  । खुसी हुनेहरु पनि हुन्छन्, दुःख मान्नेहरु पनि हुन्छन् । ती विचारहरुका, उद्देश्यहरुका, हितहरुका प्रतिबिम्ब हुन्  । कतै खुसी, कतै गम, कतै आनन्द, कतै हर्ष, कतै विस्मात, कतै दुःख ।  खुसी नै खुसी छायो होइन, केही खुसी भए, किन खुसी भए ? उनीहरु जान्दछन् । 

हाम्रो कथा: तपाईलाई थाहा छैन ?  
केपी ओली: थाहा छ, तर त्यसमा मैले समय खर्च गरिरहनु आवश्यक छैन । खुसी प्रकट हुन्छ कतै कतै, त्यसभित्र तीनै पक्ष छन् । एउटा खुसीको पक्ष, अर्को दुःखको पक्ष, दुःखी हुने पनि छन्,। सबै हाँस्ने र रुने नै गर्छ भन्न सकिंदैन, सरोकार नभएको पनि ठूलो समुदाय छ नि । कति मान्छेहरु जसलाई स्वार्थ, अहंकार, जिद्दी होला, खुसी होला, जो अलिकति मानवजातिका प्रगति र उन्नतिका निम्ति, समृद्धि र सुखका निम्ति सोच्ने होलान्, तिनलाई दुःख पनि होला । 

हाम्रो कथा: प्रधानमन्त्री छोड्नुपरेकोमा भन्दा पनि प्रधानमन्त्री भएर केही गर्न सक्थेँ ? गर्न पाइन भन्ने कुराले दुःखी बनाउँदैन ? 
केपी ओली: म त्यसलाई दुःख भन्दिनँ, मैले प्रधानमन्त्री किन स्वीकारेँ, किन भएँ, भन्दा तपाईले भन्नुभएजस्तै केही गर्न सकिन्छ, देशका लागि जनताका लागि, अर्को शताब्दीमा मैले केही गर्न सक्दिन । यति बेला म गर्न सक्छु, त्यसैकारण मैले त्यो स्वीकारेको थिएँ । मलाई थाहा थियो, दुनियाँ निष्कण्टक छैन । दुनियाँ कण्टक छैन । कण्टकै कण्टक अथवा काँडैकाँडाले भरिएको । मैले हाम्रो समयलाई नदेखेको छैन, नबुझेको छैन । हाम्रो भूगोल, हाम्रो घर–परिवार जहानहरु, परिवारका सदस्यहरु नजान्या छैन, हाम्रा छिमेकीहरु पनि नजान्या छैन । हाम्रो गाउँ, ठाउँ पनि नचिनेको छैन । त्यसो भएपछि यस्तो केही हुनु, धेरै अनौठो पनि छैन । 

हाम्रो कथा: तपाई जति समय प्रधानमन्त्री हुनुभयो नि, तपाईले गरेको भाषणहरु सुन्दा, तपाईले बेला बेलामा दिने वक्तव्यहरु हेर्दाखेरि  कति धेरै सपना बाँडे जस्तो लाग्छ । कति धेरै सपना बाँडेको यो जनतालाई ? 
केपी ओली: अस्ति राजिनामा दिंदै गर्दा, यही साउन ९ गतेको संसदको मेरो मन्तव्यमा पनि मैले भनेको थिएँ, यस्ता परिस्थितिहरुमा खास गरी द्वन्द्वोत्तर अथवा लडाइ, झगडाबाट एउटा सिलसिलाबाट थिलथिलो भएको देश तानाशाही मुकाबिलाबाट थिलथिलिएको, अतिवादका गतिविधिबाट थिलथिलिएको अवस्थामा मान्छेहरुमा प्रायः सपनाहरु खजमजिन्छन्, मान्छेहरुका आकाङ्क्षहरु पनि त्यतिकै कोपिलामै झर्न थाल्छन् । मैले त्यस वक्तव्यमा पनि भनेको छु, सपनाहरु मूर्छित हुन्छन् त्यस्तो बेलामा । ती सपनाहरु मूर्छित भइरहन दिनुहुँदैन । कुनै देश जब भविष्यप्रति आशावादी हुन्छ, सुन्दर भविष्यको सपना देख्छ, राम्रा दिन, सुदिनहरु आउँछन् भन्ने विश्वास गर्छ, तब नै ऊ बाँच्नसक्छ, तब नै उसले मिहेनत गर्नसक्छ, तब नै उसले काम गर्न सक्छ । मेरो काम मूर्छित सपनाहरुलाई जगाउनु र तिनीहरुप्रति विश्वास बढाउनु, र ती विश्वासहरु साकार पार्नका निम्ति हरेकले प्रयास गरुन्, जसबाट देश विकास सम्भव बनाउन सकिन्छ, समाज विकास सम्भव बनाउन सकिन्छ, त्यही कोसिस मैले गरेको हुँ । त्यो गर्नुपर्छ ।  

अर्को मैले भन्ने गरेको के हो भने हामीले आफूलाई चिन्नुपर्छ । संसार अन्धकार भएको बेला हाम्रा पुर्खाहरु विद्वान थिए । मैले भन्ने गरेको छु, हातमा ढुंगा बोकेर झण्डै झण्डै पत्थरयुगमै छँदा, शिकारको खोजीमा जङ्गलमा भौंतारिंदा हाम्रा पुर्खा त नाटकको रचना गर्दै थिए । काव्यको रचना गर्दै थिए । वेदको रचना गर्दै थिए । औषधि विज्ञानको आविष्कार र विकास गर्दै थिए । तारा, नक्षत्रहरुको गिन्ती गरेर त्यसको आधारमा तिनको धर्तीसँगको सम्बन्धलाई हेर्दै थिए । ग्रहण कतिखेर लाग्छ, कहिले लाग्छ ? हजारौं वर्षसम्मका, ग्रह, नक्षत्रहरुका गतिहरुको हिसाब गर्दै थिए । यस्ता अनेक कुराहरु संगीत, ज्ञान, विज्ञान, दर्शन यी सबै कुराहरुको विकास गर्दै थिए । पछि त्यसलाई साङ्ख्य दर्शन भनियो, पछि त्यसलाई चारवाक दर्शन भनियो, पछि त्यसलाई लोकायत भनियो, ती जनताले दर्शन निर्माण गरेको होइन, अनुभूतिहरु संकलन गरेका संग्रहित गरेका र अभिव्यक्त गरेका हुन् । ती दर्शन भए । हाम्रा पुर्खा त त्यसो गर्दै थिए । त्यस्ता पुर्खाका हामी सन्तान, कुनै कारणवश अलिक समय हामी पछाडि प¥यौं । तर हामी सधैं पछाडि पर्न सक्दैनौं । सम्भवै छैन । किनभने पहिलो कुरा हामीसँग मैले जो पुर्खाको कुरा गरेँ, ती हाम्रा रचनात्मक, सिर्जनात्मक कामका सर्जक र अनुसन्धाता र अन्वेषक चरित्रै, आचरणै हाम्रो पुर्खाको त्यस्तै हो । त्यसले कुनै वनस्पतिको पात छैन, बोक्रो छैन, मुन्टो छैन, जरा छैन, जो नजागेका हुन्, त्यसको स्वाद, गन्ध, पाक, सबै पत्ता लगाएका हुन् । त्यसको अहिले हामी त्यसका रसायनिक प्रतिफलहरुका कुरा गर्छौं । हाम्रा पुर्खाहरुले दृश्यमा एउटा छ, त्यसको अन्तर्यमा के छ ? स्वादमा एउटा छ, गन्धमा एउटा छ, त्यसको स्वाद एउटा हुन्छ, पाक अर्कै हुन्छ । गुण अर्कै हुन्छ । यी कुराहरु हाम्रा पुर्खाहरुले उहिल्यै पत्ता लगाए, त्यस्ताका सन्तान हामीहरु । हामीसँग त्यो जीन छ । त्यसकारण हामी पछाडि पर्न सक्दैनौं, जीनको अर्थ हामीले बुझ्नुपर्छ, हाम्रो शरीरमा जुन कार्बोन छ, हरेक चीजमा कार्बोन त हुन्छ, जसले सन्तान सदृश्य पैदा गर्छ, देखाउँछ । मान्छेका सन्तान मान्छेजस्ता, अरु जीवका सन्तान अरु जीवजस्ता, कसरी हुन्छ भन्दा त्यो कोर्बोन तत्वले । त्यसका कार्बोन तत्वले खालि शारीरिक संरचनालाई त्यसरी प्रतिबिम्बित गरेको अथवा प्रतिरोध गरेको मात्रै हुँदैन, त्यस कार्बोनले मानसिक कार्बोन कपी गर्दाखेरि त्यसको खालि कपी मात्रै गरेको अथवा सदृश्य मात्रै हैन, त्यसको गुण, त्यसको अन्तर्य समेतलाई पनि कपी गरेको हुन्छ । हाम्रो शरीरको कार्बोनको काम बाबु जस्तै छोरा, आमा जस्तै छोरा या छोरी त्यो निकाल्ने मात्र काम गर्दैन, तिनीहरुको पुस्तौंदेखिका सङ्कलित ज्ञानहरु त्यो पनि राखेको हुन्छ । त्यसैकारण पाँचवर्षभित्र बच्चाको मस्तिष्क पूर्णरुपमा विकास भइसक्छ भनेको के ? अथवा एउटा मान्छेको बच्चाले छोटो अवधिमा मानवीय गुणहरु, तरिकाहरु, भाषाहरु, सीपहरु कति छिटो सिक्छ, कसरी ? त्यसैकारणले हामी जे छौं, हाम्रो आफ्नै कमाइ, आज तपाईसँग जो विद्वता छ, जुन क्षमता छ, तपाईको कमाइ थोरै प्रतिशत छ । तपाईको बुवा, हजुरबुवा, हजुरआमादेखि हजारौं पुस्ताको, लाखौं पुस्ताको जुन योगदान छ त्यसमा, त्यसको जेनेटिक मेमोरी सबै तपाईमा जन्मिदै चढ्दै आएर यस्तो एउटा समृद्ध त्यो पुँजी ल्याउनुभएको थियो, त्यस पुँजीले तपाईलाई सबभन्दा ठूलो काम गरेको छ, त्यो पुँजी जसको छैन, एउटा बाख्राको पाठालाई बोर्डिङ हाल्दिनुस्, पाँच वर्ष बोर्डिङमा पढाउनुस् म्याँ भन्दा माथितिर गर्दैन, किनभने त्यसका पुर्खाले गर्न सकेको थिएन, तिनले त्यो जेनेटिक मेमोरी उनले त्यही म्याँ मात्रै पाएको छ । त्यसकारण तपाईसँग विद्वता किन छ भनेदेखि तपाईको पुर्खाले गरेको छ, त्यसकारण त्यो कार्बोन इलेमेन्ट जसले मेमोरी तपाईलाई कन्टिन्यु ट्रान्सफर गरेको छ, त्यो मानसिक क्षमता मस्तिष्कका गुण त्यसको विज्ञानले व्याख्या गरिरहेकोछ, अझ खोजीरहेको छ । त्यो गर्नुपर्छ । त्यसैले हामी पछाडि पर्न सक्दैनौं । आज हामी अनपढ, हामी बुद्धु, त्यस्ता पुर्खाका सन्तान, अरु अस्तिका चाहिँ विद्वान, यो टेम्पोररी फेनोमेना मात्रै हो । त्यो अस्थायी परिघटना हो । अस्थायी परिदृश्य हो । हामी पछाडि पर्न सक्दैनौं । अर्को त्यो हिमाल, त्यो पहाड, ती ग्लासियस, त्यो झरना, हिमताल, हाम्रा तालहरु, हाम्रा हरिया पहाड, झरनादेखि लिएर यी मैदान, यो साधारण कुरा छैन, यसभित्र । त्यति उर्बर छ । खानीका अन्यत्र कुरा चलेको छन्, हामीकहाँ खानीको केही कुरै भएको छैन । अब त्यस्ता पुर्खाका हामी सन्तान, यस्तो उर्बर धर्तीका हामी मान्छे, यति सम्भावना बोकेका हामी यस धर्तीका मान्छे, मैले आफूलाई चिन्नुपर्छ, आफूलाई चिन्नुपर्छ पहिले हामीले । प्रभु मान्ने बानी परेकाहरुलाई यस्तो भन्दा अलि चित्त दुख्ने होला फेरि । हाम्रा विद्वान पुर्खाहरु सम्झिदा, तिनको जीन बोकेका सन्तान हौं हामी सबै । हामीसँग क्षमता छ भन्दा अथवा हाम्रो धर्ती बुद्ध यहीँ किन जन्मिए, सगरमाथा किन यहीँ ठडियो ? 

हाम्रो कथा: तपाईले प्रभु भनेर, प्रभु मान्ने बानी परेका भनेर कसलाई भन्नुभा ? 
केपी ओली: प्रभु भनेको शक्तिशाली ठूलाबडाहरुलाई भनिन्छ । मान्ने बानी परेका भनेको ठूलो देख्ने वित्तिकै नतमस्तक हुने बानी परेकालाई भनिन्छ । 

हाम्रो कथा: जनतालाई बुझ्ने भाषामाभनिदिनसु न ?
केपी ओली: जनतालाई तपाईले के ठान्नुभएको छ ? कस्ता पुर्खाका सन्तान भन्दैछु म । (हाँस्दै) मान्छेले यी जनताले बुझ्दैन भन्ठान्न्या छन् नि ? त्यस्तो होइन,  वेद पढेर आएका जनता, पहिले पढ्न पाएनन् होला, चार सय, पाँच सय वर्ष अगाडिदेखि तिमी यी जातको तिमीले पढ्नु हुँदैन, तिमीले यो गर्नुपर्छ, यस्तो गर्न पाउँदैनौं भनेर भनियो होला, त्यो केही शताब्दीको कुरा हो । यो शताब्दीको कुरा हैन, लाखौं शताब्दीको इतिहास छ । त्यसकारण अलि वर्षदेखि केही शताब्दीदेखि पढ्न नपाएका छन् नि, हो तिनका छोराछोरीलाई पढाउनुस्, त्यही गति झ्याप्पै टिप्छन् उनीहरुले, किनभने उनीहरुको जेनेटिक मेमोरी त त्यही हो, गति समाइ हाल्छन् । 

हाम्रो कथा: म फेरि सपनामै फर्किन चाहन्छु, तपाईंले एक ठाउँमा भन्नुभएको थियो, मैले सपना बेचेको होइन, मैले सपना बाँडेको हो । तपाईले बाँडेको सपना चाहिँ कति पाए त नेपालीले ? 
केपी ओली: मैले भनेको के हो भने हामीले बनिबनाउ फल टिप्न खोज्यौं भने सम्भव छैन । अस्ति सायद सिसिर योगीले हो क्यार असाध्य सुन्दर ढंगले गीत गाउनुभो । ‘म यहाँ एउटा मान्छे खोजिरहेछु’, उहाँको आशय थियो, देश बनाइदिने मान्छे, हाम्रा पीरमर्का हेरिदिने मान्छे, हामीलाई यो दुःखको परिस्थितिबाट सुखको परिस्थितिमा पु¥याइदिने मान्छे खोजिरहेछु, मैले बोल्नुभन्दा अघि उहाँले गीत गाउनुभएको थियो, त्यही कार्यक्रममा भनेँ– अब हामीले मान्छे खोज्दै हिँड्ने होइन, म बनाउँछु, मेरो देश भन्नुप¥यो । हामी बनाउन सक्छौं । हामीले मान्छे, भगवानले पठाइदिन्छन् भन्ने ठान्नु हुँदैन, भगवानले पठाइदिन्छन् भने पठाइदिएका मान्छे हामी नै हौं । यस दुःखको परिस्थितिबाट सुखको परिस्थितिमा हामीले लानुपर्छ । बन्जरलाई हराभरा हामीले गराउनुपर्छ, सुख्खालाई सिञ्चित हामीले गर्नुपर्छ, यस निरास परिस्थितिलाई बदलेर हामीले अगाडि बढाउनुपर्छ । 

हाम्रो कथा: मैले भनेको चाहिँ तपाइृले भन्नुभएको थियो, म सपना बेच्ने मान्छे होइन, ठिक छ, नेपालीले सपना त किन्न सक्दैन, तर तपाईले, बाँडेको चीज त भेट्टाउनु पर्ने नि ,  
केपी ओली: भेट्टाउँछन्, त्यो एकै छिनमा मिल्ने कुरा होइन, एउटा आँपको कोया रोप्नुभो भने त्यो उम्रिन पनि टाइम लाग्छ ।  म के भनिरहेको छु भने तपाईले आँपको कोया रोप्नुस् । रोपेपछि त्यो उम्रिन्छ, त्यो उम्रिएपछि त्यो हुर्किन्छ, बढ्छ, त्यो फल्छ । समय त लाग्छ । तपाईले एकैचोटि अहिल्यैको अहिल्यै कुनै जादू गरेर सरक्क नेपाललाई केही महिनामा धनी समृद्ध देश बनाइहाल्न सक्नुहुन्न । तपाईले खेत यति बाँझो छ भने त्यसमा लटरम्म धान अहिलेको अहिल्यै फलाउन सक्नुहुन्न । तपाइले त्यो जोत्नुपर्छ, त्यसमा पानी लाउनुप¥यो, त्यसमा खन्न प¥यो, धान रोप्नु प¥यो, त्यसलाई हुर्काउनुप¥यो, धेरै चीज गर्नुपर्छ, अनि हुर्कन्छ अनि पाक्छ । अनि मात्र तपाईले काट्न पाउनुहुन्छ । 

अनि मैले भनेको सपना, वास्तवमा सपना बेच्ने कुरा होइन, बेचेको होइन । यो जगाइएको हो – सपनाहरू । हरेकका सपना छन् । हाम्रा पुर्खाहरूले उहिल्यैदेखि एउटा तत्व पत्ता लगाए । त्यो तत्व के हो भने मान्छे के चाहन्छन् भन्दा सुख चाहन्छ, अन्तिम निष्कर्ष त्यही नै हो । तपाईं के चाहनु हुन्छ भन्दा सुख, अर्कोले के चाहन्छ भन्दा सुख चाहन्छ । खुसीबाट पनि सुख प्राप्ती हुन्छ । र मान्छेका सबै काम, काज, गतिविधि, अध्ययन, अनुसन्धान, खोज, अन्वेषण – सबै चिज खुसी प्राप्तीका निम्ति, सुख प्राप्तीका निम्ति हुन्छ । त्यसै कारण हाम्रा पुर्खाहरूले भने उहिलेदेखि मान्छेले के चाहन्छन् भन्दा – सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत् । कोही दुःखी नहोस्, सबै सुखी होउन् । अथवा सुख प्राप्ती नै मानिसको लक्ष हुने गर्छ । अन्तिम उद्देश्य नै सुख प्राप्ती । त्यो सुख कसरी प्राप्त हुन्छ – जैविक आवश्यकताहरू र मानवीय आवश्यकताको परिपूर्ति, यी दुईवटा कुरा अलिकति फरक छन्, जैविक आवश्यकता र मानवीय आवश्यकता । यसभित्र सुरक्षा, सुरक्षाभित्र दुईवटा खालका पर्छन् – एउटा भौतिक सुरक्षा, अर्को सम्मान आदिको सुरक्षा । तपाईंलाई भौतिकरूपले केही नगरे पनि अपमान कसैले ग¥यो भने तपाईंको सम्मानको सुरक्षा भएन तपाईं दुःखित् बन्नु हुन्छ । मान्छे त अत्यन्त सचेत प्राणी हो, मान्छेलाई केही गर्नु पर्दैन, तपाईंको अनुहार सपार्दिन, तपाईंलाई हँसाउन वा तपाईंलाई रुवाउन वा तपाईंलाई दुःखी बनाउन नछोइकन टाढैबाट सकिन्छ । किन भने तपाईं सचेत हुनुहुन्छ । तपाईं टिभि हेर्दाहेर्दै हाँस्नु भएको थियो, मुस्कुराइरहनु भएको थियो, खुशी हुनु भएको थियो के कार्यक्रम हेरेर । फेरि अर्कोपल्ट टिभि हेरेर तपाईं बडो दुःखित पनि भइराख्नु भएको थियो । त्यहाँ कतै ट्राजिडी जस्तो केही देख्नु भएको थियो, तपाईं त्यो ट्राजिडीमा खुशी हुनुहुन्नथ्यो । तपाईंलाई त्यो टिभिले छोएको पनि थिएन नि, तर तपाईंलाई राम्ररी थाहा छ त्यो बनावटी कुरा हो । त्यो टिभिले साँचो कुरा पनि देखाइरहेको थिएन । तपाईंलाई मनोरञ्जनका लागि त्यत्तिकै देखाइराखेको थियो, तर तपाईं घरी खुशी हुनुहुन्थ्यो, घरी दुःखी हुनुहुन्थ्यो । किनभने तपाईं सचेत हुनुहुन्छ, तपाईंको भस्तिष्क त्यो परिदृश्यसँगै, त्यहाँ रचना गरिएको कुरा सँगैसँगै दौडिराखेको थियो । त्यसको असर तपाईंलाई छ भने मान्छेको सुरक्षाभित्र भौतिक सुरक्षासँगै उसका अधिकारहरूको, उसका सम्मानको आदि सुरक्षा पनि मान्छेलाई चाहिन्छ ।

हाम्रो कथा: तपाईले यसलाई सपनामा कहाँनेर जोड्न खोज्दै हुनुहुन्छ ?
केपी ओली: मान्छे कसरी चाहन्छु सुख भन्ने कुरा, कसरी प्राप्त हुन्छ सुख भन्ने कुरा, कस्तो समाज बनाउनु पर्छ हामीले भन्ने कुरा, त्यससँग म जोडेर हेरिराखेको थिएँ । समाज विकास भनेको आर्थिक उन्नति र समृद्धि हो । आर्थिक उन्नति र समृद्धिले मात्रै हुँदैन, अस्ति जापानमा एउटाले छुरी हानेर १५ जना हो कि कतिलाई ठाउँको ठाउँमै मारिदियो, ४०–४५ जना घाइते भए । त्यहाँ खान–लाउन नपाएको आदि कुनै इस्यु त थिएन । अमेरिकाको फ्लोरिडामा पचासौँलाई एउटाले बन्दुकले मारिदियो । त्यहाँ पनि कुनै भोकमरीको समस्या त थिएन । खान पाएन, मान्छे भोकै म¥यो भन्ने समस्या पनि थिएन । यदि समाज भौतिक हिसाबले त प्रगति भयो, तर त्यसको मानवीय महत्व, मानवीय मूल्य जस्ता कुरामा ध्यान गएन र मानवीय भावनाको श्रेष्ठताले स्थान पाएन भने त्यस्ता कुराहरू त जहाँ पनि हुँदा रहेछन् नि । त्यसैले समाजको समग्र विकास भित्र भौतिक उन्नती र चेतना, व्यवहार र आचरणगत उन्नति हुनु पर्छ – हार्डवेयरको पक्ष, सफ्टवेयरको पक्ष सबै विकास हुनुपर्छ । र, त्यो विकास गर्न मैले भौतिक उन्नतिका पक्ष र मानवीय भावनाका पक्ष अथवा हामी सभ्यता भन्छौँ निकति नराम्रो गरी, कति डरलाग्दो गरी र कति घटिया पाराले सभ्यताभित्र असभ्यताहरू प्रकट भइरहेका छन्, जसले मानिसलाई समृद्धि र सुखी हुन दिँदैन । यसमा हामीले ध्यान दिनु पर्छ र मैले जुन भन्न खोजेका सपनाहरूको कुरा समग्र समृद्धिको कुरा हो ।

हाम्रो कथा: तपाईंले जति सपनाहरू बाँड्नु भयो, नेपालीहरूले तपाईंबाट जति सपनाहरू सुने, तपाईंले बाँडेका सपनाहरूप्रति के तपाईंलाई आफैँप्रति विश्वास थियो र छ पनि ?
केपी ओली: बिल्कुल । कसैले उखेल्न, निमोठ्न, मिल्काउन, फ्याँक्न नसक्ने गरी, ती जबर्जस्त सपनाहरू नेपाली धर्तीमा रोपिसकिएका छन् । मैले त्यसो भनिरहँदा धेरै ठूलो, धेरै महत्वको कुराहरू भएको छ भन्दिन म । तर नेपाल, राजनीतिक थिचोमिचो र हस्तक्षेप, आर्थिक परनिर्भरता, समग्रतामा पछौटेपन र दरिद्रता, ती सबैको परिणाम सँधैको दुःख, सँधैको कष्ट । आधुनिकतातर्फ जान नसकेको, विकास तर्फ जान नसकेको । अरुको चकाचौँध हेरेर रमाइलो मान्ने । सिनेमामा राम्रा वस्त्रहरू लगाएका सबै हेर्ने अनि घर फर्केर, सिनेमामा हेर्दा त राम्रो राम्रो लन्च डिनर गरिराखेको हुन्छ, सबै चिज हुन्छ, राम्रा वस्त्रहरू लगाएका हुन्छन्, घरमा फर्केर आउँदा खानेकुरा हुँदैन, भुटेको मकै पनि हुँदैन, लगाउने पनि राम्रो हुँदैन, ओढ्ने ओछ्याउने पनि हुँदैन, जाडोले स््यूँ स््यूँ पारेको हुन्छ – नेपालीको अवस्था त्यस्तै भयो । सिनेमा हेरिन्जेल खुशी भयो, अनि घरमा आएर आफ्नो दुःख आफैसँग भनेको जस्तै । त्यसबाट हामी मुक्त हुनु प¥यो । हामीले खाली अरुका विकासका कहानी सुन्ने, अनि आफू चाहिँ दुःखमा रहने अवस्था हुनु भएन ।

हामीले बनाउन नसक्ने भन्ने कुरा केही पनि छैन । हामी हाम्रो देशको अनुसार, देशको भूगोल, परिवेश र परिस्थिति अनुसार विकास कुराहरूलाई अगाडि बढाउन सक्छौँ । आधुनिक नेपाल, समृद्ध नेपाल, सुखी नेपालीको आनन्दको नेपाल बनाउन सकिन्छ । मेरो त्यही सपना हो ।

हाम्रो कथा: बाँड्ने मान्छे तपाईंलाई त विश्वास रहेछ, पाउने मान्छे जनता हो, तपाईंलाई के लाग्छ तपाईंले बाँडेका सपनाहरू जनताले पनि विश्वास गरिराखेका छन् अथवा गर्छन् जस्तो लाग्छ ?
केपी ओली: विश्वास नगरेसम्म त नेपाल पछाडि पर्छ । जनताले पाउने होइन, जनताले ल्याउने हो, आफैले ।

हाम्रो कथा: जनताले विश्वास गर्नै पर्छ भन्नु भएको हो ?
केपी ओली: हो, गर्नै पर्छ । जनताले विश्वास गर्नै पर्छ । जनताले ती सपना आफैले साकार पार्नु पर्छ । अरु कोही मान्छे खोजिरहेछु भनेर केही पनि हुने वाला छैन ।

हाम्रो कथा: अघि तपाईं भन्दै हुनुहुन्थ्यो, म २ बजेसम्म पढ्छु, फेसबुक पनि चलाउनु हुन्छ होला, जनताका प्रतिक्रियाहरू पनि सुन्नु हुन्छ होला, जनताले पत्याएका रहेछन् कि पत्याएका रहेनछन् कि ?तपाईकोंलाई आफ्नो अब्जरभेसन चाहिँ के छ ?
केपी ओली: म जहाँसम्म आइपुगेको छु, मलाई यो प्रधानमन्त्रीको पद पनि मेरो बुबाले अंश दिनु भएको होइन, नेपाली जनताले दिएको हो । त्यसमा म बहुतै स्पष्ट छु । यहाँ दुईटाबीच टग अफ वार छ, तानातान छ । कहिले जनतालाई तान्छन्, कहिले जनतालाई अलमल्याउनेहरू – विभिन्न प्रकारका हाउभाउ गरेर जनताका पंक्तिभित्र बसेका वा जनताको पंक्तिभन्दा बाहिरबाटै लल्कार्ने (बाहिरबाट लल्कार्ने समय रहेन) – यसको तरिका बदलिएको छ – जनता भित्रै छन् – जनताकै हुँ भन्ने गर्छन् – जनताका हितहरू र अरुका हित जनताका नाममा भजाउनेहरू – यसका बीचमा तानातान छ । त्यस तानातानमा म एउटा यस्तो पात्र हुँ जो जनताका निम्ति काम गर्छ, देशका निम्ति काम गर्छ, मानव जातिका निम्ति काम गर्छ । मेरो निष्ठा यही तीनवटा कुरामा छ – नेपाल राष्ट्र, नेपाली जनता र मानव जाति भन्नाले यो धर्ती र यसको भविष्य ।

हाम्रो कथा: म तपाईंकहाँ आउनुभन्दा अगाडि तपाईंका भाषणहरू यु–ट्युबमा पाएसम्म, भेटेसम्म हेर्ने प्रयत्न गरेको थिएँ । तपाईंले बाँड्नु भएका सपनाहरू, तपाईंले गर्नुभएका भाषणहरू अत्यन्तै रुचाइएका पनि छन्, तर ती भाषणको शिर्षकहरू यदि तपाईंले हेर्नुभयो भने अ फन्नी स्पिच अफ केपी ओली भनेर दिइएको छ । तपाईंले जनताले विश्वास गरे भन्नु भयो, तर त्यस्तो टाइटल किन दिइयो होला, तपाईंले सिन्सियरली राखेको कुरालाई मान्छेले त्यस्तो टाइटल किन दियो होला ?
केपी ओली: मैले अस्ति एक ठाउँमा भनेको थिएँ, लोकतन्त्र जहाँ कलिलो हुन्छ, लोकतन्त्रका नाममा अथवा लोकका नाममा अनेकथरि तत्वहरू क्रियाशील हुन्छन् । तिनलाई देशभन्दा, जनताभन्दा, सत्यभन्दा ठूलो आफ्नो स्वार्थ हुन्छ । आफ्ना आग्रहहरू सबैभन्दा माथि राखेर त्यस्तो तत्वहरू रहेका हुन्छन् । अर्को, केही यस्ता मान्छेहरू छन् जसलाई अरुले आग्रह बोकाइदिएको हुन्छन्, तिनीहरूले भाडामा आग्रहहरू बोकेका हुन्छन् । त्यो भाडामा बोकेका आग्रहहरूले उनीहरू थिचिएका हुन्छन्, जसबाट मुक्त हुन सक्दैनन् । ति आग्रहका कैदी पनि हुन्छन् या भाडामा बोकाइएका आग्रहका पनि कैदी हुन सक्छन् । फेरि मान्छेको जात यस्तो छ, मान्छेले आफ्नो कुरा कम गरेको हुन्छ । तर उनीहरूले आफ्नै कुरा भन्थान्छ । मैले अहिले जे बोलिराखेको छु यो मेरो भाषा भन्छु मैले । मैले बनाएको एक शब्द पनि छैन । उहिल्यै कसले–कसले बनाएका शब्दहरू म बोलिराखेको छु, तर मैले के भनिरहेको छु भने यो मैले बोलिरहेको भाषा मेरो भाषा हो । मैले त बनाएको छैन नि, एक शब्द मैले बनाएको छ र ? मेरो विचार भन्छन् । प्रायः विचार बनाउने तहमा झन्झट नै गरेको हुँदैन मान्छेले । अरुले ल्याएर बोकाइदिएको हुन्छ । कहिले कहिले आफै मञ्जुरीसाथ पनि राम्रा कुराहरू बोक्नु पर्छ, राम्रा कुराहरू बोक्न खोज्दा नराम्रा कुराहरू बोकिन्छ । जस्तो मैले भनेँ मैले बोलिरहेको भाषा मेरो भाषा, मेरो भाषा मैले बनाएको भाषा होइन, अरुले बनाएको भाषा । यो त मैले बोक्नै पर्छ नि, यो त मैले ग्रहण गर्नै पर्छ, मेरो रूपमा मैले स्वीकार्नै पर्छ । त्यसै गरेर विचार, कतिवटा विचार मैले मेरो भन्छु नि, मैले बनाएको विचार नभएर मैले लिएको विचार हुन सक्छ, धेरै विचार त्यस्तै हुन्छ, मैले अरुबाट लिएको विचार हुन्छ । मैले लिइसकेपछि मेरै हुन्छ त्यो, मेरो हुँदा हुँदा यस्तो मेरो भइसक्छ त्यो विचार, त्यसमा म कहिले कहिले म आग्रह साथ लाग्ने पनि खतरा हुन्छ । मानवीय प्रवृतिको कुरा गरेको मैले । मैले विचार लिएँ र त्यसप्रति म कहिँ गलत पनि छ कि भने सोच्ने होइन, त्यसलाई मैले आफ्नो बनाइसकेपछि, आफ्नोप्रति म अलिकति आग्रह राख्न सक्छु, पूर्वाग्रह राख्न सक्छु । त्यसो भएपछि मैले त्यसमा कतै कमि पनि छ कि भनेर विचार गर्दिन । बोकाएका स्वार्थहरू, बोकाएका विचारहरू, बोकाएका उद्देश्यहरू वा आफ्नै भन्ठान्दा – त्यो आफ्नै भन्ठानेर बोकेकामा मिसाएर घुसाइदिएका । त्यस्ता विचारहरू अनेक उद्देश्यका रूपमा प्रकट हुन्छन् । तपाईंले जुन शिर्षकको कुरा गर्नुभयो – त्यसबाट जे सम्प्रेषित हुन्छ त्यो चाहिँ – जसरी हाँसले फोहोरबाट खानेकुरा मात्रै लिन्छ त्यसै गरी जनताले पनि लिन्छ । ति उद्देशयका, अरुले बोकाइदिएका विचारका भारीहरू जसले बोकाइदिएका छन् त्यसले शिर्षक त्यस्तो राख्छन्, त्यसलाई के भ्रम हुन्छ भने यो शिर्षक राखेर मैले थला पारेँ भन्ने । तर जनता भने हाँस जस्ता छन्, चाहिने कुरा मात्रै लिन्छ नचाहिने कुरा त्यहीँ छाड्छन् । (हाँस्दै) आमा–बाबुले खर्च गरेर शब्द सिकाएका उसैलाई छोडिदिन्छन् जनताले, ल आमा–बाबुको खर्च तिम्रै भागमा, मलाई चाहिएको यति म लिन्छु, सिद्धियो । त्यसकारण यहाँ दलीय व्यवस्था छ, यसको कलिलोपन, काँचोपनमा यसभित्र घुसेर आउने अन्य तत्वहरू – धानवारीमा निस्किने सामाहरू उस्तै उस्तै देखिन्छ र त्यसभित्र मिसिन्छ, त्यो शिर्षक चाहिँ सामा अग्लो भएर चट्ट फलेको देखिन्छ नि । त्यस्तै गरेर उसलाई चाहिँ के लागेको हुन्छ भने म धानभन्दा बढी पहिले नै ध्यान पुग्ने गरी अगाडि उठेको छु नि भन्ने पर्छ, तर काट्ने मान्छेले, त्यसलाई स्याहार्ने मान्छेले के बुझ्छ भने सामा त सर्लक्क देखियो, त्यो काम छैन भन्ने ।

हाम्रो कथा: मैले प्रश्न गरेको चाहिँ तपाईंले आफ्नो सपना बुझाउन नसकेको जस्तो, अथवा जनताले नबुझेको जस्तो लाग्दैन ?
केपी ओली: त्यो त छँदैछ, बुझ्ने क्षमता पुग्न सकेका छैनन्, तर सबै कुरा आफैले बुझेको छु भन्ठानेका छन् । आमजनताका कुरा बेग्लै छ, जनताको पंक्ति भित्रै पर्छन् ति पनि । तर जनताको पंक्तिभित्रै परे पनि तिनका उद्देश्य बेग्लै छ । ति उद्देश्यहरू तिनले आफ्ना भन्ने ठानेका होलान्, तर ति आफ्ना होइनन् । त्यस्ता केही अरु प्रकारका छन् । विचारमा विग लगाएका केही मान्छे हुन्छन् । तिनले विगलाई आफ्नै कपाल ठान्छन् । त्यसमा मैले धेरै जानु वाञ्छनीय ठान्दिन ।

हाम्रो कथा: म अब क्याटोगोरिकल्ली केही कुरा गर्न चाहन्छु । जति बेला विज्ञहरू सम्भव छैन भन्दै थिए, तपाईंले म एक वर्षभित्र लोडसेडिङ अन्त गर्छु भन्दै हुनुहुन्थ्यो । जानिफकारहरू हुँदैन, सकिँदैन भन्दै थिए । तपाईं भन्दै हुनुहुन्थ्यो, हो सामान्य अवस्थामा हुँदैन त्यसैले असामान्य अवस्थामा नै गर्ने हो । करिब करिब ९ महिना भयो तपाईं प्रधानमन्त्रीको कुर्सीमा बस्नु भएको १ वर्ष हुनलाई जम्मा तीन महिना बाँकी छ, देश लोडसेडिङ मुक्त हुने भयो त ?
केपी ओली: बेसिकल्ली मुक्त हुन्छ, २ वर्षभित्र पूर्ण रूपमा मुक्त हुन्छ । एक वर्ष भित्र बेसिकल्ली मुक्त हुन्छ । तामाकोशीको आउन बाँकी छ । भारतसँग पनि ३०० मेगावाट थप लिएका छौँ र भारतसँग ५००–६०० मेगावाट जति लिन्छौँ । हामीसँग ५०० मेगावाट जति विन्टर सिजनमा, ड्राई सिजनमा या त्यो भन्दा अलिकति बढी उत्पादन होला । यस वर्षबाट हामीले कतिपय आयोजनाहरू पूरा पनि गर्दैछौँ । हाम्रो पूरा डिमाण्ड १४०० मेगावाट जति छ र १००० मेगावाटको आसपासमा हामी विद्युत दिन सक्छौँ भने पनि आधारभूत रूपमा लोडसेडिङ अन्त हुने स्थिति तर्फ हामी जाँदै छौँ । अब यसलाई मैले एउटा कुरा भनिरहनु उचित हुँदैन । यस अभियानलाई असफल पार्ने प्रयासहरू गम्भीर रूपमा भए । तर पनि हामीले विद्युत उत्पादन र नेपालमा त कसैले विद्युत दियो भने पनि ट्रान्समिसन लाइन छैन, त्यो विद्युत नै ल्याउनै सकिँदैन र लानै सकिँदैन । जहाँ उत्पादन हुन्छ, ति उत्पादन भएका ठाउँबाट पनि विद्युत ल्याउन ट्रान्समिसन लाइन नै छैन । नेपालको भद्रगोलको त अर्कै कहानी छ । त्यसलाई हामीले विस्तृत र परिपूर्ण ढङ्गले यसको समग्र योजनाका साथ देश बनाउने काम – यस अन्तर्गत यो पनि पर्छ ।

हाम्रो कथा: अर्को एउटा तपाईंले बाँडेको सपना चाहिँ जति बेला नेपालीहरू भुसबाट चुलो बाल्दै थिए, दाउराबाट चुलो बाल्दै थिए, एक सिलिण्डर ग्यास घरमा लैजानको लागि लुछाचुँडी गर्दै थिए, हारालुस गर्दै थिए, लट्ठी खाँदै थिए, त्यति बेला तपाईं यो ग्यासका सिलिण्डर गए अब घरघरमा ग्यासको पाइप लैजाने हो भन्दै हुनुहुन्थ्यो । जनता सकसमा भएको बेला त्यस्तो सपना चाहिँ किन बाँड्नु भएको हो ?
केपी ओली: एउटा अनिकाल परेको बेला, बच्चा बच्चीहरू खान नपाएर अत्यन्त छटपटाएको बेला एउटी आमाले के गरिछन् भन्दा – बाबु त अन्न खोज्न गइराखेका छन् कतैबाट ल्याउला – बच्चा बच्ची त मर्न लागे, भोकले छटपटाएका छन् – अनि आमाले एउटा लौरो चुलामा राखेर पाक्दै छ पख भन्दै थिईन, त्यसले एउटा आशा जगायो बच्चाबच्चीहरूमा खान त पाइने रहेछ भनेर । तिनीहरूले बाँच्ने सहारा भयो, त्यसपछि बाबुले कतैबाट खोजेर ल्याई पु¥याए र जीविका चल्यो । तपाईं कतैबाट कुनै भारी लिएर जाँदै हुनुहुन्छ भने यहाँ गन्तव्यमा पुग्छु भनेर पुग्नु भयो भने ठिक भयो, गन्तव्यमै पुगिएन भने कति बोक्ने । यति पर, यति पाइला, यति मिटर, यति किलोमिटर पर गन्तव्य छ भने पछि तपाईं अब म यति हिँडे र यति हिँड्न बाँकी छ भनेर पुग्नु हुन्छ । कहाँ हो भनेर थाहा छैन भने किन बोकिरहने । पु¥याउनु कहिँ छैन, पुग्नु कहिँ छैन, पुग्ने सम्भावना छैन भने बोक्ने किन ? भारी किन बोक्ने, कष्ट किन सहने । त्यसपछि तपाईंले त्यसलाई फ्याँकी दिनु हुन्छ । असाधारण ढंगले, अत्यन्तै अमानवीय, असह्यै स्थितिमा हामी प¥यौँ । हाम्रा आवागमन, यातायात, परिवहन सबै ठप्प भए । हामी दाउराबाट, मट्टितेल–ग्यास तिर भर्खर लागेका थियौँ, त्यो पनि सहरमा । सहरको जीवन महेन्द्र मल्लको समय जस्तो दाउरा बालेर धुवाँ आयो कि आएन भनेर हेर्ने समय रहेन । अबको समय ग्यासको समयतिर गयो । तर अचानक हामीसँग चुला छैनन्, हामीसँग दाउरा पनि छैन, हाम्रो त्यो सभ्यता हाम्रा घर पनि त्यो अनुकूल छैन, अरु कुनै वैकल्पिक व्यवस्था पनि छैन, विद्युत पर्याप्त छैन । नखाइ पनि हुँदैन, खानलाई पकाउनु प¥यो, मान्छेले काँचो खान हजारौँ वर्ष पहिले देखि नै छोडिसक्यो, पकाएर खान जानेकै धेरै भइसक्यो । पकाउन ग्यास छैन । त्यस्तो बेला मैले भनेको हुँ हामी धेरै परनिर्भर भयौँ । यो कष्ट हामीलाई किन प¥यो आज । परनिर्भरताले त हो । के यो परनिर्भरता अनिवार्य छ ? के हामी आफै प्रबन्ध गर्न सक्दैनौँ ? फोहोर व्यवस्थापनबाट हामी ग्यास निकाल्न सक्छौँ । बायोग्यासबाट निकाल्न सक्छौँ । हामीसँग भएको प्राकृतिक ग्यासबाट हामी निकाल्न सक्छौँ । अर्को, हामीले अरु विभिन्न ढंगले पनि प्रयोग गर्न सक्छौँ ग्यासको कुरा । अर्को बिजुलीबाट पनि हामीले ग्यासलाई प्रतिस्थापन गर्न सक्छौँ । हामीसँग सोलार पनि हाम्रो हो, विण्ड पनि हाम्रो हो ।

हाम्रो कथा: मान्छेहरूले चुलो बाल्न नपाएको बेलामा, ग्यास नभएको बेलामा, मट्टितेल नभएको बेलामा जसोतसो मिलेर काम चलाऔँ, जसोतसो पु¥याऔँ भन्नु पर्ने हो कि अथवा त्यो भन्दा झन ठूलो सपना देखाइदिने हो ?
केपी ओली: मैले के भनेको छु भन्दा अहिले हामीलाई कष्ट छ, हामीले दुःख पाएका छौँ, हामीले ग्यास बाल्न पाएका छैनौँ । मैले भनेको छु, पाउरोटी नपाउने अवस्था भयो, पाउरोटी पनि कहिँ त पकाउनु प¥यो – बिस्कुट नपाउने अवस्था भयो – तातो पानी तताउन नपाइने अवस्था भयो – चिया खान नपाइने अवस्था भयो – कस्तो हाहाकारको अवस्थामा हामी पुग्यौँ । आज हामी ज्यादै दुःखदायी, कष्टकर अवस्थामा छौँ । यसको सामना त हामीले गर्नै प¥यो । कुनै हिसाबले त गर्नै प¥यो । हामीले यसको सामना गरौँ । तर अब ग्यासका सिलिण्डर, यो विदेशी सिलिण्डरहरू बोकेर कुद्ने, यो अवधिलाई हामीले समाप्त पार्नु पर्छ र चुलामा ग्यासका पाइपहरू पु¥याउने प्रबन्ध गर्नु पर्छ । अलिक समय हामीले पर्खनु त पर्छ । तर हामीले त्यो गर्न सक्छौँ । 

हाम्रो कथा: यसमा केही काम अगाडि बढेको छ ?
केपी ओली: छ । काठमाडौँमा अगाडि बढेको छ, अरु धेरै ठाउँमा अगाडि बढेको छ । हामीले ग्यासको अन्वेषणदेखि लिएर काठमाडौँ, भक्तपुर, ललितपुर, विराटनगर र अरु ठाउँहरूका फोहोर व्यवस्थापनबाट कति गर्न सक्छौँ, बायो ग्यासबाट कति गर्न सक्छौँ, अनेक वैकल्पिक ऊर्जाका व्यवस्थाहरू हामीले गरिराखेका छौँ, गर्दै गएका छौँ ।

हाम्रो कथा: यो सपना तपाईं आफैले देख्नु भएको हो कि, कसैले सुझाएको हो ?
केपी ओली: मैले आफैले हो । यो धेरै खोज अनुसन्धान गर्नु पर्ने विषय होइन । अमेरिका, चीनमा कतै सिलिण्डर देख्नु भएको छ ? त्यहाँ ग्यास त पाइपबाटै चुलामा पु¥याएका छन्, सिलिण्डर त बोकेर हिँडेको हुँदैन । अस्ति एउटा लोक गीत पाराले बनाएका रहेछन् – हामी पनि को भन्दा के कम भन्ने गीत बनाएछन् । अनि सिलिण्डरको समय गयो भन्दा रित्तो सिलिण्डरलाई लात्ताले हिर्काउर गुड्काएर देखाएका थिए । मलाई एकैचोटि धेरैवटा काम गर्नु प¥यो, मैले अलिकति काम गर्ने बित्तिकै मलाई हटाउने प्रयासहरू सुरु भए । हुन त पहिलेदेखि मेरो नेतृत्वको सरकार बन्न नदिने प्रयास पनि भएका थिए, बनेपछि पनि एक महिनामै हटाउँछु र तीन महिना पनि कट्न दिन्न भन्ने पनि थिए । त्यस्ता परिस्थितिमा मैले एकैचोटि धेरै कामहरू गर्नु प¥यो ।

हाम्रो कथा: सपनाहरू पनि धेरै देख्नु भयो ?
केपी ओली: बाटो त हामीलाई चाहिन्छ । नेपालीहरूले रेल कुदाउनु हुँदैन र । अनि एउटा मुलुक बेस्ठित हुनु पर्ने, एउटा मुलुकमा निर्भर हुनु पर्ने, एउटा मुलुकले नाकाबन्दी गरिदियो भने भोकै मर्नु पर्ने, अर्कोतिर बाटो बनाउन नहुने, खोल्न नहुने, अर्कातिरबाट हाम्रो अन्तर्राष्ट्रिय पहुँच हुन नपर्ने, विश्वसँग हाम्रो सम्पर्क सम्बन्ध हुनु नपर्ने त्यस्तो केही छ र ? त्यो पनि त हामीले काम गर्नु प¥यो । यी सबै कामहरू हामीले एकैचोटि गर्नुप¥यो ।

हाम्रो कथा: तपाईंले अर्को देखेको सपना चाहिँ तपाईंले अब हामी प्रशान्त महासागरमा, हिन्द महासागरमा आफ्नै पानीजहाज चालाउने हो भन्नु भयो, खुब उडाए तपाईंलाई, तपाईंले एक ठाउँमा भाषणमा त भन्नुभयो – मान्छेहरूले कागजको पानीजहाज बनाएर व्यङ्ग्य गरे त्यो पनि मैले थाहा पाएको छु भनेर । खुब उडाए है तपाईंलाई ?
केपी ओली: महाभारत युद्धको समाप्तीपछि एउटा यज्ञमा, एकजना विद्वानले, दार्शनिकले तथ्यपूर्ण कुरा गरेको थियोे – तर प्रचलित मूल्य मान्यता अनुसार भएन भनेर अन्धविश्वासी किताब पढेका विद्वानहरूले यज्ञमा किच्याएर मारे, ढुंगाले हानेर । हामी त्यो जमाना पार गरेर आएका हौँ । किताब पढेका ज्ञान नभएका खतरनाक तत्वहरू, जो आफूलाई विद्वान ठान्छन्, किताब पढेको छ तर ज्ञान चाहिँ छैन – त्यस्तो खतरनाक तत्वहरूको फेलामा परिन्छ ।

हाम्रो कथा: तपाईं त्यस्तै विद्वानहरूको फेलामा पर्नु भयो ?
केपी ओली: त्यो कुरा तिनीहरूको आत्मसन्तुष्टी हो । उनीहरू के सोच्छन् भने सिध्याएर छोडिदिएँ आजै भन्छन् । तर त्यो उनीहरूको भ्रम हो, आत्मसन्तुष्टीका लागि । सिधिएको कोही पनि हुँदैन ।

हाम्रो कथा: हामी जस्तो सोसाइटीमा बाँचेका छौँ, जस्तो कथा छ जस्तो व्यथा छ, त्यस्तो समयमा तपाईंले हिन्द महासागर र प्रशान्त महासागरमा पानी जहाज सपना किन देख्नु पथ्र्यो मान्छेको प्रश्न त यस्तो पनि छ नि ?
केपी ओली: यो धर्ती हाम्रो हो । यस धर्तीमा सक्नेले उहीले मेरो यति यति हो भनेर कब्जा गरे, त्यो कब्जा भइसकेर पनि धर्ती छँदैछ । समुद्रहरू छँदै छन् । ती समुद्रहरूलाई साझा समुद्रको रूपमा प्रयोग गर्न सक्छौँ । र समुद्रसम्मको आवागमन गर्ने, बन्दरगाह प्रयोग गर्ने, बन्दरगाह प्रयोग गर्ने सम्बन्धी आवागमनको ट्रान्जिट ट्रिटि भनिन्छ । र त्यहाँसम्म पुग्ने ट्रान्सपोर्ट ट्रिटि भनिन्छ । ट्रान्सपोर्ट र ट्रान्जिट ट्रिटिहरू हामीले पहिले भारतसँग गरेका थियौँ । किन मैले विशाखापटनमको ठूलो राम्रो, ठूला जहाज पनि आउन सक्ने, फराकिलो बन्दरगाह, त्यो पोर्ट पनि नेपाललाई चाहिन्छ भनेँ । कलकत्ताको हल्दिया सानो जहाज मात्रै चल्ने, पातलो अलि छिपछिपे पानी मात्रै भएको, ठूला जहाजहरू आउन नसक्ने त्यस्तो थियो । बंगलादेशसम्म हाम्रो आवागमन भएपछि चिट्टगाउँबाट पनि लिन सक्छौँ । अरु पनि ठाउँहरू लिन सक्छौँ हामी । चीनसँग हामीले पारवहन र आवागमन सम्बन्धी समझौताहरू ग¥यौँ । जसबाट अब हामी बन्दरगाहसम्म पुग्न, प्रशान्त महासागरसम्म पुग्न सक्छौँ । भूपरिवेष्ठित देशहरूले पनि पानीजहाजहरू लिएका छन् र चलाएका छन् । मंगोलिया हामीजस्तो उर्वर भूभाग होइन । उसले समुद्रको कत्रो उपयोग गरेको छ । उसका २६५ वटा पानी जहाजहरू छन् । आफ्नो काम त गर्छ, तर उसलाई २६५ वटा पानीजहाजको आवश्यकता छैन । उसले त्यसलाई भाडामा प्रयोग गरेको छ र त्यसबाट नाफा पनि कमाएका छन् । समुद्र सबैको हो, त्यसमा जहाज चलाएर जसले पनि कमाउन सक्छ ।

हाम्रो कथा: भूकम्पले थिलोथिलो भएको बेला मान्छेहरूले दुई छाक गाँस पाएका थिएनन्, बास पाएका थिएनन्, नाकाबन्दीको चपेटामा हामी थियौँ, त्यस्तो बेलामा सपनाहरूको पनि प्राथमिकता हुन्छ होला नि, त्यस्तो बेला त्यस्तो सपना चाहिँ किन देख्नु भयो ?
केपी ओली: त्यति बेला हामीलाई जे आइप¥यो, कतै भूकम्प, कतै नाकाबन्दी – जसका निम्ति अब नेपाललाई कसरी अगाडि बढाउने, हाम्रो भविष्य कस्तो हुने ? कुनै बाँझो बारी हेरेर त्यो बाँझो कै गीत गाएर बस्नुको केही अर्थ हुँदैन । यस बारीलाई उर्वर बनाउँछु, यस बारीमा यति फलाउँछु भन्ने सपना देखिएन भने बाँझोको गीत मात्रै गाएर केही पनि हुँदैन । 

हाम्रो कथा: केही कुरा अघि बढ्यो त पानीजहाजको विषयमा ?
केपी ओली: मैले केही अध्ययन गर्न लगाएको छु पानीजहाजको सम्बन्धमा । मैले कुरा गरिसकेपछि त्यस सम्बन्धमा केही पानी जहाज कम्पनीका मानिसहरू पनि कुरा गर्न आएका थिए । उनीहरू काम गर्न तयार पनि छन् । तर मैले भ्याउने अवस्था रहेन अहिले ।

हाम्रो कथा: यी त भए तपाईंका केही चर्चित सपनाहरू, यो भन्दा बाहेक नवलपरासीमा फलाम खानी, केरुङ–काठमाडौँ–लुम्बिनी–पोखरा रेलमार्ग दुई वर्षभित्र, आफ्नै पेट्रोल खानी, तपाईंले भन्नु भएको थियो, भारतको पेट्रोल पनि नल्याउने, चाइनाको पेट्रोल पनि नल्याउने, दुई वर्षभित्र आफ्नै पेट्रोल बनाउने भन्नु भएको थियो, यी सबै सपनाहरूमा कसरी काम भइराखेको छ ?
केपी ओली: हामीले दैलेखमा र अरु केही ठाउँहरूमा पेट्रोलसम्बन्धी अन्वेषणका कामहरू गरेका छौँ । पेट्रोल हामीसँग छ भन्ने कुरा थाहा भएको छ । त्यो पेट्रोल हामी उत्खनन गर्न सक्छौँ र प्रयोग पनि गर्न सक्छौँ । हामीसँग ग्यास छ भन्ने थाहा भएको छ । त्यो अलिकति पर्याप्त छैन । तर पर्याप्त नभए पनि हामी फोहोरमैलाबाट उत्पादन गर्न सक्छौँ र लगभग हाम्रो ग्यास पर्याप्त हुने स्थितिमा हामी पु¥याउन सक्छौँ । हामी आवश्यकता पर्दा विभिन्न ठाउँबाट ग्यासको पाइपबाट ल्याउन सक्छौँ र त्यसको स्थायी व्यवस्था पनि गर्न सक्छौँ । अर्को कुरा केही वर्षभित्र ग्यासमा बढ्ता जोड नदिने, हाम्रो ग्यास हामीलाई काफी हुन्छ, हामीसँग विद्युत उत्पादनका सम्भावना साह्रै धेरै छन् । दुईचार वर्षभित्र हामी विजुली यति उत्पादन गर्न सक्छौँ जसले गर्दा ग्यास बालिरहनु पनि पर्दैन । विद्युतबाट नै हामी काम चलाउन सक्छौँ । धेरै चिजहरू हामी गर्न सक्छौँ र हामी इलेक्ट्रिक भेहिकल्समा पनि जान सक्छौँ । जसले गर्दा हामीले पेट्रोलियमको प्रयोग कम गर्न सक्छौँ । हाम्रो आफ्नै पेट्रोलियम प्रडक्ट छ जसमा हामीले भोलि निर्यात गर्ने स्थितिमा पुगौँला । भोलि हाम्रो स्थिति कस्तो हुन्छ हामी सबै त्यसमा अध्ययन गर्दैछौँ । हामीले यूरेनियम पनि पत्ता लगाएका छौँ र यूरेनियमको सुरक्षाका लागि सेनालाई जिम्मा दिइएको छ । हामीसँग यस्ता खानीहरू छन्, जसलाई हामीले केही अन्वेषण गरेका छौँ । जस्तो फलाम खानी । हामीसँग दशौँ खर्वभन्दा बढी त्यही नवलपरासीको एउटा पहाडबाट फलाम निस्किन्छ । दैलेख, सुर्खेतबाट पेट्रोलियम पदार्थ निस्किन्छ । काठमाडौँ र अरु केही ठाउँहरूबाट ग्यास निस्किन्छ । हामी विद्युत उत्पादन गर्न सक्छौँ – जियोथर्मल – अरुले नेपालमा चर्चा गरेको थिएन यसलाई मैले नै चर्चा गरेको हुँ । जियोथर्मलबाट विद्युत निकाल्न अध्ययन भइराखेको छ । हाम्रो रेल काठमाडौँबाट सांघाई वा हेनानसम्म जाने र त्यहाँबाट हाम्रो पानीजहाजमा हाम्रो सामानहरू पु¥याउने, त्यसले अन्यत्र पु¥याउने । त्यहाँबाट सामान काठमाडौँ ल्याइपु¥याउने । त्यस्तो गर्न मिल्दैन र ?, पाप लाग्छ ? । यहाँबाट हाम्रो सामान रेलमार्ग हुँदै विशाखापटनम जान हुँदैन र ? । रक्सौलसम्म त भारतको रेल छ त, यहाँदेखि त्यहाँसम्म रेलमार्ग बनाउनु हुँदैन र  ?। काठमाडौँ शहरभित्र जहाँ यातायात पुग्न सक्दैनन् चारैतिर केबलकार राखेर यातायात सेवा दिन सक्दैनौँ र ? । जनताले बुझ्छन्, सर्वसाधारणले बुझ्छन्, तर केही आग्रहयुक्त मान्छेहरूले नबुझेको स्वाँग पारेर भ्रम सिर्जना गर्छन् । तर कुरा के हो भने उनीहरूकै जिन्दगीमा उनीहरूले नै लेखेका लेखहरू पल्टाएर १० वर्षपछि यो तिमीहरूले के लेखेका थियौ भन्यो भने तिनीहरूले के जवाफ देलान् ? 

हाम्रो कथा: लेखको कुरा गरिहाल्नु भयो, तपाईंले बाँडेका सपनाहरू देखाएर केही पत्रिपत्रिकाहरूले, विभिन्न न्यूजहरू लेखे, कसैले त सम्पादकीय नै लेखे, तपाईंले बाँडेका सपना जोडेर, तपाईंले खाने औषधिसम्मलाई पनि जोडेर, तपाईंको मानसिक स्थितिको पनि प्रश्न गरे, यसमा तपाईंलाई केही भन्नु छ ?
केपी ओली: मेरो विचारमा मान्छेले जब बोल्छ, नबोल्दासम्म ऊ के हो, कस्तो हो, कुन स्तरको हो थाहा पाउन गाह्रो हुन्छ । बोलेपछि परिचय यसै हुन्छ । आ–आफ्ना परिचय मान्छेले दिएका छन् । हतार किन गर्ने ।

हाम्रो कथा: सबै हिसाबकिताब राख्नु भएको छ ?
केपी ओली: त्यसको जरुरत नै पर्दैन । त्यस हिसाबले उनीहरूले आफै प्रश्न गर्छन् ।

हाम्रो कथा: अस्ति संसदमा तपाईंले भन्नुभयो, मैले खाली बोलेँ मात्रै भन्छन्, तिमीहरूले देखाउलाउ, दुई–चार महिनामा त देखिहालिन्छ हालेछ, तपाईंले पख्लास्, खालास्, देख्लास् भन्नु भएको हो ?
केपी ओली: होइन । मैले सहयोग गर्छु भनेको छु । तर मैले चिनेको छु, गर्ने खालका होइनन् । मैले जे गर्न खोजेँ बोलेको मात्रै छैन, गरेर देखाएको छु । मैले एउटा देशमाथिको निर्भरता – यसका धेरै पाटाहरू छन्, कृषि आतमनिर्भरता, खाद्यान्नमा आत्मनिर्भरता, कृषिको आधुनिकीकरण, कृषिको व्यवसायिकीकरण, कृषिआधारित उद्योगको स्थापना, तलदेखि–माइक्रोफाइनान्स, सहकारीहरूबाट, गाउँगाउँबाट रोजगारीका अवसरहरू सिर्जना गर्ने, एउटा उद्योग स्थापना ग¥यो, पाँचसय मान्छेले काम पाउला अथवा एकहजारले पाउला, वा दुईसयले पाउला – त्यसले के के न परिवर्तन हुन्छ भन्ने होइन, त्यसले केही न केही रेभिन्यु वाला काम गर्ला, करमा अलिकति मद्दत गर्ला । तर सिङ्गै उठाउने हो भने तलदेखि नै उठाउनु पर्छ । नेपालमा एउटा के देखियो भने ठूला ठूला अर्थशास्त्री भन्दा साधारणहरूले नै बढी काम गरेको देखियो । केही केही विद्वानहरूको ताल कस्तो देखियो भने तिनका मुर्ख कुराहरू भजाउनको निम्ति मेरो सर्टिफिकेट हेर न भन्दै सर्टिफिकेट हातमा बोकेर देखाउँदै हिँड्छन् । मैले यस्तो यस्तो विषयमा यो यो गरेको छु । फलानो विश्वविद्यालयबाट यो, फलानो विश्वविद्यालयबाट यो, यूरोपबाट यो, अमेरिकाबाट यो, जापानबाट यो, हेर सर्टिफिकेट । मेरो विद्वतामा शंका गर्ने भनेर मुर्ख कुरा गर्छन् । सर्टिफिकेट देखाउन पर्दैन कुरा चाहिँ मुर्ख नगरेदेखि ।

हाम्रो कथा: अब म तपाईंको सपना मात्रै होइन, यो बीचमा तपाईंले लिएका अडान, तपाईंले गरेका सन्धि सम्झौताहरू पनि निकै चर्चामा रहे, धेरै मानिसहरूले राष्ट्रियताको मामिलामा तपाईंले भारतसित लिएको अडानको प्रशंसा गर्छन्, मैले बुझ्न नसकेको चाहिँ तपाईंले भारतसँग लिएको अडान चाहिं के हो ? 
केपी ओली: खास केही होइन, नेपालको राष्ट्रियताको कुरा गरेको हो ।  नेपाल एउटा सार्वभौमसत्ता देश हो । यसको सार्वभौमसत्तालाई स्वीकार्नु प¥यो, मान्नु प¥यो । यो एउटा स्वतन्त्र देश हो, यसका आफ्ना मामिलामा निर्णय गर्ने अधिकार हुन्छ । त्यो कुरा स्वीकार्नु प¥यो, मान्नु प¥यो । हामी कसैको अहित चाहँदैनौँ । अरुको अहित नगरिकन आफ्नो हित, स्वाभिमानको पक्षमा अडिग छु । हाम्रो स्वाभिमानसँग कसैले चित्त दुखाउनु मनासिब होइन । नेपाल राष्ट्रको राष्ट्रिय स्वाभिमान हुन्छ । त्यत्ति भनेको हो । हामी आदेश तामेल गर्ने बसेका होइनौँ । हामी मित्रताको हिसाबले पारस्परिक लाभ र पारस्परिक सम्मानको हिसाबले चल्छौँ । छिमेकीहरूको सम्बन्ध त्यसैगरी चल्छ । 

हाम्रो कथा: तपाईंले भारतलाईसँग यही भन्नु भयो ?
केपी ओली: हो यही भनेँ । हामी आदेश तामेली गर्न बसेका होइनौँ ।

हाम्रो कथा: तपाईंले यसै भन्नु भयो ?
केपी ओली: किन नभन्नु, यो त पब्लिकली गरेको छु । मैले कुरा एक ठाउँमा एउटा र अर्को ठाउँमा अर्को गर्ने गरेको छैन । 

हाम्रो कथा: तपाईंलाई के आदेश दिएको थियो र, तपाईंले मान्दिन भन्नु भयो ?
केपी ओली: दिन पाइँदैन भनेको हो । दिन मिल्दैन कसैले ।

हाम्रो कथा: त्यो चाहिँ तपाईं मात्रै भन्नु हुन्छ कि अधिकांश हाम्रा नेताहरूले भन्छन् ?
केपी ओली: सुनिराख्नु भएकै छ, देख्नु भएकै छ ।

हाम्रो कथा: अनि चीनसँग पारवहन सन्धि कति गाह्रो भयो, नगर भने कि कसैले, अथवा कसैले चाँडै गर्न आउ भने कि ?
केपी ओली: मसँग त्यति कसैले भन्दैनन् र भनेन । मैले नेपालका लागि काम गर्ने हो, नेपालको हितका लागि काम गर्ने हो, त्यो मैले गर्छु ।

हाम्रो कथा: तपाईंले जति पनि सपना देख्नु भयो, के नेपालका कुनै पनि प्रधानमन्त्रीलाई सपना देख्न दिन्छन् ?
केपी ओली: रोक्न सक्दैनन् । हामीलाई सपना देख्न कसैको इजाजत चाहिने पनि होइन । सपना देख्न पाइन्न भन्ने बन्देज पनि हामी मान्दैनौँ ।

हाम्रो कथा: नदिने प्रयत्न चाहिँ गर्छन् कि गर्दैनन् ?
केपी ओली: हाल भइराखेको घटनाक्रम देख्नु भएकै छ, छर्लङ्गै छैन र । 

हाम्रो कथा: ब जाँदाजाँदै तपाईंले ९ महिना प्रधानमन्त्री भएर चलाउँदा तपाईंलाई साह्रै खट्किएको यो चाहिँ मैले गर्न पाइन भन्ने कुनै चिज छ ?
केपी ओली: एउटा भन्छन् नि वेभलेन्थ भनेर । मेरो वेभलेन्थ, मेरो स्पीड अरुसँग मिलेन । म अलिकति बढी स्पीडमा चल्न खोज्ने । मैले बडो अप्ठ्यारो परिस्थितिमा जिम्मा लिएँ । भूकम्पले क्षतविक्षत बनाएको देश । तराई बलेको अवस्था । नाकाबन्दीले जर्जर बनाएको स्थिति । त्यस्तो अवस्थामा म प्रधानमन्त्री भएँ । हुन नदिने कोशिस भयो, भइसकेपछि तत्कालबाट हटाउने कोशिस सुरु भयो । मैले चीनसँग पारवहन र आवागमन सम्बन्धी सम्झौता गरेपछि त्यहाँबाट झन् तीब्रता दिइयो हटाउने अभियानलाई । म चीनमा नै हुँदा यहाँ उधम सुरु भइसकेको थियो । मैले थाहा पाएको थिएँ । फर्केर आएपछि झन् धेरै थाहा भयो । म सर्कसमा डोरीमा हिँड्छन् नै बिल्कुल त्यस्तै डोरीमा हिँडियो, सावधानी साथ । डोरी यस्तो खतरनाक चिज हो, त्यसमा हिँड्नेको गति खल्बलियो वा त्यसलाई चलाइदिएपछि गाह्रो हुन्छ । तर जुन पोलमा त्यो डोरी बाँधिएको थियो त्यो पोल गतिलो थिएन, मक्किएको थियो । सबैले हेरे, कहाँ हान्यो भने यो भत्किन्छ मक्काएको पोल हो सबभन्दा सजिलो आक्रमण गर्न । त्यस्तै भयो ।

हाम्रो कथा: अहिले त्यही पोललाई डोरी बनाए होइन ?
केपी ओली: त्यसैमा फेरि अलि जोडजाड पोरेर, त्यसैलाई अलि डोरीको पोल बनाएका छन् अहिले । तर तपाईंले अघि भन्नु भयो नि म हेरौँला भनेर, अलिकति तिनीहरूका ठूला गफलाई मैले भनेको हुँ । हामी पनि यहीँ छौँ हेरौँ न त । तर फेरि अरु जस्तो होइन हामी चाहिँ सहयोग गर्छौँ है, रचनात्मक योगदान सहितको सहयोग हुन्छ । देश विकासका काममा हाम्रो साथ रहन्छ ।

हाम्रो कथा: जाँदाजाँदै तपाईंले देखेका सपनाहरूको निगरानी गर्नु हुन्छ ?
केपी ओली: अवश्यै । नेपालीमा जनतामा, खासगरी नयाँ पिँढीमा । आउँदो पिँढीका लागि राम्रो प्रबन्ध चाहिएको हो । समृद्ध नेपालको चाहिएको हो, आधुनिक नेपाल चाहिएको हो, विकसित नेपाल चाहिएको हो – आउँदो पिँढीका लागि । त्यो पिँढी सजग छ ।

हाम्रो कथा: प्रधानमन्त्रीज्यू समयको लागि धेरै धेरै धन्यवाद ।
केपी ओली: धन्यवाद ।

(केपी शर्मा ओली प्रधानमन्त्री भएका वखत देखेका सपनाहरुलाई लिएर हाम्रो कथा डट कमका लागि मनोज पाण्डेले यो अन्र्तवार्ता लिएका हुन् । २०७३ साउन १५ गते प्रधानमन्त्रीको सरकारी निवासमा गरिएको यसै कुराकानीमा आधारित रहेर हाम्रो कथा डट कमले– ‘मैले किन सपना देखाएँ ?’ ‘आदेश तामेली हुन्न’ ‘उडाइएका सपना’, ‘म बनाउँछु मेरो देश’ शीर्षकमा ‘सपना श्रृंखला’को मा सुरुमा प्रसारित ग¥यो । एउटा प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले देखेका सपनालाई आम नागरिकले समेत निगरानी गर्न सकून ताकी सपना फेरि मूर्छित हुनबाट जोगियोस् भन्ने उद्देश्यले हाम्रो कथा डटममा प्रसारित भिडियो अन्र्तवार्तालाई सकेसम्म कम सम्पादन गरी यहाँ प्रस्तुत गरिएको छ । हप्ता दिन भित्रै हजारौं दर्शकले युट्युवमा हेरेको यो अन्र्तवार्ता नयाँ प्रधानमन्त्रीको नियुक्ति हुनुभन्दा एकदिन अगाडि हाम्रो कथा डट कमले प्रसारण गरेको थियो । यसलाई तलको लिङ्कमा गएर हेर्न पनि सकिन्छ ।)

https://www.youtube.com/watch?v=aUeEI7EfzZ8