NP EN

दशौँ राष्ट्रिय महाधिवेशन - प्रतिनिधि छनौटबारे पार्टी अध्यक्षको भिडियो सन्देश

२६ कार्तिक २०७८ ।

देशभित्र तथा प्रवासमा रहनुभएका सम्पूर्ण प्रिय कमरेडहरु
र दिदी बहिनी तथा दाजुभाइहरु !

२०७४ सालको आम निर्वाचनमा नेपाली दिदीबहिनी तथा दाजुभाइहरु माझ हामीले एउटा सपना साट्यौं: एमालेको परिकल्पना– सुखी नेपाली, समृद्ध नेपालको स्थापना !

त्यही सपनालाई साकार पार्न झण्डै साढे तीन बर्ष अघि पार्टी एकीकरण गरेका थियौं । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाँक्षालाई हाम्रो सपनाको सारको रुपमा अभिव्यक्त गरेका थियौं । त्यस एकताबाट राजनीतिक स्थिरता कायम गर्ने र राजनीतिक स्थिरता मार्फत सुदृढ लोकतन्त्रको अपेक्षा गरेका थियौं ।

संविधानमा कवुल गरिएका मौलिक हकलाई संविधानको पानामा कैद गर्न हैन, व्यवहारमा उतार्न; 

लोकतन्त्रलाई राजनीतिक अधिकारमा सीमित गर्ने औपचारिकतन्त्रबाट, सबैलाई अधिकार, अवसर, समानता, सुरक्षा र सम्मानको सुनिश्चिता गर्ने ‘परिपूर्ण लोकतन्त्र’मा रुपान्तरण गर्नका लागि आवश्यक परिवर्तनकारी शक्ति निर्माण गर्न; 

२०७५ जेठ ३ गते जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको सन्दर्भ पारेर कम्युनिष्ट आन्दोलनको दुई मूलधारबीच एकीकरण गरेका थियौं ।

तर हाम्रो अपेक्षा विपरीत, इतिहासको दुःखद् अध्याय दोहरियो । दोश्रो राष्ट्रिय महाधिवेशनपछि नेतृत्वमा पुगेका दक्षिणपन्थी अवसरवादीहरुले झैं, एकता प्रकृयापछि पार्टीको शीर्ष तह– सचिवालयमा पुगेका अराजक दक्षिणपन्थी अवसरवादीहरूद्वारा एकीकरणलाई पूर्णता दिने हैन, पार्टी ‘कब्जा’ गर्ने र पार्टीलाई गलत दिशामा धकेल्ने दुष्प्रयास आरम्भ गरियो । 

 



महान लक्ष्य बोकेर, अनेकौं चुनौतीको सामना गर्दै निर्माण भएको हाम्रो पार्टी र आन्दोलनलाई समाप्त पार्ने षडयन्त्र शुरु भयो । पार्टीको संगठन निर्माण र परिचालन हैन, आप्mनो कुत्सित मनसाय पूरा गर्न संगठनात्मक अराजकतालाई तल्लो तहसम्म फैलाउने कोशिस भयो । आफ्नै पार्टी अध्यक्षको नेतृत्वमा रहेको सरकारलाई बद्नाम गर्ने र विस्थापित गर्ने जस्ता आपराधिक काम हाकाहाकी थालिए ।

एउटै निर्वाचन घोषणापत्रको आधारमा प्राप्त भएको जनताको अभूतपूर्व जनादेशलाई अर्को जनादेशको प्रतिक्षा समेत नगरी असंवैधानिक एवं अलोकतान्त्रिक परमादेशका माध्यमबाट जनताले अस्विकृत गरेको शक्तिलाई नै सत्ता सुम्पन्ने प्रतिगामी काम भयो ।

अनपेक्षित तर पीडादायी, ती सबै परिघटनाहरुलाई चिर्दै हाम्रो पार्टी नेकपा (एमाले) अहिले अगाडि बढिरहेको छ । करिब ३ बर्षसम्म निष्क्रिय र अस्तव्यस्त अवस्थामा रहेका पार्टी संगठनहरु जुर्मुराउँदै छन्, कमिटीहरुमा नयाँ जीवन सञ्चारित हुँदैछ । 

त्यस कठीन समयमा आत्मविश्वास र निष्ठाका साथ पार्टी र आन्दोलनको रक्षामा गाँउ/टोलदेखि नै निरन्तर लागि रहने सम्पूर्ण पार्टी कार्यकर्ता, सदस्य तथा शुभेच्छुकहरुलाई एकपटक फेरी धन्यवाद सहित आभार प्रकट गर्दछु । 

कमरेडहरु ! संघर्ष र स्वाभिमानको झण्डा बोकी, लोकतन्त्रको बहाली तथा सुखी जीवनको लागि समाजवादको आधार खडा गर्ने यस महान अभियानका क्रममा कैयौंले सहादत प्राप्त गर्नुभयो, हामी पटक–पटक लड्यौं, घाइते भयौं, तर फेरि उठ्यौं र धुलो टक्टकाउँदै अघि बढ्यौं । 

यो पार्टी सकियो, यसलाई सिध्याइयो भन्ने भ्रम पाल्ने वा त्यस्तो सपना देख्नेहरूलाई जवाफ दिँदै तपाईंहरूकै कठोर मिहेनतका कारण आज पार्टी अझ सुदृढ र गतिशील भएर अघि बढिरहेको छ । 

दक्षिणपन्थी, अराजक–अवसरवादीहरुका वितण्डालाई निस्फल पार्दै यस पार्टीले गत असोज १५ देखि १७ गते देशभरीका ६ हजार ३४७ प्रतिनिधिबीच पहिलो ऐतिहासिक बिधान महाधिवेशन भव्यताका साथ सम्पन्न गर्‍यो । उदाहरणीय ढंगले सर्वसम्मतीका साथ पारित पार्टीको नीति र विधानका आधारमा गत कात्तिक ६ गते देशभरी एकै दिन ६ हजार भन्दा बढी वडा तथा शाखा स्तरीय अधिवेशन गरेर पार्टीले आफ्नो आधारभूत तहलाई सुदृढ बनायो । कात्तिक ९ गते एकै दिन ७५३ पालिका तथा इलाका स्तरीय अधिवेशनहरू सम्पन्न भए । ती अधिवेशनहरु मार्फत झण्डै साढे ३ लाख कमरेडहरु पार्टीको आधारभूत तहका नेतृत्वमा निर्वाचित हुनु भएको छ ।

अहिले हामी यही मंसिर १० देखि १२ गतेसम्म आयोजना हुने हाम्रो पार्टीको ऐतिहासिक दशौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुटिरहेका छौं । यस महाधिवेशनले हामीले अघि बढाइआएको पार्टी निर्माण, विस्तार र एकता प्रकृयालाई नयाँ उचाई प्रदान गर्नेछ र हाम्रो प्रिय पार्टी नेकपा (एमाले) लाई राष्ट्रिय आकाँक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्नेछ ।

चितवनमा आयोजना हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनको लागि भोलि कात्तिक २७ गते देशभर एकैदिन १९ सयभन्दा बढी प्रतिनिधिहरुको चयन हुँदैछ । 

हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो । हामी लोकतन्त्रलाई प्रणालीको रूपमा मात्रै होइन, प्रक्रिया र पद्धतिको रूपमा पनि बुझ्दछौँ । तदनुसार नै व्यवहारमा पनि लोकतन्त्रको अभ्यास गर्दछौँ । हामी सबैलाई थाहै छ, लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारीवोध र अनुशासन सहितको अभ्यास हो र प्रतिस्पर्धा मात्रै होइन, समझदारी, अझ उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्चस्तरीय अभ्यास हो । दलहरूका बीचमा प्रतिस्पर्धा हुन्छ र त्यो स्वस्थ हुनुपर्छ । दलभित्रआपसी समझदारी सुदृढ एकताको आधार हो । 

तसर्थ, म संपूर्ण पार्टी सदस्यहरुलाई उच्च समझदारीका साथ आसन्न दशौं राष्ट्रिय महाधिवेशनका लागि आ–आफ्ना प्रतिनिधि छनौट गर्न हार्दिक आव्हान गर्दछु । 

दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता माथि निर्णायक विजय हासिल गरी जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न, महाधिवेशन प्रतिनिधि, आम पार्टी सदस्यहरुका साथै, दिदीबहिनी दाजुभाइहरुलाई मंसीर १० गते चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनको ऐतिहासिक उद्घाटन समारोहमा सहभागी हुन हार्दिक आमन्त्रण गर्दछु ।

धन्यवाद !


केपी शर्मा ओली
अध्यक्ष
नेकपा (एमाले)