NP EN

प्रधानमन्त्रीद्वारा योजना आयोगका पदाधिकारीलाई निर्देशन

११ साउन,(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १६औं आवधिक योजना बनेकाले समृद्ध नेपालका नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्ने बताउनुभएको छ । 
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूको आज आयोजित शपथ ग्रहण कार्यक्रममा निर्देशनात्मक मन्तव्य राख्नुहुँदै प्रधानमन्त्री ओलीले उक्त विचार व्यक्त गर्नुभएको हो । 
उत्पादन वृद्धि र मानवीय एवं भौतिक विकासलाई एकैसाथ अगाडि लानुपर्ने आवश्यकता रहेको बताउँदै प्रधानमन्त्री ओलीले आयोगका नवनियुक्त पदाधिकारीहरूलाई समन्वयात्मकरूपमा काम गर्न निर्देशन दिनुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मुलुकको मनोबल कमजोर भएको बेला १६ औं आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्नेछ। उत्पादन वृद्धि र मानवीय एवम् भौतिक विकासलाई एकैसाथ अगाडि लानुपर्नेछ। तपाईंहरुले समन्वयात्मक रूपमा काम गर्नुहोला।’

प्रधानमन्त्री ओलीले आज सार्वजनिक भएको मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको उल्लेख गर्दै यो समर्थन मिल्नु राम्रो कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो– हामीले अब गतिका साथ काम गरेर सबै नेपालीको क्षमता वृद्धि गर्नुपर्ने छ ।
नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई बधाई तथा  शुभकामना दिनुहुँदै प्रधानमन्त्रीले भन्नुभयो– तपाईंहरूको कार्यकाल देशको समग्र विकासको योजना कार्यान्वयनमा नमूनायोग्य बन्न सकोस् । नयाँ उचाइ हासिल हुन सकोस् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । 
यस्तै उपाध्यक्ष अधिकारीले अन्य सदस्यलाई शपथ गराउनु भएको थियो । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा अधिकारी र सदस्यहरूमा आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी अधिकारी पौडेल, जयबहादुर टण्डन  र गंगादत्त अवस्थीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।