NP EN

​प्रमसमक्ष तीन राज्यमन्त्रीद्वारा सपथ

१८ साउन(२०८१),काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री समक्ष तीन राज्यमन्त्रीले सपथ लिनुभएको हो । 
सपथ लिनुहुनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ हुनुहुन्छ । 
सपथ कार्यक्रममा उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारी सहभागी हुनुहुन्थ्यो । योसँगै २५ सदस्यीय  मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । 
प्रधानमन्त्रीद्वारा परिणाम आउने गरी काम गर्न निर्देशन
नवनियुक्त तीन राज्यमन्त्रीको सपथ ग्रहण समारोहमा बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीलाई सघाएर परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभयो । 
प्रधानमन्त्री ओलीले राज्यमन्त्रीको मुख्य काम सम्बन्धित मन्त्रीहरुलाई सहयोग गर्ने भएकाले रचनात्मक भई आफ्नो कार्यक्षेत्रको सदुपयोग गर्न सुझाव दिनुभयो । 
प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरुले पनि राज्यमन्त्रीलाई आवश्यक जिम्मेवारी दिने र परिणाम निकाल्ने विषयमा ध्यान दिन आग्रह गर्नुभयो । 
अहिलेको विषम परिस्थितिलाई अनुकूलस्थितितर्फ लैजानका लागि आफूहरु प्रयत्नरत रहेको बताउँदै प्रधानमन्त्री ओलीले नवनियुक्त राज्यमन्त्रीलाई गलत मान्छेहरुको सङ्गत र उनीहरुको प्रलोभनमा नपर्न सचेत गराउनुभयो ।
उहाँले राज्यमन्त्रीहरुले मन्त्रालयसँग सम्बन्धित सबै विषयमा विस्तृत अध्ययन गरेर सूचनाको भण्डारकका रुपमा रहन र  मन्त्रीहरुलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
यसैगरी प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारणले खतरा हुने भएकाले भण्डारणलाई अन्यत्र स्थानान्तरण गर्न पनि सम्बन्धित मन्त्री र राज्यमन्त्रीलाई  निर्देशन दिनुभयो ।