NP EN

एमाले भ्रष्टाचार अन्त्य गरी देश बनाउने अभियानमा

२३ चैत २०८०, स्याङजा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले  भ्रष्टाचार अन्त्य गरेर देश बनाउने अभियानमा लागिरहेको बताउनुभएको छ ।
आज नेकपा (एमालें) स्याङ्जा जिल्ला कमिटीको नवौं अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सुशासन र विकासको पक्षमा रहेको बताउनुुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– हामी भ्रष्टाचारको विरुद्धमा छौँ । सुशासन र विकासको पक्षमा छौँ । 
उहाँले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले भ्रष्टाचार गरेको सुइँको पाउने बित्तिकै हटाउने र कारबाही गर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारमा मुद्दा दायर भएपछि नेपाली कांग्रेस आत्तिएको बताउनुभयो । 
उहाँले भन्नुभयो– नेपाली कांग्रेसले मतिर फर्किएर धेरै पटक भनेको थियो, वाइडबडीको छानबिन गर, वाइडबडीका भ्रष्टहरूलाई कारबाही गर भनेर, चर्को चर्को स्वरमा कराउँथ्यो । अहिले अख्तियारले वाइडबडी जहाज खरीदमा भएको भ्रष्टाचारको मुद्दा अघि बढाएपछि के गर्यो भनेर कांग्रेस उफ्रिने उत्तेजित हुने, कराउने गर्न थालेको छ । 
आफूले कांग्रेसलाई वाइडबडीको छानबिन गराऊ र जेल जाऊ, अरू पनि छानबिन गराऊ जेल जाऊ भनेको स्मरण गराउँदै अध्यक्ष ओलीले प्रश्न गर्नुभयो– काँक्रो आफू चोर्ने र काँक्रोको बीउ अर्काको गालामा टाँस्ने ?
उद्घाटन समारोहमा पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायत नेताहरू अतितिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।