NP EN

​ देश ओरालो लाग्नबाट रोकिने छः अध्यक्ष ओली

२९ चैत २०८०, ताप्लेजुङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन गर्नुभयो । 
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ सत्ता समीकरणमा एमाले रहेकाले अब देशलाई ओरालो लाग्न नदिने बताउनुभयो । 
उहाँले एमालेको प्रधानमन्त्री र एमालेको एकल सरकार हुँदा जस्तो काम गर्न नसकिए पनि अहिलेको सरकारले देशलाई बर्बादीमा जानबाट भने जोगाउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले हिजो गठबन्धन सरकार हुँदा ठप्प भएका विकास निर्माणका काम अब फेरि अगाडि बढाइने बताउनुभयो । 
एमाले सरकारबाट हटेपछि विकास निर्माणका काम रोक्ने र राष्ट्रियतालाई कमजोर बनाउने काम भएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– हामीलाई सरकारबाट हटाउने जुन तिकडम, षडयन्त्र, जालझेल भयो, त्यो सबै कुरा यो देशलाई अगाडि बढ्न नदिने उद्देश्यका साथ भएको थियो, यो देशको राष्ट्रियतालाई कमजोर पार्ने उद्देश्यका साथ भएको थियो । 
उहाँले मिसन– २०८४ बाट एमालेलाई सुदृढ र निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो– राष्ट्रियतालाई बलियो बनाउन, विकास र समृद्धिको गति अघि बढाउन एमालेलाई शानदार बहुमतसहितको निर्णायक शक्तिका रूपमा अघि बढाउनुपर्छ ।  
एमालेले राष्ट्रियतालाई बलियो बनाउने, मिचिएको भूभागलाई देशको नक्सामा ल्याउने, कहिल्यै पनि नाकाबन्दी नलाग्ने अवस्था सिर्जना गरेको, नेपाललाई सार्वभौमसत्ता सम्पन्न मुलुकको रूपमा स्थापित गर्ने काम गरेको उहाँले स्मरण गराउनुभयो । 
अध्यक्ष ओलीले पार्टीका नेताकार्यकर्तालाई देशलाई शिरमा राखेर काम गर्न आग्रह गर्नुभयो । त्यसो गरियो भने मात्र मिसन– २०८४ सफल पार्न सकिने उहाँले बताउनुभयो । कुरा आदर्शका गर्ने तर आफूलाई फाइदा हुने बाहेक अरू काम नगर्नेले पार्टी र देशको लागि काम गर्न नसक्ने उहाँको भनाइ थियो । देशमा विकास र समृद्धि ल्याउन अनुशासित र गतिशील पार्टी बनाउनुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । 
उहाँले योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताउँदै लयबद्ध र गतिशील पार्टी बनाएर मिसन–२०८४ सफल बनाउनुपर्नेमा जोड दिनुभयो । 
सामाजिक सञ्जालमा जथाभावी नलेख्न र लेख्नैपर्दा सकारात्मक कुरा मात्र लेख्न उहाँले निर्देश गर्नुभयो । 
उहाँले बैशाख १५ गते हुने इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभा निर्वाचनमा एमालेले जित्ने र जित्नुपर्ने बताउनुभयो । 
अध्यक्ष ओलीले ओलाङचुङ्गोला क्षेत्रमा निर्माण भइरहेको सडक छिटो निर्माण गर्नका लागि आफूले पहल गर्ने पनि बताउनुभयो । तीन वर्षभित्रै चीनसँग जोडिने सो सडक पूरा गर्ने गरी बजेट विनियोजन गराएर छिटो काम सम्पन्न गराउन आफूले प्रयत्न गर्ने उहाँले बताउनुभयो । 
ओलाङचुङगोलावासीसँग अन्तर्क्रिया
पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रम अघि आजै अध्यक्ष ओलीले ताप्लेजुङको ओलाङचुङगोला पुगेर स्थानीय बासिन्दासँग अन्तर्क्रिया गर्नुभएको थियो ।   
उहाँ पार्टीका सचिव योगेश भट्टराई, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेतीसहित ओलाङचुङगोला जानुुभएको हो ।
तीनहजार दुईसय मिटर उचाइको यो बस्तीमा पहिलो पटक दुईदिन अगाडि मङ्गलबार सदरमुकाम फुङलिङबाट यातायातका साधन पुगेका थिए् । 
अध्यक्ष ओलीले तिब्बतसँग जोडिएको नेपालको पूर्वी हिमाली नाका ताप्लेजुङको ओलाङचुङगोलाको वस्तुस्थिति बुझ्नुका साथै स्थानीय बासिन्दासँग त्यहाँका समस्या तथा सम्भावनाका विषयमा संवाद गर्नुभएको थियोे ।