NP EN

​‘सुकुम्वासीको व्यवस्थापनमा सरकार जिम्मेवार बन्नुपर्छ’

२० बैशाख (२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासीहरूको व्यवस्थापनका लागि तीनै तहका सरकार जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । 
भूमि अधिकार तथा श्रमिक संगठन नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको महिला सशक्तीकरण, सांस्कृतिक तथा व्यापार महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश र जनताले भोगिरहेका समस्याप्रति जिम्मेवार हुन सबैलाई आग्रह गर्नुभयो । 
काठमाडौं उपत्यकाका सुकुम्वासीको व्यवस्थापनका लागि सुविधायुक्त अपार्टमेन्ट बनाएर उनीहरूको बसोबासको व्यवस्था मिलाउनुपर्ने बताउँर्दै अध्यक्ष ओलीले भन्नुभयो– सुकुम्वासीको व्यवस्थापनमा लाग्नु आवश्यक छ । 
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा भोकमरीले कोही पनि मर्न नदिने प्रतिवद्धताका साथ काम गरेको स्मरण गर्नुहुँदै सरकारले सबभन्दा बढी जोड गरिबी निवारणमा दिनुपर्ने बताउनुभयो । 
हरेक नागरिकलाई सुरक्षित आवासको व्यवस्था राज्यले गर्नुपर्ने उहाँले बताउनुभयो । साना वा ठुला भन्ने होइन, ठाउँ र हावापानी अनुसार सुविधायुक्त तरिकाले बाँच्नको लागि आवश्यक पर्ने आवासको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– सुकुम्वासीलाई व्यवस्थापन गर्नुपर्दछ, लोकतान्त्रिक व्यवस्था र लोकतान्त्रिक सरकारले जहाँसुकै जाऊ भन्न मिल्दैन ।
यथोचित आहार, यथोचित आवास, सुलभ ढङ्गले गुणस्तरीय शिक्षा, बिरामी हुँदा औषधि उपचार पाउनु नागरिकको आधारभूत अधिकार भएको उहाँले बताउनुभयो । 
आजको २१ औँ शताब्दीमा यी आधारभूत आवश्यकता पुरा गर्ने गरी रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
सरकारमा बसेर जथाभाबी गर्ने अधिकार कसैलाई नभएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो– भत्काउने अभियान होइन, बनाउने अभियान चलाऊँ ।
‘सुकुम्वासी बस्तीमा हामीले डोजर देखाएर आतङ्क फैलाइरहेका छौँ, डोजर चलाउन बन्द गरेर उनीहरूको समस्या समाधान गर्न र व्यवस्थापन गर्नतिर लाग्न आवश्यक छ, सुकुम्वासी कहिल्यै पनि विकासका बाधक हुन सक्दैनन्, उनीहरूको व्यवस्थापनमा लाग्न आवश्यक छ ।’
उहाँले सरकारमा बस्नेहरूलाई सुकुम्वासी र सुकुम्वासीका छोराछोरीलाई नहेप्न आग्रह गर्नुभयो ।