NP EN

अध्यक्षद्वारा कपिलवस्तु जिल्ला अधिवेशन उद्घाटन

२६बैशाख (२०८१), कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा विकास र समृद्धिको जिम्मेवारी रहेकाले त्यो पूरा गर्न एकल बहुमतको सरकार बनाउने गरी जुट्नुपर्ने बताउनुभएको छ । 
नेकपा (एमाले) कपिलवस्तुको १०औं अधिवेशन आज उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०८४ को निर्वाचनलाई सामान्य रूपमा लिन नहुने बताउनुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– विकास र समृद्धि एकल बहुमतको सरकार नभई सम्भव छैन, यो कुरा बुझेर अघि बढ्न मेरो आग्रह छ । राष्ट्रियताको रक्षाका लागि पनि एमालेलाई बलियो बनाउनुपर्छ । तीनै तहमा बहुमत बनाउन नसके विकास असम्भव छ ।
कपिलवस्तुमा पार्टीले गरेको प्रगतिको सम्मान गर्दै उचित जिम्मेवारी दिएको र अवसर पनि पाएको चर्चा गर्दै अध्यक्ष ओलीले लुम्बिनीेजस्तो प्रदेशमा एमालेको एकल बहुमत नहुनु राम्रो कुरा होइन भन्नुभयो । उहाँले पार्टीलाई बलियो बनाउने गरी र आगामी निर्वाचनमा तीनवटै तहमा स्पष्ट बहुमत ल्याउने मिसनमा जुट्न निर्देश गर्नुभयो । 
अध्यक्ष ओलीले पार्टीको नेतृत्व लिन अहिले धेरै ठाउँमा आकाङ्क्षी धेरै देखिएको विषय उल्लेख गर्दै सकेसम्म निर्वाचनभन्दा सहमतिमै नेतृत्व छान्न आग्रह गर्नुभयो । 
उहाँले फेरि पालो आउने छ भन्ने कुरामा धैर्यता राख्न र  समझदारी बनाउन आग्रह गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो–‘म १४ वर्ष जेल बस्दा केही ढिलो भएन, एक कार्यकाल पर्खनूस्, अर्काेमा अधिवेशनमा पालो आइहाल्छ नि । भइएन छ भने अर्को ठाउँमा अवसर पाइन्छ । सकेसम्म एकले अर्काका लागि त्याग गरेर अगाडि बढ्नूस्, पार्टीले कुनै दिन मूल्याङ्कन गर्छ ।
नेतृत्वका लागि माथिबाट कसैलाई केही आश भरोसा नदिइएको प्रष्ट पार्दै अध्यक्ष ओलीले भन्नुभयो– माथिबाट कसैको कसैलाई समर्थन वा विरोध हुँदैन । 
उहाँले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताउनुभयो । 
अध्यक्ष ओलीले केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा विगतमा पार्टीलाई धेरै क्षति पुगेको बताउनुभयो । उहाँले हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित थिए भन्नुभयो । 
उहाँले पार्टी विभाजनको षडयन्त्रविरुद्ध एकजुट भएको कपिलवस्तुलाई पार्टी केन्द्रले उच्च सम्मान गरेको र अब पनि त्यस कुरालाई सम्झनुपर्ने बताउनुभयो । 
अधिवेशन उद्घाटन समारोहमा पार्टीका सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज खिमलाल भट्टराई, नेताहरू मङ्गलप्रसाद गुप्ता, बृजेश गुप्तालगायतले सम्बोधन गर्नुभएको थियो । दुई दिनसम्म चल्ने अधिवेशनमा ५५९ जना प्रतिनिधि सहभागी छन् ।