NP EN

अब दिगो र सुदृढ विजयको दिशामा अगाडि बढ्नुपरेको छः अध्यक्ष ओली

३ जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  सबै खालका आक्रमणलाई पराजित गर्दै एमाले अपराजेय शक्तिका रूपमा स्थापित भएको बताउनुभएको छ । 
मदन–आश्रित स्मृति दिवसमा पार्टीद्वारा मदन नगर बल्खुमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलनलाई सिध्याउने अनेक षडयन्त्रका बाबजुद पार्टी सबैभन्दा लोकप्रिय शक्तिका रूपमा स्थापित भएको बताउनुभयो । 
उहाँले भन्नुभयो– अब दिगो र सुदृढ विजयको दिशामा अगाडि बढ्नुपरेको छ ।  
आफूहरूले अगाडि बढाएको आन्दोलनलाई जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज)ले निर्देशित गरिरहेको र आन्दोलनले सफलता प्राप्त गरिरहेको बताउँदै अध्यक्ष ओलीले अब २०८४ मा हुने निर्वाचनबाट नेपालको राजनीतिले नयाँ मोड लिनुपर्ने विचार व्यक्त गर्नुभयो । 
अध्यक्ष ओलीले भन्नुभयो– त्यो मोड प्रतिगामी होइन, अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउने हुनुपर्छ । जसबाट राष्ट्रिय हित सम्बर्द्धन, सुशासन र तीब्र विकास अगाडि बढाउन सकियोस् । समाज कल्याण, मानवतावाद र लोककल्याणकारी राज्यको अवधारणा कार्यान्वयन गर्नुका साथै गरिबी अन्त्य गर्न सकोस् । 
शासकीय स्वार्थ र अव्यवस्थाका कारण देश गरिब भएको बताउँदै अध्यक्ष ओलीले यस कुरालाई निर्विवाद ढङ्गले अन्त्य गर्ने कार्यका लागि नेकपा (एमाले) अगाडि बढिरहेको बताउनुभयो ।
सामाजिक न्याय र समानतासहितको मानव समृद्धिका लागि समाजवाद स्व. नेताहरूको गन्तव्य रहेको स्पष्ट गर्दै अध्यक्ष ओलीले आगामी २०८४ को निर्वाचनमा सफलता प्राप्त गरी त्यस दिशामा अगाडि बढ्न सकिए मदन–आश्रितका सपना अलिकति पुरा हुने छ भन्नुभयो । 
उहाँले स्व. नेताहरूका उद्देश्य सार्थक र सफल बनाउने अभिभारा पार्टीको काँधमा रहेको बताउनुभयो । अध्यक्ष ओलीले आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा उतारचढाव आए पनि आन्दोलनले सफलता प्राप्त गर्दै अगाडि बढिरहेको चर्चा गर्नुभयो । 
आफूलाई कम्युनिष्ट नेता भन्नेहरू नै आन्दोलनलाई सिध्याउन लागीपरेका र राष्ट्रिय शक्तिको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन पछिलागेको विगत स्मरण गर्दै अध्यक्ष ओलीले उनीहरूको पत्याउनै नसकिने खालको गतिविधि मुकुण्डो उतारेर कुरुप चेहरा देखिएबाट छर्लङ्ग भएको बताउनुभयो । 
उहाँले भन्नुभयो– हाम्राविरुद्ध एकपछि अर्को पासो थापियो । ति सबै पराजित गरियो  । अब दिगो र सुदृढ विजयको दिशामा अगाडि बढ्नुपरेको छ । 
उहाँले पार्टी अहिले त्यसैको तयारीमा अगाडि बढिरहेको स्पष्ट गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो– मिसन–२०८४ मा गोल गर्नुपर्छ, मिसन –२०८४ मा गोल आउट हुने छैन । 
देशमा प्रतिगमन हुँदा पनि कम्युनिष्ट आन्दोलनले कहिल्यै घुँडा नटेकेको र नाकाबन्दीको अफ्ठयारो परिस्थितिमा पनि घुँडा नटेकेको स्मरण गर्दै आफू प्रधानमन्त्री रहेको समयमा भएको नाकाबन्दीविरुद्धको लडाईंमा जनताको साथ र सहयोग पाएको भन्दै सम्मान प्रकट गर्नुभयो । 
विदेश र छिमेक सम्बन्धका बारेमा स्पष्ट पार्दै अध्यक्ष ओलीले नेकपा (एमाले) न्यायोचित विश्वको पक्षमा रहेको बताउनुभयो । उहाँले समतामूलक, शान्तिपूर्ण, समृद्ध र सुखी मानव जाति भएको विश्वका पक्षमा एमाले रहेको र विश्वलाई विकास साझेदारका रूपमा देख्न चाहेको स्पष्ट गर्नुभयो । 
अध्यक्ष ओलीले छिमेक सम्बन्धका सन्दर्भमा पारस्परिक समानता, आपसी सम्मान र एक अर्काप्रति विश्वासको वातावरण रहेको, कुभलो नचिताउने असल छिमेक सम्बन्ध एमालेले चाहेको र त्यसमै योगदान गर्ने स्पष्ट गर्नुभयो । 
अध्यक्ष ओलीले जननेता मदन भण्डारीले असाधारण प्रतिभा र दूरदृष्टी प्रदर्शन गर्नुभएको विचार व्यक्त गर्नुभयो । उहाँले स्व. मदन– आश्रितप्रति श्रद्धा र सम्मान प्रकट गर्नुभयो । कार्यक्रम महासचिव शंकर पोखरेलले सञ्चालन गर्नुभएको थियो । त्यसअघि स्वर्गीय नेताहरू जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको तस्वीरमा माल्यार्पण गरी सम्मान प्रकट गरिएको थियो । 
पूर्व राष्ट्रपति विद्या भण्डारी, अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल लगायत पार्टीका पदाधिकारी, स्थायी कमिटी सदस्य, केन्द्रीय निकायका अध्यक्षहरू, स्व. आश्रितकी धर्मपत्नी माया ज्ञवाली, मदन–आश्रितका छोरीहरू लगायत ठूलो सङ्ख्यामा नेताकार्यकर्ताहरूले स्व.मदन–आश्रितको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।