NP EN

मिसन–२०८४ भित्र महान् उद्देश्य छः अध्यक्ष ओली

२१ बैशाख (२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले मिसन–२०८४ त्यतिकै भनेको नभई महान् उद्देश्य राखेर घोषणा गरिएको बताउनुभएको छ । 
आज नेकपा (एमाले) नवलपरासीको नवौँ जिल्ला अधिवेशन उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मिसन २०८४ भित्र महान् उद्देश्य रहेको बताउनुभयो ।  
उहाँले भन्नुभयो– हाम्रो देशको सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने छ, स्वाधीनता, स्वतन्त्रताको रक्षा गर्नुपर्ने छ, हाम्रो भूमिको रक्षा गर्नुपर्ने छ ।
आज आफूले सुस्ता पनि घुमेको बताउँदै अध्यक्ष ओलीले २०२५ सालदेखि सुस्ता नेपाली भूमि हो, भारतीयलाई सुस्ता छाड  भन्दै आएको स्मरण गराउनुभयो । त्यतिखेर देशका लागि कुरा उठाउँदा समेत आफूहरू माथि मुद्दा चलाएको उहाँले स्मरण गर्नुभयो ।
नेकपा (एमाले) सधैँ राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र सार्वभौमसत्ता रक्षाको पक्षमा लड्ने पार्टी भएको उहाँले बताउनुभयो । 
लिम्पियाधुरा, लिपुलेक नेपालको नक्सामा समेटेर त्यो भूमि हाम्रो हो, हामीले फिर्ता पाउनुपर्छ, कब्जा गरिएको भूमि छाड्नुपर्छ भन्ने जिम्मा पनि एमालेकै काँधमा आएको र त्यो गरेको उहाँले स्मरण गराउनुभयो । अध्यक्ष ओलीले सत्तामा जान पाइँदैन कि, सत्तामा बस्न पाइँदैन कि भनेर यो विषय अरु कसैले उठाउँदैन । 
जनता र देशका निम्ति काम नगर्ने हो भने राजनीति के का लागि गर्ने ? प्रश्न गर्दै अध्यक्ष ओलीले आफूले ५६ वर्षदेखि सुस्ता लगायतको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने आवाज लगातार उठाइरहेको बताउनुभयो ।
उहाँले पार्टीले लिएको गन्तव्यमा कसरी पुग्ने भन्ने कुरामा ध्यान केन्द्रित गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टीले लिएका सही नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर मात्र सही गन्तव्यमा पुगिने अध्यक्ष ओलीले बताउनुभयो ।