NP EN

पार्टीलाई एकताबद्ध, एकजुट र सक्रिय बनाउन निर्देशन  

२५ जेठ (२०८१), चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने नीति र योजना एमाले बाहेक अरू दलसँग नभएको बताउनुभएको छ । 
आज नेकपा (एमाले) चितवनको ११औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेबाहेक अन्य पार्टीसँग नीति, कार्यक्रम र योजना केही नभएको कारण उनीहरू एमालेसँग नीति र कार्यक्रममा बहस गर्न तयार नहुने स्पष्ट गर्नुभयो ।  
अध्यक्ष ओलीले भन्नुभयो– देश बनाउने नीति र कार्यक्रम, राष्ट्रियता र सुशासनका विषयमा एमालेसँग बसह गर्न कुनै पार्टी तयार हुँदैनन् ।  
उहाँले देश बनाउनका लागि एकल बहुमतको सरकार बनाउनुपर्ने हुँदा आगामी निर्वाचनमा चितवनका सबै संसदीय क्षेत्र, पालिका र वडामा विजय प्राप्त गर्नेगरी योजना बनाएर अगाडि बढ्न नयाँ नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले चितवनको विकासका लागि पनि एमालेले विजय हासिल गरी काम गर्ने अवसर प्राप्त गर्नुपर्ने बताउनुभयो । 
पार्टीलाई एकताबद्ध, एकजुट र सक्रिय बनाउन निर्देशन दिँदै अध्यक्ष ओलीले आन्तरिक सङ्घर्ष होइन, आन्तरिक छलफलबाट पार्टीलाई एकजुट बनाएर अघि बढ्नुपर्छ । 
उहाँले पार्टीको काममा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले महिलाहरूले जिम्मेवारी लिएको ठाउँमा पुरुषको तुलनामा भ्रष्टाचार कम भएको पाइएको बताउँदै पार्टी कामलाई महिलाहरूको बीचमा लैजान निर्देशन दिनुभयो । 
उहाँले रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भन्ने कुरा धेरै सूचकले देखाउँछ भन्नुहुँदै माडीमा राम मन्दिर बन्ने बताउनुभयो । धार्मिक पर्यटक भित्र्याएर माडीलाई मणि बढाउन सकिने भनाइ उहाँले राख्नुभयो । 
उहाँले राम जन्मभूमि हाम्रो सभ्यता, संस्कृति परम्परा, सनातनसँग जोडिएको विषय हो भन्नुहुँदै व्यवस्थित मन्दिर निर्माण गरी धामको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, गुरु बराल, पोलिटव्यूरो सदस्य तथा चितवन जिल्ला इञ्चार्ज पार्वत गुरुङ, नवनिर्वाचित अध्यक्ष कमल पाठक, निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले धारणा राख्नुभएको थियो ।
नेकपा (एमाले) चितवनको जिल्ला अधिवेशन यही जेठ १६ गते सम्पन्न भएको थियो । नवनिर्वाचित समितिले आजै शपथग्रहण गरेको छ ।