NP EN

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्छः अध्यक्ष ओली

२६जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रूपमा विकसित गर्न काठमाडौंका अगुवा कार्यकर्ताहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । 
आज नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको सातौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकमा राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका लागि एमालेलाई अग्रस्थानमा पुर्याउनु आवश्यक रहेको बताउनुभयो । 
अध्यक्ष ओलीले काठमाडौंको पार्टी सङ्गठन विभिन्न आरोह अवरोह पार गर्दै अहिलेको अवस्थामा आइपुगेको र सङ्कटका घडीमा कार्यकर्ताले जोगाएर सुदृढ पार्टीका रूपमा कायम राखेको स्मरण गर्नुभयो । पार्टी सुदृढ हुँदा हुँदै पनि कतिपय आन्तरिक समस्या र प्रतिक्रियावादीका षडयन्त्रका कारण गत निर्वाचनमा बहुमत प्राप्त गर्न नसकिएको चर्चा गदै अध्यक्ष ओलीले अबका दिनमा विरोधीका त्यस्ता झुठ र षडयन्त्रलाई हामीले पराजित गर्न सक्नुपर्छ भन्नुभयो । 
आगामी निर्वाचनमा काठमाडौं जिल्ला एमालेको किल्ला बनाउनैपर्ने बताउँदै अध्यक्ष ओलीले विरोधीहरूले पनि आफ्नो आफ्नो तयारी गरे हुन्छ, तर एमालेले पराजित गर्छ, गर्छ भन्नुभयो । 
उहाँले अधिवेशनबाट नेतृत्व चयनमा सहमति गर्न निर्देशन दिनुभयो । 
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जिल्लाको पार्टी कामको वस्तुनिष्ठ समीक्षा गर्न प्रतिनिधिलाई आग्रह गर्दै आगामी दिनमा जनमत हासिलमा श्रेष्ठ हुने गरी काम गर्नुपर्ने खाँचो औल्याउनुभयो । 
उहाँले  अहिले पार्टीभित्र नीति र नेतृत्वमा विवाद नरहेकाले जिल्ला नेतृत्व चयन गर्दा सकेसम्म सहमतिका आधारमा र नभएमा स्वच्छ प्रतिस्पर्धाका आधारमा अघि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले काठमाडौंका जनताले एमालेलाई अग्रस्थानमा पुर्याउनुपर्नेमा जोड दिनुभयो । पार्टीका पोलिटव्यूरो सदस्य तथा काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेल र बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिनुहुँदै पार्टीलाई आगामी निर्वाचनमा श्रेष्ठ हुनसक्ने गरी काम गर्ने कमिटी निर्माण गर्न आग्रह गर्नुभयो । 
कार्यक्रममा काठमाडौंको संगठन निर्माणमा योगदान गर्नुभएका नेताहरू सुरेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, युवराज कार्की, रामेश्वर फुयाँल, सानुकुमार श्रेष्ठ, कृष्ण राई, निर्मल कुइँकेललाई सम्मान गरिएको थियो । काठमाडौ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पार्टीका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्यहरू काशिनाथ अधिकारी, रघु पन्त, डा. राजन भट्टराई, कृष्णगोपाल श्रेष्ठ, पोलिटव्यूरो तथा केन्द्रीय कमिटीका सदस्यहरू अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । तीन दिनसम्म चल्ने अधिवेशनमा काठमाडौंका दश पालिकाबाट गरी ५८५ प्रतिनिधि सहभागी छन् ।